चार जना यातायात व्यवसायी चुनावी मैदानमा

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले नागरिकले सबैभन्दा बढी प्रयोग गर्ने सेवा सार्वजनिक यातायात भए पनि संसद्मा त्यस क्षेत्रको प्रतिनिधित्व नहुँदा यातायात क्षेत्रका आवाज नसुनिएको बताए।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Four transport entrepreneurs in the election fray

काठमाडौँ — आसन्न प्रतिनिधिसभा चुनावमा यातायात व्यवसायी तथा यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायी विभिन्न पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा देखिएका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले निजी क्षेत्रको लगानी र नियन्त्रणमा रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न उनीहरू चुनावी मैदानमा उत्रिएको बताए।

वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार कांग्रेसबाट महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका छन्। त्यस्तै, रास्वपाबाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका छन्।

उनले नेपाली नागरिकले सबैभन्दा बढी प्रयोग गर्ने सेवा सार्वजनिक यातायात भए पनि संसद्मा त्यस क्षेत्रको प्रतिनिधित्व नहुँदा यातायात क्षेत्रका आवाज नसुनिएको बताए। उनले भने, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नहुँदाकै कारण नेपालको अत्यन्त ठूलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रूपमा रहेको यातायात क्षेत्र अस्तव्यस्त भएको छ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully