सर्लाहीमा चुनावी अभियान सुरु गर्दै कांग्रेस सभापति गगन थापाले भने, ‘म नेता होइन, बेटा बन्न आएको हुँ ।’ रास्वपा उम्मेदवार अमरेश सिंह भने बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने भन्दै चुनावी मैदानमा छन् ।
What you should know
सर्लाही — ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलाई कुनै न कुनै क्षेत्रमा कांग्रेसको उम्मेदवार बनाउन चाहन्थे । आफू उठ्दै आएको काठमाडौं–४ वाग्लेका लागि छाड्नसमेत तयार भए ।
आफ्नो लागि विकल्पमा रोजे सर्लाही–४ । देउवाले थापाको प्रस्ताव सुन्दै सुनेनन्, बरु काठमाडौं–४ को टिकट नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई दिए । प्रधानमन्त्री निवास बालुवाटारबाट महरले टिकट लिएर हिँडेको थाहा पाउनेवित्तिकै थापाका शुभचिन्तकले खबर गरे र जसले गर्दा महरले उम्मेदवारी दर्ता गर्न पाएनन् । त्यसपछि थापा काठमाडौं–४ मै रोकिए । टिकट वितरणको त्यो दिन थियो– २३ असोज ०७९ ।
करिब ३ वर्ष ४ महिनापछि थापा पार्टी सभापति छन् । अघिल्लो निर्वाचनमा थापाको काठमाडौं–४ बाट देउवाले जसलाई टिकट दिएका थिए, अहिले थापाले देउवाको परम्परागत निर्वाचन क्षेत्र डडेलधुराबाट उनैलाई टिकट दिएका छन् । नैनसिंह महरले डडेलधुरामा टिकट पाएका छन् । आफैं निर्वाचन क्षेत्र रोज्न पाएपछि थापा भने सर्लाही–४ झरेका छन् ।
विशेष महाधिवेशन हुनुअघि नै सबै निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवारको सिफारिस आएको थियो । थापाका लागि तेह्रथुम, धनकुटा, सर्लाही–४, काठमाडौं–४, कपिलवस्तु–१ र रोल्पा गरी ६ ठाउँबाट सिफारिस आएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले भावी प्रधानमन्त्रीका रूप सभापति थापालाई अघि सारेपछि सर्लाही–४ र समग्र देशको चुनावी माहोल तातिएको छ ।
पहिलो पटक २०६४ मा समानुपातिकमा निर्वाचित थापा काठमाडौं–४ बाट लगातार तीन पटक विजयी भइसकेका छन् । उनको प्रतिस्पर्धामा रहेकामध्ये एक हुन् अमरेशकुमार सिंह, जसले सर्लाही–४ बाट लगातार तीन पटक चुनाव जितेका छन् । अमरेश २०६४ को चुनावमा पराजित भएका थिए भने २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेका थिए । २०७९ मा पनि आकांक्षी थिए तर जिल्लाबाट सिफारिस भएनन्, केन्द्रले पनि टिकट दिएन । त्यसपछि स्वतन्त्र उम्मेदवारी दिए, तर कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरे । यसपालि भने उनी रास्वपाको तर्फबाट उम्मेदवार छन् ।
कांग्रेस उम्मेदवार २०७९ मा पराजित भएको क्षेत्रमै प्रतिस्पर्धा गर्ने जोखिम थापाले किन मोलिरहेका छन् त भन्ने चासो अहिले सर्लाही–४ मा मात्र सीमित छैन । पुख्र्यौली घर सोलुखुम्बु भएका र काठमाडौंमा हुर्केका थापाले ‘कोर मधेश’ रोज्नु आफैंमा चुनौतीपूर्ण छ । त्यस क्षेत्रबाट यसअघि कुनै पनि ‘पहाडिया’ उम्मेदवार मुख्य प्रतिस्पर्धी थिएनन् ।
२०७९ मा कांग्रेसले चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक सिट पनि जितेन । स्वतन्त्र उम्मेदवार अमरेश २० हजार १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २ सय ५३ मत ल्याएका थिए । त्यतिबेला कांग्रेसलाई तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायत दलले समेत सघाएका थिए । २०७४ मा पनि कांग्रेस झिनो मतले विजयी भएको थियो । कांग्रेसका अमरेशले २९ हजार ६ सय ७५ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी राजपाका राकेशकुमार मिश्रले २८ हजार १ सय ३६ मत पाएका थिए ।
कांग्रेस सभापति थापा भने समग्र राष्ट्रलाई बुझ्न र राष्ट्रिय दृष्टिकोण बनाउन सर्लाही ओर्लिएको बताउँछन् । ‘कांग्रेस पार्टी सभापतिको जिम्मेवारी निर्वाह गरिरहँदा मैले राष्ट्रिय दृष्टिकोण राख्नुपर्छ । पहाडको मानिस हुँ । काठमाडौंमा हुर्के, बढेको हुँ । मधेशमा आफूलाई नडुबाइ, यसलाई महसुस नगरी सिंगो देशको भाव बुझ्न सक्दिनँ भन्ने लागेरै सर्लाही–४ आएको हुँ । मलाई थाहा छ, यो जोखिमपूर्ण निर्णय हो । गाह्रो हुन्छ भनेर थाहा पाएरै आएको हो । सुझबुझका साथ निर्णय लिएको हुँ,’ थापाले कान्तिपुरसँग भने ।
पार्टीका साथीहरूले अघिल्लो पटकदेखि नै बोलाइरहेकाले सर्लाही रोजेको उनको भनाइ छ । तर यसमा कांग्रेस सर्लाहीका नेताहरू सुरेन्द्र–वीरेन्द्र सिंह दाजुभाइ र अमरेश सिंहबीचको ‘इगो’ ले पनि काम गरेको कतिपयको विश्लेषण छ । वीरेन्द्र कांग्रेस मधेश प्रदेशका उपसभापति हुन् । २०७४ मात्र होइन, ०७९ मा प्रतिनिधिसभामा अमरेशले विद्रोही बनेर जित्दा पनि वीरेन्द्र सर्लाही–४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी मधेश प्रदेश सरकारमा मन्त्री पनि भए । उनका दाजु सुरेन्द्र २०७८ देखि पार्टीको जिल्ला सभापति थिए । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाटै दोषी ठहर भइसकेपछि उनले गत भदौमा सभापति पदबाट राजीनामा दिएका छन् । यस पटक क्षेत्रीय समितिबाट उम्मेदवार सिफारिस गर्दा गगन थापासँगै वीरेन्द्रको पनि नाम पठाइएको थियो ।
कांग्रेस सभापति थापासँग प्रतिस्पर्धा गरिरहेका अमरेश सिंह ०६२/६३ जनआन्दोलनपछि उदाएका नेता हुन् । उनी बीपी र गिरिजाप्रसाद कोइरालाको विचारबाट प्रभावित भएर राजनीतिमा सक्रिय भएको बताउँछन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा पीएचडी गर्दै उनले भारतीय संस्थापन पक्षसँग सम्बन्ध बनाएका थिए । पछि कोइराला परिवारसँग पनि नजिकिए । अमरेश ०६२/६३ को जनआन्दोलन र शान्ति प्रक्रियामा ‘ब्याक च्यानल’ वार्ताकारका रूपमा सक्रिय थिए । उनी कांग्रेसमा महन्थ ठाकुर र कृष्ण सिटौलाको निकट मानिन्थे । २०६३ को अन्तरिम संसद्मा कांग्रेसबाट १० जना मनोनीत हुँदा अमरेश पनि थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी उम्मेदवार बने तर तेस्रो मत ल्याए ।
सर्लाही–४ पुराना नेता महन्थ ठाकुरले समेत राजनीति गरेको क्षेत्र हो । करिब–करिब यही भूगोल रहेको तत्कालीन सर्लाही–५ बाट ठाकुरले ०४८, ०५१ र ०५६ को चुनाव जितेका थिए । ०६४ को चुनाव आउँदा ठाकुरले कांग्रेस छाडेर आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरिसकेका थिए । त्यतिबेला निर्वाचन क्षेत्र बढ्दा पहिलेको सर्लाही–५ को अधिकांश क्षेत्र समेटेर सर्लाही–६ कायम गरिएको थियो । त्यही क्षेत्रमा चुनाव उठ्दा ठाकुर पराजित भए । त्यसपछि ठाकुर सर्लाहीबाट उठेनन्, महोत्तरीतिर लागे ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा ठाकुर र सिंहलाई हराउने नेता थिए तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपूजन राय यादव । यादवले १५ हजार ६ सय ८८ मत ल्याउँदा ठाकुरको १५ हजार ४ सय १६ र अमरेशको ११ हजार ९ सय ७१ मत थियो । त्यतिबेला यादव र अमरेशबीच ‘बुथ क्याप्चर’ को होडबाजी चलेको थियो । मतदाता प्रभावित पार्न विभिन्न मतदान केन्द्र बाहिर विस्फोट गराइएको थियो ।
गढैया मतदान केन्द्र बाहिर विस्फोट हुँदा अमरेशका दाजु शम्भु सिंहको मृत्यु भएको थियो । यस घटनालाई लिएर अमरेश र शिवपूजनबीच आरोप–प्रत्यारोप चल्दै आएको छ । दाजुको हत्या शिवपूजनले गराएको अमरेशको आरोप छ । शिवपूजन भने शम्भु आफैंले बोकेको बम विस्फोट हुँदा मारिएको दाबी गर्छन् । त्यस्तै अर्नाहा मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
पहिलो संविधानसभा निर्वाचनमा विजयी भएको तीन वर्ष पनि नपुग्दै शिवपूजनविरुद्ध कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा लाग्यो, निलम्बित भए । त्यसयता उनी संसद्मा प्रवेश गर्न पाएका छैनन् तर राजनीति उत्तिकै सक्रिय छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शिवपूजन तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार भए, तर चुनाव जित्न सकेनन् । ०७४ मा उनी माओवादीबाट उम्मेदवार भए । तर राहदानी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका कारण उनको उम्मेदवारी रद्द भयो । अमरेश सिंहले सारा शक्ति प्रयोग गरेर आफ्नो उम्मेदवारी रद्द गराइदिएको शिवपूजनको आरोप छ ।
०७९ को निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो । शिवपूजनले छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाए । १४ हजार ६ सय २२ मत ल्याएर उनी तेस्रो भइन् । यसपालि पनि मधुमालाकुमारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनका छोरा २७ वर्षीय अमनीशकुमार भने त्यही क्षेत्रबाट एमालेका उम्मेदवार छन् । शिवपूजनले छोरा र छोरीलाई सँगै उम्मेदवार किन बनाए ? यसमा दुई वटा तर्क छन्, एक– उनको नयाँ दल एमालेले कुनै बेला धोका दिएमा छोरीको उम्मेदवारी सक्रिय बनाउने, दुई– दुवै जनाको उम्मेदवारी कायम रहेमा चुनावी प्रचार र वुथ एजेन्टमा सुविधा लिने ।
शिवपूजनका बुबा अमिरी राय यादव पञ्चायतकालमा तत्कालीन गड्हिया गाउँ पञ्चायतका प्रधानपञ्च थिए । उनी २०४९ को स्थानीय निकाय निर्वाचनमा कांग्रेसका तर्फबाट गाविस अध्यक्ष भएका थिए । शिवपूजनका कान्छा छोरा राजाबाबु यादव रामनगर गाउँपालिकाको अध्यक्ष छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार छोरा अमनीश जेन–जी युवा भएकाले सबैको रोजाइमा पर्ने शिवपूजनको दाबी छ ।
यहाँ सुरुमा एमालेबाट रविशंकर कुशवाहाले टिकट पाएका थिए । उम्मेदवारी दर्ताको दिन अमनीशकुमारलाई अघि सारिएको हो । यहीकारण पनि केही एमाले नेता–कार्यकर्ता रुष्ट छन् । गएको चुनावमा एमालेले प्रत्यक्षमा जसपालाई सघाएको थियो, जसपाका राकेशकुमार मिश्रले ५ हजार ८ सय १३ मात्र मत ल्याएका थिए । समानुपातिकमा भने एमालेको ९ हजार ४ सय ७१ मत थियो ।
अमरेश र शिवपूजनको शक्ति संघर्षका बीच कांग्रेस सभापति थापाको प्रवेशले सर्लाही–४ को चुनाव पेचिलो बनाइदिएको छ । ६ माघमा वारेसमार्फत मनोनयन दर्ता गराएका थापा सोमबारदेखि सर्लाहीमा चुनावी अभियान चलाइरहेका छन् । धनकौल गाउँपालिका–२ मा चुनावी अभियान सुरु गर्ने क्रममा उनले भने, ‘म नेता होइन, बेटा बन्न आएको हुँ ।’
मधेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर सूचना प्रविधिमा आधारित शिक्षा प्रणाली विकास गर्ने र स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित सर्लाही–४ रोजेको पनि उनको भनाइ छ । यस क्षेत्रको भाषा संस्कृतिलाई प्रेरणाका रूपमा लिँदै मधेशको भरोसामा चुनाव जित्ने आँटले आएको थापा बताउँछन् ।
थापा सर्लाही आएको दिन सोमबार अमरेश सिंह भने मानपुर गाउँमा मत माग्दै थिए । उम्मेदवारी दर्ताको अघिल्लो दिन ५ माघमा रास्वपा प्रवेश गरेका अमरेश वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नबने आफूले आत्मदाह गर्ने अभिव्यक्ति दिएर पनि विवादमा आएका छन् ।
अमरेश विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण बेलाबेला चर्चामा आइरहेका नेता हुन् । १५ वैशाख ०८० मा उनले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गर्दा सभामुखले नदिएपछि त्यसको विरोधमा सर्ट र गन्जी खोलेर विरोध जनाए । अमरेश मधेशका अधिकार, किसानका समस्या, भ्रष्टाचारलगायत विषयमा खुलेर बोल्ने गरेका छन् ।
अघिल्लो पटक स्वतन्त्र रूपमा निर्वाचित अमरेश यसपालि स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । अमरेशले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जितेको ०७९ को निर्वाचनमा सर्लाही–४ का रास्वपा उम्मेदवारको जमानत जफत भएको थियो । रास्वपाका धीरज ठाकुरले ३ सय ६ मत ल्याएका थिए । समानुपातिकमा भने ११ सय ९९ मत परेको थियो ।
तर लामो समयदेखि उनको ‘खम्बा’ का रूपमा काम गर्दै आएका रमेश सिंह, मनोज मोहनप्रसाद सिंह, कमलेश्वर सिन्हा, दिनेश कुशवाहा, श्याम साह, सीताराम सिंह अहिले उनको साथमा छैनन् । पहिले अमरेशको साथमा रहेका कमलेश्वर सिन्हा अहिले गगन थापाको पक्षमा खुलेर लागेका छन् । ‘विगतमा हामी नै थियौं अमरेशलाई जिताउने, रातदिन खट्ने,’ सिन्हा भन्छन्, ‘अहिले उनको साथमा कोही छैनन् । उनी कमजोर भइसके ।’
यही कारण उनी यस पटक कमजोर रहेको शिवपूजनको दाबी छ । ‘यी पिलर फेरि अमरेशतिरै गए भने चुनावको नतिजा फेरि पनि उनकै पोल्टामा जान सक्छ,’ उनी भन्छन्, ‘तर समयले कोल्टो फेरिसकेको छ । यस पटक उनी रास्वपा प्रवेश नगरेको भए नामोनिसान मेटिन्थ्यो ।’
सर्लाही–४ मा बलरा नगरपालिकाका ११, गोडैता नगरपालिकाका १२, विष्णु गाउँपालिकाका ४, बसबरिया गाउँपालिकाका ३, रामनगर गाउँपालिकाका ७, धनकौल गाउँपालिकाका ७ र बरहथवा नगरपालिकाका ७ वडा पर्छन् । विष्णु गाउँपालिका अध्यक्षमा कांग्रेसका जवाहरलाल यादव छन् । गोडैता नगरपालिका प्रमुखमा लोसपाबाट देवेन्द्रकुमार यादव विजयी भएका थिए, अहिले उनी जसपा नेपालमा छन् । बलरा नगरप्रमुख रामशंकरप्रसाद कुशवाहा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव पूर्वसांसद शिवपूजनका कान्छा छोरा हुन् । धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले कांग्रेसबाट जितेका हुन् । बसबरिया गाउँपालिका अध्यक्ष रामसिंहासन राय जसपामा आबद्ध छन् । बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवाल एमालेबाट निर्वाचित हुन् ।
कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र पहिले अन्तै गएका झन्डै २ हजार कार्यकर्ता कांग्रेसमा फर्किसकेका कारण चुनाव जितिने दाबी गर्छन् । ‘धनकौल गाउँपालिकाको अध्यक्ष नै कांग्रेसका हुन्, बलरा नगरपालिकामा वडा नं १, ३, ४, ५, ७ र ८ गरी ६ वटा वडाका अध्यक्ष कांग्रेसबाटै निर्वाचित भएका हुन् । त्यसैले बलियो मत पाउँछौं,’ उनी भन्छन् ।
जिल्लाको दक्षिणपश्चिममा पर्ने सर्लाही–४ मा मधेशी मूलका मतदाताको बाहुल्य छ । १ लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा जातीय समीकरणले ठूलो प्रभाव पार्छ । यहाँ यादव र दलित समुदायको जनसंख्या धेरै छ । सिंह (राजपुत), ब्राह्मण, कोइरी (कुशवाहा) र मुस्लिम समुदायको पनि राम्रो उपस्थिति छ । हरेक निर्वाचनमा ‘स्वजातीय’ भोट तान्ने होडबाजी चल्छ ।
एमालेका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल ०७० को संविधानसभा निर्वाचनमा सर्लाही–१ बाट उठेका थिए तर पराजित भए । राप्रपाका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा २०५१ मा सर्लाही–२ बाट उम्मेदवारी दिएर पराजित भएका थिए । मधेशकै सप्तरीमा जन्मिएका सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह पनि ०५६ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–५ बाट उम्मेदवार थिए तर पराजित भए । तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष भएपछि महन्थ ठाकुरसमेत सर्लाहीबाट पराजित भए ।
अमरेशको रास्वपा प्रवेश र बालेन्द्र शाहप्रतिको आकर्षणले युवाको रुझान चुनाव चिह्न घण्टीतिर देखिएको स्थानीय युवा जगदीश सिंह बताउँछन् । ‘अमरेशले यस पटक पनि राम्रै मत ल्याउने मेरो अनुमान छ,’ उनी भन्छन्, ‘कांग्रेस सभापति थापा पनि युवा र पाकाबीच निकै लोकप्रिय छन् । भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएका थापालाई जसरी पनि यस क्षेत्रबाट चुनाव जिताएर पठाउने जनमत पनि त्यत्तिकै जबर्जस्त देखिएको छ ।’
सर्लाहीको निर्वाचन सुरक्षाका दृष्टिले अति संवदेनशील मानिन्छ । पहिलेका निर्वाचनमा बम विस्फोट गराएर मतदातालाई तर्साउने गरिन्थ्यो । सक्नेले ‘बुथ क्याप्चर’ गर्थे । ०७० यता भने हिंसात्मक घटना नभएको स्थानीय राजकिशोर यादवले सुनाए । ‘विगतका चुनावको कुरै नगर्नुस् । बमबारुदबाहेक केही हँुदैनथ्यो,’ उनले भने, ‘अहिले समय फेरिएको छ । सबै सचेत भइसके । पछिल्ला निर्वाचनहरूमा मतदाताले निर्धक्क मतदान गरेका थिए ।’
जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइने बताउँछन् । ‘हामी कुनै हालतमा अप्रिया घटना हुन दिन्नौं । सुरक्षामा कुनै किसिमको सम्झौता हुँदैन ।’
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार तराई–मधेशका २१ जिल्लामध्ये सबैभन्दा न्यून ३९.५ प्रतिशत समग्र साक्षरता दर भएको जिल्ला हो सर्लाही । हुलाकी राजमार्गले केही राहत दिए पनि भित्री सडकको अवस्था दयनीय छ ।
पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमटर दक्षिण झरेपछि मात्रै सर्लाही–४ निर्वाचन क्षेत्र प्रारम्भ हुन्छ । यो क्षेत्रलाई बागमती नदीले रौतहटसँग छुट्याएको छ । बर्खामा बागमतीको बाढीले सडक कटान गर्दा धेरै गाउँ यातायात सम्पर्कबाट विच्छेद हुन्छन् ।
यस क्षेत्रका लागि बागमती नदी वरदान र अभिशाप दुवै भएको स्थानीय सुकैयादेवी पासवानले बताइन् । उनले भनिन्, ‘सिँचाइका लागि बागमतीको पानी उपयोगी भए पनि हरेक वर्ष कटान र डुबानले ठूलो क्षति पु¥याउँछ ।’ प्रत्येक निर्वाचनमा उम्मेदवारहरू बाढी, डुबान र कटानको समस्या समाधान गर्ने वाचा गर्दै भोट माग्न आउँछन् । यस पटक पनि उम्मेदवारहरूले यही विषय उठाउन थालेका छन् ।
५० को दशकसम्म यस क्षेत्रका अधिकांश गाउँबस्तीको निर्भरता भारतमाथि थियो । सदरमुकाम आउन सहज यातायात सुविधा थिएन । पछिल्लो दशकमा सडक र बिजुली सुविधामा केही सुधार भए पनि शिक्षा, स्वास्थ्य, कृषि, गरिबी तथा बेरोजगारीको समस्या ठूलो छ ।
अहिले युवाको ठूलो हिस्सा रोजगारीका लागि तेस्रो मुलुक पुगेको छ । सरकारी विद्यालय र स्वास्थ्य चौकीको भौतिक अवस्था कमजोर छ । गुणस्तरीय उपचारका लागि अझै पनि जनकपुर वा वीरगन्ज धाउनुपर्ने बाध्यता छ ।
–तराई–मधेशका २१ जिल्लामध्ये सबैभन्दा न्यून ३९.५ प्रतिशत साक्षरता भएको जिल्ला हो सर्लाही । बाढी, डुबान र बेरोजगारीले ग्रस्त यो क्षेत्रमा वैदेशिक रोजगारी बाध्यता हो ।
–कांग्रेसबाट पहिलो पटक पराजित र दुई पटक निर्वाचित अमरेश सिंह तेस्रो पटक स्वतन्त्र निर्वाचित भएका थिए । यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।
–०७९ को निर्वाचनमा सर्लाही–४ का रास्वपा उम्मेदवार धीरज ठाकुरको जमानत जफत भएको थियो । उनले ३ सय ६ मत ल्याएका थिए । समानुपातिकमा भने ११ सय ९९ मत परेको थियो ।
–गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेशले २० हजार १७ मत ल्याएर विजयी हुँदा कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २ सय ५३ मत ल्याएका थिए । कांग्रेसलाई माओवादी, एकीकृत समाजवादीलगायत दलले समेत सघाएका थिए ।
