आचार्यले भने, ‘युवाहरूले प्रश्न सोधेका छन्– संसारका अरू देशजस्तो नेपाल किन भएको छैन ? विदेशमा रहेका ४० लाख युवाले सोधेका छन्– नेपाल किन अरू देशजस्तो भएन ?'
What you should know
काठमाडौँ — कांग्रेस नेता महेश आचार्यले जेन–जी विद्रोहको भावभूमिमा हुन लागेको चुनावमा सुशासनको विषय नै दलहरूले मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन्।
कान्तिपुरसँगको विस्तृत कुराकानीमा उनले जेन–जी आन्दोलन सुशासनको खोजीमा भएको बताउँदै भने, ‘आर्थिक क्षेत्रमा चाँडै फड्को मारोस्। आयआर्जनका अवसर बढून्। रोजगारीका अवसर बढून्। पीडादायक पलायनको अवस्था नरहोस्। पारदर्शिता होस्। सरकार र राज्यले जे गर्छु भन्दै छन्, त्यसबारे जनताले सुन्ने र देख्ने गरी निर्णय होस्।’
अहिलेको नयाँ पुस्ताले बाबुआमाले भनेको वा सरकारले भनेको भनेर कुनै पनि विषयलाई आँखा चिम्लेर मान्दैन। प्रश्न गर्छ।उनले नेपालका दलहरूमा राजनीतिक रूपमा ठूलो मतभिन्नता नभएको बताउँदै दलहरूको राजनीतिक दस्तावेजमा पनि उस्तै खालका समानता रहेको बताए। आचार्यले जेन–जी आन्दोलनले सम्भावना देखाएको बताउँदै युवाहरूले इन्टरनेटबाट संसार देखेकाले उनीहरू प्रश्न सोध्न सक्ने भएको बताए। उनले भने, ‘युवाहरूले प्रश्न सोधेका छन्– संसारका अरू देशजस्तो नेपाल किन भएको छैन ? विदेशमा रहेका ४० लाख युवाले सोधेका छन्– नेपाल किन अरू देशजस्तो भएन ? नेतृत्वको अक्षमता, प्रशासन संयन्त्रमा भएको भ्रष्टाचार, नीतिगत अन्योल, सत्ताका निम्ति गरिएको लुछाचुँडीले हाम्रा महत्त्वपूर्ण वर्षहरू व्यर्थ हुँदै गएका छन्। जेन–जी आन्दोलनले उठाएको सवाल यही हो। यो यथार्थ पनि हो।
उनले पछिल्ला वर्षहरूमा मतदाताहरू पनि सचेत बन्दै गएको बताउँदै उनीहरूले अघिल्लो पटक गरेको वाचा किन पूरा नगरेको भनेर सोध्ने काम गर्न थालेको बताए। उनले जेन–जी विद्रोह प्रश्नको उठान भएको बताउँदै भने, ‘अहिलेको नयाँ पुस्ताले बाबुआमाले भनेको वा सरकारले भनेको भनेर कुनै पनि विषयलाई आँखा चिम्लेर मान्दैन। प्रश्न गर्छ। उसको प्रश्नको जवाफ नदिइकन, उसलाई सन्तुष्ट नबनाइकन कुनै पनि पार्टी अगाडि बढ्न सक्दैन।’
आचार्यले नेपालको समाज तीव्र गतिले बदलिइरहेको बताउँदै लोकतन्त्रले हरेक राजनीतिक नेतृत्वलाई प्रश्न गर्न सिकाएको बताए। उनले भने, ‘मलाई यस अर्थमा ढुक्क लागेको छ कि मेरो पार्टीमा अहिले ठूलो परिवर्तन भएको छ। नयाँ पुस्तासँग संवाद गर्न सक्ने नेतृत्व आएको छ। अघिल्लो पुस्ताले संवाद गर्न सकेको थिएन। प्रश्न गर्ने अवसर पनि साँघुरा थिए। अहिलेको नेतृत्वले युवासँगै बसेर प्रश्न सुन्ने र सँगसँगै उत्तर खोज्ने प्रयत्न गर्नुपर्छ। अरू पार्टीमा पनि यस्तो परिवर्तन अपरिहार्य छ।’
