हर्क साम्पाङको अड्डा ‘ग्रीन टी’

यो कुनै साधारण चिया पसल मात्र होइन, साम्पाङको विचार, संवाद र राजनीतिक यात्रासँग गहिरो रूपमा गाँसिएको एउटा थलो हो। यहाँ उनले राजनीति सिके र जनता सुने ।

माघ १४, २०८२

एलिना राई

Hark Sampang's base 'Green Tea'

What you should know

धरान — धरानका पूर्व नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको राजनीतिक जीवनलाई नजिकबाट नियाल्दा एउटा नाम अनिवार्य रूपमा अगाडि आउँछ—ग्रीन टी हाउस।

यो कुनै साधारण चिया पसल मात्र होइन, साम्पाङको विचार, संवाद र राजनीतिक यात्रासँग गहिरो रूपमा गाँसिएको एउटा थलो हो। यहाँ उनले राजनीति सिके र जनता सुने । 

धरान–१८ बुद्ध चोकस्थित रहेको ट्रस्ट अर्गानिक ग्रीन टीबाटै हर्क साम्पाङको बिहान सुरु हुन्छ। विगत आठ–नौ वर्षदेखि निरन्तर चल्दै आएको यो दिनचर्या उनी पार्टी अध्यक्ष बनेपछि पनि बदलिएको छैन। धरानको भीडभाड सुरु हुनुअघि नै उनी ग्रीन टी हाउस पुग्छन्। हरियो चियाको एक कपसँगै दिनको सुरुवात हुन्छ र त्यससँगै सुरु हुन्छ संवादको शृङ्खला—देश, समाज, श्रम, राजनीति र जनजीवनका विषयमा। औपचारिकता छैन, तर कुरा गम्भीर हुन्छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिँदा धेरैले हर्क साम्पाङलाई गम्भीर रूपमा लिएका थिएनन्। उनको वरिपरि जम्मा पाँच–छ जना मात्र थिए। हातमा माइक बोकेर आफ्ना एजेन्डा सुनाउँदै धरानका गल्ली–गल्ली हिँड्ने त्यो यात्राको सुरुवात पनि ग्रीन टी हाउसबाटै भएको थियो। त्यतिबेला यो चिया पसल कुनै औपचारिक चुनावी कार्यालय थिएन। न यहाँ झन्डा थियो, न मञ्च, न नाराबाजी; थियो त केवल साम्पाङको आवाज र दृढ विश्वास।

समयले कोल्टे फेर्‍यो। आज ग्रीन टी हाउस केवल चिया पसल भनेर चिनिँदैन, यो ‘हर्क साम्पाङको अड्डा’ बनेको छ। यहाँ उनलाई भेट्न मानिसको भीड लाग्छ, श्रमदाताहरू भेला हुन्छन्, कार्यकर्ता र शुभेच्छुकहरू छलफलमा जुट्छन्। कुनै कार्यक्रमको योजना बनाउन होस् वा साम्पाङको कुरा सुन्न—सबै गतिविधि यहीँबाटै हुने गर्छ।

ग्रीन टी हाउसका सञ्चालक तुलसा लिम्बुका अनुसार हर्क साम्पाङ विगत १० वर्षभन्दा अगाडिदेखि नै यहाँ आउने गर्थे। ‘बिहान आएर यहाँ आएका मानिससँग भलाकुसारी गर्नुहुन्थ्यो। देश र समाजबारे गफ हुन्थ्यो, सामाजिक सञ्जालमा आफ्ना धारणा राख्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन्। उनका अनुसार साम्पाङको सफलता आकस्मिक होइन। ‘थोपा–थोपा मिलेर समुद्र बन्छ भन्ने उखान उहाँको जीवनसँग ठ्याक्कै मेल खान्छ,’ लिम्बु भन्छिन्। एक–दुई जनाबाट सुरु गर्नुभएको उहाँको नेपाल बनाउने भिजन अहिले आमजनताले सुन्ने गर्छन्।

त्यही संवादको शक्तिले साम्पाङलाई धरानको नगरप्रमुख बनायो। चुनाव जितेपछि पनि उनले आफ्नो बानी बदलेनन्। मेयर बनेपछि पनि उनी नियमित रूपमा ग्रीन टी हाउस पुगिरहे। कतिपयले प्रश्न उठाए—मेयर भएर चिया पसलमा किन बस्ने? तर साम्पाङका लागि त्यो चिया पसल जनताको आवाज सुन्ने सबैभन्दा सहज माध्यम थियो।

Hark Sampang's base 'Green Tea'

मेयर भएपश्चात् उनले श्रम अभियानको सुरुवात गरे। आफ्नो सामाजिक सञ्जालमा ग्रीन टीमा भेला भएर आज यति बजे श्रमदान गर्न जाने भनेर स्टाटस लेखेकै भरमा मानिसहरूको भेला हुने गर्थ्यो। औपचारिक रूपमा कसैलाई नभने पनि फेसबुक स्टाटसले सयौँ मानिस ग्रीन टीमा भेला हुने गर्थ्यो। कोही भेट्न आए वा सहयोग गर्न आएका दाताहरू पनि उनलाई यहीँ पर्खन्थे। ‘हर्क साम्पाङको कार्यालय कहाँ हो?’ भनेर कसैले सोध्यो भने धेरैको जवाफ एउटै हुन्थ्यो—‘ग्रीन टी कि त खोलानाला।’ मेयर हुँदा उनले चलाएको श्रम अभियानले नागरिकलाई जोडेर राख्यो, र त्यसको केन्द्र पनि यही चिया पसल बन्यो।

आज ग्रीन टी हाउसमा दिनभरि साम्पाङका कार्यकर्ता देखिन्छन्। बिहानदेखि नै चहलपहल सुरु हुन्छ। दाताहरूले पठाएको आर्थिक विवरणको पारदर्शिता, छलफल, भेला, भेटघाट—सबैको जमघट यही हुन्छ। भूमिमान्छेबाट स्वतन्त्र मेयर हुँदै पार्टी अध्यक्ष र आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीतिसम्मका छलफल यही स्थानबाट भएका छन्। अहिले उनले ग्रीन टी हाउसलाई नै अनौपचारिक कार्यालय बनाएका छन्। पार्टीको सचिवालय, नयाँ उम्मेदवारलाई टिकट वितरण, आन्तरिक छलफल—सबै यहीँ केन्द्रित छन्।

समय क्रमसँगै ग्रीन टी हाउस हर्क साम्पाङको पहिचानकै हिस्सा बनेको छ। उनलाई भेट्न चाहनेहरू ‘ग्रीन टीमा भेटौँ’ भनेर समय तय गर्छन्। पत्रकारसँग कुरा गर्नु परे, कार्यकर्तालाई निर्देशन दिनु परे वा कुनै विषयमा गम्भीर छलफल गर्नु परे—उनको रोजाइ यही ठाउँ हुन्छ।

हर्क साम्पाङको राजनीतिक यात्रामा ग्रीन टी हाउस केवल भौतिक स्थान होइन। यो सादगी, पारदर्शिता र जनताप्रतिको जबाफदेहिताको प्रतीक बनेको स्थानीय पुनम राई बताउँछिन्। हाल साम्पाङ श्रम संस्कृति पार्टीको अध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा सक्रिय हुँदै गएका छन्। पार्टी निर्माण, संगठन विस्तार र वैकल्पिक राजनीतिको बहसमा पनि ग्रीन टी हाउसकै भूमिका देखिन्छ। यहाँ बसेर उनी युवाहरूसँग श्रम, आत्मनिर्भरता, संस्कृति र राजनीतिबारे बहस गर्छन्। आज ग्रीन टी हाउस एउटा चिया पसल मात्र होइन, हर्क साम्पाङको राजनीतिमा संवाद, विचार र वैकल्पिक सोचको केन्द्र बनेको छ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully