चित्लाङमा चुनावी बहसभन्दा ठूलो विषय अहिले खानेपानी बनेको छ । ६० वर्षीय राजेन्द्र दास प्रधान भन्छन्, ‘यहाँ पानी आउन बन्द भएको चार महिना भयो । उ त्यो परको कलमा गएर पानी लिनुपर्छ । सबै त्यहीँ आउँछन्।’
What you should know
मकवानपुर — देशभर प्रतिनिधि सभाको निर्वाचनको सर्गर्मी बढ्दै जाँदा मकवानपुरको चित्लाङमा भने चुनावी रौनकभन्दा दैनिक जीवनको अभाव ठूलो विषय बनेको छ । झण्डा बोकेर मोटरसाइकल र गाडीमा घुरघुर हिँड्ने कार्यकर्ता देखिए पनि गाउँका धारामा पानी बगिरहेको छैन । चुनाव आउँछ, जान्छ; तर चार महिनादेखि सुक्खा धाराले स्थानीयलाई हरेक बिहान टाढाको कलतिर हिँड्न बाध्य बनाएको छ ।
थाहा नगरपालिका-९, चित्लाङका ६५ वर्षीय गोपाल बलामी घाँस काट्ने हतारमा भेटिए । घरअगाडिकाे फाँट देखाउँदै उनले भने, 'यो फाँट र त्यो जस्ताले बारेको टहरोदेखि यता सबै मेरो हो ।' तर चुनावको कुरा उठाउँदा उनीले हाँस्दै टारे, 'अहिले त घाँस काट्न जान लाग्या, चुनाव त लाग्या छैन हाहा…। खै, यसपाली त चुनाव जस्तै लागेको छैन । बाटोबाटै हिँड्छन् उम्मेदवारहरू, यता आएका छैनन् ।'
गोपाल श्रीमतीसँगै चित्लाङमा बस्छन् । छोरा–बुहारी काठमाडौंको गंगबुमा छन् । बढ्दो महँगी र सीमित आम्दानीबीच उनको चुनावी अपेक्षा सानो छ-'खानेपानी पाइए हुन्थ्यो ।'
चित्लाङमा चुनावी बहसभन्दा ठूलो विषय अहिले खानेपानी बनेको छ । ६० वर्षीय राजेन्द्र दास प्रधान घरअगाडि दाउरा चिर्दै थिए । सानो किराना पसल पनि चलाउँछन् । घरछेउको धारातिर औँल्याउँदै उनले भने, 'यहाँ पानी आउन बन्द भएको चार महिना भयो । उ त्यो परको कलमा गएर पानी लिनुपर्छ । सबै त्यहीँ आउँछन् ।'
बुढेसकालमा घरमै पानी आइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । 'खोलाबाट तानेर खुवायो भने हुन्थ्यो । खै, कसैले चासो दिँदैनन् । अब पर्यटक आउँछन् भनेर मात्रै सबै रमाइरहेका छन् । पानी कसले खुवाउने ठेगान छैन ।'
चित्लाङ पछिल्ला वर्षमा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । इन्द्रसरोवर ताल, मार्खु र कुलेखानी क्षेत्रसँग जोडिएको यो भेगमा सप्ताहन्तमा घुम्न आउनेको संख्या बढेको छ । तर स्थानीयका लागि पानीको अभाव दैनिकीको स्थायी पीडा बनेको छ ।
७० वर्षीया लालमाया बलामी बाख्राका पाठापाठीलाई घाँस खुवाउँदै भेटिइन् । चुनावी चहलपहलको कुरा गर्दा उनले घर तल्तिरको सडकतिर हेर्दै भनिन्, 'उ तल रोडै-रोड झण्डा बोकेर बाइक र गाडीमा घुरघुर हिँडेका छन् । चुनावै लागेर होला । लाग्नेलाई लाग्या होला, हाम्लाई लाग्या छैन ।'
उम्मेदवार मत माग्न आएको अनुभव छैन रे ? 'खै, आएको थाहा पाइनँ । छोरा-बुहारी घरै हुँदा आएकी,' उनले भनिन् । यसपटक भोट नहाल्ने मनस्थिति सुनाउँदै उनले थपिन्, 'जति जे गर्छु भने पनि कसैले केही गरेका छैनन् । यसपाली त भोट पनि हाल्दिनँ-माग्न आए पनि, नआए पनि ।'
उनको आक्रोशको कारण पनि पानी नै हो । 'पानी खुवाउन नसक्ने ‘काकाकुल’लाई भोट कसरी दिने ? हामी डाँडापट्टि बस्नेहरूले वर्षौंदेखि पानीको दुःख भोगेका छौँ । जति वर्ष बित्यो, उत्तिकै समस्या बढिरहेको छ ।'
स्थानीयका अनुसार ट्यांकी ल्याएर अस्थायी समाधानको प्रयास भएको थियो । तर दीर्घकालीन योजना कार्यान्वयन नभएपछि समस्या उस्तै छ । 'कहिले आउँछ, कहिले आउँदैन । यसरी साह्रै दुःख भइसक्यो । खोलाबाट पानी नतानेसम्म यो डाँडामा यस्तै हो,' लालमायाले भनिन् ।
बाटो पनि उस्तै ‘बिजोक’
पानीसँगै चित्लाङको अर्को पुरानो समस्या बाटो हो । कुलेखानी-मार्खु हुँदै आउने सडक होस् वा थानकोट-चित्लाङ खण्ड, दुवै वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बन्छन् । सुक्खा मौसममा पनि धुलो र खाल्डाखुल्डीले यात्रु हैरान हुन्छन् ।
४२ वर्षीया सुनकेशरी काउली रोप्दै थिइन् । उनी कृषि नै मुख्य पेशा हो । 'कुलेखानीबाट मार्खु हुँदै आउने बाटो पनि वर्षामा बिजोक हुन्छ । थानकोटबाट आउने बाटो पनि उस्तै छ । कम्तिमा एउटा बाटो चाहिँ राम्रो भइदिए बाह्रैमास आउजाउ गर्न सजिलो हुन्थ्यो,' उनले भनिन् ।
आफूले उत्पादन गरेको तरकारी काठमाडौं लगेर आफैं बेच्ने चाहना छ । तर सडक अवस्थाका कारण बिचौलियामाथि निर्भर हुनुपरेको उनी बताउँछिन् । 'अलि सजिलो भए त आफैं गर्न सक्थेँ। बाटो कहिले चल्छ, कहिले चल्दैन । हामी बीचमा पर्छौँ । यसैले पनि पुगेकै छ, तर आफैं कस्सिन पाए झन् सकिन्थ्यो ।'
तर उनले कसैलाई दोष दिन चाहिनन् । 'म कसैलाई गाली गर्दिनँ । मेरो काम भोट हाल्ने हो । आश गरेरै भोट हालिन्छ । काम गर्ने नगर्ने उनीहरूको नैतिकताको कुरा हो । काम गरेनन् भने मत परिवर्तन गर्न पाइन्छ,' उनले भनिन् ।
मार्खुमा गेस्टहाउस सञ्चालन गर्दै आएका ४७ वर्षीय झिल्के थिङ पनि बाटोकै कारण व्यवसाय फस्टाउन नसकेको बताउँछन् । 'यहाँ इन्द्रसरोवर ताल छ । टाढाटाढादेखि माछा खान मान्छे आउँछन् । तर बाह्रैमास त्यस्तो चल्दैन,' उनले भने, 'अहिले चुनाव आउन लागेर होला, ठाँमठाँममा डोजर लगेर खन्ने खोतल्ने काम गरेका छन् । फेरि भोलिपर्सि उही ताल हो ।'
उनका अनुसार सडक स्तरोन्नति दीर्घकालीन रूपमा भए चित्लाङ मकवानपुरकै प्रमुख पर्यटकीय ‘हब’ बन्न सक्छ । 'अलि सिरियसली काम गरेदेखि यो ठाउँ सम्भावना भएको क्षेत्र हो,' उनले भने ।
निर्मला बस्नेत भने अघिल्लो पुस्ताको तुलनामा केही सुधार भएको मान्छिन् । 'म विवाह गरेर आउँदा यो बाटो पुरै सिस्नुघारी थियो । अहिले त गाडी हिँड्न थालेका छन् । यो पनि विकास नै हो । बरु सोचेको जस्तो राम्रो हुन सकेको छैन,' उनले भनिन् ।
चित्लाङ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यस क्षेत्रमा नेकपा (एमाले)बाट महेश वर्तौला, नेपाली कांग्रेसबाट बुद्ध लामा, नेकपाबाट लवशेर विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती प्रतिस्पर्धामा छन् । अधिकांश उम्मेदवारले सडकलाई प्राथमिक एजेन्डा बनाएका छन् । तर स्थानीयका अनुसार खानेपानीको विषय भने हरेक चुनावमा ओझेलमा पर्ने गरेको छ ।
३२ वर्षीय सन्तकुमार तामाङ भन्छन्, 'यहाँ सबैले यो गर्छु र त्यो गर्छु भन्छन् । तर पानी समेत खुवाउन सकेका छैनन् । बाटोको कुरा धेरै हुन्छ, पानीको कुरा भाषणमै हराउँछ ।'
