देउवाको राजनीति : सत्ताको केन्द्रदेखि किनारासम्म
देउवा राजनीतिक यात्रामा निरन्तर उक्लिँदै गए तर उनले अंगालेका लोकतान्त्रिक मूल्यहरू क्रमशः खिइँदै गए, आफ्नै पार्टीमा सम्मानजनक बहिर्गमनको मौका गुमाए, सम्पत्ति शुद्धीकरण कसुरमा राज्यको अनुसन्धानमा तानिए ।
शेरबहादुर देउवा २२ मंसिर २०८१ मा कांग्रेसको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन महामन्त्री गगन थापाले भने, ‘हाम्रो सभापति धेरै बोल्नु हुन्न ।’
आफ्नो पालो आएपछि देउवाले त्यसको जवाफ फर्काए, ‘महामन्त्रीज्यूले धेरै कुरा भन्नुभयो, म एउटा मात्रै कुरा भन्छु– म कम बोल्छु । धेरै बोल्नेहरूले आफैंलाई घाटा पुर्याउँछन् । कम बोल्नेहरूले अरूलाई सक्काइदिन्छन् ।’
देउवाले आफैंलाई परिभाषित गरेजस्तो क्षण थियो त्यो । ६ दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका ८१ वर्षीय राजनीतिज्ञ देउवालाई कम बोल्ने स्वभावका कारण आलोचना गरिन्छ । त्यही स्वभावलाई लिएर उनलाई कहिलेकाहीँ उपहासको पात्र पनि बनाइन्छ । उनी त्यसलाई टार्ने प्रयास पनि कहिल्यै गर्दैनन्, त्यसबाट धेरै प्रभावित भएजस्तो पनि देखिँदैन ।
देउवाको राजनीतिक जीवनले अर्को कुरा पनि देखाउँदै आएको छ– सत्तामा पुग्न वाक्पटुता अनिवार्य हुँदैन र राजनीति एउटा यस्तो कला हो, जसलाई बोल्न निपुण नभए पनि आत्मसात् गर्न सकिन्छ ।
देउवाको राजनीतिक जीवनको कथा उनको संघर्ष, जेल जीवन, लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणको फेहरिस्त हो । विराटनगरको कार्यक्रममा देउवाले आफ्नो कम बोल्ने स्वभावबारे सार्वजनिक रूपमा व्यक्त गरेको थोरैमध्येको एक क्षण थियो । त्यहाँ देउवा र थापाबीच भएको संवादले पार्टीभित्र सबै कुरा ठीक नभएको संकेत पनि गरेको थियो । अर्थात् त्यसबेलै उनीहरूबीच मतभेदको बीउ अंकुराउन थालेको थियो ।
कांग्रेसको कोशी प्रदेश सम्मेलनको साढे आठ महिनापछि जेन–जी आन्दोलन भयो, जसले नेपालको राजनीतिक परिदृश्य मात्र बदलेन, समाज र राजनीतिप्रति नागरिकको दृष्टिकोण नै फेरिदियो । आन्दोलनको दोस्रो दिन २४ भदौमा, देउवा र उनकी पत्नी आरजु राणामाथि प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित निवासमै दुर्व्यवहार गरे, घरमा आगजनी गरियो ।
जेन–जी आन्दोलनको बलमा तत्कालीन प्रतिनिधिसभा विघटनपछि गराइएको चुनावमा रास्वपाले कांग्रेससहितका पुराना राजनीतिक दललाई पाखा लगाउँदै सरकार बनाएको छ । लामो समयदेखि सत्ताको अभिजात वर्गका रूपमा हेरिँदै आएका देउवा दम्पतीमाथि अहिले सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान चलिरहेको छ । हाल विदेशमा रहेका उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी नै लिएको छ ।
मानव विकास सूचकांकमा पछाडि परेको सुदूरपश्चिमबाट आएका देउवा कसरी पाँच पटक प्रधानमन्त्री बनेर नेपालका शक्तिशाली व्यक्तिहरूमध्ये एक भए ?
देउवाको राजनीतिक जीवनको कथा उनको संघर्ष, जेल जीवन, लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणको फेहरिस्त हो । मानौं उनी राजनीति गर्नकै लागि जन्मिएका थिए । उनको राजनीतिक यात्रा यस्तो रह्यो—उनी निरन्तर उक्लिँदै गए, तर उनले अँगालेका लोकतान्त्रिक मूल्यहरू क्रमशः क्षीण हुँदै गए ।
देउवा ३१ जेठ २००१ मा डडेलधुराको असिग्राम, रुवाखोलामा जन्मिएका हुन् । दुई वर्षअघि सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा देउवाले २०१९ सालमा एसएलसी दिएपछि आफू पहिलो पटक कसरी काठमाडौं पुगें भन्ने कथा सुनाएका थिए । उनले भनेका थिए, ‘म हिँडेर धनगढी पुगें । त्यसपछि भारत गएर रेल चढेर अर्को दिन लखनउ पुगें । त्यहाँबाट अर्को रेल समातेर मुजफ्फरपुर हुँदै बिहारको रक्सौल उत्रिएँ । त्यहाँबाट नेपाल (वीरगन्ज) प्रवेश गरेर काठमाडौं पुगें ।’
तीन–चार दिनको कठिन यात्रा सुनाउँदा त्यही क्षेत्रका मानिस भने अझै पनि सुदूरपश्चिम आर्थिक सूचकांकमा पछाडि परेको भन्दै गुनासो गरिरहेका थिए ।
काठमाडौं आएपछि देउवा २०२१ मा त्रिचन्द्र कलेजमा भर्ना भए । पछि उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरे । कांग्रेस नेता चिरञ्जीवी वाग्ले (जो भ्रष्टाचार आरोपपछि सक्रिय राजनीतिबाट बाहिरिए) त्रिचन्द्रमा देउवाका सहपाठी थिए ।
देउवाले विद्यार्थी नेताका रूपमा राजनीति सुरु गरेका थिए । त्यतिबेला कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारतको बनारसमा निर्वासनमा थिए । २०२८ मा भरतपुरमा भएको नेविसंघको अधिवेशनमा देउवा अध्यक्षका उम्मेदवार बने । बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको समर्थनमा उनी निर्विरोध निर्वाचित भए ।
समकालीनहरू भन्छन्– बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको समर्थन नपाएको भए दूरदराजको सामान्य परिवारका देउवा नेपाली राजनीतिका ‘शेर’ बन्ने थिएनन् ।
नेता बलबहादुर केसीका अनुसार देउवालाई पहिले क्षेत्रीय नेतृत्वका रूपमा अघि सारिएको थियो । ‘सुदूरपश्चिममा अरू नेता थिएनन् भन्ने होइन । तर देउवालाई समर्थन थियो, शीर्ष नेतृत्वमा उनी पहिल्यै स्थापित भइसकेका थिए,’ उनले भने, ‘उनी समयसँगै राष्ट्रिय राजनीतिमा देखिए, जुन स्वाभाविक थियो ।’
सत्ता देउवाका लागि जीवनशैली बन्यो, उनले सत्तासँग सिद्धान्त साटे, सत्ताबिना अस्तित्व रहँदैन भन्ने मान्यता उनमा देखियो, त्यसैले उनले प्राकृतिक र अप्राकृतिक सबै प्रकारका गठबन्धन बनाए: विपिन कोइराला, संस्थापक अध्यक्ष, नेविसंघ नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला देउवाको उदयलाई प्रतिस्पर्धाको अभावसँग पनि जोड्छन् । उनका अनुसार अन्य नेता कोशी, गण्डकीजस्ता तुलनात्मक रूपमा पहुँचयुक्त र सहरी क्षेत्रमा सक्रिय हुँदा सुदूरपश्चिममा देउवालाई अवसर मिल्यो ।
‘०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपीले पश्चिम जाँदा देउवालाई पनि साथैमा लगे । देउवाले बीपीसँग एउटै मञ्चमा बस्ने अवसर पाए, जसले उनलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने बाटो खोलिदियो,’ विपिन कोइराला सम्झन्छन् ।
बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४८ मा भएको पहिलो संसदीय निर्वाचनमा कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइरालाले देउवालाई सुदूरपश्चिमका १९ वटै क्षेत्रमा टिकट वितरणको जिम्मेवारी दिए ।
दार्चुला–२ बाहेक बाँकी १८ क्षेत्रमा कांग्रेस विजयी भयो । त्यसको पुरस्कारस्वरूप गिरिजाप्रसाद कोइरालाले उनलाई गृहमन्त्री बनाए । यही बिन्दुबाट उनको सत्तायात्रा सुरु भयो र सत्ताप्रतिको उनको भोक त्यसपछि निरन्तर बढ्दै गयो । ‘गृहमन्त्री बनेपछि देउवा कहिल्यै सत्ता बाहिर रहेनन्,’ विपिन कोइराला भन्छन् ।
देउवा प्रायः ‘अपरिहार्य विकल्प’ का बन्दै गए । सत्तामा देउवाको उडान केही हदसम्म भाग्य र केही हदसम्म राजनीतिक कौशलको परिणाम थियो । समकालीनहरू देउवालाई सत्ता र समीकरणको कुशल खेलाडी भन्छन् । त्यही कारण उनी पाँच पटक प्रधानमन्त्री त बने नै, उनी सधैं सरकार बनाउने वा गिराउने निर्णायक भूमिकामा रहे । ‘सत्ता देउवाका लागि जीवनशैली बन्यो । उनले सत्तासँग सिद्धान्त साटे,’ विपिन कोइराला भन्छन्, ‘सत्तामा छैन भने चुनाव जित्न सकिँदैन, सत्ताबिना अस्तित्व रहँदैन भन्ने मान्यता उनमा देखियो । त्यसैले उनले प्राकृतिक र अप्राकृतिक सबै प्रकारका गठबन्धन बनाए ।’
०००
दर्जनभन्दा बढी समकालीन र विश्लेषकसँग कान्तिपुरले कुरा गर्दा अधिकांशको भनाइ थियो– देउवा दोस्रो पटक प्रधानमन्त्री नबन्दासम्म व्यक्तिगत लाभ केन्द्रित नेता थिएनन् । उनीहरूका अनुसार उनी पैसाभन्दा बढी सत्ताको खेलमा केन्द्रित राजनीतिज्ञ थिए ।
देउवाको नेतृत्वको सरकारमा दुई पटक मन्त्री भइसकेका चिरञ्जीवी वाग्ले भन्छन्, ‘गृहमन्त्री बन्दासम्म देउवाको छवि भौतिक लोभ नभएको व्यक्तिका रूपमा थियो ।’ उनले कुनै राजनीतिक विवाद पनि निम्त्याएका थिएनन् । वाग्लेका अनुसार देउवामा लोभको बीउ प्रधानमन्त्री बनेपछि उम्रिन थालेको हो ।
वाग्ले एउटा घटना सम्झन्छन्– देउवा गृहमन्त्री हुँदा सरकारले गृह मन्त्रालयका लागि २० वटा गाडी किन्न निर्णय गरेको थियो । एक जना एजेन्टले देउवालाई प्रस्ताव राखे, उनीमार्फत २० वटा गाडी किनियो भने एउटा गाडी उपहारस्वरूप देउवाले पाउनेछन् ।
‘गाडी किनिसकेपछि एजेन्टले त्यो उपहार दिइएको गाडी कसको नाममा दर्ता गर्ने भनेर सोधे,’ वाग्लेले सुनाए, ‘शेरबहादुरजीले गृह मन्त्रालयकै नाममा राख्न भन्नुभयो । त्यसपछि गाडी मन्त्रालयकै नाममा दर्ता गरियो ।’
धेरैको भनाइ छ, २०५० मा आरजु राणासँग विवाह भएपछि देउवाको जीवन र व्यक्तित्वमा ठूलो परिवर्तन आयो ।
देउवाको विवाहपछि कांग्रेस वृत्तमा एउटा ठट्टा निकै चलेको थियो । कृष्णप्रसाद भट्टराईले भनेका थिए, ‘आजसम्म शेरबहादुरजी हाम्रा मान्छे थिए, अब आरजुका भए ।’
भट्टराईको उक्त भनाइको वास्तविक अर्थ के थियो भन्नेमा कांग्रेस नेताहरूबीच एकमत छैन । भट्टराईले राणा परिवारको जीवनशैली देउवाको जीवनमा प्रवेश गरेको संकेत गरेको कतिपयको भनाइ छ । अरू भन्छन्– त्यो देउवाको विवाहित जीवनशैलीमा आउने सम्भावित परिवर्तनप्रतिको हल्का मजाक मात्र थियो ।
भट्टराईले जे अर्थमा भनेका भए पनि, पछिल्लो दशक कांग्रेसभित्र एउटा मान्यता बिस्तारै विकसित हुँदै गयो– ‘दाजु र भाउजू’ ले सत्ता दुरुपयोग गरेर पैसा कमाउने जालो बुनेका छन्, आरजुले नियुक्ति नियन्त्रण गर्छिन् र त्यसको ‘मूल्य’ तोक्छिन् । पछिल्लो पटक नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीमा आरजुको संलग्नता पनि सार्वजनिक बहसको विषय बनेको छ ।
०००
२०४६ को आन्दोलनताका देउवा बेलायतमा अध्ययनरत थिए, उनी पञ्चायती व्यवस्थातर्फ झुकेको अनुमानमा कृष्णप्रसाद भट्टराईले उनलाई बेलायत पठाएको चर्चा पनि थियो, आन्दोलनपछि नेपालबाट पटक–पटक आग्रह गरिएपछि मात्रै उनी फर्किएका थिए । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन उत्कर्षमा पुग्दा देउवा बेलायतमा अध्ययनरत थिए । त्यतिबेला केही नेताले देउवा पञ्चायती व्यवस्थातर्फ झुकेका छन् भन्ने अनुमान गरेका थिए र भट्टराईले उनलाई टाढा राख्न बेलायत पठाएका हुन् भन्ने चर्चा पनि थियो ।
कतिपयको दाबी छ, २०४६ सालको आन्दोलनपछि पनि देउवा तुरुन्तै नेपाल फर्कन इच्छुक थिएनन् । केही समय बेलायतमै बस्ने योजना बनाएका थिए र नेपालबाट पटक–पटक आग्रह गरिएपछि मात्रै फर्किएका थिए ।
तर देउवाका निकट सहयोगी ज्ञानेन्द्रबहादुर कार्की त्यस्तो भनाइलाई अस्वीकार गर्छन् । ‘आन्दोलन सकिएलगत्तै उहाँ फर्कनुभयो । बेलायतमै बस्न चाहनुहुन्थ्यो भन्ने कुरा सही होइन,’ उनी भन्छन् ।
अर्का एक निकट सहयोगीका अनुसार भने देउवाले बेलायतबाट अमेरिकामा इन्टर्नसिप गर्न जाने विचार पनि गरेका थिए । ‘उहाँले अमेरिकामा पढिरहेका एक नेतासँग सम्पर्क गरेर त्यहाँ इन्टर्नसिप गर्ने चाहना व्यक्त गर्नुभएको थियो । मैले उहाँलाई नेपालमा प्रजातन्त्र आइसकेको छ, अब विदेश बसिरहनु हुँदैन, फर्कनुपर्छ भनेको थिएँ,’ ती नेताले कान्तिपुरलाई भने ।
ती नेताका अनुसार देउवाले त्यसपछि भनेका थिए, ‘मैले अझै अमेरिका देखेको छैन, जान मन छ । म कृष्णप्रसाद भट्टराई वा गिरिजाप्रसाद कोइरालाको पहिलो रोजाइको मान्छे होइन, किन तुरुन्तै फर्कनु ?’ ती नेताले नेपालबाट अन्य साथीहरूले आग्रह गरिरहेपछि देउवा अमेरिका नगई नेपाल फर्किएको बताए ।
०००
पञ्चायतको पतनपछि २०४८ मा भएको पहिलो निर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भए । त्यसपछि गिरिजाप्रसाद कोइरालाले देउवालाई गृहमन्त्री बनाए ।
गृहमन्त्री र पहिलो कार्यकालमा प्रधानमन्त्री हुँदा देउवा ठीकै थिए तर त्यसपछि फेरिँदै गए, प्रतिबद्ध र इमानदार कार्यकर्ता बिस्तारै पाखा लागे, चाप्लुसी गर्ने र धनी व्यक्तिहरू नजिक हुँदै गए : सोभियतबहादुर अधिकारी, कांग्रेस नेता नेविसंघमा देउवाको समितिमा बसेका पुराना कांग्रेस नेता सोभियतबहादुर अधिकारी समयसँगै देउवा बदलिँदै गएको बताउँछन् । ‘उहाँ अहिले पहिले जस्तो हुनुहुन्न,’ उनी भन्छन्, ‘पहिले उहाँ सादगी र कार्यकर्तामा आत्मविश्वास जगाउने नेता हुनुहुन्थ्यो । मितव्ययी हुनुहुन्थ्यो । गृहमन्त्री नबन्दासम्म पैसाप्रति लोभ नभएको नेता भन्ने छवि थियो ।’
तर सादगीपन सधैं टिकाइराख्न सबैलाई सम्भव हुँदैन । देउवाका लागि सत्ताको स्वाद शेर (सिंह) ले रगतको स्वाद पाएजस्तै भयो ।
२०५३ मा देउवा पहिलो पटक प्रधानमन्त्री बनेपछि कोइरालालाई देउवाले आफ्नै शक्ति केन्द्र बनाउँदै छन् भन्ने शंका लाग्न थाल्यो । एक पूर्वमन्त्रीका अनुसार देउवाले एक पटक केही मन्त्रीलाई कोइराला उनीप्रति सशंकित बन्दै गइरहेका छन् भनेका थिए । एक नेताका अनुसार त्यतिबेला परराष्ट्रमन्त्री रहेका चक्रप्रसाद बाँस्तोला (दिवंगत) ले एउटा उपाय सुझाइदिए– ‘गिरिजासँग राम्रो सम्बन्ध राख्न चाहनुहुन्छ भने हरेक बिहान उहाँलाई भेट्न जानुस् र नगद दिनुस् ।’ पार्टी चलाउन गिरिजालाई पैसा चाहिन्थ्यो ।
देउवाले सुझाव माने । तर गिरिजासँगको सम्बन्ध लामो समय टिकेन ।
भर्खरै मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकार ढलेको समय थियो, देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी र सद्भावना पार्टीको समर्थन जुटाएर प्रधानमन्त्री बनेका थिए । त्यतिबेला उनी ४९ वर्षका थिए ।
देउवाले चाँडै नै सत्ताको नियन्त्रण गर्ने तरिका सिकिसकेका थिए– सम्बन्ध राम्रो बनाउन गिरिजालाई पैसा दिनुभन्दा त्यही स्रोतलाई आफ्नै शक्ति केन्द्र बलियो बनाउन प्रयोग गर्ने ।
०००
देउवाले गृहमन्त्री हुँदै आरजुसँग विवाह गरेका भए पनि उनले आफ्नै घर भने २०५८ मा दोस्रो पटक प्रधानमन्त्री बनेपछि मात्रै बनाए । २०५१ मा पहिलो पटक प्रतिपक्षी दलको नेता हुँदा उनी महाराजगन्जस्थित सरकारी निवासमा बसेका थिए । केही समय उनी चुनदेवीमा भाडाको अपार्टमेन्टमा पनि बसे । उनी थापाथलीमा भरतशमशेर राणाको घरमा समेत बसे ।
पछिल्लो समय भने उनी बुढानीलकण्ठस्थित दरबारजस्तो घरमा बस्दै आएका थिए, जुन अहिले भग्नावशेषमा परिणत भएको छ । जेन–जी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेपछि त्यहाँ आधा जलेका नगदका बन्डलहरू भेटिएका थिए ।
‘जसरी व्याख्या गरे पनि, देउवामा आएको परिवर्तन विवाहपछि नै हो,’ २०३६ सालदेखि उनलाई चिन्ने एक नेताले भने, ‘पछिल्लो समय देउवा सत्ता र पैसामा यति गहिरो रूपमा डुब्नुको कारण आरजु नै हुन् ।’
पार्टीका नेताहरूबीच सामान्य बुझाइ के देखिन्छ भने जीवनको उत्तरार्धमा देखिएको अस्वाभाविक लोभ र महत्त्वाकांक्षाले नै उनको राजनीतिक जीवनमा यस्तो पतन निम्त्याएको हो ।
सोभियतबहादुर अधिकारीका अनुसार दोस्रो पटक प्रधानमन्त्री भएपछि देउवामा असामान्य परिवर्तन देखिन थालेको हो । ‘गृहमन्त्री रहँदासम्म र पहिलो कार्यकालमा प्रधानमन्त्री हुँदा उनी ठीकै थिए । त्यसपछि सामान्य कांग्रेस कार्यकर्ताले नै उनी फेरिएको महसुस गर्न थाले,’ उनी भन्छन्, ‘निःस्वार्थ, प्रतिबद्ध र इमानदार कार्यकर्ताहरू बिस्तारै पाखा लागे । चाप्लुसी गर्ने, आसेपासे, लोभी र धनी व्यक्तिहरू उनको नजिक हुँदै गए ।’
बुढानीलकण्ठको घर सुरुमा करिब तीन रोपनी जग्गामा थियो । आरजुले उक्त जग्गा आफ्ना बाबुआमाबाट उपहारस्वरूप पाएको पटक–पटक बताउँदै आएकी छन् । देउवा परिवार नजिकका नेताहरूका अनुसार समयसँगै जग्गा थपिँदै गयो र अहिले उक्त सम्पत्ति सात रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नेपाली मापदण्डअनुसार पारिवारिक निवासका लागि यो अत्यन्त ठूलो क्षेत्रफल हो ।
पूर्वमन्त्री वाग्ले पनि पछिल्ला वर्षहरूमा देउवा आर्थिक प्रलोभनतर्फ झुक्दै गएको बताउँछन् । ‘सुरुमा उनी केही गर्ने उत्साह भएका नेता थिए । लामो संघर्ष गरेर आएका, जेल जीवन भोगेका व्यक्ति । तर पछिल्ला वर्षहरूमा विशेषगरी २०७० पछि उनी लोभले बढी प्रभावित भएको देखिन्छ,’ उनी भन्छन्, ‘पञ्चायतकालमा राजा आफैं ठीक थिए, वरिपरिका मानिसले बिगारे भनिन्थ्यो, अहिले पनि कतिपयले शेरबहादुर आरजुबाट नकारात्मक रूपमा प्रभावित भए भन्छन् ।’
उनले थपे, ‘तर आरजुलाई मात्र दोष दिनुभन्दा शेरबहादुर आफैंले पनि आत्ममन्थन गर्नुपर्छ ।’
०००
देउवाको राजनीतिक जीवनलाई कुख्यात बनाउने अर्को पक्ष हो– उनले संसदीय लोकतन्त्रमा भित्र्याएको विकृत संस्कार ।
प्रजातन्त्र पुनर्बहालीपश्चात्को गहिरो संसदीय रिपोर्टिङ गरेका पत्रकार हरिबहादुर थापा सम्झन्छन्– देउवाको पहिलो सरकारले सांसदहरूका लागि भारतीय गाडीमा ९० प्रतिशत भन्सार छुट र महँगा सवारीसाधनमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
‘त्यो निर्णय सर्वदलीय सहमतिमा भएको भन्दै देउवाले अनुमोदन गरेका थिए,’ थापा भन्छन्, ‘सांसदहरूले प्राडो र पजेरो किने । झन् खराब कुरा के भयो भने कर छुटमा गाडी किनेर बेच्न थाले । यही घटनाबाट नेपाली राजनीतिमा पजेरो–प्राडो संस्कृतिको सुरुआत भयो ।’
सत्तामा टिक्न देउवा जुनसुकै हदसम्म जान सक्छन् भन्ने अर्को घटनाले पनि देखाउँछ । २०५३ मा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेद्रबहादुर चन्द समूहको समर्थनमा देउवाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्यो । मतदान ९ पुस २०५३ मा तय भयो । राप्रपा र सद्भावना पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका देउवाको पद संकटमा पर्यो । त्यसपछि देउवाले आफ्नाविरुद्ध मतदान गर्न सक्ने सांसदहरूलाई काठमाडौंको एक पाँचतारे होटलमा राखे ।
पत्रकार थापा भन्छन्, ‘त्यतिबेला संसद् परिसरमै १७ किलोको नगदको झोलाको चर्चा थियो, अर्थात् करिब एक करोड रुपैयाँ (हजारका नोटमा) को तौल १७ किलो जति ।’
थापाका अनुसार देउवाले आफ्नाविरुद्ध मतदान गर्न सक्ने पाँच मन्त्रीलाई २–२ हजार डलर दिएर बैंकक पठाएका थिए । ‘सत्तामा टिक्न उनले सबै उपाय अपनाए,’ थापा भन्छन्, ‘अविश्वास प्रस्ताव त पार गरे, तर लामो समय टिकेनन् ।’
एमालेले सरकार बनाउन बहुमत जुटाउन सकेन, जसले देउवालाई पुनः विश्वासको मत लिन बाध्य बनायो । त्यसपछि आफ्नै पार्टीका दीपकबहादुर शाही र चक्रबहादुर शाही अनुपस्थित भएपछि ५ सय ७५ दिनको कार्यकाल अन्त्य भयो ।
०००
देउवाको दोस्रो पटक प्रधानमन्त्रीको कार्यकाल ७ साउन २०५८ मा सुरु भयो । माओवादीले २८ असार २०५८ मा रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरेर ठूलो संख्याका प्रहरीलाई नियन्त्रणमा लिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली सेना परिचालन गर्न खोजेका थिए । तर राजाबाट सहयोग नपाएको भन्दै उनले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री बनेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्रले सशस्त्र माओवादी विद्रोह नियन्त्रण गर्ने उद्देश्यसहित देउवालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । पद सम्हालेलगत्तै देउवाले ‘संकटकाल’ घोषणा गरे ।
१० वैशाख २०५९ मा बसेको मन्त्रिपरिषद् बैठकले भूमिगत माओवादी नेताहरूको टाउकोको मूल्य तोक्यो, जुन विवादित बन्यो । जसले माओवादी नेताहरूलाई जीवित पक्राउ गरी वा मृत अवस्थामा टाउको बुझाउँछ, उसलाई २५ लाखदेखि ५० लाख रुपैयाँसम्म पुरस्कार दिइने भनिएको थियो । पहिलो ‘मोस्ट वान्टेड’ सूचीमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मोहन वैद्य थिए, उनीहरू प्रत्येकका हकमा ५० लाख रुपैयाँ तोकिएको थियो ।
यसको प्रतिक्रिया स्वरूप देउवा सवार गाडीलाई लक्षित गरी बम आक्रमण भयो । उनी ज्यान जोगाउन सफल भए ।
माओवादीविरुद्ध कडा कारबाही गर्न लगाइएको संकटकाल अन्ततः उनकै पार्टीभित्र विभाजनको कारण बन्यो ।
८ जेठ २०५९ मा नयाँ निर्वाचन घोषणा गर्ने विषयमा विवाद चुलिँदा पार्टीले देउवासँग स्पष्टीकरण माग्यो । त्यसपछि उनलाई तीन वर्षका लागि निष्कासित गर्यो । ५ असार २०५९ मा कांग्रेस औपचारिक रूपमा विभाजित भयो र देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे ।
१८ असोज २०५९ मा राजा ज्ञानेन्द्र शाहले देउवालाई पदबाट हटाए । तर भाग्यले फेरि साथ दियो । सात दलको आन्दोलन तुहाउन राजा ज्ञानेन्द्रले २० जेठ २०६१ मा पुनः देउवालाई प्रधानमन्त्री नियुक्ति गरे ।
देउवाले त्यसबखत ‘गोर्खाली राजाले न्याय दिएको’ प्रतिक्रिया दिएका थिए । तर आठ महिनापछि १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले कु गर्दै देउवालाई बर्खास्त गरे र सत्ता आफ्नो हातमा लिए ।
देउवाले ‘न्याय दिने’ गोर्खाली राजा भनेका उनै ज्ञानेन्द्रले पछि उनलाई भ्रष्टाचारको आरोपमा जेल हाले । सर्वोच्च अदालतले देउवालाई भ्रष्टाचारको अभियोग लगाउने शाही आयोग नै खारेज गरिदिएपछि मात्र देउवा रिहा भए ।
९ असोज २०६४ मा देउवा पुनः मूल पार्टी नेपाली कांग्रेसमा फर्किए । पछि उनी १३ औं महाधिवेशन (फागुन २०७२) र १४औं महाधिवेशन (मंसिर २०७८) मा पार्टी सभापति निर्वाचित भए ।
०००
देउवानिकट एक नेताका अनुसार देउवा र कांग्रेसको वास्तविक पतन २०७३ सालबाट सुरु भएको हो, जब कांग्रेस र माओवादी मिलेर केपी शर्मा ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए । देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सम्झौता गरेपछि ओलीलाई हटाएर दाहाल प्रधानमन्त्री बने । दाहाल १० महिना प्रधानमन्त्री बने र त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गरे । नेपालको राजनीतिका ‘मास्टर खेलाडी’ देउवा फेरि चौथो पटक प्रधानमन्त्री बने ।
त्यतिबेला नेपाली राजनीतिका विचित्र समीकरणहरू प्रस्ट देखिए । दाहाल र देउवा मिलेर ओलीलाई हटाएका थिए । तर देउवाको कार्यकालमा भएको निर्वाचनमा दाहालको तत्कालीन माओवादी केन्द्र र ओलीको एमालेले गठबन्धन बनाएर चुनाव लडे । पछि ती दुई पार्टी मिलेर नेकपा बन्यो ।
‘यहींबाट देउवाले कांग्रेसलाई ओरालो बाटोमा धकेल्न थाले र आफ्नै पतनको आधार पनि तयार गरे,’ लामो समयदेखि देउवासँग काम गरेका एक नेता भन्छन्, ‘उनले अनैतिक गठबन्धनहरू गर्न थाले, जसले उनलाई अविश्वसनीय राजनीतिज्ञको छवि दियो ।’
विपिन कोइराला भन्छन्, ‘कसरी एक इमानदार र प्रतिबद्ध कार्यकर्ता बिस्तारै अनैतिक र भ्रष्ट बन्दै जान्छ भन्ने अध्ययनको विषय हुन् देउवा ।’
०००
प्रारम्भिक दिनमा देउवा लोकतान्त्रिक मूल्य—समानता र सामाजिक न्यायप्रति प्रतिबद्ध नेता थिए भन्ने उनको कामबाट देखिन्छ । उनको पहिलो कार्यकालमा महाकाली विवाद समाधान गरिएको थियो ।
प्रमुख प्रतिपक्षी एमालेको समर्थनमा उनले भारतसँगको महाकाली सन्धि संसद्बाट पारित गराए । सीमा नदी महाकालीको पानीमा नेपाल र भारतको समान अधिकार सुनिश्चित गर्ने यो सन्धि गिरिजाप्रसाद कोइरालाको समयदेखि विवादित थियो ।
त्यसै समयमा देउवाले पछाडि परेका क्षेत्र र समुदायलाई मूलधारमा ल्याउने उद्देश्यसहित ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति, मधेश) अवधारणा अघि सारे । महिला, आदिवासी जनजाति र दलित आयोग गठन गर्ने निर्णय पनि उनकै पालामा भयो । कमैया श्रम (निषेध गर्नेसम्बन्धी) ऐन पनि देउवाकै कार्यकालमा ल्याइएको थियो ।
देउवाले यसलाई आफ्नो कार्यकालको सबैभन्दा सकारात्मक काममध्ये एकका रूपमा उल्लेख गर्दै आएका छन् । २०५८ सालमा आधुनिक भूमि सुधार लागू गर्ने निर्णय भयो, जसले दोहोरो भूमि स्वामित्व अन्त्य गर्यो ।
देउवाको दोस्रो कार्यकालमा भ्याट लागू गरेर आर्थिक सुधारको महत्त्वपूर्ण कदम चालियो । उनकै नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सशक्त बनाउने कानुन बन्यो । कर्णाली चिसापानी पुलसहित २२ वटा स्थायी पुल निर्माण भए, जसले सुदूरपश्चिमलाई राजधानीसँग जोड्यो ।
०००
कांग्रेसका नेताहरूका अनुसार देउवा पार्टी सभापति बनेपछि राजनीति सत्ताकेन्द्रित हुन थाल्यो । यहींबाट उनको पार्टीभित्र र सरकार दुवैमा ओरालो यात्रा सुरु भयो । उनले ‘सत्ता नै सबैथोक हो’ भन्ने धारणा अँगाले ।
यसैबीच २०७५ मा भएको कम्युनिस्ट शक्तिहरूको एकता लामो समय टिकेन । दाहाल र ओलीबीच संघर्ष चलिरहेकै बेला पार्टी नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले २०७७ मा निर्णय सुनाउँदै नेकपालाई एकतापूर्वको अवस्थामा पुर्याइदियो । ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको तत्कालीन माओवादी केन्द्र ब्युँतिए ।
तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेपछि असार २०७८ मा देउवा प्रधानमन्त्री भए । चारपटक प्रधानमन्त्री भइसकेका देउवा यस पटकको पदका लागि सम्भवतः पहिलो पटक स्वयं त्यति धेरै इच्छुक थिएनन् ।
२०७९ को निर्वाचन नजिकिँदै थियो । देउवाले तत्कालीन माओवादीसँग गठबन्धन गरेर चुनावमा जाने निर्णय गराए र कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए । स्वाभाविक रूपमा उनी प्रधानमन्त्री बन्ने दौडमा थिए, तर दाहाल ओलीतर्फ लागे– ओलीले उनलाई प्रधानमन्त्री पद प्रस्ताव गरेका थिए ।
सबैलाई आश्चर्य लाग्ने निर्णय देउवाले त्यसबेला गरे, जब उनले दाहाललाई विश्वासको मत दिए । यसले संसद् प्रतिपक्षविहीन बन्यो । नेपालको संसदीय इतिहासमा दुर्लभ घटनाका रूपमा यो अंकित छ ।
छैटौं कार्यकालको खोजीमा रहेका देउवा दाहाललाई हटाउने अवसर खोजिरहेका थिए । एमालेको समर्थनमा टिकेका दाहालका लागि पनि पार्टी संरचना कमजोर बन्दै जाँदा विरासत जोगाउने चुनौती थियो ।
त्यसै क्रममा सरकारले भुटानी शरणार्थी प्रकरणसहित केही भ्रष्टाचारका मुद्दा अगाडि बढायो । कांग्रेस नेता बालकृष्ण खाँड जेलमा थिए । एमाले नेता टोपबहादुर रायमाझी पनि पक्राउ परेका थिए ।
मिडियामा आरजुको नाम पनि जोडियो, तर उनीविरुद्ध औपचारिक मुद्दा दर्ता भएन । धेरैको विश्लेषणमा यस्तो कारबाहीबाट जोगिन सत्तामा रहनु नै एकमात्र उपाय थियो । र, देउवालाई थाहा थियो, ओलीले त्यो अवसर दिने छैनन् ।
दशकौंको अनुभवले ‘मास्टर म्यानिपुलेटर’ बनिसकेका देउवा १५ असार २०८१ मा अचानक ओली निवास पुगे– १५ असारमा ‘दही–चिउरा’ खाने बहानामा । १७ असारमै देउवा र ओलीबीच सातबुँदे सहमति भयो । ओलीले दाहाललाई विस्थापन गर्दै सिंहदरबारको नेतृत्व लिए । देउवाले ओली सरकारमा आरजुलाई परराष्ट्रमन्त्री बनाए । सहमतिअनुसार दुई वर्षपछि ओलीले सत्ता देउवालाई हस्तान्तरण गर्ने भनिएको थियो ।
त्यो क्षण नआउँदै ‘जेन–जी’ आन्दोलन आयो, जसले सम्पूर्ण राजनीतिक समीकरण बदलिदियो ।
देउवा करिब एक महिना सार्वजनिक रूपमा देखिएनन् । असोज अन्त्यतिर पार्टी कार्यालयमा उपस्थित भएर आफू पछाडि हट्ने घोषणा गर्दै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । त्यसपछि उनी उपचारका लागि सिंगापुर गए । त्यतिबेला उनको पार्टी नयाँ राजनीतिक सन्दर्भमा आफ्नो भूमिका खोज्न संघर्षरत थियो । एक महिना लामो केन्द्रीय समिति बैठकले कुनै ठोस निर्णय गर्न सकेन । सिंगापुरबाट देउवा एक महिनापछि फर्किए– आफ्नो पुरानै शैलीमा, कम बोल्ने तर प्रभाव देखाउने गरी । तर त्यसबीचमा मतभेद गहिरिँदै गएका थिए । जेन–जी आन्दोलनले त्यसलाई अझ तीव्र बनाएको थियो ।
विशेष महाधिवेन गर्नुपर्ने माग नेतृत्वबाट सुनुवाइ भएन । त्यसपछि तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा असन्तुष्ट समूहले विशेष महाधिवेशन गरायो, जसबाट थापा सभापति निर्वाचित भए । २१ फागुनको निर्वाचनका लागि देउवालाई टिकट नै दिइएन । २०४८ पछि कहिल्यै चुनाव नहारेका देउवा मतदानअघि नै सिंगापुर गए, आरजु पनि चुनावअघि नै दिल्ली गइन्, उतैबाट सिंगापुर पुगिन् ।
चुनावमा कांग्रेसले ऐतिहासिक हार बेहोर्यो । नयाँ सभापति थापा पनि सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए । चुनावमा रास्वपा ठूलो शक्तिका रूपमा उदायो । त्यसपछि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बन्यो ।
नयाँ सरकारले काम थालेपछि देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको छ । त्यसका लागि अदालतबाट पक्राउ पुर्जीसमेत जारी भयो । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएपछि देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत आरोप अस्वीकार गर्दै भनेका छन्, ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’
‘सत्तामा पुगेपछि सबैले प्रभाव जमाउने, चुनाव जित्ने, कार्यकर्तालाई जोगाउने, मन्दिरमा दान गर्ने– यी सबैका लागि पैसा जुटाउने गर्छन् । शेरबहादुरजीले पनि त्यही गरेका होलान्,’ २०३६ देखि देउवानजिक रहेका एक नेता भन्छन्, ‘शेरबहादुर देउवा र प्रचण्डले एक पटक मिलेर ओली सरकार ढालेका थिए । उनीहरूले सत्ताको बाँडफाँट र विभिन्न प्रकारका गठबन्धन मात्र गरेनन्, अहिले सम्पत्ति शुद्धीकरण मुद्दामा परेका दीपक भट्टजस्ता व्यक्तिहरू पनि त्यतिबेलै राजनीतिक संरक्षणमा हुर्किएका थिए ।’
देउवा नेपाल फर्कन्छन् कि फर्कंदैनन्– कसैलाई थाहा छैन । तर धेरैले बुझिसकेका छन्– कम बोल्ने देउवाको राजनीतिक जीवन अन्त्यको कथा लेखिँदै छ ।


