मातृत्व र नेतृत्व सँगसँगै रञ्जुको राजनीतिक यात्रा

२०७४ सालमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार हुँदा रञ्जु दर्शना २१ वर्षकी थिइन् । कलिलो उमेरमा राजनीतिमा प्रवेश गरेकी उनी त्यतिबेलै खरो वक्ताको रूपमा परिचित बनिन् ।

फाल्गुन १६, २०८२

प्रकृति दाहाल, समर्पण श्री

Ranju's political journey combined with motherhood and leadership

What you should know

काठमाडौँ — करिब एक हप्ता अगाडि रञ्जु दर्शना चुनावी अभियानमा हिँड्दा मतदाताहरूले अँगालो हाल्दै स्वागत गरे, कतिपयले २०७४ सालमा भोट दिएको रञ्जु हो भनेर चिनाए । कसैले 'यस्तो अवस्थामा किन हिँडेको ? पानी खानु है आफ्नो ख्याल गर्नु' भनिरहे ।

मतदाताबाट यस्ता थुप्रै मिश्रित प्रतिक्रिया आयो । कसैले समर्थन जनाए, कसैले प्रश्न सोधे, महिलाहरूले उनको सक्रियतालाई गर्वका साथ सम्मान गरे, पुरुषहरूले कहिलेकाहीँ आलोचनात्मक प्रश्न सोधे । तर ती प्रश्न र प्रतिक्रियाहरूमा लुकेको चासो र समर्थन देखिन्छ ।

मतदाताको प्रतिक्रियाले उनीमाथि विश्वास सँगसँगै परिवर्तनको चाहना छ र अब राम्रो हुने अपेक्षा पनि छ । रञ्जु भन्छिन्, ‘चुनावी अभियानमा मिश्रित प्रतिक्रिया आइरहेको छ, यसले भिजिबल रिजल्ट देखाउँछ । ’ चुनावी अभियानमा उनले महिला र पुरुषको चेतना र व्यवहारमा फरक पाइन् महिलाबाट आत्मीय समर्थन, पुरुषबाट आलोचनात्मक चासो पाएको बताइन् ।

उनी भन्छिन्, ‘बच्चा कसले हेर्छ ? गर्भवती महिला किन हिँडेको ? आफ्नो स्वास्थ्य ठूलो हो भन्ने बारम्बार प्रश्न आइरह्यो केयर गर्ने परिवार छ, समर्थन गर्ने संरचना संगठन छ मातृत्व नेतृत्वको बाधा होइन, नेतृत्वलाई सशक्त बनाउने शक्ति हो भन्ने जवाफ दिइरहन्थे । ’

उम्मेदवारको रूपमा चुनावी घरदैलो गर्दा उनी ८ महिनाकी गर्भवती थिइन् । उनले बच्चा जन्माउने अन्तिम समयसम्म पनि घरदैलो गरिरहिन् ।

मातृत्व र नेतृत्व सँगसँगै लैजान उनलाई सहज थिएन र छैन पनि, तर परिवार र राज्य संरचनाले साथ दिए सम्भव हुने उनको धारणा छ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं-१ बाट प्रत्यक्ष उम्मेदवार हुन् रञ्जु । विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गरेपछि उनी रास्वपाकी केन्द्रीय सदस्य भइन् । त्यही पार्टीबाट अहिले प्रत्यक्ष उम्मेदवार बनाएको हो । मातृत्वलाई अगाडि बढाउन उनले समानुपातिकमा सेफ जोनमा बस्न खोजेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीको लिस्टमा उनको पहिलो नम्बरमा नै खस आर्य महिलामा सिफारिस गरेको थियो । उनले पार्टीको 'प्राइमरी इलेक्सनमा महिला'तर्फ सर्वाधिक भोट ल्याएकी पनि थिइन् ।

चुनाव र बच्चा जन्माउने समय सँगसँगै भएकाले पनि समानुपातिक रोजेको उनले बताइन् । पछि नाम हेरफेरमा भने आफ्नो नाम तल राखिएको भन्दै समानुपातिकबाट हट्ने निर्णय गरेकी थिइन् । यसरी उनलाई प्रत्यक्षमा प्रतिस्पर्धामा उत्रिन बाध्यात्मक परिस्थिति बनेको थियो । उनी भन्छिन्, ‘चुनावी समयमा पहिला समानुपातिक रोजिएको थियो, तर सूचीमा तल आउँदा किन समानुपातिक भन्ने प्रश्न उठ्यो नेतृत्वसँगको छलफलपछि प्रत्यक्षमा लड्ने निर्णय गरेको हो ।’

गत फागुन १२ मा उनले छोरालाई जन्म दिएपश्चात उनको चुनावी अभियान सामाजिक सञ्जालमा भइरहेको छ । उनी नयाँ भविष्य बोकेर चुनावी अभियानमा नै छन् । उनी भन्छिन्, ‘गर्भभित्रको पहिलो दिनदेखि अन्तिम दिनसम्मको यात्रा पार गरिसकेकी छु । बच्चा जन्मिएपश्चात ऊ स्वतन्त्र नागरिक बनेको छ । नागरिक बनेपछि उसले प्रश्न सोध्नेछ तपाईँहरूले मेरो लागि कस्तो समाज छोड्नुभयो ?’ यो प्रश्नको उत्तर दिने तयारी गरिरहेको रञ्जुले बताइन् । उत्तर दिन सक्ने नेतृत्व सिर्जना गर्नु आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् ।

Ranju's political journey combined with motherhood and leadership

१७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदा रञ्जुले धेरै पीडा र आशा भोगेकी देखेकी छन् । आउने पुस्ताप्रतिको जवाफदेहिताको जिम्मेवारी बोकेको उनी बताउँछिन् । मातृत्व र नेतृत्व सँगसँगै लैजान उनलाई सहज थिएन र छैन पनि, तर परिवार र राज्य संरचनाले साथ दिए सम्भव हुने उनको धारणा छ । चुनावी घरदैलो अभियानमा श्रीमान् किशोर कुइँकेलको हात उनको लागि साथ थियो । उनी भन्छिन्, ‘परिवारको साथ सर्पोट भएमा जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्न सक्ने हिम्मत र हौसला हुने रहेछ ।’

राजनीतिक यात्रा

२०७४ सालमा काठमाडौं महानगरको मेयरमा उम्मेदवार हुँदा उनी भर्खर २१ वर्षकी थिइन् । कलिलो उमेरमा राजनीतिमा प्रवेश गरेकी खरो वक्ताको रूपमा परिचित बनिन् । नेताहरूप्रति प्रश्न गर्ने देश बनाउने हाँक्ने एजेन्डा बोक्ने केटीको रूपमा उनको चर्चा एकाएक चुलियो आफू 'चेलीबेटी'बाट 'सेलिब्रेटी' हुन पुगेको बताइन् । देशभरबाट उनलाई फोन आउँथ्यो टेलिभिजनको अन्तर्वार्ता, सामाजिक सञ्जालमा उनको चौतर्फी चर्चा चुलिएको थियो ।

त्यसबेला विवेकशील नेपाल पार्टी उनको बलियो पार्टी संगठन थियो । वैकल्पिक राजनीतिक पार्टीको रूपमा उदाएको विवेकशीलले मेयरको उम्मेदवारको रूपमा रञ्जुलाई अघि सार्नुको कारणले नै उनको व्यक्तित्व थियो । सहर निर्माण गर्ने एजेन्डा, प्रस्ट वक्ता र उनको लोकप्रियता बलियो आधार रहेको उनी बताउँछिन् । पार्टीले उनलाई मेयर उठाउनु अगाडि सर्वेक्षण पनि गरेको थियो । जसमा काठमाडौंका प्रमुख समस्या धुवाँ धूलो, यातायात महँगी, फोहोर व्यवस्थापन मुख्य थिए । उनीहरूले मतदाताबीच नै समाधान खोजेका थिए ।

समाधानलाई राजनीतिक रूप र आम मानिसले बुझ्ने भाषामा रणनीतिक योजना बनाएको र समाधानको एजेन्डा नै चुनावी एजेन्डा बनेको उनले बताइन् । निर्वाचनमा मेयर पदको उम्मेदवारीले उनलाई युवा राजनीति र समाजमा महिला नेतृत्वको महत्त्व बुझ्न अवसर दिएको थियो । नतिजा आफ्नो पक्षमा पार्न नसके पनि उनी समाजको लागि आफ्नो भूमिकामा दृढ रहिन् ।

चुनावको अनुभवले उनलाई नेतृत्व, रणनीति र मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहन सिकाएको उनले बताइन् । उनले भनिन्, ‘चुनावमा जाँदै गर्दा म हार्न सक्ने कमेडीको पात्र बन्न सक्थेँ । यो सबै तयारी गरेर चुनावमा गएको हो, तर मैले मत भने सम्मानजनक पाएको हुँ । काठमाडौं मेयरमा उम्मेदवारी दिँदै गर्दा जनताका समस्या जनताकै भाषामा समाधान खोजेका थियौँ ।’

Ranju's political journey combined with motherhood and leadership

चुनावी अभियानमा उनी जहाँ पुग्थिन् त्यहाँ हौसला पाउँथिन् । त्यसले ऊर्जा र मतदाताको आशा भरोसाको रूपमा आफूलाई उभ्याउँथिन् । मतदाताको आश्वासन नै उनको जित्ने आधार त थियो, तर रञ्जुले क्रेज अनुसारले जित्न भने सकिनन् । मेयर बन्ने उनको ढुक्कको सपना थियो । उनी भन्छिन्, ‘चुनावको दिन म त जित्छु भन्ने आत्मविश्वासले निदाएको थिए तर नतिजा आफूले सोचेजस्तो नहुँदो रहेछ ।’ हारपछि चुनौती झन् बढ्यो नेतृत्व, नीति र निरन्तरताबारे प्रश्न उठे- अब रञ्जुले के गर्लिन् ? तर उनले पछि हट्ने बाटो रोजिनन् ।

मेयरको उम्मेदवारी दिनुअघि नै सामाजिक राजनीतिक कार्यमा सक्रिय थिइन् । २०७० सालमा विवेकशील अभियानसँग जोडिएकी रञ्जु विवेकशील नेपाल पार्टीका संस्थापक उज्वल थापाको आदर्श र सिद्धान्तबाट प्रेरित भएको बताउँछिन् । विभिन्न सभाहरू, सम्मेलनहरूमा सक्रिय थिइन् उनी । पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीको भ्रष्टाचारविरुद्ध होस् वा गोविन्द केसीको समर्थनमा होस् उनी सडकमा आवाज उठाइरहन्थिन् ।

नेपालगन्जका विभिन्न स्थानमा सडक नाटक गर्न पनि उनी पुगेकी छन् । दाइजो प्रथाविरुद्ध उनले सडक नाटकमार्फत सन्देश दिएको उनी बताउँछिन् । पार्टीको सदस्य बन्ने र नेतृत्वसँग प्रत्यक्ष सम्पर्क र मेयरको राजनीतिक यात्राले उनलाई नेपालको राजनीतिक परिदृश्य बुझ्न सहज बनायो । पार्टी कार्यकर्तासँगको संवाद, मतदातासँगको प्रत्यक्ष सम्पर्क, स्थानीय समस्याको अनुभव यी सबैले उनलाई व्यावहारिक राजनीतिक दृष्टि दिन सहयोग गरेको बताउँछिन् ।

अहिले २९ वर्षीय रञ्जु धेरै परिपक्व भइसकेकी छन् । काठमाडौँ विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरिसकेकी उनी फेरि पनि उम्मेदवारकै भूमिकामा छन् । नेतृत्व सँगसँगै मातृत्वको जिम्मेवारीमा आइपुगेकी छन् । फरक राजनीतिक विचारधारा बोक्छिन् । सोचेर बोल्छिन् उनी राजनीतिक योजनाबद्ध रूपमा उनी अगाडि बढिरहेकी छन् ।

अगाडि बढ्दै जाँदा पछाडि पनि फर्केर हेर्दै नोस्टालिक हुन्छिन् उनी । २१ वर्षको कलिलो उमेरमा स्नातक पढ्दै गरेको समय र राजनीतिक यात्रा सम्झिन्छन् पुराना भिडियोहरू हेर्छिन्, आफूले बोलेको शब्दहरू नियाल्छिन् आफ्नो बोलाई हिँडाइ, प्रस्तुति फर्केर हेर्छिन् ।

त्यो उमेरमा जे थिइन्, त्यो समयको लागि ठिक थियो भन्ने उनलाई लागेको छ । उनी भन्छिन्, ‘समयलाई हेरेर पछुताउनु पर्ने होइन, सिक्दै जाने प्रक्रिया हो यही यात्राले राजनीति बुझ्न सिकायो जसले अनुभवी बनायो र धेरै परिपक्व पनि बनायो ’ ।

एकल आमाको हुर्काइ

राजनीति गर्ने समाज हाँक्ने सपना बोकेकी रञ्जुको बाल्यकाल भने सहज थिएन । उनी गर्भमा आएको पाँच महिना मात्रै भएको थियो उनका बुafले आमाको साथ छोडेका थिए । बाबु उनको जिम्मेवारी लिन तयार भएनन् । फर्केर कहिल्यै आएनन् पनि । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा अस्पतालमा २०५२ सालमा जन्मिएकी रञ्जुको सहारा आमा अनि मामाघर थियो ।

उनी भन्छिन्, ‘त्यो बेला हजुरआमाले साथ नदिएको भए गर्भ तुहिन सक्थ्यो वा म बालआश्रम पुग्न सक्थेँ ।मामा–हजुरआमाको काखमा हुर्किएकी म मामाघर नै संसार थियो । ’ उनले बाबु भन्ने पात्र कस्तो हुन्छ भन्ने अनुभूति उनले कहिल्यै पाइनन्, साथीहरूले बाबाको कुरा गर्दा मन दुख्थ्यो आमालाई नै बाबा–आमा मानेर हुर्किएकी उनी बाबुप्रति घृणा राख्न कहिल्यै सिकिनन् । आमाले पनि कहिल्यै नकारात्मक कुरा भनिनन् । यही कारण बाबुप्रति घृणा होइन, प्रश्न मात्र रहिरहन्थ्यो । उनलाई लाग्थ्यो ‘मेरो दोष के थियो र ? भन्ने प्रश्न सधैँ आइरहन्थ्यो । ’ बुबालाई सम्पर्क गर्ने प्रयास पनि उनले गरिन् । उनले विद्यालय पढ्दै गर्दा बुबाको फोन नम्बर भेटाएर फोन पनि गरेकी थिइन्त, र बोल्न सकिनन् । गलत नम्बर भनेर काटिदिएको उनी बताउँछिन् ।

Ranju's political journey combined with motherhood and leadership

उनका लागि परिवारको अर्थ फराकिलो थियो । मामा, माइजु, दिदीबहिनी मिलाएर करिब २० जना सदस्य उनले परिवारको रूपमा गन्थिन् । आमा सिलाइ–कटाइ गदै अरूको बच्चा हुर्काउँदै आर्थिक अभाव टार्थिन् । हजुरआमा उनीहरूको खम्बा बनेर उभिदिइन् । हजुरआमाले सानो घर पास गरिदिइन् हजुरआमाको सोच थियो बस्ने ठाउँ भयो भने जसरी पनि गरेर खान सक्दछन् ।

शान्तिबाटिका स्कुलमा पढ्दा रञ्जुले केवल किताब मात्र होइन, जीवन बुझ्ने अवसर पाइन् । बुक–फ्री डे जस्ता गतिविधिले उनलाई फरक ढंगले सोच्न सिकायो । काठमाडौंमा जन्मिनु एउटा प्रिभिलेज भएपनि सबैकुरा सहजै नपाएको उनको अनुभव छ ।

उनले भनिन्, ‘काठमाडौंमा जन्मिनु एउटा अवसर हुन सक्दछ, तर सबैकुरा सम्पन्न हुँदैन भन्ने कुरा मैले मेरो जीवनबाट बुझेको छु अहिले आइरहेको बुक फ्री डे हाम्रो स्कुलमा त्यो बेलादेखि नै लागू भएको थियो । ’

नागरिकताले बुबा खोज्न बाध्य

२०६९ सालमा उनलाई कहिल्यै नदेखेकी बुबालाई खोज्न बाध्य बनायो नागरिकताले । आमाले नामबाट नागरिकता उनले पाइनन् । बुबाको माया ममताको कहिल्यै महसुस गर्न नपाएकी उनले नागरिकतामा भने बुबाको नाम चाहिएको थियो । नागरिकता बनाउन नपाउँदा त्यो समयमा उनले पहिलो पटक राज्य संरचनाको जटिलता महसुस गरिन् । आमाको नाममा नागरिकता माग्दा कर्मचारीले फाइल फालिदिएको दृश्य उनको मानसपटलमा अझै घुमिरहन्छ ।

उनी त्यो पल सम्झँदै भन्छिन्, ‘आमाले स्कुलको फि, मेरो खर्च हेरदेख सबै गर्नुहुन्थ्यो । स्कुलमा बुबाको नाम हुन्थ्यो । नागरिकता बनाउने समयमा पनि बुबा नै खोज्नुपर्ने अवस्थाले भने महिलालाई दोस्रो दर्जामा राखिएको महसुस त्यो समयमा गरेको थिएँ ।’

पुरुष नभए परिवार असुरक्षित हुन्छ भन्ने सामाजिक संरचना उनले बुझिन् । नागरिकता बनाउनु प्रमुख कारण थियो बैंक खाता खोल्नु । एसएलसी सकेपछि आईटी कम्पनीमा काम गर्दा तलब लिन बैंक खाता आवश्यकता थियो । त्यसका लागि नागरिकता अनिवार्य चाहिन्थ्यो । यही बाध्यताले उनले बुबा भेटिन । भावनात्मक रूपमा त्यो क्षण कठिन थियो । उनी भन्छिन्, ‘आमा मेरो सत्य थियो बुबा विश्वास । अरूले तिम्रो बुबा यी हुन् भनेको आधारमा मैले विश्वास गर्ने बाध्यता थियो ।’

नागरिकता बुबाले सहज रूपमा बनाइदिए । बुबाको अर्को परिवार थियो । त्यसलाई बिथोल्नु हुँदैन भन्ने सोच रञ्जुसँग थियो । उनी भन्छिन्, ‘मैले पो बाबाको साथ माया पाइनँ, तर उहाँका अरू छोराछोरीको माया नखोसियोस् भनेर कहिल्यै नजिक हुने रहर लागेन । दुई वर्ष अगाडि बाबा खस्नुभयो मप्रतिको कर्तव्य पूरा गर्नुभयो यतिमा नै कृतज्ञ छु ।’

विद्यालयकी हक्की विद्यार्थी

विद्यालय जीवनमै उनी हक्की स्वभावकी थिइन् । छोटो कपाल, फरक पहिरन, केटा साथीहरूसँग खेल्ने बानी । लैगिंकताको हिसाबले आफूलाई कहिल्यै नहेरेको उनी बताउँछिन् । विद्यालय स्तरबाट नै उनी सामाजिक क्षेत्रमा सक्रिय थिइन् ।

‘ब्रह्म कटेज हेल्पिङ हृयाण्ड’ खोलेर टोल सफा गर्ने, पैसा संकलन गर्ने, श्रमिकका छोराछोरीलाई अक्षर चिनाउने काममा उनी लागिन् । श्रमिकका छोराछोरीले पढ्नु पाउनुपर्दछ उनको बुझाइ थियो । कतिलाई उनले आफैं पढाइन् कसैलाई सिफारिस गरिदिइन् कतिका बुबा आमालाई सम्झाइरहिन् छोराछोरीले पढ्नु पर्दछ विद्यालय पठाउनु भनेर ।

उनले पढाएका ती विद्यार्थी उनको सम्पर्कमा छैनन्, तर उनले एउटा नाम भने सम्झिरहन्छिन् ‘रानी’ । उनले भनिन्, ‘रानी पढ्न जान्ने चासो राख्ने केटी थिई । उसका कुहेरे आँखा थिए । अब ती मेरा विद्यार्थीहरु ठुला भइसकेका छन् । उनीहरूले मैले पढाएको सम्झिन्छन् कि सम्झिदैनन् होला ।’

Ranju's political journey combined with motherhood and leadership

पाँच कक्षामा पढ्दा बाटो पिच नबनेको प्रश्नले उनलाई राजनीतिक चेतनातर्फ धकेल्यो । चुनाव आउँथ्यो, नेता आउँथे, तर बाटो बन्दैनथ्यो यही प्रश्नले उनलाई समाचार हेर्न, भाषण सुन्न प्रेरित गर्‍यो । उनले भनिन्, ‘बाटो नबनेर कति पटक लडियो हिँडियो, तर बाटो कहिल्यै सुध्रिएन यसको कारण राजनीतिसँग जोडिएको त्यस कारण राजनीति सुर्धानु पर्दछ भन्ने सोच त्यहीबेलादेखि नै पलाएको थियो । ’

२०६८ सालमा उनले एसएलसी दिइन् । एसएलसी सक्नसाथ टेलिमार्केटिङ उनको पहिलो जागिर थियो । प्लस टुमा आर्ट्स र ह्युमानिटिज पढ्दै गर्दा उनलाई फरक फरक विषयले तानिरहन्थ्यो । कहिले उनलाई खोजी पत्रकारिता रुचि लाग्थ्यो त कहिले कानुनप्रति चासो बढ्थ्यो । तर उनलाई देश सुधार्नु पर्दछ, बस्नलायक देश बनाउनु पर्दछ र नेपाल सधैँका लागि खुल्ला हुनुपर्दछ भन्ने धारणा विकास भयो ।

त्यहीबेला ‘विवेकशील नेपाली पार्टी’को ‘नेपाल खुल्ला छ’ अभियानसँगले उनलाई राजनीतिमा डोर्‍याएको हो । पार्टीले देश बन्दैन भन्ने नाराले उनलाई छोएको थियो । पार्टीको बाटोमा भेटिएको पर्चामा राजनीतिक भविष्य कोरेकी हुन् । उनले भनिन्, ‘विवेकशील नेपाल पार्टीको नेपाल खुल्ला छ भन्ने पर्चा बाटोमा भेटे त्यसपश्चात साथीलाई सोधे फेसबुकमा खोज्न थाले देश बनाउने पार्टी यही रहेछ भनेर उनीहरूको अभियानमा जोडिन पुगे ।’

पहिलो पटक नेपाल खुल्ला छ भनेर नेपालको झन्डा बोकेर हिँड्दा राष्ट्रप्रति गर्व महसुस भएको उनले अनुभव सुनाइन् । यही यात्रामा उनको भेट भयो उज्वल थापासँग जो पार्टीका संस्थापक थिए । घोषणापत्र पढेपछि उनलाई लाग्यो देश बनाउने टिम यही हो । त्यसपछि निरन्तर सक्रिय भइन् । २०७० सालदेखि नै विवेकशील नजिक भएर राजनीतिक अभियानमा जोडिएको थिइन् उनी । पार्टी फुटिरह्यो उनी राजनीतिलाई भने जोडिरहिन् । रञ्जुको पार्टी भित्रको रफ्तार एकै प्रकारको थिएन । पार्टी फुट्ने जुट्ने क्रम चलिरह्यो । २०७४ साउन ११ मा साझा पार्टी र विवेकशील नेपाली दलको मर्ज भएर विवेकशील साझा पार्टी बनेको थियो, तर २०७५ पुस २७ मा पार्टी विभाजित भएको थियो ।

२०७२ को भूकम्पमा उनी अग्रपंक्तिमा थिइन् । शिक्षण अस्पतालमा मृतकहरूको व्यवस्थापनदेखि राहत वितरणसम्म काम गरिन् । त्यो अनुभवले राज्यको तयारी कमजोर छ भन्ने देखायो । पार्टीले हटलाइन सेवा सुरु गरेको थियो । रातभर फोन उठाउने, सामग्री व्यवस्थापन गर्ने, स्वयंसेवक समन्वय गर्ने काममा उनी थकित भइन्, बिरामी परिन्, तर पछि हटिनन् ।

२०७५ मा विवेकशील पार्टी फुट्यो पार्टीका सदस्य एकाएक तितरबितर भए । कसैलाई पार्टीबाट निकालियो त कतिले आफैं राजीनामा दिएर निस्किए । रञ्जुले राजीनामा दिइन् । उनी भन्छिन्, ‘पार्टीमा एकाएक विचार भन्दा माथि देश आयो पार्टीको मूल्य सिद्धान्त नै हराएको थियो त्यस कारण मैले बस्न चाहिनँ । ’

२०७४ मा स्थानीय तहमा मेयरमा उठेकी उनी २०७९ मा प्रतिनिधिसभा प्रत्यक्षमा काठमाडौं-५ बाट उम्मेदवारी दिइन् । उनी कुनै पनि दलमा थिइनन् । उनले सेलरोटी चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी थिइन् । आफ्नो व्यवसायसँग जोडिएको सेलरोटी नै उनको चुनाव चिह्न थियो । चुनाव चिह्नबारे उनी भन्छिन्, ‘मेरो व्यवसाय सेलरोटीसँग जोडिएको हुनाले यही चुनाव चिह्न राखेको थिएँ । ’

२०७९ मा उनको नतिजा खस्कियो उनले जम्मा ६ सय मत मात्र ल्याइन् । उनको जमानत जफत नै भयो । २०७४ कोझैँ दर्शनाको क्रेज भने यो चुनावमा देखिएको थिएन । चुनावी अभियानबारे रञ्जु भन्छिन्, ‘मेरो उद्देश्य केवल चुनाव जित्नु थिएन, उत्तरदायी नेतृत्व सिर्जना गर्नु थियो, नेपाल निर्माण गर्ने अभियान सञ्चालन गर्नु थियो । ’

चुनावमा दुई पटक नै हार बेहोरेकी उनले फेरि पनि साहस जुटाइन् । दुई पटक हार बेहोरेकी उनलाई अहिलेको नतिजा आफ्नो पक्षमा आउँछ भन्नेमा पूर्ण विश्वस्त छन् । उनी भन्छिन्, ‘मतदाताहरूले नयाँ खोजिरहनु भएको छ यो पटकको नतिजा मेरो पक्षमा आउँछ भन्नेमा पूर्ण विश्वास छ । ’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully