निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरेर यस्तो निर्देशन दिएको हो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank instructs parties and candidates to open separate bank accounts for elections

What you should know

काठमाडौँ — आसन्न निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टाछुट्टै खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरेर यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा राजनीतिक दल, तीनका उम्मेदवार (समानुपातिक समेत) र स्वतन्त्र उम्मेदवारहरुले पनि निर्वाचन अवधिसम्मका लागि छुट्टै बैंक खाता खोल्न र सोही खाताबाट निर्वाचनका लागि खर्च गर्न निर्देशन जारी गरेको हो ।

निर्वाचन आयोग नेपालको अनुरोधबमोजिम आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी खाता खोल्नुपर्ने छ । ‘निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।

राजनीतिक दल र उम्मेदवारले क, ख र ग वर्गका वित्तीय संस्थामा खाता खोल्नुपर्ने निर्देशनमा उल्लेख छ । तर, हाल कुनै पनि व्यक्ति वा संस्थाले एउटा बैंकमा एकै प्रकृतिको एकभन्दा बढी खाता खोल्न पाइँदैन । तर, राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा निर्वाचन प्रयोजनका लागि खोलिने त्यस्ता खातामा उक्त निर्देशन लागू नहुने भएको छ । ‘निर्वाचन अभियानका लागि खोलिने बैंक खाताको हकमा यस बैंकबाट 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन,’ निर्देशनमा भनिएको छ, ‘तर, चुनावका लागि खोलिने त्यस्ता खाताको हकमा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको व्यहोरासमेत अनुरोध छ ।’

कान्तिपुर

Link copied successfully