अक्सफोर्ड र लन्डन स्कुल अफ इकोनोमिक्सका विद्यार्थी नेपाल भ्रमणमा आएपछि उनीहरूले यहाँको युवाशक्ति, प्रविधि, संस्कृति र नेतृत्वबारे अनुभव साझा गरेका छन् ।
What you should know
काठमाडौँ — नेपालमा एक जना चर्चित र्यापर चुनाव जितेर प्रधानमन्त्री बनेको खबरले रोमाञ्चित बनेका बेलायती युवा, ज्याक मार्की दुई साताअघि काठमाडौं ओर्लिँदा थप चकित बने । बालेन र्यापर मात्रै नभएर काठमाडौंका पूर्वमेयर र पीएचडी क्यान्डिडेटसमेत भएको उनले यहाँ आएपछि बल्ल थाहा पाए । ‘मलाई त बालेन र नेपालबारे आधा-अधुरो मात्रै ज्ञान रहेछ,’ उनले भने, ‘अहिले पो वास्तविकता बुझ्दै छु । पश्चिमा मिडियाले बालेनलाई र्यापर मात्रै भनेर चिनाइरहेका छन् । उनले जुन शैलीमा चुनाव जिते, त्यसले विश्वभरका मानिसको ध्यान तानेको छ । अहिले उनी र उनको टोलीको काँधमा सिंगै देशको आशा अडिएको देखिन्छ ।’
गत हप्ता ज्याकसहित बेलायतको अक्सफोर्ड विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्सका एक दर्जन विद्यार्थी टोली नेपाललाई नजिकबाट नियाल्न १० दिने कूटनीतिक भ्रमणमा आएको थियो । टोलीमा बेलायत, अमेरिका, क्यानडा, मलेसिया, जर्मनी, भारत र नेपालका १५ जना युवा सहभागी थिए । कूटनीति, प्रविधि र विकास नीतिजस्ता विषय अध्ययन गरिरहेका र केही पूर्वविद्यार्थी यस भ्रमणमा समावेश भए । औपचारिक कार्यक्रम सकिए पनि ज्याक र उनका साथीहरू अझै काठमाडौं डुलिरेहेका छन् । क्यानडाका कार्टर काठमाडौं वरिपरिका डाँडामा हाइकिङ जाने तयारीमा छन् ।
अक्सफोर्डबाट गणितमा स्नातकोत्तर गरेका ज्याक आमा-बुबालाई पनि काठमाडौं बोलाएर यहाँका पर्यटकीय स्थल घुमिरहेका छन् । हाल बेलायती सरकारको तथ्यांकशास्त्री र मेसिन लर्निङ इन्जिनियरको रूपमा कार्यरत उनी सन् २०२४ मा पहिलोपटक नेपाल आएका थिए । स्थानीय युवाहरूको प्रविधिमा दक्षता देखेपछि उनले बेलायतमा ‘एट के टेक’ नामक कम्पनीसमेत खोले । यो कम्पनी लन्डनमा दर्ता भए पनि यसले नेपालका सफ्टवेयर इन्जिनियरहरूलाई रोजगारी दिने गरेको छ । ‘मकहाँ अहिले ८/१० जना नेपाली युवाले युरोप र अमेरिकाका ग्राहकहरूको काम गरिरहेका छन्,’ उनले भने, ‘कम्पनीमा मसँग नेपालका अस्मोद खकुरेल र अवन श्रेष्ठ सह-संस्थापकका रूपमा छन् । हामी सबै कम्पनीका लागि रिमोट वर्क गर्छौं ।’ नेपालका हिमालको सम्मानमा ‘एट के’ अर्थात् ८ हजार किलोमिटर उचाइ आशय आउनेगरी कम्पनीको नाम राखेको बताए ।
नेपाली युवाहरूको क्षमता र उत्साहबाट प्रभावित ज्याक बेलायतका युवाको तुलनामा नेपाली युवाहरूमा देशको भविष्यप्रति ज्यादै आशावाद र ऊर्जा रहेको पाउँछन् । ‘हाम्रो देशका युवाभन्दा नेपाली युवाहरू बढी सकारात्मक छन्,’ उनको मूल्यांकन छ, ‘आफू स्वयं परिवर्तनको संवाहक भएकाले र आफूहरूले नै परिवर्तन ल्याएकाले पनि नेपालका युवामा आशावाद र ऊर्जा बढी देखिएको होला ।’ गत भदौको जेन-जी आन्दोलनका क्रममा भएका आगजनी र भौतिक क्षतिका कुराहरू सुन्दा र जलेका भवनहरू देख्दा चाहिँ ज्याकलाई अचम्म लागेको छ । आफू पनि सरकारी कर्मचारी भएकाले उनले बेलायतमा सरकारी कार्यालय वा घरहरूमा आगो नै लगाउने गरी आन्दोलन हुने कुरा कल्पना गर्न गाह्रो हुने बताए ।
सन् २०२३ देखि २०२५ सम्म क्यानडाको प्रिभी काउन्सिल अफिसमा वैदेशिक तथा रक्षा नीति सल्लाहकारका रूपमा काम गरेर सरकारी जागिरबाट राजिनामा दिई हाल बेलायत पढ्न गएका कार्टर डङ्गेटको नेपाल अनुभव सबैभन्दा रोचक र भावनात्मक छ । सन् १९८३ मा उनकी हजुरआमा नेपाल घुम्न आएकी रहिछन् । त्यो बेला उनले यहाँका एक बौद्ध भिक्षुसँग खिचेको ४० वर्ष पुरानो तस्बिर कार्टरले साथै लिएर आएका थिए । ‘त्यही फोटो देखाएर बौद्ध क्षेत्रमा खोजी गर्दै जाँदा मैले ती भिक्षुलाई फेला पारें,’ उनले खुसी हुँदै भने, ‘उहाँ पनि बुढो भइसक्नु भएछ, तर मेरो हजुरआमाभन्दा चाहिँ कान्छै हुनुहुँदो रहेछ । मैले तस्बिर देखाउँदा उहाँले हजुरआमालाई चिन्नुभयो ।’
भ्यानकुभर बस्ने कार्टरकी ८४ वर्षीया हजुरआमा मोबाइल चलाउँदिनन् । प्रविधिको युगबाट बिलकुल अलग रहेकी उनलाई कार्टरले भिडियो कल गरेर भिक्षुसँग संवाद गराउन सकेनन् । सिधै सम्पर्क गर्ने कुनै उपाय नभएकाले सानिमामार्फत् हजुरआमालाई उनको बौद्ध भिक्षु मित्र भेटिएको खबर सुनाए । ‘उहाँ कस्तो खुसी हुनुभयो, छक्क पर्नुभयो,’ कार्टरले भने, ‘यो विरलै हुने घटना थियो । मैले सानैदेखि कथामा सुनेको र फोटोमा देखेको मानिस केही बेर खोज्दैमा सहजै भेट्टाउनु अचम्मै हो । मलाई आस थिएन, तर प्रयास सफल भएकोमा रमाइलो लागेको छ ।’
पहिलोपटक नेपालका आएका अक्सफोर्ड टोलीका अन्य सहभागीहरूले यहाँको विकास र सम्भावनाका विभिन्न पाटाहरू केलाए । मलेसियाकी क्रिस्टल चानले नेपाललाई प्रविधि र जलविद्युत्को क्षेत्रमा फड्को मार्न सक्ने एउटा ‘फ्रन्टियर मार्केट’ को रूपमा व्याख्या गरिन् । मलेसियाको चर्चित कर्पोरेट एडभाइजरी कम्पनी, वाइनकर्प ग्रुपमा सिनियर एसोसिएटका रूपमा कार्यरत, लन्डन स्कुल अफ इकोनमिक्सकी पूर्वछात्रा क्रिस्टललाई पनि नेपालका युवा जनशक्तिको क्षमताले निकै प्रभावित पारेको छ । ‘प्रविधि र जलविद्युत्का क्षेत्रमा देशलाई छिटो विकास गराउन सक्ने अद्भुत सम्भावना र प्रतिभा यहाँका युवामा छ,’ उनले भनिन्, ‘तर, उनीहरूले पूर्वाधार, ऊर्जा र पहुँचजस्ता अवरोध झेलिरहेका छन् ।’
टोलीमा कार्टर, ज्याक, अस्मोद, क्याथरिन, निकलस बेन्जामिन हाइन्स, लक्ष्मण विष्ट, क्रिस्टल चान, पल बेनेडिक्ट हाइगिस, नातालिया लालिन, कुसुम कालीकोटे, ग्रान्ट गियानग्रासो, शरण महत, निकोला मारी एन्सेल्मो, तेज गोहिल र मार्कस बाच सहभागी थिए ।
लन्डन स्कुलमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर तहमा अध्ययनरत अमेरिकी विद्यार्थी क्याथरिन कुहरले नेपाल हाल अत्यन्तै महत्त्वपूर्ण र उत्साहजनक समयमा रहेको र नयाँ पुस्ताले ल्याइरहेको परिवर्तन र भविष्यप्रति मानिसमा व्यापक आशा महसुस गरेको बताइन् । उनले दोलखास्थित कालिञ्चोकमा हिउँ खेल्न पाउनुलाई जीवनकै दुर्लभ र सुन्दर अवसर मानेकी छन् । ‘धेरै अमेरिकीहरूले नेपाललाई हिमाल चढ्ने ठाउँको रूपमा मात्र चिनेका छन्, तर इतिहास र संस्कृतिमा पनि नेपाल धनी रहेछ,’ उनले कान्तिपुरसँग भनिन्, ‘यहाँका हस्तकलाका सामग्रीहरू पनि निकै उत्कृष्ट रहेछन् । नेपालबाट कुन कोसेली लैजाऊँ भनेर म दोधारमा परेकी छु, सबै किनौंझैं लाग्छ ।’
अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीले नेपालस्थित इन्स्टिच्युट फर रुरल डेभलपमेन्ट र ब्रिटेन नेपाल सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको यस भ्रमणका क्रममा सहभागीहरू विभिन्न कूटनीतिक, शैक्षिक र सांस्कृतिक गतिविधिहरूमा संलग्न भए । परराष्ट्र मन्त्रालयका अधिकारी र सांसदहरूसँग भेटे । नुवाकोटका ग्रामिण बस्ती, जलविद्युत् परियोजना, दुप्चेश्वर मन्दिर भ्रमण गरेका थिए ।
वैदेशिक लगानी, स्टार्टअप र नेपालको परराष्ट्र नीतिबारे राउन्ड टेबल छलफलहरू पनि आयोजना गरिएको इन्स्टिच्युट फर रुरल डेभलपमेन्टका अस्मोद खकुरेलले जानकारी दिए । ‘अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीले यस्तो टोली पठाउनु निकै सकारात्मक कुरा हो,’ उनले भने, ‘यस भ्रमणले भविष्यमा अझ ठूला र नवीन कार्यक्रमहरू गर्न आत्मविश्वास र आँट बढेको छ । यो टोलीमा आएका विद्यार्थीहरू भविष्यका लिडर हुन्, उनीहरूलाई नेपाल ल्याउनु र यहाँको वास्तविकता बुझाउनु निकै ठूलो अवसर रह्यो ।’ अक्सफर्ड सोसाइटीले आयोजना गरेको यो द्रोस्रो नेपाल भ्रमण कार्यक्रम थियो ।
