शान्तिनगरबाट ४७६, गैरीगाउँबाट १६२, थापाथलीबाट १४३, गोठाटारबाट ७७ र मनोहराबाट १३ परिवार विस्थापित भए, उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रम र काठमाडौंका विभिन्न होटलमा बसाइएको छ ।
What you should know
काठमाडौँ — आइतबार साँझ ५ बज्दै थियो । दर्किरहेको वैशाखे झरीले दशरथ रंगशाला जलमग्न बनिसकेको थियो । वरपर असरल्ल छरिएका थिए भिजेका पोकापुन्तुरा । आसपासमा थिए थुप्रै मलिन अनुहार ।
झरीले निथ्रुक्क भिज्दा पनि परवाह नगरी थचक्क बसिरहेका थिए ५३ वर्षीय पकचा तरिम कसाई । उनको अनुहारमा उमेरको चाउरीपन मात्र हैन, सर्वस्व लुटिएको मान्छेको गहिरो शून्यता पनि प्रस्टै थियो । थापाथलीस्थित बागमती किनारको बस्तीमा शनिबार डोजर चल्दा उनको ओत मात्रै खोसिएन, सुखदुःखमा सधैं रहने श्रीमतीसँग पनि साथ छुट्यो ।
उनी शनिबारै रंगशाला आइपुगेका थिए । राति ९ बजेतिर जब उनलाई महानगरको गाडीमा राखेर बालाजु लैजान खोजियो, उनले श्रीमती पुष्पालाई देखेनन् । आत्तिँदै खोज्न थाले तर कतै भेटेनन् । प्रहरीले श्रीमती भेटिइहाल्ने भन्दै उनलाई गाडीमा चढाए । गाडीको ढोकामै उभिएर पनि प्रहरीसँग सोधे, ‘मेरी श्रीमती खै त ? ऊ नभई म कसरी जानु ?’
महानगर प्रहरीले पठाइदिने भनेपछि उनी गाडी चढेर गए । बालाजुस्थित ‘मिसन बाग्लुङ’ होटल पुगेपछि पनि उनले रातभरि ढोकातिर हेर्दै श्रीमतीको बाटो कुरिरहे तर उनी आइनन् । उनले त्यहाँ पुगेका प्रहरीसँग याचना गरे, होटल सञ्चालकलाई हात जोडेर हारगुहार गरे । निकै भनेपछि कसैले उनलाई सुनाइदियो, ‘तपाईंकी श्रीमती अर्कै होटलमा पर्नुभएछ ।’
‘यस्तो बेला श्रीमतीको बोली नसुनी कसरी मन थाम्नु ? प्रहरीले फोनबाट कुरा गराइदिएपछि मात्रै अलिकति सास आयो र ढुक्क भएर पल्टिएँ,’ उनले लामो सुस्केरा हाले ।
कसाई दम्पतीसँग मोबाइल फोन छैन, त्यसैले उनीहरू प्रविधिको यो सहरमा झनै एक्ला र असहाय छन् । ‘बिहानै उठेर फेरि श्रीमती खोज्दै यहीं (रंगशाला) आएँ । उनी कीर्तिपुरतिर छिन् भन्ने थाहा पाएँ,’ उनले सुनाए ।
कुमारी तामाङ बानेश्वरमा तरकारी व्यापार गर्थिन् तर काठमाडौं महागरपालिकाले बन्द गरिदियो, तरकारी व्यापारबाट बचत भएको दुई लाख रुपैयाँ एक सहकारीमा राखेकी थिइन्, सहकारीका मान्छे नै भागे, ओत लागेको घर शनिबार डोजरले भत्काइदियो, भन्छिन्, ‘बरु सानै भए पनि सरकारले लालपुर्जा दिए हुन्थ्यो’ काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूसँग उनी आफूलाई पनि कीर्तिपुर नै पठाइदिन बिन्ती गरिरहेका थिए । तर साँझको ५ बजिसक्दा पनि उनलाई लैजाने कुनै सुरसार थिएन ।
माछापोखरीस्थित होटल टोकियो टाउनमा शनिबार घर गुमाएका ३२ सुकुमवासीले आश्रय लिइरहेका थिए । त्यसरी आश्रय लिनेहरूमा परिवारसँगै भेटिइन् ४८ वर्षीया कुमारी तामाङ । शनिबार बिहान थापाथलीस्थित सुकुमवासी बस्तीभित्र डोजर पस्नुअघि कान्तिपुर कुमारीको घर पुगेको थियो ।
घर गुमाउँदै छु भन्ने पीडाले गलिरहेकी कुमारीले हामीलाई सुस्केरासहित सुनाएकी थिइन्, ‘यहीं बसेर, दुःख गरेर बालबच्चा हुर्काइयो । अब अचानक जा भन्दा के गर्ने ?’ उनी यसो भन्दाभन्दै भक्कानिएकी थिइन् । श्रीमान्, तीन छोरी, एक नातिसँग बसिरहेकी कुमारीकहाँ केही दिनअघि मात्र बिरामी सानीआमा आश्रय लिन आइपुगेकी थिइन् । उनलाई चिन्ता थियो, ‘अब हाम्रो के हुने हो ?’ अघिल्लो दिन कुमारीले घरको छानो निकालेकी थिइन् ।
छानाबिनाको घरमा ओत लागिरहेको उनको परिवारलाई के थाहा, राति अचानक पानी बर्सन्छ भनेर । ‘रातभरि भिजेर सुत्यौं । सानो नाति र सानीआमाको पीर भइरह्यो,’ उनले भिजेका आँखा पुछ्दै सुनाएकी थिइन् । कान्तिपुरसँग दुःखका सुस्केरा बिसाउन नपाउँदै सुरक्षाकर्मी अघि लगाएर डोजर आइपुगेको थियो । डोजरले घर भत्काउन थाल्यो । घरसँगै भत्किरहेको कुमारीको मन के भयो ? उनीहरूको बिलौना कहाँ मिसियो ? त्यसको साक्षी बस्न हामीले पाएनौं । सुरक्षाकर्मीले मिडियाकर्मीलाई बलपूर्वक बाहिर निकाल्यो ।
आइतबार थापाथलीको त्यो बस्ती सुनसान थियो । शनिबारसम्मका टहरा खण्डहर भइसकेका थिए । कुमारीको घर भएको स्थानमा लत्ताकपडा, पुराना तस्बिर र काठका सामान छरपस्ट थिए । त्यसपछि कान्तिपुरको टोली बस्ती छाडेर अस्थायी सेल्टरमा गएकाहरूको खोजीमा लाग्यो ।
संयोगले होटल टाउनमा भेटिएकी कुमारी भर्खरै निद्राबाट ब्युँझिएकी थिइन् । केहीबेर मौन बसेर उनले शनिबारका बाँकी दुःखान्त सुनाउन थालिन् । घर त माटैमा मिल्यो तर आफूले पालेका साना कुखुराका चल्लाहरूको माया थियो । दिनभरि कहाँ लैजाने भनेर अल्मलिइन् । दिन ढल्नुअघि आफन्तकामा बिलौना गर्दै पुगिन्, ‘मेरो व्यवस्था नभइन्जेल यी राखिदिनु न ल ।’
५ बज्नुअघि महानगरको गाडीले उनीहरूलाई दशरथ रंगशाला पुर्यायो । नाम टिपाउन लाइन बसिन् । ‘पानी परिरहेको थियो । ३ घण्टा हामी रंगशालामै उभियौं,’ कुमारीले सुनाइन् । त्यतिन्जेल कहाँ जाने भन्ने टुंगो थिएन । करिब १० बजेतिर महानगरको गाडीले माछापोखरीतिर लग्यो ।
कुमारीको परिवार बेचैन छ । सानी छोरी अब कक्षा ८ मा भर्ना हुनुपर्ने । उनी त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पढ्थिन् । ‘न बासको ठेगान छ न पढाइको,’ छेउमा बसिरहेकी छोरीको अनुहार हेर्दै कुमारीले सुनाइन् । छोरीले बिहान मात्रै ‘नयाँ ठाउँमा गएर साथी बनाउन सक्दिनँ, बरु पढ्दिनँ’ भनेकी छन् ।
कुमारीका आँखामा झल्झल्ती बस्ती घुमिरहेको छ । त्यहाँ उनीहरूको समाज थियो । छरछिमेक थिए । गाह्रोसाह्रो पर्दा उभिने मान्छे थिए । ‘अब को कहाँ गए ! सबै छिन्नभिन्न भइयो,’ बस्तीमै मन डुलाइरहेकी कुमारीले भनिन् । कुमारीका छोरीहरूका पनि साथी छुटे । अब भेटिन्छन्, भेटिँदैनन्, थाहा छैन उनीहरूलाई ।
बिहानै आश्रयस्थलमा एउटा हल्ला फैलियो, ‘कसैका नाममा कतै जग्गाजमिन भेटियो भने यहाँ बसेको र खाएको सबै पैसा तिर्नुपर्छ ।’ यो सुनेपछि धेरै जना डराएर बिहानै त्यहाँबाट हिँडे । कुमारी पनि के गर्ने भनेर दोधारमा थिइन् । ‘भागौं कहाँ जाने ? नभागौं दुःख पो देलान् भन्ने लागिरह्यो,’ उनले सुनाइन् ।
कुमारीको पुर्ख्यौली घर सिन्धुपाल्चोकको माथिल्लो भेगमा पर्छ, जुन जंगलको मुनि छ । ‘त्यहाँको जग्गा एकदमै भिरालो छ । १० बजे घाम लाग्छ र ३ बजे नै हराउँछ । जग्गा श्रीमान्को नाममा छैन,’ आफू अहिलेसम्म टेक्दै नटेकेको त्यो जमिनको कथा उनले सुनाइन् । उनका ससुराका बाले छोराहरूका नाममा लालपुर्जा बनाइदिएका छैनन् । ‘त्यो हाम्रो भन्ने आधार पनि छैन । अब पनि निकाले भने बिल्लीबाठ हुन्छ,’ कुमारीले भनिन् ।
सिन्धुपाल्चोकमा जन्मिएकी कुमारी १२ वर्षको छँदा गलैंचा बुन्ने कामका लागि काठमाडौं आइकी थिइन् । काठमाडौंमा उनी सुरुमा भाडामा बस्थिन् । धेरै सन्तान भएको परिवारलाई कोठा दिन घरबेटीले मान्दैनथे । ‘धेरै पानी चलाउँछन् र पाहुना धेरै आउँछन् भनेर हामीलाई निकालियो । त्यसपछि हामी थापाथली पुग्यौं,’ उनले भनिन् ।
थापाथलीको त्यो ठाउँ झाडीमय थियो । एक्लै हिँड्न पनि डर लाग्थ्यो उनलाई । कुमारी र उनका छिमेकीहरूले झाडी फाडे । कतिपय ठाउँमा माटो हालेर बस्नयोग्य बनाए ।
कुमारी सुरुमा त्यहाँ घर बनाउन डराएकी थिइन् । तर सासूआमा र समितिले भने, ‘पछि लालपुर्जा दिने भनिएको छ । बनाउँदा हुन्छ ।’ उनीहरूले झन्डै ३ लाख रुपैयाँ ऋण लिएर तीन कोठाको घर बनाए । तर बनाएको ४–५ महिनामै घर भत्काइयो । त्यसपछि उनीहरू सानो झुपडी हालेर बस्न थाले । बाढीले पनि घरमा क्षति गर्यो । फेरि ऋण काढेर घर मर्मत गरे ।
कुमारी बानेश्वरमा तरकारी व्यापार गर्थिन् । तर काठमाडौं महानगरपालिकामा वालेन्द्र शाह मेयर भएर आएपछि उनको व्यापार सधैंका लागि खोसियो । उनले व्यापार गरेर बचत भएको दुई लाख रुपैयाँ एउटा सहकारीमा राखेकी थिइन् । एक दिन पैसा लिन जाँदा सहकारी नै भागिसकेको थियो । अहिले उनीसँग न बचत पैसा छ, न सहकारीको कागजात । ‘घरमा बाढी पसेको बेला ती कागजात भिजेका थिए,’ उनले भनिन् ।
कुमारीका श्रीमान् एक कम्पनीमा सेक्युरिटी गार्ड छन् । अहिले घरबाहरविहीन हुँदा उनी काममा जान सकेका छैनन् । यो कुरा कम्पनीलाई थाहा छैन । ‘अब त्यही काम पनि छुट्ने हो कि भन्ने डर छ,’ उनले सुनाइन् ।
अब सरकारले कहाँ लैजाने हो, थाहा छैन उनलाई । ‘बरु सानै भए पनि सरकारले लालपुर्जा दिए हुन्थ्यो,’ उनी झिनो आशासहित भन्छिन्, ‘समयमै थाहा दिएको भए केही उपाय हुन्थ्यो कि ! अब सरकारले राम्रोसँग छानबिन गरेर वास्तविक सुकुमवासीलाई स्थायी समाधान देओस् ।’
कतिपय सुकुमवासी आइतबार छुटेका सामान खोज्न निस्किएका थिए । कोही आफ्नो नियमित काममा । टोकियो टाउनसँगै जोडिएको मिसन बागलुङ गेस्ट हाउसमा इन्द्रबहादुर (नाम परिवर्तन) को परिवार खाजा खाइरहेको अवस्थामा भेटियो ।
इन्द्रबहादुर, उनकी श्रीमती र नातिसँगै अर्को परिवारका दुई बालिका पनि थिए । ‘यी नानीहरूका बा–आमा घर गएका छन् सामान खोज्न,’ इन्द्रबहादुरले सुनाए ।
ज्यामी काम गरेर सन्तान हुर्काएका ६७ वर्षीया इन्द्रबहादुरको मनमा यस पटक ठूलो खत थियो, ‘३०–४० वटा त अरूको घर बनाएँ होला तर यस पटक आफ्नै ओत बाँकी रहेन ।’ उनीहरूसँग कक्षा ५ मा भर्ना हुनुपर्ने नाति छन् । उनका छोराबुहारी साथीकहाँ आश्रय लिएर बसिरहेका छन् ।
इन्द्रबहादुर दम्पतीले नातिलाई भने आफूसँगै राखेका छन् । ‘स्कुल भर्ना गर्ने बेला भएको थियो तर अब कसरी पढाउने ?’ इन्द्रबहादुरकी श्रीमती भक्कानिइन् ।
उनीहरू शान्तिनगरस्थित गैरीगाउँमा बस्थे । ‘हामी जुन घरमा बसेका थियौं, त्यो हाम्रो रगत–पसिनाले बनेको थियो । म घर बनाउने र पेन्ट गर्ने काम गर्थें,’ इन्द्र्रबहादुरले सुनाए, ‘काम नलाग्ने भनेर फालिएका इँटा, सिमेन्ट र सामान बटुलेर, अलिअलि पैसा जम्मा गरेर त्यो ओत बनाएका थियौं । हामीसँग धेरै पैसा भएको भए त किन त्यस्तो दुःख गर्थ्यौं र ? तर अहिले आएर सबै भत्काइयो ।’
उनीहरूले डोजर शनिबारै आउला भन्ने सोचेकै थिएनन् । अर्को दिनसम्म त सामान सारिसक्ने आकलन गरेका थिए । तर अचानक डोजर घर अगाडि तेर्सियो । ‘म त एउटा कपडा पनि नलिई यत्तिकै हिँडेछु, घर भत्केको देख्दा त बौलाहा जस्तै भएँ,’ इन्द्रबहादुरकी श्रीमतीले भनिन् ।
इन्द्रबहादुर २०५० तिर काठमाडौं पसेका थिए । सोलुखुम्बुमा उनको जग्गाजमिन थिएन । ‘हाम्रो बाउबाजेका नाममा कतै केही सम्पत्ति रहेनछ । पहिलाका मान्छे गोठ पाल्ने, जंगलमै खाने–बस्ने गर्थे । उनीहरूलाई जग्गाभन्दा पनि गोठ पाल्न पाए पुग्थ्यो । तर जब गोठ पाल्न छोडियो, ती सबै जंगल सरकारी भइहाले,’ इन्द्रबहादुरले जमिनविहीन हुनुको कथा सुनाए, ‘पढेलेखेको थिइनँ, त्यसैले यहाँ आएर जे काम पाइन्छ, त्यही गरें । भारी बोक्नेदेखि सरसफाइ र घर बनाउनेसम्म गरें ।’
सरकारले थप अन्याय नगरोस् भन्ने उनीहरूको कामना छ । ‘हामी सरकारलाई गाली गर्दैनौं तर हामीलाई सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाइदेओस् । बिचल्ली नबनाइदिओस्,’ उनले विनयी भावमा भने ।
२९ वर्षीया सुशीला राई २ वर्षको छोरालाई खाना खुवाइरहेकी थिइन् । कान्तिपुरसँग उनले दुःखका कथा सुनाउन थालिन्, ‘पहिले म दिदीसँग भाडामा बस्थें । केही कमाउँछु र आफ्नो बास बनाउँछु भनेर म इराक पुगें । त्यहाँ एउटा अस्पतालमा काम गरें र निकै दुःख गरेर ५–६ लाख रुपैयाँ कमाएकी थिएँ । तर मेरो भाग्यमा सुख लेखिएको रहेनछ ।’
सुशीला केहीबेर रोकिइन् । त्यसपछि थप सुनाउन थालिन्, ‘विदेशमै छँदा मेरो छातीमा समस्या देखियो र दुई वर्ष नपुग्दै नेपाल फर्किनुपर्यो । विवाह हुनुअघि नै मेरो स्तनको दुई पटक अपरेसन भयो । त्यही विदेशमा दुःख गरेर कमाएको पैसाले मैले साढे दुई लाखमा सुकुमवासी बस्तीमा जग्गा किनेकी थिएँ ।’
उनलाई लालपुर्जा बनाइदिन्छु भनेर ढाँटेर एक जनाले पैसा लिएर जग्गा दिएका थिए । सोचिन्, अब त काठमाडौंमा जमिन हुने भयो । ‘त्यो मान्छे पछि बेपत्ता भयो । खोज्दा पनि भेटिएन,’ उनले सुनाइन् ।
उनको विवाह भयो । श्रीमान् कुक थिए । उनीहरूले बस्तीमै घर बनाए । ‘हामीलाई लागेको थियो– अब हाम्रो घर यही हो, जिन्दगी यहीं बित्छ । यसरी छाड्नुपर्ला भनेर कहिल्यै सोचेकी थिइनँ,’ उनले अँध्यारो अनुहार लगाउँदै भनिन् ।
शनिबार डोजरले घर भत्काइरहँदा उनले छोरा च्यापिरहेकी थिइन् । ‘लुगाफाटा, भाँडाकुँडा, अन्नपात केही निकाल्न पाइनँ । सबै आँखै अगाडि पुरियो । झरीमा बच्चा बोकेकी म बिचल्लीमा परें, नगरपालिकाका गाडीहरूलाई गुहार्दा पनि कसैले सहयोग गरेनन्,’ उनले सुनाइन् ।
आइतबार पनि झरीमय थियो । चिसोलाई छल्ले प्रशस्त कपडा न उनीसँग थियो न छोराकै । अब आफू कहाँ जाने हो थाहा छैन उनलाई । ‘न श्रीमान्को जग्गा छ, न माइतीको । मलाई एउटा बस्ने बास चाहिएको छ,’ उनले याचनापूर्वक भनिन्, ‘म एक्लै त अर्काको भाँडा माझेर पनि पेट पाल्न सक्छु तर यो बच्चा लिएर सडकमा कसरी बसूँ ?’
शनिबारदेखि बालाजुकै एउटा होटलको साँघुरो कोठामा छिन्, ४० वर्षीया संगीता सिंह । संगीताको केही दिनयताको दैनिकी आँसु र अन्योलबीच गुज्रिरहेको छ । काठमाडौंको शान्तिनगरमा मासिक ६ हजार रुपैयाँ भाडा तिरेर एउटा सानो कोठामा बस्दै आएकी उनको थाप्लोमा एकातिर साना तीन छोराछोरी हुर्काउने जिम्मेवारी छ भने अर्कातिर डोजरले उजाडिदिएको ओतको भक्कानो ।
१७ वर्षअघि सुनौलो भविष्यको सपना बुनेर काठमाडौं छिरेकी थिइन् संगीता । अन्तरजातीय प्रेम विवाह गरेका कारण परिवारले स्वीकार नगरेपछि उनीहरू भागेर यो बिरानो सहर पसेका थिए । सुरुमा नारायणथानमा बस्दा उनका श्रीमान् घरमा रङ लगाउने काम गर्थे, उनी इँटा बोक्ने ज्यामी काम गर्थिन् । ‘पहिलो बच्चा जन्मिएपछि घरबेटीले त्यस ठाउँमा बस्न दिएनन् अनि हामी शान्तिनगरमा सरेका थियौं,’ विगत सम्झँदै उनी भन्छिन्, ‘त्यतिबेला कोठा भाडा जम्मा ४ हजार थियो, दुवैले काम गर्दा जेनतेन चुलो बलेकै थियो ।’
तर समय सधैं एकनास रहेन । श्रीमान्ले काम गरेको पैसा ठेकेदारले समयमै नदिएपछि उनीहरूको गुजारा चलाउनै धौ–धौ पर्न थाल्यो । ऋणको भारी बढेपछि बाध्य भएर संगीताका श्रीमान् ५ महिनाअघि मात्रै रोजगारीको खोजीमा साउदी अरब भासिए । तीन सन्तानको लालनपालन र शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी संगीताको काँधमा आइपर्यो ।
‘उता (साउदी) पनि सप्लाई कम्पनीमा परेकाले उहाँलाई ज्यादै गाह्रो भएको छ । राम्रो काम छैन, समयमै तलब आउँदैन,’ निधार खुम्च्याउँदै उनले सुस्केरा पोखिन्, ‘यत्रा तीन/तीन सन्तान छन्, सबेरै उठेर यिनकै मुख हेर्छु, सबै मेरै भरमा छन् । म एक्लीले कसरी यिनको पेट पालूँ ?’
शान्तिनगरमा बसेको घरमा डोजर चल्ने पक्का भएपछि उनले तीन दिनसम्म लगातार सहरका गल्लीगल्ली चहारेर कोठा खोजिन् । तर सहर जति ठूलो छ, यहाँका मानिसको मन उति नै सानो लाग्यो उनलाई । साना छोराछोरी देख्नेबित्तिकै घरवालाले सिधै ‘नाइँ’ भने । ‘बच्चा हेरेर कोठा दिँदैनथे, एक ठाउँमा मुस्किलले पाएको थिएँ, पछि फेरि बच्चा धेरै रहेछन् भनेर दिन मानेनन्,’ गहभरि आँसु पार्दै उनले सुनाइन् । काखमा १८ महिने दूधे बालक बोकेर उनी कतै ओत पाइन्छ कि भनेर भौंतारिइरहेकी छन् ।
संगीताका ७ र ८ वर्षका दुई सन्तान नजिकैको ‘कोसेली’ स्कुलमा पढ्थे । त्यो गैरसरकारी संस्थाले चलाएको स्कुल थियो, जहाँ कापी, कलमदेखि दिउँसोको खाना र खाजासमेत स्कुलले नै दिने भएकाले उनलाई ठूलो राहत मिलेको थियो । ‘अब पर्सिदेखि स्कुल खुल्दै छ,’ छेउमै चकचक गरिरहेका दुई बालकलाई देखाउँदै उनले भनिन्, ‘बासको ठेगान छैन, यिनलाई कहाँ राख्ने, कसरी स्कुल पठाउने ? मेरो त दिमागैले काम गर्न छाडिसक्यो ।’
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ परिवार यसरी नै सडकमा आइपुगेका छन् । उनीहरूलाई प्राधिकरणले कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रम र राजधानीका विभिन्न सस्ता होटलमा रात बिताउन पठाउने मेसो मिलाइरहेको छ ।
प्राधिकरणका इन्जिनियर डोरकाजी श्रेष्ठका अनुसार आइतबार साँझसम्म सम्पर्कमा आएका मध्ये ३३ घरपरिवारलाई कीर्तिपुर र ६२ घरपरिवारलाई विभिन्न होटलमा पठाइएको छ । उनका अनुसार अन्य परिवारलाई पनि होटलमा पठाउने तयारी थालिएको छ । होटल व्यवसायी महासंघका अध्यक्ष टीआर भण्डारीका अनुसार बालाजु, गोंगबु र मित्रनगरलगायतका क्षेत्रमा करिब ७ सय जना बसोबास गरिरहेका छन् ।
