एआईमा आधारित हतियारको दौडमा विश्व

युद्ध र हातहतियारको व्यवसाय र प्रयोगमा एआई समावेश गर्ने प्रवृत्ति अन्तर्राष्ट्रिय नियमन प्रयासभन्दा निकै अगाडि पुगिसकेको द गार्जियनको रिपोर्ट

वैशाख ६, २०८३

सजना बराल

The world is in an AI-based arms race.

काठमाडौँ — रुस–युक्रेन युद्ध पाँचौं वर्षमा आइपुग्दा बेलायतले युक्रेनलाई १ लाख २० हजार थान ड्रोन उपलब्ध गराउने घोषणा गरेको छ । यी ड्रोनमा अत्याधुनिक एआई प्रविधि जडान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार जर्मनीमा आयोजित ‘युक्रेन रक्षा सम्पर्क समूह’ को बैठकअघि बेलायती रक्षामन्त्री जन हिलीले यस सहयोग प्याकेज घोषणा गरेका थिए । 

यो प्याकेजमा लामो दूरीमा आक्रमण गर्न सक्ने, जासुसी, युद्ध मैदानमा आवश्यक सामग्री वा औषधि ओसारपसार गरिदिने र समुद्रमा प्रयोग गर्न मिल्ने ड्रोनहरू समावेश छन् । यीमध्ये धेरैजसो बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन भएको बीबीसीकी पत्रकार ओट्टिली मिसेलको समाचारमा उल्लेख छ । रुसले पनि आफ्नो ३० प्रतिशत सैन्य शक्तिलाई सन् २०२५ सम्ममा स्वचालित वा अटोनोमस बनाउनेबारे सन् २०१४ मै घोषणा गरेको थियो । यी घटनाले विश्वमा एआई हतियारको दौड कसरी विस्तार भइरहेको छ भन्ने देखाउँछ । 

न्युयोर्क टाइम्सका पत्रकार शिरा फ्रेन्केल, पल मोजुर र एडम सटारियानोले विश्वका विभिन्न देशबीच तनाव चर्किंदै जाँदा एआईमा सैन्य वर्चस्वको प्रतिस्पर्धा बढेकोबारे लामो रिपोर्टिङ गरेका छन् । उक्त रिपोर्टअनुसार अबको युद्ध मानिसबीच नभई सफ्टवेयर वा मेसिनहरूबीच हुने देखिन्छ । ‘एउटा ड्रोनले अर्को ड्रोनलाई र एउटा अल्गोरिदमले अर्को अल्गोरिदमलाई प्रतिवाद गर्नुपर्ने स्थिति आउला भनेर अहिले नै देशहरूले प्राविधिक क्षमता तयारी अवस्थामा राख्न थालेको रक्षा एवं गुप्तचर अधिकारीहरू बताउँछन्,’ रिपोर्टमा भनिएको छ । हातहतियारको भण्डारजस्तै अब देशहरूले सफ्टवेयर, चिप्स र उन्नत डिजिटल प्रणालीको भण्डारण बढाउन थालेको यस रिपोर्टले औंल्याएको हो । 

अप्रिलको सुरुतिर द गार्जियनले प्रकाशित गरेको यस्तै एउटा रिपोर्टमा पनि युद्ध र हातहतियारको व्यवसाय र प्रयोगमा एआई समावेश गर्ने प्रवृत्ति अन्तर्राष्ट्रिय नियमन प्रयासभन्दा निकै अगाडि पुगिसकेको उल्लेख थियो । अमेरिका च्याटबट र माइक्रोचिप्सजस्ता एआईका ‘मस्तिष्क’ निर्माणमा अगाडि रहेको र चीनले 

अमेरिकाले स्विचब्लेड ६००, कोल्याबरेटिभ कम्ब्याट एयरक्राफ्ट (सीसीए), गोल्डेन डोमजस्ता विभिन्न ड्रोन हतियार बनाइरहेको छ ।रोबोट एवं मानव आकारका मेसिन वा एआईका ‘शरीर’ निर्माणमा विश्वलाई उछिनेको बीबीसीमा ‘चाइना इज विनिङ वान एआई रेस, दी यूएस अनादर...’ शीर्षकको समाचारमा विश्लेषण गरिएको छ । चीनले हाल विश्वको ९० प्रतिशत ह्युमनोइड वा मानव आकारका रोबोट निर्यात गरिरहेको छ ।

द वालस्ट्रिट जर्नलसँग कुरा गरेका पूर्वनेभी सिल ब्रयान्डन सेङका अनुसार अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अहिले प्रविधि र एआईमा आधारित रक्षा प्रणालीमा लगानी बढाइरहेको छ । पेन्टागन हाल ‘ड्रोन डोमिनेन्स प्रोग्राम’ तर्फ केन्द्रित भएको र यस कार्यक्रमको मुख्य काम नै आकाशमा घुमिरहने दुस्मनका ड्रोन (लोइटरिङ म्युनिसन) लाई एआईको मद्दतले आकाशमै नष्ट गर्नु रहेको सेङले बताएका छन् । अमेरिकाले स्विचब्लेड ६००, कोल्याबरेटिभ कम्ब्याट एयरक्राफ्ट (सीसीए), गोल्डेन डोमजस्ता विभिन्न ड्रोन हतियार बनाइरहेको छ । गोल्डेन डोमले स्याटेलाइटहरू प्रयोग गरेर दुस्मनले प्रहार गरेका मिसाइल वा ड्रोनलाई ट्र्याक गर्दै नष्ट गर्छ । सीसीए भने यस्तो ड्रोन हो जसले लडाकु विमानलाई सुरक्षा प्रदान गर्छ । 

एआईका लार्ज ल्याङवेज मोडल र जेनेरेटिभ एआईमा पश्चिमा प्रविधिलाई निरन्तर टक्कर दिइरहेको चीनले ड्रोन प्रविधिमा त अग्रता नै हासिल गरेको देखिन्छ । झन्डै २२ हजार आक्रामक ड्रोनलाई एउटै युनिटका रूपमा सञ्चालन गर्नेदेखि एआईमा आधारित रडार र लडाकु विमानमा पनि चीनले उल्लेख्य मिहिनेत गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

The world is in an AI-based arms race.

रुसले मानवरहित र एआईमा आधारित ‘हन्टर–बी’ जस्ता विमान र लान्सेट ड्रोन बनाएको छ । लामो समय पश्चिम एसियाको द्वन्द्वमा जोडिएको इजरायलले पनि एआईमा आधारित हातहतियार र प्रविधिमा लगानी गर्दै आएको छ । गोल्डेन हर्ड, भी–ब्याट अटोनोमस ड्रोन, स्म्यास अप्टिकलगायत विभिन्न प्रविधिमा अमेरिकाले इजरायलसँग मिलेर एआईको भरपूर प्रयोग गर्दै आएको छ । पेन्टागनले फेब्रुअरीमा भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिन ‘क्लड’ एआई प्रयोग गरेको खुलासा नै भएको थियो । 

युद्धको मैदानमा प्राप्त जानकारी र डेटा प्रशोधनमा क्लडजस्ता एआईको प्रयोग व्यापक भइसक्दा अब अन्तरिक्षमा आधारित सुरक्षा प्रणालीमा पनि प्रतिस्पर्धा विस्तार भइरहेको छ । द स्ट्राटेजिस्टका अनुसार एआईमा आधारित लेजरलगायतको प्रयोगले एकअर्काको स्याटेलाइट खसालिदिनेदेखि अमेरिका र चीन दुवैले माइक्रोवेभ हतियार र लेजर विकासलाई तीव्र बनाएका छन् । यी प्रणालीले ड्रोनविरुद्ध बच्ने क्षमता प्रदान गर्ने सैन्य योजनाकारहरूको दाबी छ । 

द स्ट्राटेजिस्टका अनुसार एआईमा आधारित लेजरलगायतको प्रयोगले एकअर्काको स्याटेलाइट खसालिदिनेदेखि अमेरिका र चीन दुवैले माइक्रोवेभ हतियार र लेजर विकासलाई तीव्र बनाएका छन् । एआईमा आधारित हतियारले गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै व्यापक चिन्ता पनि व्यक्त भइरहेका छन् । हालै स्पेनको ए कोरुनामा आयोजित ‘सैन्य गतिविधिमा एआईको जिम्मेवार प्रयोग’ सम्बन्धी शिखर सम्मेलन (रिएम) मा विश्वका रक्षा विज्ञ, कूटनीतिज्ञ र प्रविधि विशेषज्ञहरूले ‘एआईको स्पिडले व्यक्तिको विवेकलाई उछिन्न सक्ने’ डर व्यक्त गरेका थिए । 

‘जीवन र मृत्युको निर्णय मेसिनले गर्ने कुरालाई देशहरूले गैरकानुनी घोषणा गर्नुपर्छ,’ स्टप किलर रोबटर््स अभियानकी एलिजाबेथ माइनरले भनेकी थिइन्, ‘एआईका लागि मानिस एउटा डेटा प्वाइन्ट मात्रै हो । एआईको अल्गोरिदमले बन्दुक बोकेको, यति उचाइ भएको र यो रङको लुगा लगाएको वस्तुलाई प्रहार गर भन्ने निर्देशन पाएको छ भने, उसले त्यो वस्तु बच्चा हो कि वृद्ध, केही हेर्दैन । मानिसलाई डेटा पोइन्टमा खुम्च्याउने कुनै पनि हतियार स्वीकार्य छैन ।’ 

नीति निर्माण र प्रविधि क्षेत्रमा सक्रिय अन्य व्यक्तिले पनि पछिल्लो होडको नैतिक र रणनीतिक जोखिम औँल्याएका छन् । ह्युमन राइट्स वाचका हातहतियारसम्बन्धी विज्ञ स्टिभ गुजले स्वचालित हतियार प्रणालीबारे मानिसहरूको चासो तत्काल सम्बोधन गर्नुपर्ने निर्णायक मोडमा पुगेको चेतावनी दिएका छन् । 

यही धारणा अन्तर्राष्ट्रिय कूटनीतिक तहमा पनि सुनिने गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानवीय संलग्नताबिना जीवन लिने अधिकार र विवेक कुनै मेसिन वा अल्गोरिदमलाई दिनु राजनीतिक रूपमा अस्वीकार्य र नैतिक रूपमा घृणित भएको अभिव्यक्ति दिएका छन् ।

यी चेतावनीबीच पनि एआई हतियार दौडको गति रोकिने संकेत भने छैन । ब्लुमबर्गले यो दशकको अन्त्यसम्म स्वचालित वा एआईमा आधारित हतियारको विश्वव्यापी बजार दोब्बरभन्दा बढी बढेर ३३ अर्ब डलर नाघ्ने प्रक्षेपण गरेको छ । जिम्मेवार एआई प्रयोग प्रवर्द्धन गर्न ‘रिएम’ जस्ता कूटनीतिक प्रयास भइरहे पनि देशहरूबीच प्रतिस्पर्धा जारी छ । सैन्य तथा युद्ध कार्यमा एआई प्रयोगको नियमन प्रविधि विकासभन्दा निकै पछि परेको विज्ञहरूको निष्कर्ष छ । –एजेन्सीको सहयोगमा

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully