योजनामा छन् सुरुङ, छैन बजेट

सवारी चाप बढी हुने र आर्थिक रूपमा महत्त्वपूर्ण मानिएका ठाउँमा मात्र अध्ययन गरिएका सुरुङको निर्माणका लागि प्रस्ताव गरिने, आगामी आर्थिक वर्षमा ग्वार्कोमा जसरी एकान्तकुनामा पनि ओभरपास बनाउन बजेट छुट्याइँदै

वैशाख १३, २०८३

विमल खतिवडा

Tunnels are in the plan, but there is no budget.

What you should know

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ४३ करोड रुपैयाँ बजेट सिलिङ पाएको छ । बजेट थोरै पाएका कारण आगामी आर्थिक वर्षमा नयाँ सुरुङ निर्माण प्रक्रिया अघि बढाउनेछैन । पाल्पाको सिद्धबाबा सुरुङ र ट्राफिक जाम बढी हुने एकान्तकुना खण्डमा ओभरपास निर्माणको कामलाई भने केन्द्रले बजेट सिलिङको प्राथमिकतामा राखेको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ घटेर आएकाले चालु आयोजनालाई प्राथमिकतामा राखिएको केन्द्रका निर्देशक राजेशप्रसाद पौडेलले बताए । ‘पाल्पाको सिद्धबाबा सुरुङका लागि करिब ३ अर्बको दायित्व छ,’ उनले भने, ‘त्यसका लागि २० करोड रुपैयाँभन्दा बढी छुट्याउन सक्ने अवस्था छैन, जुन बजेट नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दा साउन–भदौमै सकिन्छ ।’ यो बजेट अपुग हुने केन्द्रको भनाइ छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी फागुन २०७८ मा सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । यसको म्याद भने फागुन २०८३ सम्म छ । अहिलेसम्म निर्माणको काम ६७.२७ प्रतिशत मात्र सकिएको छ ।

निर्देशक पौडेलका अनुसार आगामी आर्थिक वर्षमा एकान्तकुनामा ओभरपास निर्माणका लागि १२ करोड प्रस्ताव गरिएको छ । बजेट पाए आगामी आर्थिक वर्षबाटै यसको निर्माण थाल्न समस्या नहुने पौडेलको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा उपत्यकाको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर वा ओभरपास निर्माण गर्ने उल्लेख गरेको थियो । अहिलेसम्म ग्वार्कोबाहेक अन्यत्र केही संरचना बनेको छैन । केन्द्रले गरेको अध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुनेछ । अध्ययनमा कलंकीको जस्तै अन्डरपास निर्माण गर्ने र लागत ७२ करोड रुपैयाँ लाग्नेछ । अन्डरपास चार लेनको हुने सडक विभागले जनाएको छ ।

एकान्तकुनामा निर्माण गरिने ओभरपासको दूरी ३ सय मिटर हुनेछ । निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ । यी दुवैको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिनेछ । अध्ययन भएर बसे पनि बजेट अभावमा थप काम अघि बढ्न नसकेको हो । ‘एकान्तकुनामा ओभरपास बनाउने गरी विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने काम सकिसकेको छ, त्यसैले निर्माणमै जान समस्या छैन,’ केन्द्रका निर्देशक पौडेलले भने, ‘बजेट नभएर समस्या भएको हो ।’

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्कीबास–बर्दघाटको सुरुङमार्गको सम्भाव्यता अध्ययन पनि सकिइसकेको छ । २०८० सालमा भएको अध्ययनअनुसार यसको कुल दूरी ५.३ किमि छ । प्रारम्भिक अध्ययनअनुसार यसको निर्माणमा ३८ अर्ब ६९ करोड रुपैयाँ चाहिनेछ ।

सडक विभागका अनुसार २५ असोज २०७६ चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा टोखा–छहरे सुरुङमार्गको अध्ययन प्राथमिकतामा परेको थियो । सोही वर्षको पुस ११ मा पूर्वसम्भाव्यता अध्ययनका लागि चिनियाँ परामर्शदाता टोली नेपाल आएको थियो । टोलीले सुरुङ निर्माण गर्ने स्थानको अध्ययन गरेको थियो । अध्ययनअनुसार सुरुङको दूरी ४ देखि ४.५ किलोमिटर हुने अनुमान छ । १ फागुन २०७६ मा चिनियाँ परामर्शदाताको अनुरोधमा तीन वटा विकल्प, काठमाडौं–टोखा–छहरे–विदुर, काठमाडौं–ओखरपौवा–विदुर र काठमाडौं–नौबिसे–गल्छी सडकमा दैनिक गुड्ने सवारीसाधनको तथ्यांक उपलब्ध गराइएको थियो । टोखा–छहरे, दाउन्ने–दुम्किबास–बर्दघाट र हेम्जा–नयाँपुल सुरुङको निर्माणमा जान सक्ने गरी अध्ययन सकिएको केन्द्रका निर्देशक पौडेलले बताए ।

‘सम्भाव्यता अध्ययनका क्रममा अहिले सम्भाव्य देखिएका यिनै तीन सुरुङ हुन्, जसको विस्तृत सम्भाव्यता अध्ययन गरेर राखिएको छ,’ पौडेलले भने, ‘लागत कति लाग्छ भनेर निर्माण गर्ने बेलामै थाहा हुनेछ ।’ उनका अनुसार अहिले १६ मध्ये ३ वटाको मात्र निर्माणमा लग्न सक्ने गरी अध्ययन सकिएको हो ।

‘सुरुङ निर्माण सडकभन्दा महँगो कुरा हो, सम्भाव्यता अध्ययनका क्रममा अहिले सम्भाव्य देखिएका तीन वटा सुरुङ मात्र हुन्,’ पौडेलले भने, ‘अन्य सुरुङको हकमा सरकारले लगानीको प्राथमिकता निर्धारण गरेर मात्र निर्णय हुन्छ ।’ कतिपय सुरुङको अध्ययन गरेर पनि तत्काल निर्माणको प्रक्रिया अघि बढाउन सक्ने अवस्था नभएको केन्द्रले जनाएको छ । ‘आर्थिक लाभ दिने खालका सुरुङ मात्र बनाउनुपर्छ, कास्कीको नयाँपुलमा सुरुङ बनाउन सकिए चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका जोड्न सहज हुन्छ,’ उनले भने, ‘त्यसैले व्यापारिक दृष्टिले यसको आवश्यकता र महत्त्व छ ।’

सडक र सुरुङमा लगानी गरे पनि त्यो अनुसार सवारीसाधन नचल्ने र आर्थिक गतिविधि नहुने भए त्यसको अर्थ नहुने पौडेलको भनाइ छ । ‘सुरुङ निर्माणको सम्भावना भएको ठाउँहरूको विस्तृत अध्ययन गराएर राख्छौं,’ उनले भने, ‘पछि आवश्यकताका आधारमा निर्माणको काम अघि बढाउँछौं ।’ उत्पादन र लाभ दिने सुरुङमा लगानी गर्ने सरकारको नीति रहेको उनले जनाए । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङको सम्भाव्यता अध्ययन भएको र विस्तृत अध्ययन गरेर निर्माणका लागि प्रक्रिया अघि बढाइने पौडेलले बताए । यस खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले सुरुङ निर्माण गर्नुपर्ने स्थानीय जनप्रतिनिधिको माग छ ।

यो सडकखण्डमा घुम्ती धेरै छन् । यात्रुले यात्रामा असहज महसुस गर्छन् । धेरै घुम्तीका कारण यो खण्डमा दुर्घटनाको जोखिम रहेको प्रहरीको भनाइ छ । चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माण भए रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसँग तराईको दूरीसमेत छोटिनेछ । यसको २०७६/७७ मा सम्भाव्यता अध्ययन गरिएको थियो । अध्ययनअनुसार दूरी ४.९० किमि रहने उल्लेख छ । तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका क्रममा दूरी, लागत यकिन हुनेछ । सम्भाव्यता अध्ययनअनुसार निर्माण लागत १६ अर्ब ८ करोड लाग्ने उल्लेख छ । चियाबारी–खुर्कोट सडक सुरुङ मार्ग निर्माण हुन सके बीपी राजमार्गको नागबेली सडकको दूरी एक तिहाइभन्दा कममा झर्नेछ ।

चियाबारी–खुर्कोट सडकको दूरी अहिले २९.८ किमि रहेकामा सुरुङ मार्ग निर्माण भए ८.५ किमिमा झर्ने दाबी छ । अहिले उक्त दूरी पार गर्न एकदेखि डेढ घण्टा लाग्छ । सुरुङ निर्माण गर्न सकिए ६ मिनेटमा उक्त दूरी छिचोलिनेछ । यो तराईका जिल्ला जान छिटो र छोटो मार्ग हुनेछ । यो खण्ड भएर दैनिक १ हजार ५ देखि २ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला दैनिक ७ देखि १० हजारसम्म सवारीसाधन ओहोरदोहोर गर्छन् । २०७४ सालमा अध्ययन थालिएका सुरुङसमेत अझै निर्माण प्रक्रियामा जान सकेका छैनन् ।

अहिले अध्ययन गरिएकामध्ये सबैभन्दा लामो इलामको सुनमाई–राजदुबोल सुरुङमार्ग छ । २०८० सालमा गरिएको पूर्वसम्भाव्यता अध्ययनअनुसार यसको दूरी १२.३० किलोमिटर छ । यसको निर्माण लागत ४२ अर्ब ३६ करोड रुपैयाँ अनुमान छ । अर्को लामो सुरुङमा धादिङको मझिटारबाट चितवनको शक्तिखोर जोड्ने मझिमटार–शक्तिखोर सुरुङमार्ग छ । यसको दूरी १०.६० किमि र लागत ४५ अर्ब लाग्ने अनुमान छ । यो पूर्वसम्भाव्यता अध्ययनका क्रममा निस्किएको प्रारम्भिक लागत र दूरी हो । पछि निर्माणमै जाने गरी विस्तृत अध्ययन गरिनेछ । निर्माण गर्ने भनिएको थानकोट–चित्लाङ सुरुङ मार्गमा अहिलेसम्म थप प्रगति छैन ।

सुनसरीको धरान–लेउती सुरुङको पूर्वसम्भाव्यता अध्ययन २०७७ सालमै भएको हो । तर, अहिलेसम्म निर्माणमा जाने सुरसार छैन । पूर्वसम्भाव्यता अध्ययनअनुसार यसको दूरी ३.८७ किमि र निर्माणमा ११ अर्ब १३ करोड लाग्ने अनुमान छ । बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको अध्ययनको काम आर्थिक वर्ष २०७९/८० मै सकिएको हो । अध्ययनअनुसार यसको निर्माण लागत २० अर्ब ४ करोड लाग्ने र दूरी ७.४४ किमि रहनेछ ।

जाजरकोटको कुशे गाउँपालिकाको साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिकास्थित इमिल्चाघारी जोड्ने गरी सुरुङमार्गको अध्ययन सकिइसकेको छ । यस खण्डको दूरी १०.०७ किमि छ । २०७९/८० सकिएको पूर्वसम्भाव्यता अध्ययनअनुसार जसको निर्माणमा मात्र ३३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । सुर्खेतको बबई–छिन्चु सुरुङमार्गको अध्ययन पनि २०७९/८० मा सकिइसकेको छ । अध्ययनअनुसार ५ किमि दूरी रहेको सुरुङ बनाउन १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

अघिपछि राजनीतिक दलहरूले बजेट बनाउने बेलामा सवारी चाप र आवश्यकता नै नभएको ठाउँमा सुरुङ निर्माणको योजना राख्न सडक विभाग र केन्द्रमा दबाब दिन्थे । दबाबमै आफ्नो निर्वाचन क्षेत्रमा सुरुङ आयोजना राख्न लगाउँथे । जसले गर्दा सुरुङको संख्या दुई दर्जन हाराहारी पुर्‍याइएको थियो । ती सुरुङ कतिपयको प्रारम्भिक अध्ययन गरेर राखिएको र आवश्यकता नभएको ठाउँमा भनिएका सुरुङ हटाउँदै लगिने विभागले जनाएको छ ।

पहिला जस्तो अहिले बजेटमा सुरुङ राख्नैपर्ने दबाब खासै नआएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘जति बजेटमा सुरुङमार्ग बनाउने भनेर राखिएको छ, त्यसको प्राथमिकीकरण गर्छौं,’ उनले भने, ‘अध्ययन भएका पहिला कहाँ बनाउन आवश्यक छ ? त्यसको छनोट गरेर मात्र निर्माणको काम अघि बढाउँछौं ।’

फिचर

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully