कार्यकक्षमा एआई क्रान्ति, कक्षाकोठामा सुस्त

एआईले काम गर्ने शैली, दक्षता र रोजगारीको संरचना बदल्दै गर्दा शैक्षिक क्षेत्रको पाठ्यक्रम र नीतिमा भने अझै अन्योल कायमै छ ।

वैशाख ७, २०८३

सुदीप कैनी, सजना बराल

AI revolution in the workplace, sluggishness in the classroom

What you should know

काठमाडौँ — ललितपुरको सिडर गेट टेक्नोलोजिजमा सफ्टवेयर डेभलपरका रूपमा कार्यरत ममता चौधरी हिजोआज नयाँ साथीसँग मिलेर कोडिङ गर्छिन् । उनको नयाँ साथी हो– अमेजन क्यु । अमेजन वेब सर्भिसेजले सफ्टवेयर विकास र डेटा विश्लेषणको काम सहज बनाउन यो एआई–एसिस्टेन्ट टुल विकास गरेको हो । 

सिडर गेटले लाइसेन्स नै खरिद गरेर आफ्ना डेभलपरहरूलाई यस्ता सहयोगी एआई टुल उपलब्ध गराएकाले काम सजिलो भइरहेको ममताको अनुभव छ । ‘पहिले–पहिले कुनै पनि समस्या आउँदा म आफै प्रयास गर्थें र विभिन्न कोणबाट लजिक सोच्ने गर्थें, अहिले केही नयाँ चुनौती आउनासाथ आफूले दिमाग लगाउनुअघि एआईलाई नै सोधौं न भन्ने बानी परिसकेको छ,’ ममता भन्छिन्, ‘यसले गर्दा अरू सहकर्मी वा सुपरभाइजरसँग गुहार मागिरहनु नपर्ने भएकाले म अरूमा निर्भर हुनबाट त जोगिएकी छु तर सोच्ने शक्तिमा भने कताकता ह्रास आएजस्तो लाग्छ ।’

नेपालका आईटी कम्पनीहरूले आन्तरिक कार्यक्षमता बढाउन, व्यावसायिक रणनीति बनाउन, साइबर सुरक्षादेखि कर्मचारी व्यवस्थापनमा समेत एआईको सहायता लिन थालेका छन् ।आफ्नो सिर्जनशीलता मर्न नदिन ममताले पहिला आफूले प्रयास गर्ने वा हतार नहुँदा एआईको सहायता नलिनेजस्ता उपाय अपनाएको अनुभव सुनाइन् । तथापि, एआईले मानिसलाई विस्थापित गर्ला भन्नेमा चाहिँ विश्वास नभएको उनको भनाइ छ । ‘धेरै मान्छेले गर्ने काम भविष्यमा एआईका कारण थोरैले गर्न सक्लान् तर मानिस त चाहिन्छ नै,’ उनले भनिन्, ‘यसले गर्दा अबको जनशक्तिलाई एआईमा दक्ष हुनैपर्ने बाध्यता छ ।’

नेपालका सफ्टवेयर कम्पनीहरूमा ममताको जस्तै अनुभव धेरैको छ । विश्व प्रविधि बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले ठूलो हलचल ल्याइरहँदा नेपालका प्रविधि कम्पनीहरूमा पनि एआईको प्रयोग बढिरहेको छ । काम गर्ने/गराउने तरिका यसले फेरिदिएको छ । घरेलु र अन्तर्राष्ट्रिय बजारमा सेवा उपलब्ध गराउने नेपालका आईटी कम्पनीहरूले आन्तरिक कार्यक्षमता बढाउन, व्यावसायिक रणनीति बनाउन, साइबर सुरक्षादेखि कर्मचारी व्यवस्थापनमा समेत एआईको सहायता लिन थालेका छन् ।

नेपाली सेना, भाटभटेनी, सेल्सबेरिज, मिनी सो, नेस्ले, जिम्बु थकालीलगायत दर्जनौं क्लाइन्ट रहेको आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार एआई इन्टिग्रेसनका कारण कामको बदलिँदो रफ्तारलाई नियालिरहेका छन् । ‘कुनै व्यावसायिक प्रपोजल बनाउन पहिले आधा दिन लाग्थ्यो भने त्यो अहिले एआईको मद्दतले १० मिनेटमै तयार भइहाल्छ,’ उनी भन्छन्, ‘अहिले हामी सुरुवाती चरणमै छौं, यसले उत्पादकत्व बढाउने एउटा लोभलाग्दो संकेत दिएको छ ।’ आईएमएसले कोडिङका लागि ‘क्लड’ र प्रेजेन्टेसन बनाउन ‘ब्युटिफुल डट एआई’ जस्ता टुल चलाउने गरेको उनले बताए ।AI revolution in the workplace, sluggishness in the classroom

सफ्टवेयरको ‘सिस्टम आर्किटेक्चर’ बनाउन पहिले दुई–तीन दिन मेहनत गर्नुपर्नेमा अहिले एआईले दुई मिनेटमा टुंग्याइदिएको छ । ‘अब कोडिङ मात्रै होइन, एआईले दिएको आउटपुट ठिक छ कि छैन भनेर जाँच्न र आवश्यक डेटा इन्पुट गर्न सक्ने जनशक्ति बजारले खोज्न थालेको छ,’ ताम्राकार भन्छन्, ‘एकोहोरो कोडिङ मात्रै गर्न सक्ने मध्यम स्तरका डेभलपरका लागि भविष्य चुनौतीपूर्ण छ । तर, एआई जान्ने जनशक्तिको माग बढिरहेको छ ।’

सफ्टवेयर डेभलपमेन्ट कम्पनी गोक्यो ल्याब्सका सहसंस्थापक तथा नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी) का कोषाध्यक्ष अभय पौडेल पनि अहिले ‘अपरेसनल इफिसिएन्सी’ बढाउन सबैले एआई रोजिरहेको पाउँछन् । ‘हामी आफैले पनि सफ्टवेयर डेभलपमेन्ट प्रोसेसमा एआई टुलको प्रयोग बढाएका छौं,’ उनले भने, ‘सफ्टवेयर विकासको योजना बनाउन, फिचर थप्न र डकुमेन्टेसन तयार गर्नेजस्ता काममा एआई टुलले एजेन्टकै जस्तो सेवा दिन्छन् ।’

अब विश्वविद्यालय र उद्योगले नजिक भएर सहकार्य गर्नुपर्छ र विद्यार्थीलाई पहिलो दिनदेखि नै आधुनिक टुलसँग परिचित गराउनुपर्छ । - अंकुर शर्मालिपफ्रग टेक्नोलोजीका इन्नोभेसन डिरेक्टरएआईको प्रभावले नेपालको सूचना प्रविधि क्षेत्रमा नयाँ कर्मचारी भर्ना दर भने केही सुस्त भएको पौडेलको ठम्याइ छ । तथापि, एआईसम्बन्धी सीप भएकालाई पर्याप्त अवसर रहेको उनले औंल्याए । उद्योग क्षेत्रमा एआई एप्लिकेसन डेभलपर, डेटा इन्जिनियर, एआई अपरेसन र क्लाउड विज्ञ, प्रम्प्ट इन्जिनियर, एआई कन्सल्टेन्टजस्ता जनशक्तिको खाँचो हुन थालेको उनको बुझाइ छ । तर, उद्योग क्षेत्रको मागअनुरूप शैक्षिक क्षेत्रले जनशक्ति उपलब्ध गराउन नसकेको टेक–सीईओहरूको गुनासो सुनिने गरेको छ ।

‘हामीले पछिल्लो एक वर्षमा १०/१२ जनाजति कलेज ग्र्याजुएटलाई काममा राख्यौं, २०/२५ जनासँग अन्तर्वार्ता लिँदा ५० प्रतिशत हायर गरेका हौं,’ पौडेलले भने, ‘यो भनेको राम्रै हायरिङ हो तर समस्याचाहिँ भर्ती गरेका सबैलाई आधारभूत तहदेखि नै ४ देखि ६ महिनाको तालिम दिनुपर्छ ।’ विश्वविद्यालयबाट आउने विद्यार्थीले आधारभूत गणित र एआईका सीप कलेजमै सिकेर आए उद्योगले दिने तालिम झन् प्रभावकारी र सजिलो हुने उनको धारणा छ ।

स्वास्थ–प्रविधि क्षेत्रमा अग्रणी सिडर गेटका प्रमुख कपिलराज पाण्डेले चाहिँ सूचना प्रविधि उद्योग र शैक्षिक पाठ्यक्रमबीचको खाडल पुर्न आफूहरूले विद्यार्थीका लागि ‘ट्रेनीसिप’ र ‘इन्टर्नसिप’ कार्यक्रम सञ्चालन गरेको बताए । ‘ट्रेनीसिप कार्यक्रममार्फत आठौं सेमेस्टरमा पढ्दै गरेका विद्यार्थीले हामीकहाँ लाइभ प्रोजेक्टमा काम गर्ने अवसर पाउँछन्,’ उनले भने, ‘विद्यार्थीको क्यालिबर नपुग्दा कम्पनीले उनीहरूलाई ६ महिनाको विशेष तालिम दिएपछि हायर गर्ने विकल्प दिने गरेका छौं ।’ 

काठमाडौंस्थित लिपफ्रग टेक्नोलोजीका इन्नोभेसन डिरेक्टर अंकुर शर्मा नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीच दूरी बढ्नुको मुख्य कारण प्रविधिको तीव्र विकास र विश्वविद्यालयको सुस्त शैक्षिक प्रणाली भएको औंल्याउँछन् । ‘कम्पनीहरूलाई यस्ता कर्मचारी चाहिएको छ, जसले कम्पनीमा प्रयोग हुने टुलहरू चलाउन जानून्, किनभने कतिपय ठाउँमा अब कोड लेखिरहनु नपर्ने अवस्था आइसकेको छ,’ उनले भने, ‘सफ्टवेयर इन्जिनियरिङको आधारभूत ज्ञानसँगै एआई प्रयोग गरेर काम गुणस्तरीय बनाउन सक्ने एआईमा सक्षम प्रतिभा उद्योगले खोजिरहेको छ ।’ तर, एआईको लहर नै नआएका बेला बनेका पुरानो पाठ्यक्रम पढेर विश्वविद्यालयबाट दीक्षित युवा बजारमा आउँदा माग र आपूर्तिमा तालमेल नमिलिरहेको उनले उल्लेख गरे ।AI revolution in the workplace, sluggishness in the classroom

नेपाल मात्र होइन, दुनियाभरि नै एआई जानेको र बुझेको मान्छेको खोजी हुन थालेको छ, मानव स्रोत विकास गर्दा एआईको ज्ञान र सीप दुवै जाने बुझेको हुनुपर्छ । - अरुण तिमिल्सिनात्रिवि  कम्प्युटर इन्जिनियरिङका प्राध्यापकयही खाडल पुर्न सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’मा कक्षा १२ सम्म एआई साक्षरता अनिवार्य बनाउने र नेपालले आफ्नै ‘सोभरिन लार्ज ल्याङ्गवेज मोडल’ विकास गर्ने उल्लेख छ । ६ वटा प्रमुख राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धता समेटेर तयार पारिएको नेपाल सरकारको साझा दस्ताबेज ‘राष्ट्रिय प्रतिबद्धता’ मा आगामी पाँच वर्षमा कम्प्युटेसन शक्ति निर्यात गर्ने देश बन्ने र सूचना प्रविधिलाई रणनीतिक उद्योग घोषणा गर्ने लक्ष्य पनि राखिएको छ । तर, उद्योग र शिक्षा क्षेत्रको धरातलीय यथार्थ हेर्दा, यो महत्वाकांक्षा कत्तिको व्यावहारिक छ भन्ने प्रश्न उठ्छ ।

बजारले एआई जनशक्ति खोजिरहँदा नेपालका शिक्षण संस्थाहरूमा भने एआईको चर्चा भर्खरै सुरु हुन थालेको छ । काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले एआईलाई छुट्टै विषयको रूपमा पढाउन थालेका छन् । केयूले कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागअन्तर्गत एआई विभाग नै स्थापना गरेको छ ।

देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा एआईको छुट्टै पूर्ण डिग्री कार्यक्रम छैन तर बीएससी सीएसआईटी, बीआईटी, बीसीए, बीआईएम र केही इन्जिनियरिङ कार्यक्रममा यसलाई आधारभूत रूपमा समावेश गरिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसले २०७६ सालदेखि ‘डेटा साइन्स एन्ड एनालिटिक्स’ कार्यक्रममार्फत एआईसम्बन्धी विषय पढाउँदै आएको छ । रोचक के छ भने, प्रविधिको यो विस्तारलाई कसरी व्यवस्थित गर्ने भन्ने अन्योलबीच त्रिविले २०८० सालदेखि परीक्षामा एआई प्रयोग गर्न प्रतिबन्ध लगाउँदै आएको छ । बौद्धिक चोरी पाइए परीक्षा नै रद्द हुने व्यवस्था छ । केयूमा भने एआईलाई पूर्ण रूपमा प्रयोग गर्ने नीति पारित गरिएको छ । एउटै देश, एउटै पुस्ताका विद्यार्थी, दुई विपरीत नीति देखिन्छ । विश्वविद्यालयले कक्षाकोठामा एआई प्रयोगलाई प्राथमिकता दिए पनि परीक्षामा यसको अधिकतम प्रयोगलाई निरुत्साहित गर्ने नीति लिएका छन् । त्रिविले थेसिसमा हुने बौद्धिक चोरी रोक्न सफ्टवेयर प्रयोग गर्दै आएको छ ।

नयाँ पाठ्यक्रम बनाउँदा होस् वा पुरानो पाठ्यक्रम परिमार्जन गर्दा, एआई समावेश गर्ने विषयमा नीति नै पारित गरिसक्यौं । - वेदमणि दाहालकाठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिनप्रविधिलाई सहयोगी टुलका रूपमा अपनाउनुको सट्टा त्यसको प्रयोग कसरी रोक्ने भन्ने कुरामा अधिकांश शिक्षण संस्थाले ज्यादा समय र ऊर्जा खर्च गरिरहेको प्रविधि विश्लेषकहरू औंल्याउँछन् । ‘हाम्रा शैक्षिक संस्था आफै पनि एआईलाई आत्मसात गर्न सक्ने वा प्रयोगलाई मध्यनजर गर्दै नयाँ ढंगका असाइनमेन्ट डिजाइन गर्न सक्ने अवस्थामा पुगेका छैनन्,’ लिपफ्रगका शर्माले भने, ‘अब विश्वविद्यालय र उद्योगले नजिक भएर सहकार्य गर्नुपर्छ र विद्यार्थीलाई पहिलो दिनदेखि नै आधुनिक टुलसँग परिचित गराउनुपर्छ ।’

त्रिवि कम्प्युटर इन्जिनियरिङका प्राध्यापक अरुण तिमिल्सिना एआईलाई प्राथमिकता दिएर जे–जति शिक्षण क्रियाकलाप हुनुपर्ने हो, त्यति हुन नसकेको स्वीकार गर्छन् । ‘नेपाल मात्र होइन, दुनियाभरि नै एआई जानेको र बुझेको मान्छेको खोजी हुन थालेको छ, मानव स्रोत विकास गर्दा एआईको ज्ञान र सीप दुवै जाने बुझेको हुनुपर्छ,’ उनले भने, ‘अब विश्वविद्यालयमा यस्ता कार्यक्रम आउनैपर्छ, पाठ्यक्रम त्यहीअनुसार परिमार्जन गर्नुपर्छ । राज्यले लगानी गर्नुपर्छ ।’ एआईजस्ता प्रविधिका कारण शिक्षण पेसाको जग नै हल्लिएको महसुस गरिरहेका उनी अब शिक्षकले पनि आफूलाई ‘अपडेट’ राख्नुको विकल्प देख्दैनन् । ‘एआईले गर्दा पढ्नका लागि शिक्षक नै कुर्नपर्ने अवस्था छैन, कक्षामा पुराना विषयवस्तु मात्रै पढाएर बस्ने अवस्था छैन,’ उनले भने, ‘शिक्षक–विद्यार्थी दुवै अपडेट हुनुपर्ने भएको छ ।’

तिमिल्सनाकै अगुवामा एआई कोर्स लागू गरिएको थियो । कक्षाकोठामा अधिकतम रूपमा एआई टुल प्रयोग हुने गरेको उनले बताए । ‘शिक्षक–विथार्थी दुवैले एमआईटी हावर्ड विश्वविधालयमा कसरी पठनपाठन हुन्छ, जान्न र सिक्न सक्छन्,’ उनले भने ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन वेदमणि दाहाल एआईलाई पूर्ण रूपमा प्रयोग गर्ने नीति विश्वविद्यालयले पारित गरेको बताउँछन् । ‘नयाँ पाठ्यक्रम बनाउँदा होस् वा पुरानो पाठ्यक्रम परिमार्जन गर्दा, एआई समावेश गर्ने विषयमा नीति नै पारित गरिसक्यौं,’ उनले भने, ‘सबै स्कुलमा एआईका विषयवस्तु राख्ने र शिक्षक, विद्यार्थी दुवैलाई सिक्ने, सिकाउने काम हुन्छ ।’

काठमाडौंको किङ्स कलेजले बीएससीएस आर्टिफिसियल इन्टेलिजेन्सको कक्षा सञ्चालन गरेको छ । स्नातकोत्तर तहमा पनि एआई विषय लागू भएको कलेजका प्रमुख नरोत्तम अर्यालले बताए । अमेरिकाको क्यालिफोर्नियास्थित वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले पाठ्यक्रम अपडेट गर्दै लगे पनि नेपालमा एआई शिक्षा फस्टाउन नसकेको अर्यालले स्वीकार गरे । ‘स्कुलदेखि कलेजसम्म यसले उलटपुलट त ल्यायो तर एआईको दुरुपयोग पनि हुने गरेको छ,’ उनले भने, ‘यसको प्रयोग कसरी गर्ने, कति हदसम्म गर्ने, पाठ्यक्रममा स्पष्ट हुनुपर्छ । विद्यार्थीको सिर्जनात्मक क्षमता मर्दै जान सक्छ ।’

त्रिवि कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका प्रमुख सर्विन सायमी एआईको सकारात्मक प्रयोगभन्दा नकारात्मक बढी हुने गरेकामा चिन्तित छन् । ‘पढ्ने–पढाउनेभन्दा पनि मनोरञ्जनका लागि एआईको प्रयोग बढी भएको देखिन्छ, दुरुपयोग ज्यादा छ,’ उनले भने, ‘एआईसम्बन्धी सचेतना दिने खालको पाठ्यक्रम विद्यालयदेखि नै लागू हुनुपर्छ ।’ नेपालका शैक्षिक संस्थामा एआईको नीति ल्याउने विषय प्रारम्भिक अवस्थामै रहेको उनको भनाइ छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) की अध्यक्ष सुनैना पाण्डेको अनुभवमा एआईले ग्राफिक डिजाइन, भिडियो एडिटिङ, कानुनी कागजात तयार पार्नेजस्ता कामलाई सजिलो बनाइदिएको छ । उनको आफ्नै कम्पनी ‘जेनेरल टेक्नोलोजी’मा डेभलपरहरूले कोडिङलाई छिटो बनाउन एआईको मद्दत लिने गरेका छन् । एआईको प्रयोगले काम छिटो र स्वचालित भइरहे पनि पाण्डेका अनुसार नेपालमा अहिले नै ठूलो स्तरमा कर्मचारी कटौती भइहाल्ने अवस्था छैन । तर, बिस्तारै यसले रोजगारीको ढाँचा बदल्दै लगेको उनको बुझाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कर्मचारी कटौतीको शृंखला सुरु भइसके पनि नेपालको आईटी क्षेत्रमा अहिले नै त्यो डरलाग्दो अवस्था आइहाल्ने देखिँदैन,’ पाण्डे भन्छिन्, ‘तर, निकट भविष्यमा यसले नेपाललाई पनि छोइहाल्छ । अहिले भने नेपालका कम्पनीहरूको ध्यान कर्मचारी निकाल्नुभन्दा उपलब्ध जनशक्तिलाई एआई टुल चलाउन सिकाएर दैनिक कामलाई थप स्मार्ट र प्रभावकारी बनाउनेतर्फ बढी केन्द्रित छ ।’

अन्तर्राष्ट्रिय प्रविधि बजारमा तीन वर्षयता कम्पनीहरूले कर्मचारी हटाएर त्यो बजेट एआई पूर्वाधार र विकासमा लगाइरहेका छन् । डेटा इन्ट्री, ग्राहक सेवाजस्ता दोहोरिने कामहरू एआईले गर्न थालेपछि मानव जनशक्तिको आवश्यकता घटेको छ । तर, कर्मचारी निष्कासन गर्नुका विविध कारण भए पनि कम्पनीहरूले एआईलाई बहानाको रूपमा प्रयोग गरेको आरोप पनि सुनिन्छ । यसलाई प्रविधि क्षेत्रकाहरूले ‘एआई–वासिङ’ को संज्ञा दिएका छन् ।

करिब १५ लाख नयाँ रोजगारी सिर्जना र एक खर्ब रुपैयाँ बराबरको अर्थतन्त्र निर्माणका लागि डिजिटल पूर्वाधार आधारभूत सर्त हो  । - सञ्जीव सुब्बा, वित्तीय–प्रविधि विज्ञदुई महिनाअघि भारतमा भएको एआई सम्मेलनमा सीएनबीसी–टीभी एट्टिनसँग बोल्दै ओपेनएआईका प्रमुख साम अल्टम्यानले यही धारणा राखेका थिए । ‘ठ्याक्कै कति प्रतिशत त म भन्न सक्दिनँ तर थुप्रै मानिस उल्लेख्य रूपमा एआई–वासिङमा संलग्न हुँदै कर्मचारी निष्कासनको दोष एआईलाई दिइरहेका छन्,’ उनको भनाइ थियो, ‘एआई नभएको भए पनि उनीहरूले कर्मचारी कटौती गर्थे । कतिपय जागिर भने एआईले विस्थापित भएका छन् ।’

नेपालका प्रविधि विश्लेषकहरू भने एआईले मानिसलाई विस्थापित गर्नेभन्दा पनि उत्पादकत्व बढाउन मद्दत गर्ने धारणा राख्छन् । आईएमएसका सन्तोष ताम्राकार एआईले दिएको नतिजा जाँच्न पनि एआई बुझेकै मान्छे चाहिने भएकाले यसले मानिसलाई हटाउन नसक्ने बताउँछन् । ‘नेपाली आइटी क्षेत्रमा अहिले एआई वासिङभन्दा पनि भइरहेका कर्मचारीलाई एआई चलाउन सिकाउने (रि–स्किलिङ) तिर बढी ध्यान दिइएको पाइन्छ,’ उनले भने ।

विश्व बैंकको प्रतिवेदनले चाहिँ दक्षिण एसियामा जेनेरेटिभ एआईका कारण ‘हृवाइट कलर’ रोजगारीका मासिक विज्ञापन २० प्रतिशतले घटेको देखाएको छ । गत अक्टोबरमा सार्वजनिक भएको ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ अनुसार दक्षिण एसियाली क्षेत्रका ७ प्रतिशत रोजगारी एआई र अटोमेसनका कारण उच्च जोखिममा छन् । कलेज डिग्री नभएका र भर्खरै काम सुरु गरेका कर्मचारी यस क्रान्तिको मारमा सबैभन्दा बढी पर्ने प्रतिवेदनमा उल्लेख छ ।

अनलाइन जब पोर्टल ‘मेरोजब डटकम’का प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरी नेपालका आईटी कम्पनीमा विशेष गरी सफ्टवेयर डेभलपर, ट्राइन्सक्राइब, ट्रान्सलेसन, कन्टेन्ट राइटिङको माग अहिले न्यून रहेको बताउँछन् । ‘यसको मुख्य कारण एआईले ल्याएको सहजता नै हो, एआईले गर्न सक्ने कामका लागि जनशक्ति माग हुन छाडेको छ,’ एआई एसोसिएन नेपालका अध्यक्षसमेत रहेका गिरीले भने, ‘मुख्यतया मिड–लेभल र एन्ट्री–लेभलका डेभलपरहरूको माग घटेको छ । आईटीका फ्रेस ग्य्राजुटका लागि बजार अन्धकारजस्तै भएको छ, कम्पनीहरूले नयाँ मान्छे भर्ती गर्नै छाडिसके ।’

प्रोडक्ट म्यानेजमेन्ट, यूआई/यूएक्स डिजाइन, क्यूए/क्युसीजस्ता विधामा भने माग नघटेको गिरीले जानकारी दिए । आईटी एडमिनिस्ट्रेटर, सिस्टम एडमिनिस्ट्रेटर, क्लाउड इन्जिनियर र नेटवर्क एडमिनिस्ट्रेटरको माग पनि यथावत् छन्, यी काम एआईले गर्न नसक्ने भएकाले पनि माग नघटेको हुन सक्ने उनको आकलन छ । गिरीका अनुसार कर्मचारी हायर गर्दा उसलाई ‘एआई टुल्स’ चलाउन आउँछ कि आउँदैन र ‘प्रम्प्ट इन्जिनियरिङ’ जानेको छ/छैन भन्ने कुरा अनिवार्य सर्तजस्तै बनेको छ । कलेजहरूले कोडिङ सिकाउने तर एआई स्किल, टिम म्यानेजमेन्ट र कम्युनिकेसनका सीप नसिकाउँदा नेपाली जनशक्ति भारत वा फिलिपिन्सको तुलनामा पछि परेको उनको ठम्याइ छ । उनले पाठ्यक्रमलाई ‘कर्पोरेट कल्चर’ सुहाउँदो गरी परिमार्जन गर्न र उद्योगमा काम गरिरहेका विज्ञहरूबाटै अध्यापन गराउन सुझाव दिए ।

नास–आईटीका अध्यक्ष गौरव पाण्डे नेपालका कम्पनीहरूले काम गर्ने शैलीमा आमूल परिवर्तन गर्न थालेको बताउँछन् । कोड जेनेरेसन र टेस्टिङजस्ता काममा एआईको प्रयोग बढेसँगै पहिले गर्न नसकिने जटिल काम पनि सहजै हुन थालेका छन् । तर, उद्योगलाई चाहिने जनशक्ति उद्योग आफैले तयार पार्नुपर्ने चुनौती रहेको उनले उल्लेख गरे ।

वित्तीय–प्रविधि विज्ञ सञ्जीव सुब्बा पनि डिजिटल अर्थतन्त्रतर्फ अघि बढ्न सरकारले प्रस्तुत गरेको प्रतिबद्धता आशाजनक ठान्छन् । तर करिब १५ लाख नयाँ रोजगारी सिर्जना र एक खर्ब रुपैयाँ बराबरको अर्थतन्त्र निर्माणका लागि डिजिटल पूर्वाधार आधारभूत सर्त रहेको उनको भनाइ छ । ‘नेपालमा एआईको बहस भए पनि यसका लागि आवश्यक डेटा पूर्वाधारको चर्चा भइरहेको छैन, डेटा लेक र ‘डेटा वेयर हाउजिङजस्ता एआई पूर्वाधारमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘आईटी क्षेत्रलाई प्रोत्साहन गर्ने र एआईमा छलाङ मार्ने सरकारको भिजन सही छ । तथापि डिजिटल क्षमतामा हामीले निकै सुधार गर्नुपर्छ । सबैभन्दा पहिला हामीसँग गतिलो एआई अनुसन्धान र विकास सुविधा हुनुपर्छ, तब मात्र नयाँ इनोभेसन गर्न सकिन्छ ।’ सन् २०३०–३२ सम्ममा आउने सुपर कम्प्युटरको कम्प्युटेसनल पावर र एआईको वृद्धिले अहिलेको कतिपय विकासलाई पुरानो बनाइदिने भएकाले नेपालले भविष्यमुखी भएर काम गर्नुपर्ने सुब्बाको विश्लेषण छ ।

शिक्षण संस्थाहरूमा एआईसम्बन्धी बहस र नीतिगत अन्योल कायम रहँदा सिडर गेटकी ममता चौधरीजस्ता डेभलपरहरूले भने एआईलाई सहकर्मी बनाइसकेका छन् । उनीहरूका लागि एआईले कामको बोझ घटाएर आत्मनिर्भर र दक्षताको नयाँ ढोका खोलिदिएको छ । उनीहरूका लागि प्रतीक्षा गर्ने फुर्सद छैन । किनकि बजार अघि बढिसकेको छ, पाठ्यक्रम पछि–पछि ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully