रास्वपाले देशलाई जोगाउन चाहेको छ : बालेन्द्र शाह

वरिष्ठ नेता शाहले आफुहरुले बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बनाउन चाहेको बताए ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

RSP wants to save the country: Balendra Shah

काठमाडौं — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चितवनबासीले घर जोगाउन जसरी छानामा निलो रंगको जस्ता लगाएका छन्, रास्वपाले त्यसैगरी देशलाई जोगाउन चाहेको बताएका छन् । चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले यसमा सहयोग गर्न उनले चितवनबासीलाई आग्रह गरेका छन् ।

यस्तै, चितवनले सिंगो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको पनि उनले बताएका छन् । उनले भने, 'आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसाय मात्रै गरेका छैनन् नेपाललाई विश्वमा चिनाएका छन् । चितवनबासीबाट सिंगो देशले सिक्नु पर्छ ।'  

सभामा उनले सिमित नेताको सिन्डिकेटबाट चितवनको कृषि उत्पादनलाई बाहिर निकाल्ने पनि घोषणा गरे । किसानले उत्पादन गरेको दुध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटले हो । रास्वापा आएपछि ती सबै अन्त्य हुने उनले उद्घोष गरे । उनले चितवनबासीको मात्रै होइन चितवनमा देशका सबै जिल्लामा उत्पादन भएका कृषि उत्पादन स्टोर गरेर राख्ने पनि बताए । जसले नेपालीले वर्षैभरि सस्तोमा तरकारी समेत खान पाउने बताए । 

बालेन्द्रले हेटौँडा सिमेन्ट कारखाना को उदाहरण दिदै देश पनि त्यस्तै भएको बताए । उनले भने, 'हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ । तर बन्द । अब चल्नुपर्यो । नेपाली काँग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुपर्यो अब त्यो पनि । पूरै देशभरी चल्नुपर्यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।'

आफू केही समययता देशका विभिन्न जिल्लामा पुगेको र त्यस क्रममा सबै जिल्लामा समान समस्या देखिएको बताए । नेता शाहले ति सबै समस्याको समाधान जिल्लाभित्रै रहेको पनि बताए । 

उनले पार्टी सभापति रवि लामिछने नै चितवनबाट उम्मेदवार रहेकाले कुनै तनाव नलिन आग्रह गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully