चितवन–३ मा कांग्रेसका पाका उम्मेदवार, जसले ५६ वर्षअघि जितेका थिए वडाध्यक्ष

तीन निर्वाचन क्षेत्र रहेको चितवनका कुल ६४ उम्मेदवारमध्ये सबैभन्दा बढी उमेरका गुरुङ नै हुन् ।

माघ १९, २०८२

रमेशकुमार पौडेल

Veteran Congress candidate in Chitwan-3, who won 56 years ago, is Ward Chairperson

What you should know

चितवन — टेकप्रसाद गुरुङ चितवन–३ मा कांग्रेसका उम्मेदवार छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उठेकी ३० वर्षकी सोविता गौतम र ५० वर्ष पनि नपुगेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रेनु दाहाल पनि प्रतिस्पर्धामा छन् ।

एमालेका शंकर थपलिया ५६ वर्षका भए । कांग्रेसका गुरुङ ५६ वर्षअघि नै चुनावमा उठेर निर्वाचित भएको अनुभव भएका चितवनका पुराना राजनीतिज्ञ हुन् ।  

७७ वर्षका गुरुङ चितवन–३ का २३ उम्मेदवारमध्ये सबैभन्दा जेठा हुन् । तीन निर्वाचन क्षेत्र रहेको चितवनका कुल ६४ उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका गुरुङ नै हुन् । ‘कांग्रेसले देशभर १६५ क्षेत्रमा उठाएको उम्मेदवारमध्ये जेठो म नै हो,’ गुरुङले भने । पार्टीका सबै शुभचिन्तक र मतदाताको मन जित्न सक्ने ठानेर नै कांग्रेसले आफुलाई मैदानमा पठाएको उनले बताए । 

भरतपुर महानगरपालिकाका २९ मध्ये १९ र माडी नगरपालिका समेटिएको चितवन–३ मा उम्मेदवारी दिएपछि गुरुङको दौडधुप बढेको छ । अरु प्रतिस्पर्धी जसरी उनले माडीमा एकसरो घुमेर भ्याए । अहिले उनी भरतपुरमा केन्द्रीत छन् । आइतबार बिहान उनले भरतपुर–१३ मा मतदाता भेटघाट सुरु गरे । २०४६ सालको आन्दोलनका सहिद गणेश पौडेलको घरमा भुटेको मकै खाँदै गरेको तस्बिर फेसबुकमा राखे । भदौ २३ र २४ को जेनजी आन्दोलनले संसद विघटन भएपछि हुन लागेको फागुन २१ को निर्वाचनमा हरेक दलले जेनजीको भावना अनुसार भन्दै युवाहरुलाई अगाडि सार्ने लहर चलेको छ । यो बीचमा कांग्रेसको पनि विशेष महाधिवेशनबाट नयाँ पुस्ताका गगन थापा सभापति भए । गुरुङ भने चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।  

‘म उमेरले परिपक्क भए पनि युवाको भावना बुझ्ने व्यक्ति हो । किनकि म २१ वर्षको हुँदा नहुँदै चितवनमा चुनाव लडेर जनप्रतिनिधि हुँदै आएको हुँ । त्यसैले मतदाताको भावना, जिल्ला र क्षेत्रको समस्या, युवाको भावना चाहना मलाई जानकारी छ,’ गुरुङले भने । उनले आफुले माग नगरेको तर पार्टीले जिम्मेवारी सुम्पेको हुँदा उम्मेदवार भएको बताए।

चितवन–३ मा संविधान जारी भएपछि पहिलो पटक कांग्रेसले उम्मेदवार उठाएको छ । भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रसँग दुई पटक नै गठबन्धन गरेर कांग्रेसले मेयर उठाएन। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्‍यो ।

कांग्रेसले समर्थन गर्दा भरतपुरको मेयरमा तत्कालीन माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले दुई पटक नै जितिन् । तर संसदीय क्षेत्रमा कांग्रेसले समर्थन गरेका बेलामा दुवै उम्मेदवार नै पराजित भए । २०७९ को संसदीय निर्वाचनमा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरला स्वतन्त्र उठे । एमालेले समर्थन गरे पनि उनी चौथो स्थानमा रहे । समानुपातिक मतमा समेत कांग्रेस पाँचौं भयो । 

२०४८ सालमा संसदीय निर्वाचन हुँदा तीन क्षेत्र रहेको चितवनमा पछि पाँच क्षेत्रसमेत बने । हालको ३ नम्बर क्षेत्र कुनै बेला ४ र कुनै बेला ४ र ५ मा पनि बाँडियो । यी क्षेत्रहरुमा २०४८ सालपछि २०७९ सम्म सात पटक निर्वाचन हुँदा कांग्रेसका उम्मेदवार २०५१, २०५६ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । 

संविधानसभा सदस्यको पहिलो निर्वाचनमा चितवनको एउटै क्षेत्र नजितेको कांग्रेसले दोस्रो पटक २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरलालाई चितवन–४ बाट विजयी गराएको थियो । जुन भूगोल अहिले चितवन–३ मा पर्छ ।

विगतमा पार्टीको राम्रो आधार मानिएको हाल चितवन–३ अन्तर्गतको क्षेत्रमा पुरानो बिरासत फर्काउने जिम्मेवारी पुराना नेताको काधमा सुम्पेको गुरुङ बताउँछन् । आफ्नै बलमा राप्रपाका उम्मेदवारले समेत दुई पटक जितेको यो क्षेत्रमा कांग्रेसले उम्मेदवार पनि नउठाउने र समर्थन गरेका अन्य दलका उम्मेदवारले पनि जित्न नसक्दा कांग्रेसको पकड कम हुँदै गएपछि पार्टीले आफु पठाएको गुरुङको भनाइ छ ।

२००५ सालमा स्याङ्जामा जन्मेका गुरुङ २०१७ सालदेखि चितवनमा बस्न थालेका हुन् । उनी २०२६ बैशाखमा पहिलो पटक तत्कालीन शारदानगर गाउँ पञ्चायतको वडा ३ को वडाध्यक्षमा निर्वाचित भए । त्यसपछि २०२९ सालमा प्रधानपञ्च निर्वाचित भए । २०३५ को निर्वाचनमा उनी शिवनगरको प्रधानपञ्च भए ।

२०३५ सालमा उनी चितवन जिल्ला पञ्चायतको सभापति भए । जनमत संग्रहका बेला प्रजातन्त्र पक्षधर भएको भनेर तत्कालीन सरकारले त्यो समिति निलम्बन गरेको गुरुङले बताए । २०३९ सालमा उनी फेरि जिल्ला पञ्चायतको सभापति चुनिए । गुरुङ तेस्रो पटक २०४४ सालमा पनि चितवन जिल्ला पञ्चायतको सभापति बने ।

वडा, गाउँ जिल्ला हुँदै केन्द्रीय निकायमा जाने रहरले गुरुङ २०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा उम्मेदवार भएका थिए । जिल्लाभरबाट पहिलो र दोस्रो स्थानमा बढी मत ल्याउने दुई जना निर्वाचित हुने व्यवस्था अन्तर्गत हुने त्यो बेलाको निर्वाचनमा गुरुङ पाँचौ भएका थिए । बहुदल आएपछि उनी २०५१ को निर्वाचनमा पहिलो पटक कांग्रेसबाट उम्मेदवार भए ।

त्यो निर्वाचनमा गुरुङ निकटतम प्रतिस्पर्धी भए । संविधानसभा सदस्यका लागि २०६४ मा भएको निर्वाचनमा गुरुङ चितवनको तत्कालीन ४ नम्बर क्षेत्रबाट उम्मेदवार भएका थिए । यसमा पनि उनी निकटतम प्रतिस्पर्धी मात्रै भए । स्थानीय तहको निर्वाचनमा पटक पटक सफल हुँदै आएका गुरुङ माथिल्लो तहका लागि पनि पटक पटक उम्मेदवार भए पनि निर्वाचित हुन सकेका छैनन् । ‘कांग्रेसलाई एक बनाए यो क्षेत्रमा मात्रै हैन चितवनमा नै हामी एक नम्बरमा आउने छौं । यहाँका समस्या बुझेर समाधान गर्ने विषयमा मेरो पहिल्यैदेखि पहल रहँदै आयो । कांग्रेसका साथीहरु मेरो उम्मेदवारीले खुसी छन्,’ गुरुङले भने । राजनीतिमा सक्रिय नै रहेका कारण नयाँ पुस्ता र मतदाता माझ पनि आफु परिचित नै रहेको उनले दाबी गरे । 

गुरुङले चितवन कांग्रेसको पनि पटक पटक नेतृत्व गरेका छन् । २०५३ सालदेखि २०७० सालसम्म चितवन कांग्रेसको पाँच पटक सभापति भएको पनि उनले बताए । पछिल्लो समय उनी केन्द्रीय सदस्य थिए । ‘जनप्रतिनिधि हुँदै आएको पुरानो अनुभव र पार्टीमा अहिलेसम्म पनि सक्रिय नै रहेका कारण सवैको भावना बुझेको हुँदा मतदाताको मन पनि जित्छु भन्ने आशा छ,’ गुरुङले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully