र्याप र 'स्पोकन वर्ड' कवितामार्फत उज्ज्वला महर्जनले एकातिर नेवा: संस्कृतिलाई पुनः परिभाषित गरिरहेकी छन् भने अर्कोतिर लैङ्गिक समानता र अपनत्वमाथि प्रश्न गरिरहेकी छन् ।
What you should know
काठमाडौँ — 'मिसा जुया अथे ब्वाँय् वने मखु! अप्वः जुइपिं मिसापिंत छु जुइ धइगु लुमंका बी माः ला?’
भर्खरै सार्वजनिक नेवा: र्याप म्युजिक भिडियो ‘अप्वः मिसा’ यही संवादबाट सुरु हुन्छ । कवि एवं कलाकार उज्ज्वला महर्जनले यस गीतमा 'स्पोकन वर्ड' कविता, आफ्नो जीवन भोगाइ र नेवा: सम्पदालाई लय र दृश्यमार्फत प्रस्तुत गरेकी छन् ।
भिडियोमा दौडिरहेकी सानी बालिकालाई एक वृद्ध महिलाले ‘अप्वः जुइपिं मिसा’ भन्दै व्यङ्ग्य गर्छिन् । समाजमा अलि बढी बोल्ने, ठूलो स्वरले हिँड्ने वा आफ्ना कुरा प्रस्ट राख्ने ‘साहसी’ केटीहरूलाई आलोचना गर्न यो शब्द प्रयोग गरिन्छ।
म्युजिक भिडियो सार्वजनिक हुनुअघि गत चैत १५ (मार्च २८) गते बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘अप्वः मिसा: मार्चिङ अन’ शीर्षकको प्रस्तुति देखाइएको थियो । जसमा एकालाप (मोनोलग), कविता र संगीतको सम्मिश्रण थियो । यो गीत ‘अप्वः मिसा’ परियोजनाकै एउटा हिस्सा हो ।
सस्कियाना गुरुङको निर्देशनमा बनेको यो भिडियोलाई संगीतकर्मी राहुल गिरीले निर्माण गरेका हुन् । यसमा नेवा: लोक वाद्यवाधक सारदा डंगोलको पनि सहभागिता छ । सन् २०१० मा उज्ज्वलाले 'वर्ड वारियर्स' नामक स्पोकन वर्ड कविता समूहको सह-स्थापना गरेकी थिइन् ।
सिर्जनाको जग
उज्ज्वलाको बाल्यकाल मावलीमा बित्यो, जहाँ उनलाई दिदी, हजुरआमा र आमाले हुर्काए । उनीहरू उज्ज्वलाले अंग्रेजी बोल्न सिकोस् र शिक्षित बनोस् भन्ने चाहन्थे ।
‘मेरी दिदीले मलाई सधैं सिर्जनशील काममा लाग्न प्रेरित गर्नुभयो । म चित्र कोर्थें, उहाँ प्रशंसा गर्नुहुन्थ्यो,’ महर्जन सम्झिन्छिन् । कविताप्रति उनको रुचि विद्यालयदेखि नै थियो । पाठ्यक्रममा भएका कविताहरू उनी कक्षा सुरु हुनुअगावै पढिसक्थिन् । सिर्जनात्मक क्षेत्रमै लाग्ने सोचका साथ उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र अंग्रेजीमा स्नातक गरिन् ।
सन् २०१० मा उनले ‘वर्ड वारियर्स’ समूह स्थापना गरिन् । यो समुदाय नै उनको कला यात्राको मुख्य ऊर्जा बन्यो । ‘राइट टु स्पिक’ अभियानअन्तर्गत नेपालका विभिन्न स्थानमा पुग्दा उनले कविताको शक्ति बुझ्ने अवसर पाइन् ।
पेन्सिलभेनिया विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी उज्ज्वलाले अमेरिकामा शिक्षकका रूपमा काम गर्दा अफ्रिकी-अमेरिकी बालबालिकासँगको सामीप्यले र्याप संगीतलाई बुझ्ने मौका पाइन् ।
यसरी जन्मियो ‘अप्वः मिसा’?
यो गीतको बीउ सन् २०२० अप्रिलमा वर्ड वारियर्सले आयोजना गरेको ‘इलेभेन:११’ कविता चुनौतीमा रोपिएको थियो ।
‘एउटा प्रम्प्ट थियो- तपाईंलाई आफ्नो लैङ्गिकताको बोध पहिलो पटक कहिले भयो? त्यतिबेला मलाई सानोमा आजीले ‘त्यसरी नदौड’ भनेर कराउनुभएको सम्झना आयो,’ महर्जन भन्छिन्, ‘नेवारी भाषामा त्यो लाइन सुन्दा निकै लयबद्ध लाग्यो ।’
पहिलो अन्तरा सहजै तयार भयो, तर दोस्रो भाग लेख्न उनलाई समय लाग्यो । गीतले आफ्नी हजुरआमा र पुस्ताौंदेखि महिलाले भोगेका संघर्षका कथाहरू समेटोस् भन्ने उनी चाहन्थिन् ।
गीतमा एउटा मार्मिक शब्द छ- ‘थसें’ (थाय्से) अर्थात् श्रीमानको घर । यसै शब्दमार्फत उनले प्रश्न गरेकी छन्- महिलाको वास्तविक घर चाहिँ कुन हो त?
भिडियोमा साना बालिकाहरूको खेलदेखि वयस्क महिलाहरूको गम्भीर उपस्थितिसम्मको संक्रमण देखाइएको छ । पहिलो भाग केही हल्का लाग्छ भने दोस्रो भागमा कडा प्रतिवाद छ ।
‘भिडियोमा हामीले ऐला (रक्सी) खाइरहेको दृश्य कसैका लागि विवादास्पद हुन सक्छ, तर म महिलाहरूले ऐला पस्किएको दृश्य पनि देखाउन चाहन्थेँ, किनकि यो नेवा: संस्कृतिको अभिन्न अंग हो,’ उनी भन्छिन् ।
चुनौती र उद्देश्य
नेवा: समुदायभित्रको आन्तरिक तहगत संरचना र जातका आधारमा हुने भाषिक विभेदका कारण सुरुमा उनलाई यो भाषामा लेख्न केही संकोच भएको थियो । तर, उनले ती अवरोध चिर्दै अघि बढ्ने निर्णय गरिन् ।
उनले यस परियोजनाका लागि नियतवश महिला र क्वयेर । सहयोगीहरू रोजिन् । उनी भन्छिन्, ‘चलचित्र र गीतहरूमा पुरुषको दृष्टिकोण हाबी हुन्छ । तर संगीत-प्रविधि क्षेत्रमा महिलाहरूको संख्या निकै कम छ ।’ सहकार्यका लागि सही व्यक्ति खोज्दा समय र लागत भने बढी लागेको उनको अनुभव छ ।
‘अप्वः मिसा’ले महिलाको आवाजमार्फत नेवा: संस्कृतिको प्रतिनिधित्व गर्छ । गीतमा खिं (परम्परागत बाजा) को प्रयोग गरिएको छ, जसले शब्दको अर्थलाई थप गहिराइ दिएको छ । सामान्यतया र्यापलाई पुरुषप्रधान क्षेत्र मानिए पनि महर्जनले यसलाई ‘कोमलता’ र ‘नारीत्व’का साथ प्रस्तुत गरेकी छन् । भिडियोमा देखाइने कपालमा तेल लगाउने दृश्य र पुराना गल्लीहरूले उनको यही सोचलाई प्रस्ट्याउँछन् ।
मौनता, रिस, इच्छा र स्वायत्तताका बारेमा समाजले महिलाबाट राख्ने अपेक्षालाई यो गीतले कडा चुनौती दिएको छ ।
