चितवन–३ : संविधान जारी भएपछि कांग्रेस–एमालेले पहिलो पटक उठाए आफ्नै उम्मेदवार 

०७९ को निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल भयो । एमालेले आफ्नो उम्मेदवार उठाएन, कांग्रेसका विद्रोही दिनेश कोइरालालाई समर्थन गर्‍यो ।

माघ १७, २०८२

सुदीप कैनी, रमेशकुमार पौडेल

Chitwan-3: Congress-UML fielded its own candidate for the first time since the promulgation of the constitution

What you should know

चितवन — चितवन–३ मा संविधानसभाबाट संविधान जारी भएयता पहिलो पटक कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन् । चुनावी चासो भने नेकपा र रास्वपाका उम्मेदवारमा बढी देखिएको छ । नेकपाबाट भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रेनु दाहाल उम्मेदवार बनेकी छन् । रास्वपाले भने २०७९ मा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई यहाँ टिकट दिएको छ । 

चितवन–३ नेकपा संयोजक (तत्कालीन माओवादी अध्यक्ष) पुष्पकमल दाहालले ०७४ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको क्षेत्र हो । त्यति बेला एमालेले दाहाललाई सघाएको थियो । कांग्रेसले राप्रपाका उम्मेदवारलाई मत हालेको थियो ।

०७९ को निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल भयो । एमालेले आफ्नो उम्मेदवार उठाएन, कांग्रेसका विद्रोही दिनेश कोइरालालाई समर्थन गर्‍यो । यसले गर्दा कांग्रेस–एमालेका मतदाताले आफ्नै चुनाव चिह्नमा मत हाल्न पाएनन् । विजयी भने राप्रपाका विक्रम पाण्डे भए । 

आसन्न निर्वाचनमा चितवन–३ बाट नेकपाकी रेनु (४९), रास्वपाकी सोविता (३०) सँगै कांग्रेसबाट टेकप्रसाद गुरुङ (७७), एमालेबाट शंकरराज थपलिया (५६), राप्रपाबाट दीपक थापामगर (४७) उम्मेदवार छन् ।

जसपाबाट थमनसिङ सुनार, नेमकिपाका बद्री लक्ष्मी कवां, राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर केसी, प्रलोपाका वृद्धिराज तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट टेकबहादुर तामाङ उम्मेदवार छन् । 

नेकपा संयुक्तबाट जितबहादुर विक, राष्ट्रिय नागरिक पार्टीबाट विजन गुरुङ, नेसनल रिपब्लिक नेपालबाट सेतीमाया तामाङ, श्रम संस्कृति पार्टी तोजमान गुरुङ, नेकपा माओवादीबाट आशिकप्रसाद महतो, उज्यालो नेपालबाट डम्बरबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टीबाट हरिमाया महतोले उम्मेदवारी दिएका छन् ।

इन्द्रमाया पौडेल, कृष्णप्रसाद अधिकारी, पार्वती पौडेल काफ्ले, मधुमाया अधिकारी, रञ्जना पौडेल र रोलबहादुर गुरुङले भने स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् ।

लामो समयपछि आफ्नो पार्टीबाट उम्मेदवारी परेकाले कांग्रेस र एमालेका कार्यकर्ता उत्साही छन् । चितवन–३ मा पहिले कांग्रेस बलियो मानिन्थ्यो तर केन्द्रले अर्को दललाई चुनावमा सघाउने निर्णय गरेपछि असन्तुष्टि हुन्थ्यो ।

०७४ र ०७९ का चुनावमा कांग्रेसले गठबन्धन गरेको दलका उम्मेदवार पराजित भएका थिए । गठबन्धन गरेर उम्मेदवार नउठाउँदा कांग्रेसको मत पनि गुम्दै गएको थियो । गएको निर्वाचनमा समानुपातिकतर्फ चितवन–३ मा कांग्रेस पाँचौं भएको थियो । 

चितवन–३ का मतदाताले नेकपा र रास्वपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिरहेका छन् । नेकपा उम्मेदवार रेनुले भरतपुर महानगर प्रमुखको चुनाव ०७४ र ०७९ जितेकी थिइन् । ०७४ को भरतपुर महानगरपालिकाको चुनावमा मतगणना अन्तिमतिर पुगेका बेला मतपत्र च्यातिएको प्रकरण बहुचर्चित बनेको थियो ।

Chitwan-3: Congress-UML fielded its own candidate for the first time since the promulgation of the constitutionरेनुले हार्ने देखिएपछि मतपत्र च्यातेर पुनः मतदान गराई निर्वाचित गराइएको आरोप तत्कालीन माओवादीमाथि लागेको थियो ।

त्यति बेला तत्कालीन माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री थिए, स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल थियो । पुनः मतदानपछि रेनु ४३ हजार १ सय २७ मतले विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । रेनुलाई कांग्रेसले सघाएको थियो । 

०७९ को स्थानीय तह निर्वाचनमा भने रेनु फराकिलो मतान्तरले विजयी भइन् । कांग्रेससँगकै तालमेलमा उनले ५२ हजार २८ मत ल्याइन्, निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८२ मत प्राप्त गरे ।

दुई पटक गरी ८ वर्ष नगर प्रमुख रहँदा भरतपुरमा दाहालको नेतृत्वमा विकास, निर्माणको लहर नै चलेको नगरवासीको भनाइ छ । उनले महानगरलाई लगाएको गुन मतमार्फत तिर्नुपर्छ भन्ने मतदाता प्रशस्तै भेटिन्छन् । रेनुसँग संविधानसभा सदस्यको अनुभव पनि छ । 

रास्वपा उम्मेदवार सोवितालाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । ०७९ को निर्वाचनमा उनी काठमाडौं–२ मा १५ हजार २ सय ३८ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

Chitwan-3: Congress-UML fielded its own candidate for the first time since the promulgation of the constitutionत्यति बेला कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती, एमालेका उम्मेदवार मणिराम फुयाल र राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेललाई उनले हराएकी हुन् । काठमाडौं–२ मा दोस्रो बढी फुयालले ११ हजार ५ सय ६६ मत प्राप्त गरेका थिए । 

दोलखा जिल्लाकी सोविताले यस पटक काठमाडौं–२ मा रास्वपाका उम्मेदवार सुनिल केसीलाई छाड्दै चितवन–३ रोजेकी हुन् । कानुनमा स्नातकोत्तर गरेकी गौतमले सांसद रहँदै चितवनका गृहेन्द्र घिमिरेसँग विवाह गरेकी थिइन् । 

चितवन–३ मा १ लाख ५५ हजार ३ सय ९ मतदाता छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा १ लाख ४४ हजार २ सय ८३ मतदाता थिए । माडी नगरपालिका पूरै र भरतपुर महानगरका २९ मध्ये २० वडा चितवन–३ मा पर्छन् । 

यहाँ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका नेता विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए ।

निकटतम प्रतिद्वन्द्वी माओवादीका भोजराज अधिकारीले २५ हजार ८ सय २४ मत ल्याएका थिए । रास्वपाकी जिता बरालले १४ हजार ८ सय ४३ मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने र क्षेत्र नं १ मा रास्वपा नेता हरि ढकाल विजयी हुँदा चितवन–३ मा रास्वपा तेस्रो भएको हो । 

कांग्रेसले माओवादीसँग गठबन्धन गरेपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत प्रात गरेका थिए । उनलाई एमालेले समर्थन गरेको थियो । मुख्य दल कांग्रेस र एमालेका उम्मेदवार नभएपछि असन्तुष्ट मत कोइराला, पाण्डे र बरालले पाएको स्थानीयको विश्लेषण छ ।

गएको निर्वाचनमा प्रत्यक्षमा तेस्रो भएको रास्वपाले समानुपातिकतर्फ सबैभन्दा बढी २८ हजार ४ सय १ मत प्राप्त गरेको थियो । राप्रपाले १६ हजार ७ सय ५५, माओवादीले १६ हजार ९०, एमालेले १४ हजार ५ सय २२ मत र कांग्रेसले १० हजार ५ सय २४ मत ल्याएका थिए । 

चितवन–३ मा ०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट तत्कालीन माओवादी अध्यक्ष दाहाल ४८ हजार २ सय ७६ मत ल्याएर विजयी भएका थिए । कांग्रेससँगको गठबन्धनमा विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए । 

Chitwan-3: Congress-UML fielded its own candidate for the first time since the promulgation of the constitution०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगर उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ सय मत प्राप्त गरी विजयी भएका थिए । राप्रपा उम्मेदवार हिमला गुरुङले ३० हजार ६ सय ११ मत ल्याएकी थिइन् । अधिकांश वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए । 

माडी नगरपालिकामा एमाले उम्मेदवार ताराकुमारी काजी महतो ९ हजार ९ सय १ मत प्राप्त गरेर विजयी भएकी थिइन् । त्यति बेला माओवादी उम्मेदवार ऋषिराम काफ्लेले ७ हजार ७ सय २९ मत ल्याएका थिए ।

उपप्रमुखमा कांग्रेसका खेमप्रसाद महतो विजयी हुँदा राप्रपाका मदनप्रसाद पौडेल दोस्रो भएका थिए । ९ वटामध्ये चार वटामा माओवादी उम्मेदवार र २ वटामा एकीकृत समाजवादीबाट वडाध्यक्ष विजयी भएका थिए । माओवादी र समाजवादी मिलेर अहिले नेकपा बनेको छ ।

सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीले ३८ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा विस्फोट गराएको थियो ।

विस्फोटस्थल नजिकै केही दिनअघि भेटिएकी माडी–७ की ४६ वर्षीया कमला काफ्लेले द्वन्द्वमा माओवादी र अहिले जंगली जनावरबाट दुःख पाएको सुनाइन् । ‘हरेक वर्ष जंगली जनावरबाट मान्छे, अन्नबाली र घरपालुवा जनावरको क्षति हुन्छ । क्षतिबाट जोगाउने नेतालाई यस पटक भोट दिने सोचेका छौं,’ उनले भनिन् । 

विस्फोटस्थल नजिकै केही दिनअघि भेटिएकी माडी–७ की ४६ वर्षीया कमला काफ्लेले द्वन्द्वमा माओवादी र अहिले जंगली जनावरबाट दुःख पाएको सुनाइन् ।माडीका २८ वर्षीय प्रविन अधिकारी भने प्रतिनिधिसभा सदस्यको चुनावमा विकास निर्माणभन्दा पनि गतिलो ऐन, कानुन बनाउन सक्ने सक्षम उम्मेदवारलाई मत दिनुपर्ने बताउँछन् । ‘पुल, बाटोघाटो त स्थानीय तहबाट पनि निर्माण हुन्छन् । 

सांसदले त देशलाई चाहिने कानुन दिन सक्नुपर्छ,’ उनले भने । पुराना पार्टीप्रति असन्तुष्टि, नयाँ पार्टी र तिनका उम्मेदवारप्रति आशा माडीमा पनि देखिन्छ ।

अधिकारीलाई भने परम्परागत मतमा प्रभाव पर्ने गरी मत परिवर्तन हुन्छ भन्ने लाग्दैन । ‘देशभर एक खालको हल्ला र माहोल देखिन्छ तर चुनावको दिनसम्म त्यो नरहन पनि सक्छ,’ उनी भन्छन् । 

बाँदरमुढे घटनाका पीडित कृष्णप्रसाद अधिकारी भने नयाँ, पुराना सबै दलप्रति असन्तुष्ट देखिन्छन् । साँझमा घरमै भेटिएका उनले कसैले पनि उक्त घटनाको सत्यतथ्य छानबिन गरेर न्याय दिलाउन पहल नगरेको उनको गुनासो छ ।

‘कांग्रेस, एमाले, माओवादीका नेताहरूले न्याय दिन्छौं भनेर झुक्याए,’ उनले भने, ‘घाइते र मृतकको जीवन निर्वाहमा कसैले ध्यान दिएनन् ।’ नयाँ खुलेका पार्टीहरूको पनि नीति, कार्यक्रममा स्पष्टता नरहेको उनले जनाए । 

चितवनबाट निर्वाचन जित्ने सांसदले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत बाँदरमुढे घटनाको छानबिन गरी टुंगोमा पुर्‍याउनुपर्ने उनको धारणा छ । २३ जेठ ०६२ मा माडी बगईबाट नारायणगढतर्फ जादै गरेको सार्वजनिक बस बाँदरमुढे खोलामा धरापमा परी विस्फोट भएको थियो ।

घटनामा ३५ सर्वसाधारण र ३ नेपाली सैनिकको ज्यान गएको थियो । ७३ सर्वसाधारण घाइते भएका थिए । उनीहरूको सम्झनामा माडी–६ मा बाँदरमुढे स्मारक बनाइएको छ । भरतपुर–९ की सीता बोहारा विकास निर्माणमा योगदान गर्ने उम्मेदवारलाई छान्ने बताउँछिन् ।

‘भरतपुरले ५/७ वर्षमा विकास निर्माणमा कायापलट गर्‍यो । त्यो कसले गर्‍यो, सबैले बुझेकै छन् । बाटोघाटो, अस्पताल सुधार गर्ने, महिलालाई सुविधा दिने नेतालाई भोट दिनुपर्छ,’ उनले भनिन् । 

भरतपुरकै राधिका थापा पुराना पार्टी र तिनका नेताप्रति वितृष्णा रहेकाले मतदाताले नयाँ उम्मेदवार छान्ने बताउँछिन् । ‘कसैले पनि आफ्नो खल्तीको पैसा खर्च गरेर विकास निर्माण गर्ने होइन । राज्यको पैसाले नै गर्ने हो,’ उनले भनिन्, ‘नयाँलाई पनि पालो दिनुपर्छ ।’ 

Chitwan-3: Congress-UML fielded its own candidate for the first time since the promulgation of the constitutionतत्कालीन मेयर रेनु दाहालले राज्यको बजेट ल्याउन पहल गरेको र त्यसलाई सदुपयोग गर्दै विकास निर्माणमा खर्च गरेको उनका समर्थक बताउँछन् ।

अन्य दलका नेता–कार्यकर्ता भने बाबु पुष्पकमल दाहालको पहुँचका कारण महानगरभित्र मात्रै बजेट ल्याएको र अन्य ठाउँमा अन्याय गरेको आरोप लगाउँछन् ।

यसअघि रास्वपाले चितवनका अन्य दुई क्षेत्र जितेकाले त्यसको प्रभाव यस पटक चितवन–३ मा पनि पर्ने गौतम समर्थकको दाबी छ ।

Chitwan-3: Congress-UML fielded its own candidate for the first time since the promulgation of the constitutionभरतपुर–१३ का सन्तोष दवाडी पार्टीको सांगठनिक मत र उम्मेदवारले पाउने व्यक्तिगत मत हुने भएकाले परिणाम नतिजा अहिल्यै अनुमान गर्न नसकिने बताउँछन् । ‘सांगठनिक रूपमा कांग्रेस, एमाले, नेकपा र रास्वपा पनि कमजोर छैनन् । 

तर देशभरको माहोल अर्कै देखिन्छ । नयाँ पार्टीको पनि उम्मेदवारी परेको छ,’ उनी भन्छन्, ‘रेनु दाहालप्रति मतदाताको सहानुभूति पनि देखिन्छ ।’ सोविताले पनि आफ्नो प्रभाव विस्तार गर्दै लगेकाले तीव्र प्रतिस्पर्धा हुने उनको अनुमान छ । 

एमालेका शंकर थपलिया र कांग्रेसका टेकप्रसाद गुरुङ संगठनको बलले चुनाव जित्ने बताउँछन् । राप्रपाका दीपक थापा मगर पनि जित्ने दाबी गर्छन् ।

०७९ को निर्वाचनका विजयी विक्रम पाण्डेले जेन–जी आन्दोलनको भावना अनुरूप युवालाई मौका दिन दीपकलाई उठाएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । पाण्डेले दीपकलाई साथै लिएर निर्वाचन अभियान चलाइरहेका छन् ।

देशभर चर्चामा आएका नवगठित श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारले पनि निर्वाचनमा माहोल बनाउँदै छन् । उम्मेदवारहरूले घरदैलो गरिरहेका छन् ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully