चित्लाङका स्थानीय भन्छन्, चुनाव आउँछ–जान्छ तर पानीको समस्या सधैं रहन्छ

चित्लाङमा चुनावी बहसभन्दा ठूलो विषय अहिले खानेपानी बनेको छ । ६० वर्षीय राजेन्द्र दास प्रधान भन्छन्, ‘यहाँ पानी आउन बन्द भएको चार महिना भयो । उ त्यो परको कलमा गएर पानी लिनुपर्छ । सबै त्यहीँ आउँछन्।’

फाल्गुन १५, २०८२

दया दुदराज

Locals of Chitlang say elections come and go, but water problems always remain.

What you should know

मकवानपुर — देशभर प्रतिनिधि सभाको निर्वाचनको सर्गर्मी बढ्दै जाँदा मकवानपुरको चित्लाङमा भने चुनावी रौनकभन्दा दैनिक जीवनको अभाव ठूलो विषय बनेको छ । झण्डा बोकेर मोटरसाइकल र गाडीमा घुरघुर हिँड्ने कार्यकर्ता देखिए पनि गाउँका धारामा पानी बगिरहेको छैन । चुनाव आउँछ, जान्छ; तर चार महिनादेखि सुक्खा धाराले स्थानीयलाई हरेक बिहान टाढाको कलतिर हिँड्न बाध्य बनाएको छ ।

थाहा नगरपालिका-९, चित्लाङका ६५ वर्षीय गोपाल बलामी  घाँस काट्ने हतारमा भेटिए । घरअगाडिकाे फाँट देखाउँदै उनले भने, 'यो फाँट र त्यो जस्ताले बारेको टहरोदेखि यता सबै मेरो हो ।' तर चुनावको कुरा उठाउँदा उनीले हाँस्दै टारे, 'अहिले त घाँस काट्न जान लाग्या, चुनाव त लाग्या छैन हाहा…। खै, यसपाली त चुनाव जस्तै लागेको छैन । बाटोबाटै हिँड्छन् उम्मेदवारहरू, यता आएका छैनन् ।'

गोपाल श्रीमतीसँगै चित्लाङमा बस्छन् । छोरा–बुहारी काठमाडौंको गंगबुमा छन् । बढ्दो महँगी र सीमित आम्दानीबीच उनको चुनावी अपेक्षा सानो छ-'खानेपानी पाइए हुन्थ्यो ।'

Locals of Chitlang say elections come and go, but water problems always remain.चित्लाङमा चुनावी बहसभन्दा ठूलो विषय अहिले खानेपानी बनेको छ । ६० वर्षीय राजेन्द्र दास प्रधान घरअगाडि दाउरा चिर्दै थिए । सानो किराना पसल पनि चलाउँछन् । घरछेउको धारातिर औँल्याउँदै उनले भने, 'यहाँ पानी आउन बन्द भएको चार महिना भयो । उ त्यो परको कलमा गएर पानी लिनुपर्छ । सबै त्यहीँ आउँछन् ।'

बुढेसकालमा घरमै पानी आइदिए हुन्थ्यो भन्ने उनको चाहना छ । 'खोलाबाट तानेर खुवायो भने हुन्थ्यो । खै, कसैले चासो दिँदैनन् । अब पर्यटक आउँछन् भनेर मात्रै सबै रमाइरहेका छन् । पानी कसले खुवाउने ठेगान छैन ।'

चित्लाङ पछिल्ला वर्षमा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । इन्द्रसरोवर ताल, मार्खु र कुलेखानी क्षेत्रसँग जोडिएको यो भेगमा सप्ताहन्तमा घुम्न आउनेको संख्या बढेको छ । तर स्थानीयका लागि पानीको अभाव दैनिकीको स्थायी पीडा बनेको छ ।

७० वर्षीया लालमाया बलामी बाख्राका पाठापाठीलाई घाँस खुवाउँदै भेटिइन् । चुनावी चहलपहलको कुरा गर्दा उनले घर तल्तिरको सडकतिर हेर्दै भनिन्, 'उ तल रोडै-रोड झण्डा बोकेर बाइक र गाडीमा घुरघुर हिँडेका छन् । चुनावै लागेर होला । लाग्नेलाई लाग्या होला, हाम्लाई लाग्या छैन ।'

उम्मेदवार मत माग्न आएको अनुभव छैन रे ? 'खै, आएको थाहा पाइनँ । छोरा-बुहारी घरै हुँदा आएकी,' उनले भनिन् । यसपटक भोट नहाल्ने मनस्थिति सुनाउँदै उनले थपिन्, 'जति जे गर्छु भने पनि कसैले केही गरेका छैनन् । यसपाली त भोट पनि हाल्दिनँ-माग्न आए पनि, नआए पनि ।'

Locals of Chitlang say elections come and go, but water problems always remain.उनको आक्रोशको कारण पनि पानी नै हो । 'पानी खुवाउन नसक्ने ‘काकाकुल’लाई भोट कसरी दिने ? हामी डाँडापट्टि बस्नेहरूले वर्षौंदेखि पानीको दुःख भोगेका छौँ । जति वर्ष बित्यो, उत्तिकै समस्या बढिरहेको छ ।'

स्थानीयका अनुसार ट्यांकी ल्याएर अस्थायी समाधानको प्रयास भएको थियो । तर दीर्घकालीन योजना कार्यान्वयन नभएपछि समस्या उस्तै छ । 'कहिले आउँछ, कहिले आउँदैन । यसरी साह्रै दुःख भइसक्यो । खोलाबाट पानी नतानेसम्म यो डाँडामा यस्तै हो,' लालमायाले भनिन् ।

बाटो पनि उस्तै ‘बिजोक’
पानीसँगै चित्लाङको अर्को पुरानो समस्या बाटो हो । कुलेखानी-मार्खु हुँदै आउने सडक होस् वा थानकोट-चित्लाङ खण्ड, दुवै वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बन्छन् । सुक्खा मौसममा पनि धुलो र खाल्डाखुल्डीले यात्रु हैरान हुन्छन् ।

४२ वर्षीया सुनकेशरी काउली रोप्दै थिइन् । उनी कृषि नै मुख्य पेशा हो । 'कुलेखानीबाट मार्खु हुँदै आउने बाटो पनि वर्षामा बिजोक हुन्छ । थानकोटबाट आउने बाटो पनि उस्तै छ । कम्तिमा एउटा बाटो चाहिँ राम्रो भइदिए बाह्रैमास आउजाउ गर्न सजिलो हुन्थ्यो,' उनले भनिन् ।

आफूले उत्पादन गरेको तरकारी काठमाडौं लगेर आफैं बेच्ने चाहना छ । तर सडक अवस्थाका कारण बिचौलियामाथि निर्भर हुनुपरेको उनी बताउँछिन् । 'अलि सजिलो भए त आफैं गर्न सक्थेँ। बाटो कहिले चल्छ, कहिले चल्दैन । हामी बीचमा पर्छौँ । यसैले पनि पुगेकै छ, तर आफैं कस्सिन पाए झन् सकिन्थ्यो ।'

तर उनले कसैलाई दोष दिन चाहिनन् । 'म कसैलाई गाली गर्दिनँ । मेरो काम भोट हाल्ने हो । आश गरेरै भोट हालिन्छ । काम गर्ने नगर्ने उनीहरूको नैतिकताको कुरा हो । काम गरेनन् भने मत परिवर्तन गर्न पाइन्छ,' उनले भनिन् ।

Locals of Chitlang say elections come and go, but water problems always remain.मार्खुमा गेस्टहाउस सञ्चालन गर्दै आएका ४७ वर्षीय झिल्के थिङ पनि बाटोकै कारण व्यवसाय फस्टाउन नसकेको बताउँछन् । 'यहाँ इन्द्रसरोवर ताल छ । टाढाटाढादेखि माछा खान मान्छे आउँछन् । तर बाह्रैमास त्यस्तो चल्दैन,' उनले भने, 'अहिले चुनाव आउन लागेर होला, ठाँमठाँममा डोजर लगेर खन्ने खोतल्ने काम गरेका छन् । फेरि भोलिपर्सि उही ताल हो ।'

उनका अनुसार सडक स्तरोन्नति दीर्घकालीन रूपमा भए चित्लाङ मकवानपुरकै प्रमुख पर्यटकीय ‘हब’ बन्न सक्छ । 'अलि सिरियसली काम गरेदेखि यो ठाउँ सम्भावना भएको क्षेत्र हो,' उनले भने ।

निर्मला बस्नेत भने अघिल्लो पुस्ताको तुलनामा केही सुधार भएको मान्छिन् । 'म विवाह गरेर आउँदा यो बाटो पुरै सिस्नुघारी थियो । अहिले त गाडी हिँड्न थालेका छन् । यो पनि विकास नै हो । बरु सोचेको जस्तो राम्रो हुन सकेको छैन,' उनले भनिन् ।

Locals of Chitlang say elections come and go, but water problems always remain.चित्लाङ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यस क्षेत्रमा नेकपा (एमाले)बाट महेश वर्तौला, नेपाली कांग्रेसबाट बुद्ध लामा, नेकपाबाट लवशेर विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती प्रतिस्पर्धामा छन् । अधिकांश उम्मेदवारले सडकलाई प्राथमिक एजेन्डा बनाएका छन् । तर स्थानीयका अनुसार खानेपानीको विषय भने हरेक चुनावमा ओझेलमा पर्ने गरेको छ ।

३२ वर्षीय सन्तकुमार तामाङ भन्छन्, 'यहाँ सबैले यो गर्छु र त्यो गर्छु भन्छन् । तर पानी समेत खुवाउन सकेका छैनन् । बाटोको कुरा धेरै हुन्छ, पानीको कुरा भाषणमै हराउँछ ।'
Locals of Chitlang say elections come and go, but water problems always remain.

प्रतिनिधिसभा निर्वाचन २०८२

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully