काठमाडौं-६ का मतदाता भन्छन्– ‘फेरि गल्ती दोहोर्‍याउँदैनौँ’

काठमाडौं-६ बाट यसपटक २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये ७ जना स्वतन्त्र उम्मेदवार छन् ।

माघ १२, २०८२

समर्पण श्री

Voters of Kathmandu-6 say – 'We will not repeat the mistake again'

What you should know

काठमाडौँ — टोखा–८ गैरीगाउँकी मतदाता पार्वती रिमाल किराना पसल गर्छिन् । पसलमा आउने नजिकका ग्राहकहरूसँग पछिल्लो दिनयता दोहोरिने गफ हो– चुनाव । ‘यसपालि कसलाई भोट हाल्ने त ?’ परिचितहरू जिज्ञासासहित सोध्छन् । उनी हाँसेरै दिन्छिन् जवाफ, ‘पुरानालाई त दिइयो । अब नयाँ हेर्ने कि !’ अनि उनी पनि उही प्रश्न दोहोर्‍याउँछिन् ।

नुवाकोटबाट काठमाडौं बसाई सरेर आएको उनको परिवार अहिले निर्वाचन क्षेत्र काठमाडौं–६ को नियमित मतदाता हो । ‘यहाँ वर्षौँदेखि हामीले भोग्दै आएको पानीको समस्या हो । अरू सुविधा त छन् । तर खानेपानीको अभाव दोहोरिरहन्छ,’ उनी भन्छिन् ।

आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा घरदैलोमा आउने उम्मेदवारहरूलाई उनले राख्ने प्रमुख सर्त नै यही हो । ‘हामीलाई समस्या बढाउने होइन समाधान गर्ने नेता चाहिएको हो,’ उनी भन्छिन् । चुनावमा काठमाडौं-६ बाट यसपटक २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये ७ जना स्वतन्त्र उम्मेदवार छन् ।

Voters of Kathmandu-6 say – 'We will not repeat the mistake again'गोंगबुमा ०४७ सालदेखि बस्दै आएका ७७ वर्षीय डुमप्रसाद रिमाल सडकमा खेर गएको पानी खाल्डोबाट उभाइरहेका थिए । त्यो दृश्य परबाट हेर्दैहेर्दै नजिक पुगेपछि रिमाललाई सोध्यौँ, ‘यसरी पानी किन सडकबाट उभाउनुभएको ।’

‘सानो बारी छ । त्यसमा हाल्नका लागि,’ उनले जवाफ दिए ।

पानीको अभाव भइरहने ठाउँमा जमिनमा सिञ्चन गर्न सकसलाग्दो अवस्था रहेको त्यो दृश्यले देखाउँथ्यो । उनी पनि यहीँका उम्मेदवार हुन् । उनी समस्या समाधान गर्न सक्ने नयाँ र सम्भावना बोकेको अनुहार छान्ने योजनामा छन् । नुवाकोटबाट बसाइँ आएका उनले पछिल्लो समय भोगेको समस्या नै पानी हो । ‘मैले वडामा पहल गरेर अहिले सजिलो त भएको छ । तर सधैंलाई हल हुने गरी योजना बनाउनुपर्‍यो,’ उनी राज्यको दायित्वतर्फ इंगित गर्दै भन्छन्, ‘पुरानाहरूले त खासै गरेनन् । अब नयाँ उम्मेदवार जो छ उसैलाई हाल्ने हो ।’

अघिल्लो पालिभन्दा यस चुनावमा मतदाता संख्या पनि बढेको छ । ०७९ मा ६२ हजार १ सय २ मतदाता भएको यस क्षेत्रमा यसपालि ६७ हजार ७ सय ५९ छन् । यो क्षेत्रबाट २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले जित हात पारेका थिए । रास्वपाबाट यसपटक पनि खनाल नै चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट लगातार दोहोरिरहने भीमसेनदास प्रधान भने यस क्षेत्रमा यसपटक दोहोरिएनन् । बरु कांग्रेसबाट यसपटक सबुजकृष्ण बानियाँ उम्मेदवार छन् । बानियाँले प्रतिनिधिसभामा पहिलो पटक उम्मेदवार भए पनि यस क्षेत्रमा भने उनी चिनिएका व्यक्ति हुन् । कांग्रेसका भीमसेन दासले २०७० र ०७५ मा लगातार यस क्षेत्रबाट जित हासिल गरेका थिए । तर ०७९ को परिणाम भने उनको हातमा परेन । उनी तेस्रो भए । शिशिर खनालले १४ हजार २०४ मत ल्याएर विजयी भएका थिए । ०७९ मा चुनाव जितेका शिशिरले भने पुष्पकमल दाहालको नेतृत्वको मन्त्रिमण्डलमा छोटो समय शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको जिम्मेवारीमा रहेर पनि काम गरे । चुनावमा शिशिरका निकटतम प्रतिद्वन्द्वी नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए । उनले ८ हजार ९ सय ११ मत प्राप्त गरेका थिए ।

यो पालि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आफ्नो पकड बलियो भएको दाबी गरिरहेका छन् भने कांग्रेस कार्यकर्ता पनि आफ्नो विरासत फर्किने दाबी गर्छन् ।

एमालेबाट भने यसपालि अमनकुमार मास्के उम्मेदवार छन् । अमन काठमाडौं-६ कै (२) मा नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका व्यक्ति हुन् । उनले प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभाका लागि मैदानमा उत्रिएका हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट हेमलाल शर्मा छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट भने वारिस धरेल उम्मेदवार छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धवराज भेटुवाल, राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मी, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमारी बज्राचार्य, प्रजातान्त्रिक पार्टी नेपालबाट उद्धवप्रसाद मिश्र, आम जनता पार्टी(एकल चुनाव चिह्न) सफलता बोगटी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गिरीराज अर्याल, जय मातृभूमि पार्टीबाट रोमलाल गिरी, श्रम संस्कृति पार्टीबाट लवली थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट शुक्रबहादुर लामा र राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिह्न)इन्दिरा थापा चुनावी मैदानमा छन् ।

अघिल्लो पालिभन्दा यस चुनावमा मतदाता संख्या पनि बढेको छ । ०७९ मा ६२ हजार १ सय २ मतदाता भएको यस क्षेत्रमा यसपालि ६७ हजार ७ सय ५९ छन् ।

यस क्षेत्रबाट जितेर  दोहोरिएका शिशिरले अघिल्लो पटक निर्वाचनमा विजयी हुनासाथ सञ्चारमाध्यममा केही प्रतिबद्धता व्यक्त गरेका थिए । उनले शिक्षा सुधार र जनस्वास्थ्यमा काम गर्ने, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्ने नीति र क्षेत्रको आवश्यकताहरूलाई सम्बोधन गर्न प्रयास गर्ने बताएका थिए । कतिपय मतदाताहरू शिशिरका कार्यकालयबाट असन्तुष्ट छन् भने कतिपय समय अपुग भएको भन्दै पुन: विचार गर्ने सुरमा छन् । शिशिर भने अघिल्लो कार्यकालयमा आफूले सकारात्मक प्रयास गरेका कारण अहिलेको माहोल झन् राम्रो भइरहेको दाबी गर्छन् ।

‘यसपटक जनतामा सुरुदेखि नै नयाँ शक्तिलाई जिताउनुपर्छ भन्ने स्पष्ट चाहना देखिन्छ । त्यसैले नतिजा अझ बलियो हुने विश्वास छ,’ उनी भन्छन् । शिक्षामन्त्रीको रूपमा छोटो कार्यकालमै सरकारी विद्यालयमा शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पुर्‍याउने पहल गरिएको उल्लेख गर्दै उनले भने, ‘छोटो समय भए पनि विद्यालय खुल्ने दिनमै विद्यार्थीको हातमा किताब पुर्‍याउने कामको सुरुवात गर्न सक्नु सन्तोषको विषय हो ।’  सांसदका रूपमा शिक्षा विधेयक सुधारका लागि ७६ वटा संशोधन दर्ता गर्नुका साथै उद्यमशीलता र अनलाइन व्यवसायसँग सम्बन्धित कानुनी सुधारमा सक्रिय रहेको बताउँदै उनले थने, ‘सांसदको मुख्य दायित्व कानुन निर्माण हो, त्यसैले म यसैमा केन्द्रित छु ।’

काठमाडौँ–६ कांग्रेसको परम्परागत गढ भएको दाबी गर्दै कांग्रेसका उम्मेदवार सबुजकृष्ण बानियाँ त्यो फर्काउने बताउँछन् । ‘यहाँ हाम्रा १६ वटै युनिट मजबुत छन्, स्थानीय तहको नतिजाले पनि टोखा नगरपालिकामा कांग्रेसको संगठन र सक्रियता स्पष्ट देखाउँछ,’ उनी भन्छन् । उनी पहिल्यैदेखि यही क्षेत्रका बासिन्दा हुन् । ‘म यहीँ जन्मिएको, हुर्किएको र चार दशकभन्दा बढी समय यहीँको राजनीति र विकासमा संलग्न छु । मेरो क्रियाशीलता र लगावलाई मूल्यांकन गरेर पार्टीले यसपटक अवसर दिएको हो, जसप्रति जनमानस र अन्य दलका साथीहरूको पनि सद्भाव छ,’ उनी भन्छन् ।

२०७९ को निर्वाचनमा सामाजिक सञ्जाल र नयाँ खालको प्रचार अभियानका कारण मतदातामा अन्योल सिर्जना भएको स्वीकार गर्दै उनी भन्छन्, ‘त्यो राष्ट्रिय लहरलाई हामीले चिर्न सकेनौँ, तर अहिले कमजोरीको समीक्षा गरेर संगठन पूर्ण तयारीमा छ ।’ नीतिगत रूपमा पार्टीले तय गरेका एजेन्डालाई संसद्‌मा बुलन्द आवाजका साथ उठाउने प्रतिबद्धता उनको छ ।  

एमाले उम्मेदवार अमनकुमार मास्के आफू इन्जिनियरिङको विद्यार्थी र भौतिक पूर्वाधारमाथिको गहिरो अध्ययनका कारण यस क्षेत्रमा थुप्रै काम गर्न सक्ने दाबी गर्छन् । ‘यो क्षेत्रमा भएका समस्या र आवश्यकतालाई नीतिगत रूपमा प्रतिनिधिसभामा उठाउँछु । म आफैं इन्जिनियर हुँ । भौतिक पूर्वाधार मेरो विषय भएकाले म धेरै काम गर्न सक्छु,’ उनी भन्छन्, ‘त्यसकारण यहाँ हाम्रो पक्षमा माहोल राम्रो छ ।’

अरू उम्मेदवारहरू पनि मत आफ्नो आफ्नो पक्षमा पार्न प्रचार अभियानमा उतिकै सक्रिय छन् ।

मतदाता नै निर्णायक

गोंगबुका महेन्द्र श्रेष्ठ आफ्नो पसलमा पूजाका सामग्रीहरू बेच्छन् । यहीँका स्थायी बासिन्दा उनी स्थानीयहरूले वर्षौँदेखि भोग्दै आएका समस्या सम्झन्छन् । ‘बाटो विस्तारका नाममा पुर्खादेखि बसिआएको घर राज्यले भत्काइदिन्छ । शक्ति हुनेले त पैसा पाउलान् तर सोझासाझा मानिसको उठीबास लाग्छ । यो सोच्ने उम्मेदवार हामीले खोजिरहेका छौँ,’ उनी भन्छन्, ‘जसले हाम्रो समस्या बुझोस् र नीतिगत तहमा काम गरोस् ।’ 

महेन्द्र अरू मतदाताझैं आफूहरूले भोगिरहेको साझा समस्या पानी रहेको पनि बताउँछन् ।

‘मेलम्चीको पानी कहिले आउँछ कहिले बन्द हुन्छ । अहिले त चार दिनमा एक पटक, त्यो पनि जम्मा दुई घन्टा मात्र आउँछ । एउटा परिवारलाई त पुग्ला तर घरभाडामा दिनेहरूलाई यो पानीले कुनै पनि हालतमा पुग्दैन,’ उनको गुनासो छ । यी सबै कुराको हल नयाँ अनुहारमा भएकाले नयाँ अनुहारमध्येकै एकलाई भोट खसाल्ने वाचा गर्छन् उनी ।

Voters of Kathmandu-6 say – 'We will not repeat the mistake again'सामाखुसीका सचिन श्रेष्ठ घोषणापत्रमा बाटोघाटो र विकासका सबै कुरा अटाउने तर तर काम गर्ने बेला चुप बस्ने प्रवृत्तिबाट आजित भइसकेको बताउँछन् । उनलाई अब व्यावसायिक सुरक्षा दिन सक्ने राज्य महसुस भएको हेर्न मन छ । ‘हामीले सरकारलाई कर तिर्छौँ, तर सरकारले हाम्रो व्यवसायको सुरक्षाको ग्यारेन्टी गर्दैन । केही समयअघि मेलम्चीको पाइप फुटेर एक जना व्यवसायीको करोडौँको सामान नष्ट भयो, तर राज्यले हेरेन बिमाको पनि उचित व्यवस्था छैन,’ उनीसँग गुनासाका फेहरिस्त छन् । आगामी पुस्ताले यो देशमा इज्जत साथ बस्ने वातावरण बनाइदिने राज्यको परिकल्पना गरिरहेका उनी प्रतिनिधिसभामा जाने त्यस्तै अनुहार खोजी गरिरहेको बताउँछन् ।

५४ सालदेखि नै मतदान गर्दै आएका अनुभवी मतदाता सचिन अघिल्ला निर्वाचनहरू सम्झिँदै भन्छन्, ‘अब फेरि हामी पनि उही गल्ती दोहोर्‍याउँदैनौँ ।’

काठमाडौँको बानियाँटारस्थित जाल्पाचोक, शान्ति टोलका ६२ वर्षीय मतदाता कुलबहादुर अधिकारी पानी र ढललाई काठमाडौँको साझा समस्याका रूपमा लिन्छन् । ‘विकासको पाटोमा होस् वा नीतिमा यो समाधान गर्न सक्ने उम्मेदवारलाई म  मतदान गर्छु,’ उनी भन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully