महिलालाई अवसर नदिएको विरोधस्वरूप स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि छन् भने कतिपयलाई त आफ्नै उम्मेदवारीबारे जानकारीसमेत छैन ।
What you should know
काठमाडौँ — निर्वाचन नजिकिँदै गर्दा झापा-५ यतिबेला निकै चर्चामा छ । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण यो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ ।
यही क्षेत्रमा कुल २४ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ती स्वतन्त्र उम्मेदवारमध्ये रञ्जना गौतम पनि एक हुन्, जो ‘ग्यास चुलो’ चुनाव चिह्न लिएर यतिबेला मतदातामाझ पुगिरहेकी छन् ।
ग्यास चुलोलाई उनले केवल चिह्नका रूपमा मात्र होइन, ऊर्जा र आत्मनिर्भरताको प्रतीकका रूपमा लिएकी छन् । ‘हरेक घरको भान्सामा ग्यास हुन्छ । ग्यास भनेको ऊर्जा हो, यही ऊर्जाका साथ म चुनावी मैदानमा उत्रिएकी हुँ,’ उनी भन्छिन् । सानो व्यवसाय सञ्चालन गर्दै आएकी गौतम आफ्नै खर्चमा चुनावी प्रचारप्रसारमा जुटेकी छन् ।
ठूला दल र शक्तिशाली उम्मेदवारबीच आफू किन स्वतन्त्र उम्मेदवार बनेकी भन्ने प्रश्नमा उनको उत्तर स्पष्ट छ । उनका अनुसार राजनीतिमा महिलाको उपस्थिति अझै कमजोर छ, र स्वतन्त्र रूपमा उम्मेदवारी दिएर महिला सशक्तिकरणको सन्देश दिन चाहन्छिन् ।
‘महिलाहरू अझै अग्रसर हुन सकेका छैनन् । मेरो प्रतिनिधित्वले अरू महिलालाई पनि अघि बढ्न प्रेरणा मिलोस् भन्ने चाहना हो,’ उनले भनिन् । पछाडि परेका, पीडित र राज्यको पहुँचबाट बाहिर परेका समुदायका घाउमा मलहम लगाउन सकिन्छ भन्ने विश्वासका साथ आफू मैदानमा उत्रिएको उनको भनाइ छ । झापामा भौतिक विकास देखिए पनि बालबालिका र अभिभावक अझै अवसरबाट वञ्चित रहेको उनले महसुस गरेकी छन् । कृषि, शिक्षा र पूर्वाधार विकासमा अझै धेरै गर्न बाँकी रहेको उनको ठम्याइ छ ।
पार्टीबाट पनि उम्मेदवार बन्न सकिने भए पनि स्वतन्त्र नै उठ्ने निर्णय गरेको बताउँदै उनी भन्छिन्, ‘एजेन्डा बोकेर हिँड्न पार्टीको झन्डा नै चाहिन्छ र ? म एजेन्डा आफैं बोकेर हिँडेको हुँ ।’ चुनावी नतिजा जे भए पनि आफ्ना मुद्दा मतदातासम्म पुर्याउने उद्देश्य पूरा हुनेमा उनी विश्वस्त देखिन्छिन् । महिला भएर आवाज उठाउनैपर्ने र अघि आउनैपर्ने मान्यताका साथ उनी चुनावी यात्रामा लागेकी छन् ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट आशा तामाङले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उक्त क्षेत्रमा २४ उम्मेदवारमध्ये ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तीमध्ये तामाङ स्नातक तेस्रो वर्षमा अध्ययनरत युवापुस्ताकी प्रतिनिधि हुन् । उनी दलहरूको बेथिति र निरन्तर असफलताविरुद्ध स्वतन्त्र उम्मेदवार बनेको बताउँछिन् । विगतका चुनावमा दलहरूले आश्वासन त दिए, तर काम र विकास नदेखिएकाले केही गर्ने अठोटका साथ उम्मेदवारी दिएको उनको भनाइ छ ।
पहिले आफूले पनि भोट दिएको, आशा गरेको तर परिणाम नपाएको अनुभवले अहिले चुनावी मैदानमा उत्रिन प्रेरित गरेको तामाङ बताउँछिन् । आर्थिक रूपमा कमजोर रहेकी उनीसँग चुनाव लड्ने आफ्नै स्रोत छैन, तर सहयोगीहरूको सहकार्यमा प्रचारप्रसार गरिरहेको बताउँछिन् । ‘मसँग चुनाव लड्ने पैसा छैन, अरूको सहयोगमा यो यात्रा अघि बढाइरहेकी छु,’ उनी भन्छिन् ।
अबको राजनीतिमा युवा र महिला अग्रसर हुनुपर्ने उनको जोड छ । उनी भँगेरा चराको चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् । सानो चराबाट पनि अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजेको उनको भनाइ छ । क्षेत्र एकजुट नभएको महसुस गर्दै उनले एकता बढाउने लक्ष्यसहित अघि बढेको बताइन् ।
प्रतिनिधिसभा निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ निकै थोरै महिला उम्मेदवार उठाए पनि स्वतन्त्र उम्मेदवारी दिने महिलाको संख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार कुल ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी परेकामा महिलाको संख्या ३ सय ९५ छ । तीमध्ये स्वतन्त्रतर्फ १ सय ६० महिलाले उम्मेदवारी दिएका छन् ।
चुनावमा महिलालाई अवसर नदिएको विरोधस्वरूप स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि छन् । कतिपय उम्मेदवारलाई त आफ्नै उम्मेदवारीबारे जानकारीसमेत छैन । दोलखा-१ की स्वतन्त्र उम्मेदवार संगीता श्रेष्ठ आफ्नो उम्मेदवारीबारे अनभिज्ञ रहेको बताउँछिन् । अरूले नै आएर नाम दर्ता गरिदिएको भन्दै उनले भनिन्, ‘चुनाव आयो, तिम्रो नाम राख्छु भनेर राख्न लगाइयो, मलाई अरू केही थाहा छैन ।’ उम्मेदवारी दर्ता गर्दा पाँच हजार रुपैयाँ खर्च भएको बाहेक चुनावी प्रक्रियाबारे आफूलाई खासै जानकारी नरहेको उनको भनाइ छ ।
प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार बनेकी श्रेष्ठलाई चुनावी चहलपहलले छोएको छैन । यतिबेला उनी उपचारका लागि काठमाडौं आएकी छन् र झन्डै १५ दिन यतै बस्नुपर्ने अवस्था रहेको बताउँछिन् । आफ्नो चुनाव चिह्न के हो भन्ने कुरासमेत थाहा नभएको उनको भनाइ छ । गृहिणी श्रेष्ठले यसअघि भने दलहरूलाई भोट हाल्दै आएको बताइन् ।
समाजशास्त्री तथा लेखक सम्झना वाग्ले भट्टराई नेपालको राजनीतिक परिप्रेक्ष्यमा महिलाहरूको पहुँच सीमित रहेको र राजनीतिक दलमा महिलालाई नेतृत्व र निर्णायक भूमिकामा अवसर नदिएका कारण स्वतन्त्रमा महिलाहरु आउने गरेको बताउँछिन् । दलहरूले प्रायः परिचित वा चर्चित अनुहारलाई मात्र उम्मेदवारी दिने अभ्यासका कारण महिला सहभागिता न्यून रहेको र यही कारण महिलाहरू स्वतन्त्र उम्मेदवारीतर्फ आकर्षित भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘लोकतन्त्रमा सामाजिक समावेशीतालाई पर्याप्त रूपमा समेट्न नसक्दा महिलाहरूले स्वतन्त्र उम्मेदवारीमार्फत आफ्नो आवाज जनतामाझ पुर्याउने प्रयास गरेको देखिन्छ ।’ स्वतन्त्र उम्मेदवारीले महिलाहरूलाई आफ्ना मुद्दा र दृष्टिकोण सहज रूपमा प्रस्तुत गर्न सहयोग पुर्याएको उनले बताइन् ।
पूर्वप्रशासक शारदाप्रसाद त्रितालका अनुसार, बाह्य मुलुकहरूमा देखिएको ‘डमी उम्मेदवार’ को प्रवृत्ति पछिल्ला दिनमा नेपालमा पनि बढ्दै गएको छ । उनी भन्छन्, ‘यो प्रवृत्ति भारतजस्ता देशमा लामो समयदेखि रहँदै आएको छ । त्यहाँ डमी उम्मेदवारलाई मतदाता भ्रमित पार्ने, खर्च सीमितता अघि सार्ने वा विशुद्ध चुनावी रणनीतिका रूपमा पनि प्रयोग गरिन्छ ।’
मतदातालाई प्रभावित पार्न पहिल्यै तयारीका साथ केही उम्मेदवारलाई मैदानमा उतार्ने र आवश्यक परेको समयमा मत बाँडफाँट सहज बनाउन यस्तो अभ्यास हुने गरेको उनको भनाइ छ । डमी उम्मेदवारको प्रवृत्ति राम्रो नभएको बताउँदै उनी भन्छन्, ‘पहिले नेपालमा यस्तो चलन कम थियो, तर पछिल्ला चुनावहरूमा यो बढ्दै गएको देखिन्छ ।’
निर्वाचन आचारसंहिताको कडाइका कारण स्रोतसाधन प्रयोगमा सहजता हुने भएकाले पनि यो प्रवृत्ति बढेको उनले बताए ।
राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार स्वतन्त्र उम्मेदवारको प्रवृत्तिमा भारतको प्रभाव देखिन्छ । उनी भन्छन्, ‘मधेश प्रदेशमा उत्तर प्रदेश र बिहारको प्रभाव परेको देखिन्छ । उता डमी उम्मेदवारको प्रचलन भएकाले यहाँ पनि त्यही अभ्यास दोहोरिएको हो ।’ उनका अनुसार संविधानले समावेशी प्रतिनिधित्व सुनिश्चित गरे पनि व्यवहारमा समावेशितामा पर्याप्त ध्यान नदिँदा असन्तुष्टि बढेकाले स्वतन्त्र उम्मेदवारको संख्या बढेको देखिन्छ ।
उनले भने, ‘संविधानले सबै समुदाय र वर्गको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखे पनि व्यवहारमा कमजोर वर्गले पर्याप्त प्रतिनिधित्व पाउन सकेका छैनन् ।’
कमजोर पक्षलाई मतदानमा सहभागी हुनबाट रोक्ने, बलिया पक्षले मतदान केन्द्र प्रभावमा पार्ने र बुथ कब्जा गर्ने प्रवृत्तिले पनि डमी उम्मेदवार खडा गर्ने चलन बढाएको शाहको भनाइ छ । यसमा महिलाहरूलाई पनि अगाडि सारिएको देखिन्छ । बलिया दलका स्थानीय कार्यकर्ताले मतदान कक्षमै डमी प्रतिनिधि राखेर मतदाताको पहुँच सीमित पार्ने प्रयास गरेको उनले बताए ।
*यसअघि १६० स्वतन्त्र महिला हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ।
सम्बन्धित समाचार
