रुकुम पश्चिममा जनार्दनले आफ्नो विरासत जोगाउँछन् वा गोपालले विजयको सुरुवात गर्छन् अथवा तेस्रो पात्रका रूपमा अरु नै उम्मेदवारले जित्छन्- यो त मतपरिणामले नै तय गर्ने कुरा हो।
रुकुम पश्चिम — आसन्न प्रतिनिधिसभा सदस्यका लागि आपसमा प्रतिस्पर्धी बनेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्मा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा २०७९ सालसम्मका सबै निर्वाचनमा एक–अर्काका सहयोगी र सहकर्मी हुन्। तत्कालीन नेकपा माओवादी केन्द्रमा रहेर गोपालले पार्टी र जनार्दनले संसद सम्हाल्दै आएकोमा माओवादीमा आएको फुटका कारण यी दुई जना यसपल्टको निर्वाचनमा भने प्रतिस्पर्धी बनेका छन्।
पुष्पकमल दाहालले विभिन्न पार्टी तथा घटकसँग एकता गरेर माओवादीलाई नेकपामा रूपान्तरण गरेपछि उक्त एकतामा नगई छुट्टै पार्टी प्रलोपा गठन गरेका जनार्दन शर्मा यस पार्टीका संरक्षकका रूपमा रहेका छन्। ‘नेतृत्व पुस्तान्तरणका पक्षमा’ भनेर पार्टीभित्र विद्रोही आवाज दह्रो बनाएका उनी अन्ततः रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन्।
१० वर्षे सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आएको माओवादीले २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमार्फत संसदीय यात्रा सुरु गर्यो। यही निर्वाचनमा पहिलोपल्ट जित हात पारेका जनार्दन २०४८ सालमा तत्कालीन जनमोर्चाका तर्फबाट सांसद उठेका थिए। त्यसबेलामा कांग्रेसका गोपालजीजंग शाहसँग पराजित भएका उनले २०६४ पछिका सबै निर्वाचनमा भने लगातार जित्दै आएका छन्।
मुसिकोट नगरपालिका–५, रुकुम पश्चिम स्थायी ठेगाना भएका जनार्दनले यही क्षेत्रबाट यसअघिका चुनावमा जित्दै आए पनि यसपल्टको निर्वाचनमा भने उनको जित सहज छैन। छँदाखाँदाको पार्टी छाडेर नयाँ यात्रा थालेका उनलाई यतिबेला हिजोका दिनमा आफैंले निर्माण गरेका नेता–कार्यकर्ता नै चुनौती बनेर उभिएका छन्। यस विषयमा जनार्दन पक्षका नेता गोर्खबहादुर केसीले भने यसलाई चुनौतीभन्दा पनि अवसरका रूपमा लिएको बताए।
‘साविकको पार्टी फुटेको/फुटाइएको भन्दा पनि विघटन गरिएको हो। यसकारण दाहालले जस्तै जनार्दनले पनि नयाँ यात्राको थालनी गरेका हुन्। हामी माओवादी आन्दोलनको स्पिरिटमै अघि बढेका छौं,’ उनले भने।
२०३४ सालदेखि राजनीतिमा लागेका जनार्दन शर्मा तत्कालीन माओवादीको सशस्त्र संघर्षताका गठन गरिएको ‘जनमुक्ति सेना’को प्लाटुन र बटालियन कमिसार हुँदै डिभिजन कमाण्डरबाट डेपुटी कमाण्डरसम्म भएको इतिहास छ। युद्धबाट माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन विशेष समिति सदस्य, २०६४ मा संविधानसभा सदस्य, २०६५ मा शान्ति तथा पुनर्निर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित भएका थिए।
यसैगरी २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०७३ मा ऊर्जामन्त्री, २०७४ मा बिनाविभागीय मन्त्री हुँदै २०७४ मा प्रतिनिधिसभा सदस्य तथा सोही वर्ष गृहमन्त्री एवं २०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। त्यसपछि उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो जितलाई निरन्तरता दिएका थिए।
यस प्रकार विभिन्न पद र जिम्मेवारी सम्हालेका जनार्दन नै अहिले फेरि अर्को अवसरको खोजी गरिरहेको अवस्था छ, जसलाई उनले ‘अन्तिमपल्ट’ भनेका छन्। यही विषयलाई नै गोपाल शर्मा पक्षले अलि बढी उठाएको देखिन्छ। आफूहरूले नै जनार्दनलाई शक्तिशाली नेता बनाएको र अहिले उनैले धोका दिएको बताइरहेका गोपाल तिनै नेता हुन् जसले जनार्दन सांसद निर्वाचित भइरहँदा जिल्लामा पटक–पटक पार्टी र निर्वाचनको कमाण्ड सम्हालेका थिए।
कहीँ न कहीँ जनार्दन शर्मालाई आफ्ना ‘राजनीतिक गुरु’ मान्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५, लहरेसिमलका गोपाल शर्माले १२ वर्षको उमेरमा चौरजहारीस्थित शीतल माविमा २०४६ सालमा गठन गरिएको तत्कालीन विद्यार्थी संगठन अनेरास्ववियुको सह–इकाई कमिटीको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेको बताउँछन्। त्यसपछि उनले विद्यार्थी संगठनकै विभिन्न तह हुँदै जिल्ला र केन्द्रसम्मको जिम्मेवारीमा रहेर काम गरे। युद्धताका पार्टीका विभिन्न कमिटीको जिम्मेवारीमा रहेर रुकुमदेखि बाँके–बर्दियासम्म पुगेर काम गरेका उनले २०६४ को निर्वाचनमा ‘निर्वाचन परिचालन समिति’को प्रमुख भएर काम गरेको बताए।
‘त्यसबेलादेखि नै पार्टी–संगठन र जनार्दनलाई जिताउन लागिरहेको मान्छे हुँ,’ आफ्नो राजनीतिक यात्राबारे बताउँदै उनले भने, ‘२०६२ देखि २०७७ सम्म म पार्टीको जिल्ला अध्यक्ष र संयोजक भएँ। त्यसपछि २०७९ देखि म पार्टीको केन्द्रीय सदस्य छु। यो मेरो रोजाइभन्दा पनि जिम्मेवारी थियो, जुन मैले सकेसम्म इमान्दारिताका साथ बहन गरेँ।’
यसका साथै गोपाल २०७४ सालमा रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भई अर्थमन्त्री समेत भए। तर उनले यी सबै जिम्मेवारी आफूले मागेरभन्दा पनि पार्टी/संगठनले आवश्यकता ठानेर प्रदान गरेको र त्यसैअनुसार काम गरेको बताउँछन्।
कुनै बेला एकै पार्टी–संगठनमा काँधमा काँध जोडेर काम गरेका जनार्दन र गोपाल नै अहिलेको निर्वाचनमा एक–अर्काका मुख्य प्रतिस्पर्धी बनेपछि यहाँको आसन्न चुनाव रोचक हुने देखिएको छ।
तत्कालीन माओवादीको सांगठनिक आधारमा टेकेर पार्टी र चुनावी गतिविधि अघि बढाइरहेका गोपाललाई केही सहज पक्कै पनि छ। तर नयाँ पार्टीमा आफ्ना पुराना नेता–कार्यकर्ता बटुलेर आफ्नो जितलाई निरन्तरता दिने काम जनार्दनका लागि भने चुनौतीपूर्ण छ।
‘धोकेबाज र अवसरवादी’ जस्ता आरोप लगाउँदै ‘अब जनार्दन होइन, हामी नै हौं’ भनेर गोपाल पक्षले एकातिर मतदातामाझ रिझाउने प्रयास गरिरहेको छ भने जनार्दन पक्षले ‘हालसम्मको विकास पनि आफ्नै नेतृत्वमा भएको र अब पनि यसको निरन्तरताका लागि’ भन्दै मत मागिरहेको छ।
यसअघिका निर्वाचनमा पनि विभिन्न दलबीच गठबन्धन भएकै हो। यसपल्ट उम्मेदवारी फिर्ता लिने समयावधि घर्किएपछि एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटाको उम्मेदवारीलाई व्यवहारिक रूपमा निष्क्रिय पार्दै प्रत्यक्षमा जनार्दनको पक्षमा लाग्ने निर्णय गरेको छ। यसले उनलाई जित निकाल्न सहज हुने अनुमान गर्न सकिन्छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसको समर्थनमा जनार्दन शर्माले ३९ हजार ५ सय ४९ मत ल्याएर जित्दा एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका थिए। यसपल्ट कांग्रेसले राजु केसीलाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। यसबाहेक अरु ७ वटा दलले पनि आ–आफ्ना उम्मेदवार अघि सारेका छन्।
रुकुम पश्चिममा आसन्न निर्वाचनका लागि कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेका छन्। यो संख्या अघिल्लो निर्वाचनभन्दा २ हजार ३ सय ८० ले बढी हो। साविक माओवादी केन्द्रको मत सुरक्षित गर्दै अरु मत तान्ने अनि जित्ने दाउ नेकपाका उम्मेदवार गोपाल शर्माको छ भने साविकको आफ्नो मत सकेसम्म सुरक्षित गर्दै एमालेको समर्थनमा जित हात पार्ने प्रलोपाका जनार्दन शर्माको तयारी छ।
विगतको प्रतिस्पर्धा हेर्दा यसपल्ट जनार्दन र गोपलकै बीचमा मुख्य प्रतिस्पर्धा हुने सर्वत्र अनुमान गरिए पनि रास्वपा लगायत अन्य दलका उम्मेदवारले चुनौती दिन सक्ने कुरालाई नकार्न सकिन्न। यसकारण जनार्दनले आफ्नो विरासत जोगाउँछन् या गोपालले विजयको सुरुवात गर्छन् अथवा तेस्रो पात्रका रूपमा अरु नै उम्मेदवारले जित्छन्—यो त मतपरिणामले नै तय गर्ने कुरा हो।
तर साविक माओवादीकै नेता–कार्यकर्ता यतिबेला जनार्दन र गोपाल पक्षमा बाँडिएका मात्रै छैनन्, एक–अर्काविरुद्ध सार्वजनिक रूपमा विभिन्न क्रिया–प्रतिक्रिया दिइरहेका छन्। यसले शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने/गराउने कुरामा कहीँ न कहीँ चुनौती खडा गरिदिएको त छ। तर मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले निर्वाचनताका जिल्लामा कुनै प्रकारको असहजता हुन नदिने प्रतिबद्धता जनाएको छ।
नेकपा र प्रलोपासँगै कांग्रेस, रास्वपा र अन्य उम्मेदवारहरूले मतदाता भेटघाटलाई यतिबेला तीव्र बनाएका छन् भने जितका लागि आ–आफ्ना आधार प्रस्तुत गरिरहेका छन्।
