वाग्लेले आफ्नो पुस्ताको उमेर र अनुभव कम भए पनि देशभक्त र परिपक्क रहेको बताए । नयाँ पुस्ता कहिल्यै पनि भ्रष्ट हुन नचाहने र गल्ती भए सच्याउन पनि तयार रहेको बताए ।
What you should know
काठमाडौँ — रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफूहरू राजनीतिलाई आजीवन पेशा बनाउन नआएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभामा उनले आफूहरू योजना र समयसीमा लिएर राजनीतिमा आएको बताएका छन् । राजनीतिलाई सेवाको रुपमा लिएको र सदाचारी, इमान्दार राज्य बनाउन आएको उनले बताए ।
उनले नेपालीहरू तीन दशकदेखि आशा र निरासाका बीचमा उभिँदै आएको बताए । उनले भने, ‘यसबीचमा कहिले परिवर्तनको सपना देख्यौं कहिले त्यही सपनाले धोका दियो । यसपटक भने चितवन मात्रै होइन सिंगो देश फेरि जागेको छ । यो जागरुकतालाई हामीले दशकौंदेखि कब्जा जमाएर बसेका भ्रष्ट व्यवस्थालाई हटाउने जनमतका रुपमा लिएका छौं ।’
उनले दलीय संयन्त्रलाई भातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाइएको र विश्वविद्यालय, अस्पताल, संघसंस्थाहरू कब्जामा पारिएको आरोप पनि लगाए । उनले भने, ‘राज्यका हरेक निकाय दलीय छाँयामा निकम्मा बनाइएको छ । अब यो लुटको खेती बन्द हुनेछ । हुनै पर्छ ।’ यो सबै बन्द भएसँगै देशको आधा समस्या समाधान हुने उनले बताए । मध्यम वर्गको सुरक्षा र भरथेक गर्न रास्वपा तयार रहेको उनले बताए ।
उनले रास्वपा सत्तामा आएपछि शिक्षकहरू शिक्षक मात्रै हुने बताएका छन् । कुनै अमूक राजनीतिक दलको संरक्षणमा बस्नु नपर्ने उनको भनाइ छ । यस्तो हुँदा विद्यालय एवं शैक्षिक सुधार हुने उनले विश्वास व्यक्त गरे । यस्तै, स्वास्थ्यकर्मी पनि स्वास्थ्यकर्मी मात्रै रहने पनि बताए । आगामी ५ वर्षमा राज्य दोहोनका सबै संयन्त्र खारेज हुने उनले बताए । उनले यसपटक व्यक्ति छान्ने भन्दा पनि थिती बसाल्ने चुनावको रुपमा लिन आग्रह पनि गरे ।
चितवनका मजदुरले पारिश्रमिक नपाइरहेको विषयलाई पनि उनले जोडे । उनले भने, ‘हामी आएपछि मजदुरहरूले कार्यस्थलमा सुरक्षा, न्यायीक र पारिश्रमिक पाउने विश्वास दिलाउँछौं । किसानहरूले कृषि उत्पादनको उचित मूल्य पाउने छन् । खेती गरेरै किसान धनी बन्ने वातावरण बनाउने छौं ।’
उनले आफ्नो पुस्ता उमेर र अनुभव कम भए पनि देशभक्त र परिपक्क रहेको पनि बताए । नयाँ पुस्ता कहिल्यै पनि भ्रष्ट हुन नचाहने र गल्ती भए सच्चयाउन पनि तयार रहेको बताए ।
