उपसभामुख रानालाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने विपक्षी दलहरुको निर्णय

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् 'कब्जा' गर्ने नियत राखेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Opposition parties' decision to defeat Congress-UML's attempt to remove Deputy Speaker Rana

काठमाडौँ — विपक्षी दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने निर्णय गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीको आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुख हटाउन चालेको कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो ।  

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् 'कब्जा' गर्ने नियत राखेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए । 'आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को आयोजनामा भएको संसद्‍मा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले चालेको यस कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गरेको छ,' उनले भने, 'राज्य प्रणाली कब्जा गर्ने प्रयासको विपक्षी दलहरुले प्रतिवाद गर्नेछ ।' 

उपसभामुख रानालाई पदबाट हटाउने प्रयोजनका लागि सत्तारुढ पार्टीहरु एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको भन्ने  घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नांगो पारेको र लोकतन्त्रको धज्जी उडाएको टिप्पणी उनको छ । उनले थपे, 'यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषद्‍मा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । यो र यस्ता कदमहरुले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदैछ ।'

बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, आजपा सहभागी थिए । उनीहरुले सत्ता गठबन्धनको उपसभामुख हटाउने प्रयासविरुद्ध संसद्‍मा सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।  

यो पनि पढ्नुहोस् :

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल 

उपसभामुख हटाउन जनमतको समर्थन 

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

 कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक 

कान्तिपुर संवाददाता

Link copied successfully