सडक नाटक ‘बाटैबाटो’मा समावेश गीतले लाखौं दर्शकको समर्थनसँगै सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रिया जन्माएको छ ।
What you should know
काठमाडौँ — रंगकर्मी आकांक्षा कार्कीको समूहले यसअघि नाटक नगरेको होइन । करिब ८ वर्षदेखि निरन्तर 'कथा घेरा'ले टेकुको कौसीमा खोलिएको रंगमञ्चबाट थुप्रै कथामा नाटक मञ्चन गराइसक्यो । तर, घुम्ती सडक नाटक 'बाटैबाटो' लिएर सुदूरपश्चिम र कर्णालीको यात्रा घुम्दा यो समूह भाइरल बन्यो । सडक नाटकमा गाइएको एउटै गीतले ! यही गीतले यो समूहलाई सामाजिक सञ्जालतर्फ पनि चर्चित बनाइदियो ।
खोलीमा जानुपर्दछ मान्छे, सिक्नलाई पौडन
घरमा जानिन्न, जबसम्म चार भित्ता नाघिन्न
छोरी, बुढी, बुहारी, आमा, देवीभन्दा पहिला
मान्छे हो महिला, मान्छे हो महिला…
महिला मानव हुन् भन्ने शब्द समेटिएको गीतले आकांक्षाको समूहलाई कहिले चर्चाको उकालो चढायो, कहिले घृणाको ओरालो । जे होस्, यो यात्रामा कौसीले दर्शकको माया ह्वात्तै बटुल्दा गालीका शब्द पनि उसैगरी सुन्नुपर्यो ।
आकांक्षाका अनुसार यो गीत बैतडीको शोबाट चर्चामा आयो । 'बैतडीको त्यो भिडियो मैले नै खिचेको हो । सामान्य मोबाइलबाटै खिचेको भिडियोले वान मिलियन भ्यूज पायो,' आकांक्षा सुनाउँछिन् । त्यसपछि त्यही गीतको भिडियो फेसबुकतिर चल्यो । लाखौं दर्शकको भ्युज पाउँदा त्यतिन्जेलसम्म त भिडियोमा तारिफ नै तारिफ भेटिन्थे । कतिपयले त 'धर्म प्रचारक'को आरोप पनि लगाए ।
महिला र पुरुषबीच पनि कहीँ समानता हुन्छ ? भन्ने सोच बोक्नेहरुलाई गीतले मज्जाले घोचेछ । त्यसमाथि 'ग्रेप टू' परियोजना अन्तर्गत यो नाटक बनाइएको थाहा पाउनेबित्तिकै 'विकासे नाटक' भन्दै समूहमाथि आक्षेप लगाउने बढे । 'मान्छेहरुलाई विकासे संस्थासँग यति धेरै वितृष्णा छ कि त्यो पनि हामीमै पोखियो । तर, त्यसको मतलब कलाकारसँग सिर्जनात्मक स्वतन्त्रता नै हुँदैन भन्ने होइन,' आकांक्षा भन्छिन्, 'यो नाटकको सबै निर्णय लिन हामी स्वतन्त्र थियौं । तर हामीलाई धर्म परिवर्तन गराउनेहरु, आमेनहरु भनेर सोसल मिडियामा बुलिङ गरियो ।'
'महिलालाई भाँड्न आएको' भन्ने गाली त कमेन्टहरुभरि असरल्ल नै छन् । 'नारी सभ्यतालाई चकनाचुर पार्न आए । हिन्दु धर्म मास्नेहरु, सम्पदा बिगार्नेहरु, के-के । मिटू सुरु गर्नेहरु भनेर पनि गाली गरे । यो समूहसँग हामी लड्नै सकिरहेका छैनौं,' यात्रा गरेर भर्खरै फर्किएका आकांक्षाले सुनाइन् ।
आकांक्षा यी गालीमा कुनै तुक भेट्दिनन् । कारण उनीहरुको समूह विशुद्ध महिला उद्यमशीलता र समान अवसरको जनचेतनात्मक नाटक गर्न चाहन्थ्यो । विकासे परियोजना भए पनि महिला मुद्दालाई इमानदार तरिकाले नाटकमा परिणत गरेर यात्रा थाले । चैत ११ देखि कैलालीको धनगढीबाट सुरु गरेको यात्रालाई सल्यानको सल्लीबजारसम्म पुर्याएर यो समूह काठमाडौं फर्किसक्यो । 'ग्रेप टू' परियोजनाअन्तर्गत नाटक बनाएको विषय स्वीकार्दै समूहले यात्रा सुरु गरेको हो ।
'ग्रेप टू' परियोजनाअन्तर्गत प्रोजेक्ट लिडर हुन्- आकांक्षा । उनीहरुको समूहले गैरनाफामूलक संस्था जीआईजेडमा आवेदन दिएरै यो परियोजना पाएका हुन् ।
'बाटैबाटो'का निर्देशक हुन्, सुदाम सीके । १ घण्टा लामो यो नाटकमा महिला उद्यमशीलता र सशक्तीकरणका सवाल उठाइएको छ । नाटकलाई रमाइलो बनाउन थुप्रै गीत समेटिएको छ । 'खोली तर्नुपर्ने' मात्रै होइन, अचार बनाउने गीत नाटकमा छ ।
महिलाका कथा 'बाटैबाटो'मा समेट्नुअघि सुदामले थुप्रै पटक आफ्नो आमा, दिदीलाई सम्झे । चिया पसल गरेर बसेकी काकी, आफ्ना जीवनसँग जोडिएका महिला पात्रहरुकै कथा, उनीहरुका भोगाइ र सामर्थ्य नियाल्दै सुदामले 'बाटैबाटो'को कथा लेखेका हुन् । कथा लेखनमा कलाकार भेनिसा आचार्यले सहयोग गरिन् । दुनाटपरी बनाउने होस् या अचार व्यवसाय गर्ने महिला, नेपालका कुनाकाप्चामा यसरी उद्यम गरिरहेका महिलाको कथा संकलन गर्ने काम भेनिसाले गरिन् । त्यसपछि महिला सवाल अनि संघर्ष समेट्दै नाटकको कथा तयार भयो ।
नाटकमा महिलाको कथा भनिरहँदा निर्देशक सुदामले महिलाले गर्ने त्यस्ता मिहिन कामको महत्त्व अझ बढी बुझेका छन्, जुन यसअघि सामान्य सोच्थे । 'महिलाले गर्ने कामको विषयमा न त परिवारमा, न समाजमा कुरा हुन्छ । त्यसैले होला कतिपय समय त्यो कामहरुलाई नजरअन्दाज गर्यौं,' सुदामले भने । सुदामले महिला संघर्ष र सह-अस्तित्वको लडाईं नजिकबाट देखेका पनि छन् ।
महिला नेतृत्त्वले कथा घेरा (कौसी थिएटर) खोल्दा, पुरुषको दबदबा भएको रंगमञ्चले धेरै समय आकांक्षाको उपस्थितिलाई स्वीकारी दिएन । हरेकपल्ट आफ्नो अस्तित्त्व देखाउन आकांक्षाले गरेको काम र परिश्रम सुदामले देखेका थिए । सधैं आफूलाई प्रमाणित गरिरहनुपर्दा कतिपटक आंकाक्षा रिसले आगो बन्थिन् । 'कति रिसाएको ?' आफ्नै साथीहरुले यसो भनिरहँदा सुदामलाई लाग्थ्यो, यसरी नै कोही पुरुष रिसाएको भए यो समाजले कसरी हेर्थ्यो होला ? महिला रिसले चुर भएको त समाजले देख्न सक्दैन !
'एक किसिमले यसरी नै मैले महिलाका मुद्दा, पितृसतात्मक सोचलाई बुझ्दै गएँ । त्यही विषय लियर्समा छ, बाटैबाटोमा,' सुदामले सुनाए ।
'बाटैबाटो'को यो नाटक हेर्न सुर्खेतको घण्टाघरमा जम्मा भएको दर्शकको भिड अझै पनि सुदामको दिमागमा हटेको छैन । नाटक हेर्न परपरको गाउँबाट मानिसहरु आइपुगेका थिए । त्यति ठूलो भिडमा कलाकारको आवाज सबै दर्शकसामु नपुग्ने । यस्तो बेला प्राविधिक रुपले तयारीसहित यात्रा सुरु गर्नुपर्ने सिकाइ मिल्यो । 'मलाई लाग्दैन, महिलाको यस्तो मुद्दा भन्न म उपयुक्त निर्देशक हुँ । कारण महिलाको मुद्दा बुझ्न समय लाग्छ । मिटू आन्दोलन, समयसँगै यो महिला संघर्षका कथा भन्न म सटिक स्टोरी टेलर होइन भन्ने थाहा थियो । तर, निर्देशन त गर्नैपर्यो,' सुदामले भने, 'प्रोजेक्ट हेड महिला नै थिइन्, कथामा भेनिसाले पनि सहयोग गरिन् ।त्यसैले कथा भनेँ ।'
यो नाटकमा सन्देश दिनकै लागि उद्यमशीलताको विषय जबरजस्त घुसाइएको छैन । महिला संघर्ष, उनीहरुका परिश्रम अनि व्यवसाय 'सेलिब्रेट' गर्ने उद्देश्यले नाटक बनाइएको हो । सुरुमा कर्णाली र सुदूरपश्चिमका लागि फरक कथा लेखिएका थिए । तर, प्रोजेक्ट हेड आकांक्षाले दुवै कथालाई मिलाउन सल्लाह दिइन् । त्यहीअनुरुप चिया सुरु गर्दै उद्यमी बनेकी महिला पात्रलाई केन्द्रमा राखेर कथा बन्यो । यो नाटकमा मुख्य पात्र कोही छैन । सबै कोरस । एउटै कलाकारले विभिन्न चरित्रमा अभिनय गरेका छन् ।
सुदामलाई परम्परागत शैलीको सडक नाटक गर्नु थिएन । त्यसैले फरक तरिकाले कथा भन्ने सोचले नै कोरस, संगीतमार्फत सडक नाटक गरे । 'क्षितिज, मुक्तिले नाटकमा गीतहरु थपिदिनुभयो । हामीलाई गीत मात्रै चाहिएको थिएन । म्युजिक, साउन्ड, मुभमेन्ट चाहिएको थियो,' सुदामले भने ।
यो नाटकमा कोरस बनेकी थिइन्, कलाकार सेविता अधिकारी । उनीलगायत नाटकमा अन्य ७ कलाकारको अभिनय छ । यी कलाकारसहित संगीतकर्मी, निर्देशक, संयोजक तथा व्यवस्थापकसहित १२ सदस्य यात्रामा हिँडेको थियो । सेवितासँगै नाटकमा भेनिसा आचार्य, नेविका सिलाधर, सुस्मिता कुँवर, जीवन ढकाल, विजय नेपाल, प्रसुनकुमार खत्री, रोवितमुनी तुलाधरले अभिनय गरे ।
झापाको परिवर्तन थिएटरबाट अभिनय यात्रा थालेकी सेविताले 'बाटैबाटो'अघि हजारभन्दा बढी सडकमा अभिनय गरेकी थिइन् । तर, कथा घेराको सडक नाटकमा सेविताले निकै फरक अनुभव बटुलिइन् । 'एउटा नाटक त ६ महिनासम्म गरियो उबेला । त्यतिबेला मलाई म सडक नाटककै लागि बनेको हो कि भन्ने लाग्थ्यो,' सेविताले आफ्नो अनुभव सुनाइन्, 'अरुबेला ती नाटकमा संवाद बोलिन्थ्यो- सन्देश दिँदा सन्देश बोलिन्थ्यो । तर, यो नाटकले संगीत, प्रप्स अनि संवादमार्फत दर्शकलाई बोर नहुने स्टाइलमा सन्देश दिन्छ ।'
यात्राभरि सेविताले 'प्रप्स'को जिम्मा लिएकी थिइन् । नाटकमा एउटै प्रप्सलाई फरक तरिकाले प्रयोग गरे । टोपीलाई कहिले घिउका रुपमा प्रयोग गरे, छातालाई क्याफे । नाटकमा परम्परागत शैलीको पहिरन पनि छैन । सबैले एउटै पहिरन लगाउँछन् । नाटकमा सेविता कहिले चिया पिउँदै गरेकी पात्र बन्थिन्, त कहिले बाख्रा । नाटकमा बाख्रा पनि बोल्छ । 'बाख्रा हुँदा पहिला हामीलाई महिलाले घाँस दिइरहेको हुन्छ । तर, जब घरको दाइले घाँस दिन्छ तब हामी उसलाई जिस्काउँछौं । पहिला त हामीलाई पार्वती दिदीले घाँस दिनुहुन्थ्यो । खोइ त दिदीलाई तपाईंले जस दिनुभएको ?' नाटकमा बोल्ने संवाद उद्धृत गर्दै सेविता सुनाउँछिन्, 'यस्तो मेसेज मान्छेले नै दिएको भए सुन्दैन थियो होला । तर, जनावरले बोल्दा दर्शकहरु मज्जा मानेर सुनिदिन्थे ।'
अचार बेचेरै पनि महिला सक्षम बन्न सक्छे कथाले थुप्रै महिलालाई प्रेरणा दिएको सेविता सुनाउँछिन् । यो नाटकमा चिया पसल र अचार बनाएर उद्यम गर्ने महिलाको कथा छ । यो यात्रामा सेविताले दर्शकसँग सँगै बसेर उनीहरुका प्रतिक्रियालाई नजिकैबाट सुन्न पाइनन् । कारण, नाटक सकिने बित्तिकै प्रप्स बटुल्नतिरै उनको ध्यान जान्थ्यो । तर, नाटकमा अभिनय गरिरहँदा दर्शकसँग आँखा जुध्दा उनीहरुबाट सञ्चार हुने एक किसिमको ऊर्जा सम्झँदा अहिले पनि सेविताको मन जिरिङ्ग हुन्छ । एउटा दृश्यमा पत्नीले घरबाहिर काम गर्न थालेपछि, रमाएको देखेपछि बुढा बनेका पात्रले भगवानसँग प्रार्थना गर्छन् । त्यतिबेला भगवानले उनको प्रार्थना सुनेर भन्छन्- अब तिमीले खाना बनाउन सिक्नुपर्छ, काम बाँड्नुपर्छ । त्यतिबेला त्यो पात्रले अचम्म मान्दै भन्छ- हजुर !
त्यो दृश्यको हरेक संवादमा आमा, दिदीबहिनीहरुले जोडजोडले ताली बजाए । त्यतिबेला सेवितालाई आफूहरुले भन्न खोजेको विषय दर्शकबीच पुगेको अनुभव भएको थियो । 'त्यतिबेला नाटकले ठाउँमै हान्यो भन्ने लाग्यो । यो हो नि हामीले भन्न खोजेको भन्ने लाग्यो,' सेविताले भनिन् ।
नाटकका लागि 'मान्छे हो महिला' बोलको गीत लेखेकी भेनिसालाई पनि यस्तै अनुभव भएको रहेछ । 'यही त भन्न मन थियो । तर सबैलाई पनि यही त अनुभव भइरहेको रहेछ नि भन्ने भयो,' भेनिसाले सुनाइन् ।
उनले रजत थापासँग मिलेर यो गीत लेखेकी हुन् । बिहान चिया खाने बेलामा गीत लेखिन्, दाँत माझ्दै रजतले पनि शब्दहरु फुराए । शब्दमा बालन शैली मिसियो । अनि निस्कियो- मान्छे हो महिला । गीतका अन्तिम पंक्ति पनि उत्तिकै बेजोड छ ।
आफूजस्तै मान्छे मानी बुझिदिए पुग्छ
ढोगिदिनु पर्दैन, पुजिदिनु पर्दैन
मन र वचन महिलाले गरे, महिलालाई सजिलो
माहोल मलिलो, देशै बलियो...
