कांग्रेसका १६५ उम्मेदवारमध्ये महिला उम्मेदवार ११ मात्रै छन् ।
काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले देशभर ११ महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।
काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा महिलाले टिकट पाएका छन्। जसमा काठमाडौं क्षेत्र नम्बर ८ बाट सपना राजभण्डारी र काठमाडौं क्षेत्र नम्बर ९ बाट नानु बास्तोला उम्मेदवार छन्। बाग्मती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५ महिलालाई उम्मेदवार बनाएको छ। राजभण्डारी र बास्तोलासँगै मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, सिन्धुलीबाट सुशीला थिङ र चितवन–२ बाट मीनाकुमारी खरेल उम्मेदवार छन्।
मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये महोत्तरी–२ बाट किरण यादव र सिरहा–४ बाट चन्द्रकला कुमारी यादव उम्मेदवार बनेका छन्। कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये झापा–२ बाट सरिता प्रसाई र झापा–५ बाट मन्धरा घिमिरे गरी दुई जना महिलाले टिकट पाएका छन्।
लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वबाट कुसुमदेवी थापामगरले टिकट पाएकी छन्। उक्त प्रदेशमा २६ निर्वाचन क्षेत्र रहेका छन्। कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये दैलेख–१ बाट बासना थापालाई उम्मेदवार बनाइएको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसले कुनै पनि महिला उम्मेदवार उठाएको छैन।
सम्बन्धित समाचार
एमाले प्रत्यक्षतर्फ उठाएका उम्मेदवारमा कर्णाली, सुदूरपश्चिम र बाग्मतीमा महिला उम्मेदवार शून्य
