काठमाडौं-७ का मतदाता भन्छन् : चुनावपछि न जितेका आए, न हारेका

काठमाडौं क्षेत्र नम्बर ७ बाट यसपालि २७ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये ११ जना त स्वतन्त्र उम्मेदवार नै छन् । पार्टीका उम्मेदवारहरू भने केही दोहोरिएका छन् ।

माघ १५, २०८२

समर्पण श्री

Voters of Kathmandu-7 say: Neither winners nor losers came after the election

What you should know

काठमाडौँ — जब-जब चुनाव आउँछ, ठूला-ठूला सपना बाँड्दै आउने उम्मेदवारहरूसँग सोह्रखुट्टेका रवि श्रेष्ठ (५४)को गुनासो मात्र हुन्छ । उनी काठमाडौं क्षेत्र नम्बर- ७ का मतदाता हुन् । अघिल्लो वर्ष पनि उसैगरी उम्मेदवारहरू उनको किराना पसलमा अडिए । डायरीमा केही टिपोट गरे ।

यो तीन वर्षमा न जितेकाहरू फर्किए, न पराजय बेहोरेकाहरू । अब फेरि फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यो निर्वाचनमा पनि कुनै नयाँ र कुनै दोहोरिएका अनुहार फेरि उही बाटो भएर आउँछन् लागेको छ रविलाई । ‘तर आशा र विश्वास त कसैसँग पनि छैन,’ उनी सन्देह प्रकट गर्दै भन्छन् ।

जति ठूला आश्वासन बाँडे पनि आम नागरिक प्रशासनको झन्झटिलो अड्चनमा फस्दा चुनावी घोषणाहरू फिक्का लागेर आउँछन् रविनलाई । केही समयअघि श्रीमती रबिताको राहदानी बनाउन जाँदाको सास्ती उनी सम्झिन्छन् । ‘नागरिकतामा नामको अक्षर 'ब' स्पष्ट नभएको बहानामा हामीलाई तीन महिनासम्म प्रशासनले दुःख दियो । जबकि रबिता नै हो भनेर पुष्टि हुने लालपुर्जा, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्र हुँदाहुँदै पनि प्रशासनले प्रतिलिपि ल्याउन भन्दै वडा नम्बर १७ बाट १६ सम्म महिनौँ धाउन बाध्य पार्‍यो,’ रवि भन्छन् ।

Voters of Kathmandu-7 say: Neither winners nor losers came after the electionरवि दम्पती एमबीए पासआउट हुन् । पढेको मान्छेले त एउटा पासपोर्ट बनाउन लडाइँ जितेजस्तो गर्नुपर्छ भने अरु नागरिकाले कति दु:ख पाउलान् भन्ने कुरा सोच्दैमा उदेक लाग्ने उनी बताउँछन् । ‘आफ्नै अधिकारको लागि पनि महिनौँ काम छाडेर धाउनुपर्ने अवस्थामा कुनचाहिँ उम्मेदवारबाट यो परिवर्तनको आशा राख्ने,’ उनी थप्छन् ।

तैपनि चुनाव नजिकिँदै गर्दा विदेश रहेका जेन-जी पुस्ताका छोरा सौरभले उनलाई सुझाएका छन्, ‘अवसर त नयाँलाई नै दिनुपर्छ ।’ सुविधा बढेसँगै समस्याहरू थुप्रिरहने सहरमा उम्मेदवारहरूलाई यो कुरामा सचेत हुन आग्रह छ उनको ।

नयाँबजारका महेश तुलाधार (४५)त यसपालि भोटै नदिने सुर कसिरहेका छन् । सामाजिक सञ्जालबाहेक आफ्नो वरिपरि चुनावी सरगर्मी बढेको छैन । र महेशको मनमा उत्साह छैन । ‘०५४ सालदेखि लगातार भोट हालिरहेको छु । तर आजसम्म कसैको काम चित्त बुझेको छैन,‘महेश भन्छन्, ‘न पुरानाले गरे न नयाँले । नयाँ भनेर आएका पनि मिल्न सकेका छैनन् ।’ ज्वेलरी पसल सञ्चालन गर्दै आएका महेश आफ्नै पसलको अघिल्तिर औंलाले देखाउँदै थप्छन्, ‘यही बाटो हेर्नु त । जति पटक पिच गरे पनि बिग्रिरहन्छ । ढल व्यवस्थापन छैन । ठाउँ ठाउँमा मेलम्चीको पानी चुहिएको छ । कुनै ठाउँमा पानी छैन । कुनै कुरा ढंगले हुन्न भने हामी कसलाई विश्वास गर्ने ?’

मैदानमा दोहोरिएका उम्मेदवार

काठमाडौं क्षेत्र नम्बर ७ बाट यसपालि २७ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये ११ जना त स्वतन्त्र उम्मेदवार नै छन् । पार्टीका उम्मेदवारहरू भने केही दोहोरिएका छन् ।  २०७९ सालको चुनावमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले जित हासिल गरेका थिए । उनै पराजुली यसपटक पनि रास्वपाबाट यस क्षेत्रको चुनावी मैदानमा छन् । पराजुलीले त्यतिबेला ८,७४३ मत पाउँदै विजय हासिल गरेका थिए । उनीसँग चुनावी मैदानमा प्रतिस्पर्धा गरेका दुई बलिया प्रतिद्वन्द्वीचाहिँ यसपालि दोहोरिएनन् । एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत पाएका थिए नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाएकी थिइन् । कांग्रेस-माओवादीको गठबन्धनबाट उनी साझा उम्मेदवार थिइन् । 

मानुषी जुन क्षेत्रबाट चुनाव लडेकी थिइन्, सोही क्षेत्रबाट आमा हिसिला यमीले २०७० सालमा चुनाव लडेकी थिइन् । यो क्षेत्रबाट ०७० र ०७४ मा लगातार एमालेका रामवीर मानन्धरले जित हासिल गरेका थिए । तर एमालेको किल्लालाई ०७९ मा वैकल्पिक पार्टीको रुपमा चिनिएको रास्वपाले भत्काएको थियो । अघिल्लो पालि गठबन्धनका कारण आफ्नो उम्मेदवार नउठाएको कांग्रेसले यसपालि प्रमोदहरि गुरागाईंलाई अघि सारेको छ । उनी गगन थापानिकट हुन् । 

यसपालि एमालेबाट प्रकाश श्रेष्ठ चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालकुमार लामा र नेकपाबाट वसन्तप्रसाद मानन्धर उम्मेदवार छन् । यी तीन जना पनि चुनावी प्रतिस्पर्धामा दोहोरिएका अनुहार हुन् । ०७९मा काठमाडौं क्षेत्र नं. ७ प्रदेशसभा (२) मा एमालेका उम्मेदवार प्रकाशले विजयी भएका छन् । उनले ५ हजार २ सय १८ मत प्राप्त गरेका थिए । काठमाडौं क्षेत्र नं. ७ प्रदेशसभा (२)मा उनीसँग प्रतिस्पर्धा गरेका लालकुमार अहिले प्रतिनिधिसभाका उम्मेदवार छन् । कांग्रेसको सविन तामाङ दोस्रो हुँदा लालकुमार तेस्रो भएका थिए । लालकुमारले दुई हजार ७९७ मत प्राप्त गरेका थिए । प्रकाश दुई पटक प्रदेश मन्त्री पनि भए । अहिले प्रदेशसभाबाट राजीनामा दिएर उनी प्रतिनिधिसभाको चुनावी मैदानमा होमिए । र लाल  कुमार यसपटक फेरि भिड्दैछन् ।

नेकपा उम्मेदवार मानन्धर पनि अहिले प्रदेशसभामा राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । उनी तत्कालीन नेकपा एसबाट प्रदेशसभा निर्वाचन क्षेत्र ७ (१) बाट विजयी बनेका थिए ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट दीर्घ कुमार श्रेष्ठ, नेकपा (संयुक्त) बाट गुणबहादुर बन्जारा क्षेत्री, नेमकिपाबाट गणेशमाया डंगोल, जसपा, नेपालबाट बाबु राम लामा, आजपाबाट प्रदीप भट्टराई,  प्रलोपाबाट अमिन रत्न ताम्राकार, राष्ट्रिय एकता दलबाट विनोद कुमार गुरुङ, जय मातृभूमि पार्टीबाट बैकुण्ठ फुयाल, श्रम संस्कृति पार्टीबाट मणिराम बहादुर प्रधान, नेकपा (माओवादी) बाट दीपक मानन्धर, उज्यालो नेपाल पार्टीबाट विमला लामा, र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) बाट दिपीन पन्त चुनावी मैदानमा छन् ।

प्रतिस्पर्धा रोचक बन्न सक्ने

प्रदेशसभामा जितेका वसन्तप्रसाद हुन् वा प्रकाश श्रेष्ठ वा प्रतिनिधिसभामा जितेका रास्वपाका गणेश पराजुली । राप्रपाको पनि राम्रो मत भएको ठाउँमा यो क्षेत्रमा उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । त्यसैगरी प्रमोदहरि पनि मतदाताबीच राम्रो छवि भएका  र विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस चुनावमा होमिँदा उक्त क्षेत्रमा आशा थपिएको छ । ‘कांग्रेस सकियो भन्ने लागेको थियो । तर गगन विश्व आएसँगै पार्टी बदलिएको अनुभूति भएको छ । यसकारण आशावादी छौँ,’ क्षेत्रपाटीका एक मतदाता भन्छन् ।

अघिल्लो पटक जितेर संसद् छिरेका गणेश पराजुली आफूले नीति निर्माण र कानुन बनाउने कुरामा केन्द्रित हुने भएकाले जनतालाई झुटा आश्वासन दिएर भ्रममा पार्न नहुने नहुने बताउँछन् । ‘सांसदको काम स्थानीय तहको वडा अध्यक्षको जस्तो मात्र नभई रणनीतिक नीतिहरू बनाउने र ती नीतिले भुइँतहमा सही रूपमा काम गरेका छन् कि छैनन् भनेर अनुगमन गर्ने हुनुपर्छ,’ उनी भन्छन्, ‘अहिले हाम्रो मुख्य लडाइँ देशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्नका लागि हो । मेरो निर्वाचन क्षेत्रमा संघीय बजेटबाट हुने विकासका कामहरूमा 'कमिसनतन्त्र' अन्त्य गर्न म दृढताका साथ लागिपरेको छु ।’ 

स्थानीय सरकारले गर्न नसक्ने ठूला परियोजनाहरूका लागि संघीय निकायसँग लबिङ गर्न पनि आफू लागि पर्ने उनी बताउँछन् । ‘उदाहरणका लागि, लामो समयदेखि अलपत्र रिङरोड परियोजना सम्पन्न गर्न हामीले निरन्तर पहल गरिरहेका छौँ । हामीले विकासका योजनाहरू स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयन गर्ने र त्यसको गुणस्तर कायम गर्न स्थानीय जनताको सहभागिता सुनिश्चित गर्ने मोडलमा काम गरिरहेका छौँ,’ उनी थप्छन् ।

राप्रपाका लालकुमार लामा अघिल्लो पटक हार बेहोर्नुपरेका विषयमा आत्मसमीक्षा गर्छन् । ‘त्यतिबेला भतिज कांग्रेसबाट उम्मेदवार बनेकाले हाम्रो मत दुईतिर विभाजित भएको थियो । त्यसमाथि ६ वटा दलहरू मिलेर गठबन्धन गरेका थिए । अब त्यस्तो अवस्था छैन,’ लालकुमार भन्छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश श्रेष्ठ भने आफू यस क्षेत्रको भूगोल र जनताको मनोविज्ञानसँग पूर्ण रूपमा परिचित रहेको बताउँछन् । ‘२०४८/४९ सालदेखि नै यसै क्षेत्रको संगठनमा सक्रिय रहेकाले मलाई यहाँका मतदाताले पत्याउनेमा विश्वस्त छु । प्रतिस्पर्धाको हिसाबले म पहिलो नै हुन्छु र जित्छु भन्नेमा म कन्फिडेन्ट छु, किनकि जनताले मेरो कामलाई पत्याएका छन्,’ उनी भन्छन् । आफूले भित्री वडाहरूमा ढल व्यवस्थापन, सम्पदा संरक्षण तथा व्यवस्थित शहरीकरणलाई प्राथमिकतामा राखेको पनि उनले बताए ।

Voters of Kathmandu-7 say: Neither winners nor losers came after the electionसोह्रखुट्टेकै ५३ वर्षीय सर्वेश्वर श्रेष्ठ हरेक पटक आफूले नयाँलाई अवसर दिएको बताउँछन् । यसपालि पनि उनले नयाँ उम्मेदवारहरू नै खोजेका छन् । ‘मतदान गर्न त गइन्छ तर भोट हालेर परिवतर्न भएको छैन । औपचारिकता मात्र पूरा गरिरहेको छु,’ उनी भन्छन् ।

रानीवनका ३९ वर्षीय भरत पाण्डे ०६४ सम्म गोरखाका मतदाता थिए ।  उनले पनि विगतमा फरक-फरक पार्टी र उम्मेदवारलाई मतदान गर्दै आए । ‘पुराना दल र नेताहरूले सोचेअनुसार काम गरेनन् । यसपटक नयाँ शक्ति र युवा उम्मेदवारलाई अवसर दिनुपर्छ भन्ने लागेको छ,’ उनी भन्छन् । 

काठमाडौं-७ मा कुन-कुन ठाउँ पर्छन् ?

काठमाडौं महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । महानगरका १६, १७, १८, २५ वडाका म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोल, तारकेश्वर नगरपालिकाका ३, ४, ५ का तीनपिपले, गोलढुंगा, लोलाङ र नागार्जुन नगरपालिकाका १, २, ३ का रानीवन, ठूलोभर्‍याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् । 

प्रतिनिधिसभा निर्वाचन २०८२

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully