संखुवासभामा १६ दलको उम्मेदवारी, कोही दोहोरिएनन्

उम्मेदवारी दिने सबै नयाँ अनुहार हुन्।

माघ ६, २०८२

दीपेन्द्र शाक्य

16 parties contest Sankhuwasabha elections, none repeat

संखुवासभा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभामा १ जना स्वतन्त्र उम्मेदवारसहित १६ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

उम्मेदवारी दिने सबै नयाँ अनुहारका छन्। अघिल्लो निर्वाचनमा उम्मेदवारी दिएका काेही दोहरिएका छैनन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाल मजदुर किसान पार्टीबाट राजकुमार लघु, मंगोल नेशनल अर्गनाइजेशनबाट देवेन्द्र घले, नेत्रविक्रम नेतृत्वको नेकपा माओवादीबाट पुष्पबहादुर कोइराला, श्रम संस्कृति पार्टीबाट उमा राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा, तथा मादी नगरपालिका–४ का वासुदेव दाहाल स्वतन्त्र उम्मेदवारका रूपमा रहेका छन्।

त्यस्तै, एमालेबाट डा. अर्जुन कार्की, जनता समाजवादी नेपाल पार्टीबाट भरत याक्खा, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, नेपाल जनमुक्ति पार्टीबाट केशरसिंह राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनमाया राई, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापा, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट कृष्णबहादुर राई, राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम वालिङ राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पदमबहादुर तामाङ र राष्ट्रिय जनमोर्चा पार्टीबाट हेमकुमार गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल संखुवासभा जिल्लामा २२ वटा राजनीतिक दल क्रियाशील रहेका छन्। तीमध्ये १६ दल तथा स्वतन्त्र उम्मेदवार निर्वाचनमा सहभागी भएपछि प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा तीव्र बनेको छ।

दीपेन्द्र

Link copied successfully