कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, पूर्वमन्त्री तथा नेकपा नेता अमनलाल मोदी र एमालेका पूर्व प्रदेशमन्त्री जीवन घिमिरेसहित रास्वपाबाट विराटनगरका पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले चुनावलाई थप रोचक बनाउने देखिन्छ ।
What you should know
विराटनगर — मोरङ–४ मा यसपटक पुराना दलका हेभिवेटहरूलाई नयाँ दलका उम्मेदवारको चुनौती सामना गर्नुपर्नेछ ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, पूर्वमन्त्री तथा नेकपा नेता अमनलाल मोदी र एमालेका पूर्व प्रदेशमन्त्री जीवन घिमिरे प्रतिस्पर्धामा छन् । यी नेताहरुले अघिल्ला दुई निर्वाचनमा ‘सहकार्य’ गरे । तर, यसपटक उनीहरु आमनेसामने छन् । यसले प्रतिस्पर्धालाई रोचक पारेको छ ।
अघिल्लो प्रदेशसभा निर्वाचन र पार्टीको प्रदेश अधिवेशनमा हार बेहोरेपछि केही समय राजनीतिक रूपमा ओझेल परेका घिमिरे जेन–जी आन्दोलनपछि भने पुनरागमन गरेका छन् । कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट उनी महामन्त्री बनेसँगै पार्टी राजनीतिको प्रभावशाली भूमिकामा फर्किएका हुन् । अब यो निर्वाचन उनका लागि राजनीतिक पुनरागमनलाई संस्थागत गर्ने अवसर मात्र होइन, पुराना दलका स्थापित नेताहरूलाई चुनौती दिने अवसर पनि बनेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादी तालमेल हुँदा घिमिरेले मोदीलाई सघाएका थिए । मोदी जितेर प्रतिनिधिसभा पुगे । मन्त्री बने । घिमिरे प्रदेशसभाको मोरङ ४ (१) बाट पराजित भए । यसपटकको माहोल भिन्न छ । न माओवादीसँग तालमेल छ, न एमालेसँग । घिमिरे आफ्नै बलमा मैदानमा उत्रिएका छन्, जसले हेभिवेट नेताहरूमाझ त्रिकोणात्मक प्रतिस्पर्धाको संकेत दिएको छ ।
विद्यार्थी राजनीतिबाट मूलधारमा आएका घिमिरे राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासतमा बसेका नेता हुन् । संगठन बिस्तार र पार्टीभित्रको सक्रियताले उनलाई कांग्रेसको नयाँ पुस्ताका प्रभावशाली नेतामध्ये एकका रूपमा चिनाएको छ । यही पहिचानका आधारमा उनी स्थापित नेताहरूविरुद्ध नयाँ विकल्पको सन्देश दिन खोजिरहेका छन् ।
१ लाख १९ हजार २५ सय ५ मतदाता रहेको मोरङ–४ थारु बाहुल्य क्षेत्र हो । ग्रामथान र कटहरी गाउँपालिकाका सबै वडा तथा विराटनगरका १, २, ३, ८, १०, १९ र बेलबारीका ५, ६, ७ गरी २३ वडा यस क्षेत्रमा पर्छन् । यहाँ ६१ हजार १ सय ९२ पुरुष, ५८ हजार ६२ महिला र १ अन्य मतदाता छन् । मतदानका लागि ४० मतदानस्थल र १ सय ३१ मतदान केन्द्र तोकिएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनको नतिजाले भने यस क्षेत्रमा एमालेको संगठन बलियो देखाएको छ । २३ वडामध्ये एमालेले १८, कांग्रेसले ३ र माओवादी केन्द्रले १ वडा जितेको थियो । यद्यपि गत मंसिरमा ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित हुनु गठबन्धन बाहिरको प्रतिस्पर्धा पनि निर्णायक हुन सक्ने देखिन्छ ।
यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराटनगरका पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले चुनावलाई थप रोचक बनाउने देखिन्छ । परम्परागत दलका हेभिवेटहरूबीचको भिडन्तमा राजवंशीको प्रवेशले मत विभाजनको सम्भावना बढाएको विश्लेषण भइरहेको छ । अघिल्लो निर्वाचनमा रास्वपाका नेत्रप्रसाद शिवाकोटीले ५ हजार ३ सय ३३ मत ल्याएका थिए ।
‘विगतमा एमाले र अहिले माओवादी गढ मानिने यो क्षेत्रको नेतृत्व यसपटक परिवर्तन हुन सक्ने सम्भावना देखिन्छ’, स्थानीय मतदाता रामप्रित मण्डल भन्छन्,‘मतदाताले यसपटक नयाँ अनुहार खोजिरहेका छन् ।’
