एमाले प्रत्यक्षतर्फ उठाएका उम्मेदवारमा कर्णाली, सुदूरपश्चिम र बाग्मतीमा महिला उम्मेदवार शून्य

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ उठाएका उम्मेदवारमध्ये कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशमा महिला उम्मेदवारको संख्या शून्य भएको छ।

माघ ६, २०८२

प्रकृति दाहाल

Among the candidates fielded by UML directly, there are zero female candidates in Karnali, Sudurpaschim and Bagmati.

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ उठाएका उम्मेदवारमध्ये कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशमा महिला उम्मेदवारको संख्या शून्य भएको छ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–१ बाट प्रत्यक्षतर्फ दिइएको कमला बोहोराको टिकट फिर्ता लिएर तारा लामा तामाङलाई टिकट दिएपछि दुवै प्रदेशमा महिला उम्मेदवार शून्य भएका हुन्।

वाग्मती प्रदेशमा ३३, कर्णालीमा १२ र सुदूरपश्चिममा १६ उम्मेदवार उठाउँदा एमालेले कुनै महिला उम्मेदवार अगाडि नल्याएको देखिन्छ।

टिकट फिर्ता लिएपछि कमला बोहोराले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई पार्टीले एकमात्र महिला उम्मेदवारका रूपमा अघि सारिएकोमा गर्व लागेको र निर्णय टिकाइराख्न नसक्नुको कारण वा बाध्यताबारे आफू अनविज्ञ रहेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, 'म महिला भएकै कारण अवसर पाउनुपर्छ भन्ने मान्यता राख्दिनँ, सधैं आफ्नो क्षमता र क्रियाशीलतामै विश्वास गर्छु। यो अवस्था विभाजन र वैमनस्यताको होइन, एकता र सद्भावको हो।' उनले एमालेका उम्मेदवार तामाङसहित सबै उम्मेदवारलाई देशभर विजयी बनाउने अभियानमा लाग्न पनि आग्रह गरेकी छन्।

एमालेले सार्वजनिक गरेको १६३ स्थानको उम्मेदवार सूचीमा ९ जना मात्रै महिला छन्। यो सार्वजनिक सूचीमा जम्मा ५ दशमलव ५ प्रतिशत महिला प्रतिनिधित्व भएको देखिन्छ।

कान्तिपुरसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बोहोराको इच्छाअनुसार टिकट फिर्ता गरिएको दाबी गरे। उनले भने, 'उहाँले प्रदेश तहमा जिम्मेवारी सम्हाल्ने इच्छा व्यक्त गर्नुभएको भन्ने साथीहरूबाट सुनेको छु, त्यसकारण उहाँको सट्टामा अर्का उम्मेदवारलाई अघि सारिएको हो।'

महिलालाई प्रत्यक्षमा प्राथमिकता नदिएको भन्ने आरोप अस्वीकार गर्दै शाहीले पहिलो निर्वाचनमा एमालेबाट संसदमा प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्वतर्फ ३७ प्रतिशत महिला प्रतिनिधित्व रहेको र यस पटक ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउने पार्टीको प्रतिबद्धता कायम रहेको बताए।

प्रत्यक्षतर्फ तय भएका महिला उम्मेदवारमध्ये कोशी प्रदेशबाट तीन महिला उम्मेदवार छन्—भगवती चौधरी (सुनसरी–४), कल्पना राई (सोलुखुम्बु) र अस्मिता थापा (ओखलढुंगा)। मधेश प्रदेशबाट जुली महतो (धनुषा–३), ज्वाला शाह (बारा–३) र रीमा यादव (पर्सा–२) उम्मेदवार बनेका छन्। 

गण्डकी प्रदेशबाट भगवती न्यौपाने (तनहुँ–१) र मञ्जु शर्मा चालिसे (बागलुङ–२) गरी दुई महिला उम्मेदवार छन् भने लुम्बिनी प्रदेशबाट विमला विक (बर्दिया–२) एक मात्र महिला उम्मेदवार हुन्।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully