मधेशका ३२ सिट : पुराना दलको बर्चस्व कि नयाँको उदय?

मधेशबाट लामो समय राजनीति गरेको पार्टी छाडेर अन्य पार्टीबाट उम्मेदवार बन्ने ठूला नेतादेखि पूर्वमन्त्री, विभिन्न पार्टीका प्रमुख र भावी प्रधानमन्त्रीका दाबेदारसम्म चुनावी मैदानमा उत्रिएका छन् ।

माघ १३, २०८२

विनय आजाद

32 seats in Madhesh: Dominance of old parties or rise of new ones?

What you should know

सिरहा — मधेश प्रदेशमा प्रतिनिधिसभाका कुल ३२ वटा निर्वाचन क्षेत्र छन् । जसका लागि १ हजार ५४ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी १ सय ५४ जनाले धनुषामा उम्मेदवारी दिँदा सप्तरीमा सबैभन्दा कम १ सय ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

देशको सबैभन्दा ठूलो जनसंख्या भएको मधेश प्रदेश मधेशवादी दलको प्रभाव क्षेत्रका रूपमा रहँदै आएको छ । मधेशवादी दलको प्रभाव घटाउन र आफ्नो बर्चस्व बढाउन कांग्रेस, एमाले, नेकपालगायतका ठूला दलले हरेक चुनावमा यहाँ निकै मेहनत गर्ने भएकाले मधेशलाई चासोपूर्वक हेरिन्छ ।

मधेशबाट लामो समय राजनीति गरेको पार्टी छाडेर अन्य पार्टीबाट उम्मेदवार बन्ने ठूला नेतादेखि पूर्वमन्त्री, विभिन्न पार्टीका प्रमुख र भावी प्रधानमन्त्रीका दाबेदारसम्म चुनावी मैदानमा उत्रिएका छन् । 

को कहाँबाट उम्मेदवार ?

मधेशका चर्चित नेता जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव यसपालि सप्तरी-३ बाट उम्मेदवार बनेका छन् । २०७९ को चुनावमा सप्तरी २ बाट हारेका यादव उपनिर्वाचनमार्फत बारा-२ बाट निर्वाचित भई संसद् छिरेका थिए । यादवलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष सीके राउत भने यसपटक पनि सप्तरी-२ बाटै प्रतिस्पर्धामा छन् ।

रोचक त के छ भने राउतले नै आफ्नो जोडबलमा पार्टीबाट मधेश प्रदेशमा मुख्यमन्त्री बनाएका सतिश सिंह जनमत छाडेर स्वाभिमान पार्टीबाट राउतसँगै प्रतिस्पर्धा गर्न सप्तरी-२ बाट उम्मेदवार बनेका छन् । राउतसँगै सप्तरी-२ (१)बाट प्रदेश सभा सदस्यमा निवार्चित भएका उनी राजीनामा गरेर उम्मेदवार बनेका हुन् । 

यसअघि सिरहा-२ बाट निर्वाचित भएका जसपा नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव आफ्नो पुरानै क्षेत्र सिरहा-४ मा फर्किएका छन् । जेन-जी आन्दोलनपछि बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ता राजीनामा दिएर रास्वपाबाट सिरहा-१ मा उम्मेदवार बनेका छन् ।

एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा-४ बाट चुनाव लडेका छन् भने धनुषा-३ बाट उनकी पत्नी जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । धनुषा-३ बाटै कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र रास्वपा प्रवक्ता मनिष झा पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

नेकपा नेता मातृकाप्रसाद यादव धनुषा-१ बाटै उम्मेदवारी दिएका छन् । २०७९ मा उनी यस क्षेत्रबाट जसपा नेपालका दीपक कार्कीसँग पराजित भएका थिए । जसपा नेता एवं पूर्वमन्त्री शरतसिंह भण्डरी महोत्तरी २ र नेकपाका गिरिराजमणि पोखरेल क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । 

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाबाट महेन्द्र राय यादव पुरानै क्षेत्र सर्लाही २ बाट प्रतिस्पर्धामा छन् । नेकपाका शीर्ष नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ मा आएर उम्मेदवार बनेका छन् । 

मधेशको अर्को चर्चित क्षेत्र हो सर्लाही-४ । कांग्रेसले प्रधानमन्त्री उम्मेदवार घोषणा गरेका पार्टी सभापति गगन थापा यहीँबाट उम्मेदवार बनेका छन् । यतैबाट रास्वपाबाट पूर्वकांग्रेसीसमेत रहेका अमरेश सिंह चुनावी मैदानमा उत्रिएका छन् । 

रौतहट-१ मा नेकपाबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह उम्मेदवार छन् । यस्तै, रौतहट-४ मा आजपाबाट सञ्चारकर्मी ऋषि धमला उम्मेदवार छन् । कांग्रेसबाट यहाँ दुई पटक निर्वाचित देवप्रसाद तिमिल्सिनाको उम्मेदवारी यसपल्ट पनि परेको छ । 

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा-३ बाट उम्मेदवार छन् भने जसपाबाट पर्सा-१ मा चुनाव जित्दै आएका प्रदीप यादव चुनावको मुखैमा पार्टी फेरेर एमालेबाट उम्मेदवार बनेका छन् । पर्सा-२ मा कांग्रेसले पूर्वमन्त्री अजय चौरसियालाई नै दोहोर्‍याएको छ । 

यसरी राजनीतिमा स्थापित, चर्चित र नयाा उम्मेदवारहरूको उपस्थितिले मधेशको चुनावलाई रोमाञ्चक बनाइदिएको छ ।

नयाँलाई मत तान्न, पुरानालाई जोगाउन चुनौती

मधेशमा मनोनयनपछि निर्वाचनलाई लक्षित गर्दै चुनावी चहलपहल तीव्र बनेको छ । नयाँ, पुराना दलका र स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटलाई गति दिएका छन् । सडकदेखि सामाजिक सञ्जालसम्म चुनावी बहस बढिरहेको छ । 

मुलुकका अन्य भेगमा झैँ मधेशमा पनि नयाँ पुराना दल बहसको केन्द्रमा छन् । पुराना दलप्रति नागरिकमा व्यापक असन्तुष्टि छ । भ्रष्टाचार, कुशासन, गुटबन्दी र जनअपेक्षा पूरा गर्न नसकेकोजस्ता आरोप पुराना दलहरूमाथि छ । जसकारण पुराना र स्थापित दललाई आफ्नै संगठनको मत जोगाउन पनि चुनौतीपूर्ण देखिएको छ । 

तर, यति भनिरहँदा नागरिकको असन्तुष्टिलाई आधार बनाएर उदाउने प्रयासमा रहेको नयाँ राजनीतिक शक्तिलाई पनि मत तान्न सहज नभएको पूर्वशिक्षक मिर्चैयाका विष्णुप्रसाद यादव बताउँछन् । सामाजिक सञ्जालमा देखिएको लहरले सहरी क्षेत्रमा प्रभाव पार्नसक्ने भए पनि ग्रामीण भेगमा भने चर्चालाई मतमा बदल्न कठिन हुने उनको विश्लेषण छ । 

‘ग्रामीण क्षेत्रमा सामाजिक सञ्चालमा चर्चाभन्दा पनि संगठन, उम्मेदवारको सार्वजनिक छवि, व्यक्तिगत लगाव र यहाँका मुद्दाका आधारमा मत खस्ने गर्छ,’ उनी भन्छन्, ‘पुराना पार्टीसँग स्थापित र अनुभवी उम्मेदवार छ, तर नयाँ दलले अधिकांश ठाउँमा अप्रत्यासित रूपमा आएजस्तो स्थानीयस्तरमा परिचित नै नरहेका नयाँ मान्छे खडा गरेको छ, जसकारण नयाँ दलले जनआक्रोश र चर्चालाई सहजै मतमा रूपान्तरण गर्न सक्दैन ।’

मधेशमा राजनीतिक चेतना भएका ठूलो संख्यामा रहेका मतदाता संघीयता, स्वशासन, समावेशिता, पहिचान र अधिकारका मुद्दामा संवेदनशील रहने गर्छन् । तर, नयाँ दलका रूपमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी यी मुद्दाहरूप्रति औपचारिक रूपमा अस्पष्ट रहेको आरोप लाग्दै आएको छ ।

जसकारण पुराना दलप्रति आक्रोश र असन्तुष्टि भए पनि यहाँका अधिकांश मतदातामा अलमलताको स्थिति रहेको राजनीतिक विश्लेषक रणधीर चौधरी बताउँछन् । तर, यससँगै मधेशमा राज्यप्रति अविश्वास, विगतका अधुरा वाचा तथा नयाँ र पुराना दलका आ–आफ्नै विशेषता अनि कमजोरीका कारण यहाँका मतदाता संवेदनशील पनि रहेको उनको भनाइ छ ।

‘परम्परागत पुराना दलमाथि चरम असन्तुष्टि त छ, तर चर्चामा रहेको नयाँ दल पनि मधेशका लागि भरोसायोग्य देखिएको छैन, प्रदेशसभाको चुनाव नै बहिष्कार गरेको रास्वपाको विगत छ,’ उनी भन्छन्, ‘त्यसैले मतदातामा असन्तुष्टिबीच अलमल छ, राजनीतिक चेतना भएका मतदाता संवेदनशील पनि छन् ।’

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully