निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी सह्य हुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल

आसन्न निर्वाचनमा सशस्त्र प्रहरीले ३५ हजार जनशक्ति र मातहत रहने गरी ४० दिनको कार्यअवधि तोकेर १५ हजार ११० निर्वाचन प्रहरी खटाउँदै छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

No security weakness will be tolerated in elections: Armed Police Inspector General Raju Aryal

What you should know

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कमी–कमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिँदै अर्यालले तोकिएको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न भनेका हुन् ।

अर्यालले उच्च व्यवसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने तर्फ ध्यान दिन पनि निर्देशन दिए । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डरमाथि तत्काल कारवाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

आसन्न निर्वाचनमा सशस्त्र प्रहरीले ३५ हजार जनशक्ति र मातहत रहने गरी ४० दिनको कार्यअवधि तोकेर १५ हजार ११० निर्वाचन प्रहरी खटाउँदै छ । कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतहरूलाई पदिय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिँदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारवाही गर्ने चेतावनी पनि उनले दिए । निर्वाचन सफल बनाउन मातहत कर्मचारीहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनको निर्देशन छ ।

अर्यालले संगठनले लिएको सोच र नीति अनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालित हुनुपर्ने बताउँदै राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ केन्द्रित हुन पनि निर्देशन दिए । सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरूले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारमा शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पेट्रोल तथा अपरेशनल कामकारबाही सञ्चालन गर्न समेत निर्देशन दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully