चितवनमा यी दलले समेटे आदिवासी र महिला उम्मेदवार

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा आदिवासी र महिलालाई चुनावी मैदानमा उतार्ने दल नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टी छन्।

माघ १२, २०८२

रमेशकुमार पौडेल

These parties fielded indigenous and female candidates in Chitwan

What you should know

चितवन — जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा २० राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा यहाँका आदिवासी र महिला उम्मेदवार कमै देखिन्छन् ।

तीन वटै क्षेत्रमा उम्मेदवार उठाउँदा आदिवासी र महिलालाई चुनावी मैदानमा उतार्ने दलहरुमा नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन्।

राष्ट्रिय जनमोर्चा (राजमो) र नेशनल रिपब्लिक पार्टीले महिला उम्मेदवार धेरै उठाएको छ । मंगोल नेशनल अर्गनाइजेसनले आदिवासी, महिला र अन्य जनजातिलाई उम्मेदवार बनाएको छ। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)ले आदिवासीका साथै दलित समुदायबाट पनि उम्मेदवार बनाएको छ । प्रगातिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पनि दलित समुदायबाट उम्मेदवार उठाएको छ । 

चितवनमा निर्वाचनमा भाग लिएका २० दलमध्ये तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका दल १४ वटा छन्। दुई वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिने एउटा मात्रै दल छ । चितवनका तीनमध्ये कुनै एक क्षेत्रमा मात्रै उम्मेदवार उठाएका दल पाँच वटा छन् ।

एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता दलहरुमा जिल्लाको आदिवासी समुदायबाट उम्मेदवार छैनन् । यी दलमध्ये एक जना महिला उठाउने कांग्रेसले चितवन–२ मा मिनाकुमारी खरेललाई उम्मेदवा र बनाएको छ। नेकपाले चितवन–३ मा रेनु दाहाल र सोही क्षेत्रमा रास्वपाले सोविता गौतमलाई उठाएको छ । एमाले र राप्रपाबाट तीन वटै क्षेत्रमा उठ्नेहरुमा न महिला उम्मेदवार छन् न जिल्लाका आदिवासी नै छन् । 

चितवनको मैदानी भेगमा आदिवासी थारु समुदायको बाक्लो बसोबास छ । तीन निर्वाचन क्षेत्रमध्ये १ र ३ मा थारु समुदायको बाक्लो बासोबास छ । यो भेगमा बोटे, कुमाल, दराई जस्ता आदिवासीहरु पनि बसोबास गर्छन् । जिल्लाको पहाडी भेगमा अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदाय बस्छन् । चितवन–१ र चितवन–२ को पहाडी भेग चेपाङ बाहुल्य क्षेत्र हो । तर चितवनका कुल ६४ उम्मेदवारमध्ये अर्जुन प्रजा चेपाङ समुदायका एक्ला उम्मेदवार हुन् । 

अर्जुनलाई नेमकिपाले चितवन–१ मा उठाएको हो । नेमकिपाले चितवन–२ र चितवन–३ दुवै क्षेत्रमा महिलालाई उठाएको छ । शोभा बासुकला र बद्रीलक्ष्मी कवाँ नेमकिपाका महिला उम्मेदवार हुन् । तीन क्षेत्रमा नै उम्मेदवारी दिएको मंगोल नेशनल अर्गनाइजेसनले चितवन–१ मा अदिवासी समुदायबाट प्रेमलाल चौधरीलाई र २ मा महिला ऋषा गोलेलाई उठाएको छ । पहिलो पटक निर्वाचन लड्दै गरेको नेक्रवित्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि आदिवासी र महिलालाई उठाएको छ ।

माओवादीले पनि तीन वटै क्षेत्रमा उम्मेदवार उठाउँदा चितवन–२ मा महिला दिर्शनाकुमारी शाही र चितवन–३ मा थारु समुदायबाट आशिकप्रसाद महतोलाई उठाएको छ । तीन क्षेत्रमै उम्मेदवारी दिएको राजमोले चितवन–१ मा सीतादेवी क्षेत्री र चितवन–२ मा देवी शर्मा दुई जना महिलालाई उठाएको छ । जसपाले तीन क्षेत्रमा उम्मेदवार दिँदा चितवन–२ मा कममानसिंह चौधरी आदिवासीबाट र चितवन–३ मा दलित समुदायका थमन सिंह सुनारलाई उठाएको छ ।

तीनै क्षेत्रमा उम्मेदवा र उठाउने अर्को दल प्रलोपाले चितवन–१ मा दलित समुदायबाट विकास कामीलाई उठाएको छ । नेशनल रिपब्लिक पार्टीले चितवन–२ मा पुरुष उठाए पनि चितवन–१ मा ईश्वरी गुरुङ र चितवन–३ मा सेतीमाया तमाङ गरी दुई जना महिला उठाएको छ । श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीले पनि चितवनका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उतारेका छन् । तर उनीहरुले महिला, दलित या चितवनका आदिवासी समुदायलाई भने समेटेका छैनन् । 

चितवन–१ र ३ मा गरी दुई जना उम्मेदवार उठाएको नेकपा (संयुक्त)ले चितवन–३ मा दलित सुमदायका जीतबहादुर विकलाई अगाडि सारेको छ । एक निर्वाचन क्षेत्र चितवन–२ मा मात्रै जनमत पार्टीले महिला निर्मलाकुमारी ठाकुरलाई उठाएको छ । नागरिक उन्मुक्ती पार्टी नेपालले चितवन–२ मा सुवास महतो र नागरिक उनमुक्ती पार्टीले चितवन–३ मा हरिमाया महतोलाई उठाएको छ । आदवासी समुदायका महिला र पुरुष उठाएका यी दुई पार्टी नाम मिल्दो जस्तो भए पनि फरक दल हुन्, चुनाव चिन्ह फरक छ ।

राष्ट्रिय नागरिक पार्टीले पनि एक मात्रै उम्मेदवार चितवन–३ मा उठाएको छ । उनी आदिवासी, महिला या दलित समुदायका भने होइनन् । चितवनका तीन निर्वाचन क्षेत्रमा गरेर १५ जना स्वतन्त्र उम्मेदवार छन् । चितवन–२ मा आदिवासी समुदायका रवि कुमाल चुनावी मैदानमा छन् । 

त्यसैगरी चितवन–३ मा चार जना महिलाको स्वतन्त्र उम्मेदवारी रहेको छ । चितवनमा ४ लाख ४२ हजार ८२ कुल मतदाता रहेकोमा पुरुषभन्दा धेरै महिला मतदाता २ लाख २४ हजार ७६६ जना छन् ।

जनगणना २०७८ मा चितवनको कुल जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ । जसमध्ये आदिवासी थारुहरु चितवनमा ७२ हजार ६५८ छन् । त्यसपछि चेपाङ समुदायको जनसंख्या ३५ हजार ६३७ छ । चितवनमा आदिवासीभित्र पर्ने कुमाल समुदायको जनसंख्या ११ हजार ४०५, दराई समुदायको ८ हजार ८५० र बोटे समुदायको ३ हजार १४४ रहेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully