सपनाको सर्वोच्च आरोहण
छोरा नपाएको पीडाको संकेतस्वरूप परिवारले नाम ‘सपना’ राखिदिएका थिए, आज उनै सपना देशकै सबैभन्दा शक्तिशाली न्यायाधीश छिन्
आमाबुबाले छोरीलाई भविष्यको शुभकामनास्वरूप होइन, आफ्नै निराशाको संकेतस्वरूप उनको नाम ‘सपना’ राखिदिएका थिए । उनीभन्दा पहिले परिवारमा दुई छोरीको जन्म भइसकेको थियो । तेस्रो सन्तानका रूपमा उनी गर्भमा हुँदै गर्दा परिवारले लामो प्रतीक्षापछि ‘अब अवश्य छोरा हुनेछ’ भन्ने आशा पालेको थियो । तर जब उनको जन्म भयो, उनी छोरा होइनन् भन्ने निधो भयो । परिवारले उनको त्यही नाम राख्यो, जसको अर्थ हुन्थ्यो कुनै त्यस्तो कुरा जो चाहेर पनि पाउन सकिँदैन– ‘सपना’ ।
सपना प्रधान मल्ल आफ्नो जन्मसँग जोडिएको यही कुरा बुझ्दै हुर्किइन् । उनलाई यो कुरा सधैं त्यस्तो पाराले रमाइलो लागिरहन्छ, जस्तो कतिपय मानिस आफूलाई दुःख दिएको विषयलाई हाँसीहाँसी सम्झिन्छन् ।
‘सायद त्यसैले मेरो स्वभाव नै केटाको जस्तो भयो,’ उनले हालै आफ्नै निवासमा कान्तिपुरसँग भनिन्, ‘म सधैं केटाहरूसँगै समूह बनाएर हिँड्थें ।’
सपना अहिले कायममुकायम प्रधानन्यायाधीश छिन् । उनी यस्तो देशको सबैभन्दा वरिष्ठतम न्यायाधीश बनेकी छन्, जसको कानुनी संरचनालाई सुधार्न उनले तीन दशक न्यायालय बाहिरबाट संघर्ष गरिन् र अन्ततः त्यहीं प्रवेश गरिन् । अहिले उनको भूमिका संविधानले तोकेको प्रक्रियामार्फत समयमै प्रधानन्यायाधीश नियुक्त हुन नसकेको अवस्थामा स्वतः जिम्मेवारी सर्ने परिस्थितिले तय गरेको छ । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि वरीयताक्रममा उनीपछि रहेका न्यायाधीशले कायममुकायम नेतृत्वको जिम्मेवारी सम्हाल्नुपर्ने नियमअन्तर्गत अहिले सपनाले त्यो जिम्मेवारी पाएकी छन् ।
सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा शपथ लिँदै
वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने परम्परा कायम रहे सपना नै आगामी प्रधानन्यायाधीश हुनेछिन् । त्यसका लागि संवैधानिक परिषद्को सिफारिस, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिसहितको औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त हुनुपर्नेमा परिषद्ले पूर्णता नपाएका कारण सिफारिससमेत भएको छैन । यसबीच न्यायालयको नेतृत्व भने उनैले गरिरहेकी छन् । न्यायपालिकाको नेतृत्व यसअघि महिलाले एक पटक मात्र २०७३ मा सुशीला कार्कीले गरेकी थिइन् । अहिले सपना दोस्रो बन्ने लाइनमा छिन् ।
नवलपरासीको रामग्राम गाउँका गोविन्दबहादुर प्रधान र राधा प्रधानको सन्तानका रूपमा सपनाको जन्म २९ कात्तिक २०२० मा भएको थियो । उनी त्यस्ती बालिका थिइन्, जसले अनुचित लागेका आदेश अस्वीकार गर्थिन् । समकालीन केटीहरूले घाँघर र चौबन्दी चोली लगाउँदा उनी टिसर्ट र पाइन्ट लगाउँथिन् । एक पटक उनी टिसर्ट र पाइन्ट लगाएर मेलामा गएकी थिइन्, कसैले उनका बुबालाई ‘कुरा लगाइदिएछ’ । घर फर्किएपछि बुबाले कुटे । तर उनले त्यसपछि पनि पहिरन बदलिनन् ।
‘त्यो बेलासमेत मलाई विद्रोह गर्नुपर्छ भन्ने लाग्थ्यो,’ उनी भन्छिन्, ‘त्यतिबेलै मलाई मन लागेको कपडा लगाउन पाउनुपर्छ भन्ने लाग्थ्यो र मैले लगाएँ ।’
सिमरन नापितले लेखेको उनको जीवनी ‘जुडिसियरिज ड्रिम : सपना’ मा यो घटना सामान्य रूपमा उल्लेख छ । तर यो उनको बाल्यकालको एउटा यस्तो महत्त्वपूर्ण तथ्य हो, जसले नियम गलत छ भने त्यसलाई तोड्नैपर्छ भन्ने मान्यतालाई उनले बाल्यकालदेखि नै अँगालेको देखाउँछ ।
सपनाले सानैमा घरभित्र काम गर्ने महिलामाथि अरूभन्दा फरक व्यवहार हुने गरेको देखेकी थिइन् र उनी त्यसबारे बोलिन् पनि । आखिर, उनी आफूले देखेका कुरालाई चुपचाप मनभित्र राख्ने खालकी बालिका पनि त थिइनन् ।
सपनाले आफूले कानुन पढ्न चाहेको परिवारलाई बताइन् । उनको त्यस्तो चाहना कुनै विशेष मुद्दा वा अन्यायका कारण भने थिएन । उनलाई लाग्थ्यो– कानुन नै त्यस्तो क्षेत्र हो, जहाँ उनका महत्त्वाकांक्षाले उडान भर्न पाउनेछ । परिवारले सहमति दियो । काठमाडौंको नेपाल आदर्श विद्यालयबाट स्कुले शिक्षा पूरा गरेपछि उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा भर्ना भइन् ।
ल क्याम्पसमा उनकी सहपाठी शशी अधिकारी सपनालाई बिर्सन नसकिने व्यक्तिका रूपमा सम्झिन्छिन् । अग्ली, आकर्षक, साथीहरूसँग छिट्टै घुलमिल हुन सक्ने र आवश्यक परे आवारा केटाहरूलाई हकार्न सक्ने । ‘उनी पढाइ र अतिरिक्त क्रियाकलाप दुवैमा उत्तिकै सक्रिय थिइन्,’ ल क्याम्पसमै पछि अध्यापन गरेकी शशीले सुनाइन् । कलेजस्तरीय वक्तृत्वकला प्रतियोगितामा सपना पहिलो र शशी दोस्रो भएकी थिइन् । सपना राम्रो नाच्थिन्, त्यसबापत प्रशंसा पाउँथिन् । त्यतिबेलै उनको ध्यान ‘करिअर’ तर्फ थियो ।
सपना गम्भीर पाठक थिइन् । कानुन मात्र होइन, उपन्यास पनि अत्यधिक पढ्थिन् । ‘त्यो बानी लतजस्तै बनेको थियो,’ उनी भन्छिन् ।
कलेजमा हुँदा उनले सातामा दुई वटा उपन्यास पढ्ने बानी बसालेकी थिइन् । उनको पहिलो रोजाइ सिड्नी शेल्डन थिए, जो कानुनी पृष्ठभूमिमा थ्रिलर लेख्थे र कथाको केन्द्रमा हुन्थे महिला पात्र । ती नायिका र खलनायिका जे पनि हुन सक्थे । उनले ‘दी अदर साइड अफ मिडनाइट’, ‘इफ टुमरो कम्स’, ‘मास्टर अफ द गेम’ पनि पढिन् ।
कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्च अदालतमा
सपनालाई कानुनी पेसामा प्रतिबद्ध बनाएको पुस्तक भने ‘रेज अफ एन्जल्स’ हो । कानुन र प्रेमको मिश्रण रहेको यस पुस्तकले पुरुषप्रधान संसारसँग जुधिरहेकी महिला वकिल पात्रको कथा कहन्छ । ‘यही उपन्यासले मलाई कानुन पढेर वकिल बन्न प्रेरित गर्यो,’ उनले कान्तिपुरसँग भनिन् ।
उनले डायमन्डशमशेरका सेतो बाघ र वसन्तीका साथै रामायण, महाभारत र गीता पनि पढिन् । त्यो संसार बुझ्ने प्रयास थियो ।
ल क्याम्पसको पुस्तकालयको सीमितता अहिले पनि सम्झिन्छिन् सपना । ‘हाम्रा पठन सामग्री भनेकै शिक्षकले दिएका नोट थिए,’ उनले सुनाइन्, ‘पुस्तकालयमा केही नेपाली लेखकका किताब थिए । सामग्री सीमित थिए ।’
उच्च शिक्षाका लागि दिल्ली विश्वविद्यालय पुगेपछि मात्र पुस्तकालय के हो भन्ने बुझेको सपना बताउँछिन् । प्रकाशमणि शर्मा, नारायण बेलबासे र उपेन्द्र आचार्यसँगै उनी उक्त विश्वविद्यालयमा छनोट भएकी थिइन् । दिल्लीको विशाल पुस्तकालयमा आफूले नाम मात्र सुनेका लेखकका पुस्तकले भरिएका र्याक देख्दा उनलाई एकाएक नेपाल ल क्याम्पसका दिनहरू सम्झना आए । त्यहाँ उनले नेपालमा नपाएको पठन अवसर पाइन् । ‘दिल्ली विश्वविद्यालय पुगेपछि मात्र पुस्तकालयको महत्त्व बुझें,’ उनले भनिन् ।
दिल्लीमा सपनाका सहपाठी वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा उनको शैक्षिक क्षमताको प्रशंसा गर्छन् । ‘उनी पढाइमा अब्बल थिइन्,’ उनले भने ।
सपनाका लागि विवाह उनको पुस्ता र सामाजिक पृष्ठभूमिका महिलाका लागि जस्तै व्यक्तिगत रोजाइभन्दा पहिले सामाजिक दबाबका रूपमा आयो । उनले केही समयसम्म टारिरहिन् । अन्ततः उनले मन पराएका व्यक्तिले पढाइमा बाधा नपार्ने प्रतिबद्धता जनाएपछि विवाहका लागि सहमत भइन् ।
अशोकबहादुर मल्ल नवलपरासीबाट काठमाडौं सरेका युवा थिए । उनीसँग विवाह भएपछि सपना बाबुआमाकी कान्छी छोरीबाट नयाँ परिवारकी जेठी बुहारी बनिन्, जुन भूमिकासँग कैयौं सामाजिक अपेक्षा जोडिएका हुन्छन् । विवाह भएको तीन महिनापछि उनले भारत गएर मास्टर्स पढ्न चाहेको परिवारलाई बताइन् । सासूले घर कसले चलाउला भनेर सोधेकामा ससुराले नै जवाफ दिए, ‘उनी आउनुअघि पनि घर चलेको थियो, अब पनि चल्छ ।’ अशोक पनि उनको पक्षमा उभिए ।
‘मेरो ससुराले दिएको प्रेरणाकै कारण म आज यहाँसम्म पुगेकी हुँ,’ सपनाले भनिन्, ‘हरेक उपलब्धिमा सबैभन्दा पहिले खुसी हुने र मलाई सधैं हौसला दिने व्यक्ति ससुरा बुबा नै हुनुहुन्थ्यो ।’
दिल्ली विश्वविद्यालयमा रहँदा सपना ‘संवैधानिक अधिकारको व्याख्या गर्दा अदालतले निष्क्रिय होइन, सक्रिय भूमिका खेल्नुपर्छ’ भन्ने विचारका पक्षपाती प्राध्यापक उपेन्द्र बक्सीको कामबाट प्रभावित भइन् ।
दिल्लीमा पढाइ पूरा गरेर उनी काठमाडौं फर्किइन्, छोरा जन्माइन् । १८ महिनाको छोरालाई छाडेर अन्तर्राष्ट्रिय विकास कानुनसम्बन्धी तीनमहिने तालिमका लागि इटाली गइन् । इटालीबाट फर्किएपछि उनको पहिलो गन्तव्य वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको चेम्बर थियो । उनलाई सपना र अरूले ‘गुरुदेव’ भनेर सम्बोधन गर्छन् ।
भण्डारीका अनुसार त्यस समयमा सपना यस्तो विशेषता लिएर आएकी थिइन्, जुन उनले कमैमा देखेका थिए । ‘उनी धेरै जिज्ञासु थिइन् र आफूले जे पनि गर्न सक्छु भन्ने साहस थियो,’ भण्डारीले कान्तिपुरसँग भने, ‘आफ्नो छुट्टै पहिचान बनाउने चाहना तीव्र थियो । कर्पोरेट कानुनको ज्ञान गहिरो थियो । दिल्ली विश्वविद्यालयबाट धेरै सिकेर आएकी हुनुपर्छ । मैले उनलाई सधैं उच्चस्तरमा सिक्न चाहने व्यक्तिका रूपमा पाएँ ।’
त्यही समयमा सँगै काम गरेका प्रकाशमणि शर्माले पनि सपनामा यही विशेषता देखेका थिए । ‘भारतदेखि नेपालसम्म उहाँसँगै काम गर्ने अवसर पाएँ,’ उनले भने, ‘सधैं प्रभावित भएको छु । ऊर्जा र उत्साहले भरिएको वकिलका रूपमा देखें, न्यायाधीश बनेपछि पनि उत्कृष्ट देखेको छु ।’
सपनाले आफ्नै फर्म ‘डेभलपमेन्ट ल एसोसिएट्स’ खोलेर संयुक्त लगानी, श्रम कानुन र औद्योगिक सम्बन्धका मुद्दामा बहस गर्न थालिन् । ‘म होटल एसोसिएसन अफ नेपालमा कानुनी सल्लाहकार थिएँ, धेरै ठूला होटलहरूकी वकिल थिएँ, करार कानुनका लागि सबैले खोज्ने अधिवक्ता थिएँ,’ सपना सम्झिन्छिन्, ‘म समकालीनहरूभन्दा धेरै कमाउँथें । मेरो फर्म सफलमध्येमा पर्थ्यो ।’
आम्दानी राम्रो थियो । प्रतिष्ठा बढिरहेको थियो । तर त्यो पर्याप्त थिएन ।
पुरुषले काम गर्ने क्षेत्र मानिएको कानुनमा महिला भएर प्रभावशाली उपस्थिति बनाउँदा उनले विशेष किसिमको प्रतिरोध सामना गर्नुपर्यो । उनलाई ‘एनजीओकर्मी’ भनेर खिसी गरिन्थ्यो, त्यो समय यो शब्दले उनको कामको गम्भीरता घटाएर हेर्ने अर्थ बोक्थ्यो । तर त्यस्ता आलोचनाले उनलाई छुँदैनथ्यो ।
सपनाले सहकर्मी मीरा ढुंगानासँग मिलेर महिलालाई विभेद गर्ने कानुनविरुद्ध सार्वजनिक सरोकारको रिट दायर गर्न थालिन् । व्यवस्थित रूपमा अनुसन्धान गर्दा नागरिकताको अधिकार, समान ज्यालाको विषय, वैदेशिक रोजगारीको अधिकारलगायत क्षेत्रमा महिलालाई कानुनी रूपमा कमजोर बनाउने ११८ वटा कानुन भेटिए । उनले बुझिन्, कानुन कुनै तटस्थ साधन होइन । पुरुषले पुरुषकै लागि लेखेकाले त्यसमा विभेद छ । २०५२ मा उनी र ढुंगानाले फोरम फर वुमन, ल एन्ड डेभलपमेन्ट (एफडब्लूएलडी) स्थापना गरे, जसले भविष्यको संघर्षका लागि संस्थागत आधार दियो ।
उनीहरूको सहकार्य भने २०५० सालमै छोरीलाई पनि बराबर अंश हक हुनुपर्छ भन्ने रिटबाट सुरु भएको थियो । ढुंगाना निवेदक थिइन्, त्यसलाई सपनाले अघि बढाइन् । त्यसपछि उनीहरूले थप मुद्दामा सहकार्य गरे । यस्ता केही मुद्दामा काम गरेर मात्र नपुग्ने निष्कर्षमा पुगे । ‘सुरुमा हामी एकअर्काको मुद्दामा साथ दिइरहेका थियौं,’ ढुंगानाले कान्तिपुरसँग भनिन्, ‘पछि सपना दिदीले संगठित रूपमा अघि बढ्नुपर्छ भन्नुभयो अनि एफडब्लूएलडी जन्मियो । अहिले फर्केर हेर्दा त्यो समयको सपना पूरा भयो भन्ने लाग्छ, त्यसमा उहाँको भूमिका प्रमुख थियो ।’
त्यसपछिका वर्षहरूमा ढुंगाना सपनालाई पछ्याउने सहयात्रीका रूपमा आफूलाई पाउँछिन् । ‘कुनै काममा लागेपछि उहाँ त्यसलाई निष्कर्षमा नपुर्याएसम्म रोकिनुहुन्नथ्यो,’ उनले भनिन् ।
अंशसम्बन्धी रिटमा फैसला गर्दै सर्वोच्च अदालतले विवाहित छोरीलाई पनि पैत्रिक सम्पत्तिमा बराबर हक लाग्ने निर्णय दियो, एक वर्षभित्र कानुन बनाउन संसद्लाई निर्देशन पनि दियो । प्रशंसा कम र विरोध चर्को भयो । एफडब्लूएलडीमा सपनासँगै काम गरेका अधिवक्ता सविन श्रेष्ठ आज छोरीको पनि सम्पत्तिमा समान हकलाई क्रमशः स्विकारिनु त्यही निर्णयको प्रत्यक्ष परिणाम भएको मान्छन् । ‘उहाँको कामप्रति समर्पण, अरूलाई सिकाउने चाहना, हौसला दिने र आत्मविश्वास बढाउने क्षमता म कहिल्यै बिर्सन सक्दिनँ,’ उनले भने, ‘सायद त्यही कारण उहाँ सफल हुनुभयो ।’
श्रेष्ठका अनुसार त्यति बेला कार्यालय प्रायः राति अबेरसम्म चल्थ्यो । ‘उहाँ हुँदा हामी हरेक दिन रातिसम्म बस्थ्यौं, छलफल र बहस गर्थ्यौं । मुद्दादेखि कामप्रतिको सम्मानसम्म उहाँ सधैं मेरो प्रेरणा हुनुहुन्छ,’ उनले भने ।
लैंगिक विभेदका कानुनमा सुधार गर्ने अभियानकै बीचमा वैवाहिक बलात्कारको मुद्दा आयो, पति–पत्नीबीचको सम्बन्धमा हुने बलात्कार पनि बलात्कार नै हो भन्ने तर्कसहित । तत्कालीन समयमा यस्तो कदम चुनौतीपूर्ण थियो । तर, सर्वोच्च अदालत सहमत भयो । सरकारले तीनदेखि ६ महिनासम्म कैद सजायको व्यवस्थासहित कानुन बनायो । सपना त्यत्तिमा रोकिइनन् । संशोधनका लागि निरन्तर दबाब दिइन् र सजाय पाँच वर्षसम्म पुर्याउने व्यवस्था कायम गर्न भूमिका खेलिन् ।
ढुंगानाका अनुसार यस अभियानलाई निरन्तरता दिने शक्तिको स्रोत सपना नै थिइन् । वैवाहिक बलात्कार र अंश दुवै मुद्दामा उनीहरूले व्यापक शत्रुता झेले । ‘श्रीमतीको कोठामा पस्नुअघि मल्ल र ढुंगानालाई खबर गर्नुपर्छ भन्ने टिप्पणीसम्म भयो,’ ढुंगानाले भनिन्, ‘परिवार तोड्न खोजेको, समाज भड्काएको, नकारात्मकता फैलाएको आरोप पनि सहनुपर्यो ।’
पछाडि फर्केर हेर्दा ढुंगानालाई आज पनि प्रभाव पार्ने कुरा त्यस्ता आलोचनाहरू होइनन्, बरु ती आलोचनाप्रति सपनाको प्रतिक्रिया हो वा कहिलेकाहीँ प्रतिक्रिया नदिई बस्न सक्ने उनको स्वभाव । ‘एकदमै अडिग रहन सक्ने र अरूलाई आफ्नै पक्षमा ल्याउन सक्ने उहाँको क्षमताको आज पनि म प्रशंसा गर्छु,’ उनले भनिन् ।
गर्भपतन अधिकारसम्बन्धी वकालतले उनलाई महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीडअ) समितिको उम्मेदवारसम्म पुर्यायो तर जित्न सकिनन् । उनले हारलाई पनि स्वाभाविक रूपमा लिइन् । ‘त्यतिबेला तयारी गर्ने पर्याप्त समय थिएन, हामी हार्यौं,’ सपनाले कान्तिपुरसँग भनिन्, ‘तर त्यो हारले पनि फाइदा भयो । मेरो उम्मेदवारीले पछि बन्दना राणालाई जित्ने आधार बनायो ।’
सपनाले सीडअको छाया प्रतिवेदन लेखन र अन्य अन्तर्राष्ट्रिय सञ्जालमार्फत काम जारी राखिन् । सेप्टेम्बर १९९५ मा बेइजिङमा आयोजित चौथो विश्व महिला सम्मेलनमा सहभागी भइन् । विकसित देशका प्रतिनिधिहरू राजनीतिक प्रतिनिधित्व र समलिंगी अधिकारबारे बहस गरिरहेका बेला नेपाली महिलाका सवाल भने सम्पत्ति, शिक्षा, नागरिकता र समान कानुनी हैसियतमा बाँच्ने अधिकार जस्ता आधारभूत विषयबारे थिए ।
२०६४ मा एमालेले उनलाई समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनायो, पार्टी सदस्यका रूपमा नभएर संविधान निर्माणमा भूमिका खेल्न सक्ने विज्ञका रूपमा । उनले स्विकारिन् । संवैधानिक समितिमा बसेर लैंगिक समानता, समानुपातिक प्रतिनिधित्व, महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको राज्य संरचनामा औपचारिक समावेशिताका पक्षमा बलियो आवाज उठाइन् । पहिलो संविधानसभा २०६९ मा संविधान नबनाई विघटन भयो । उनी पुनः वकालतमा फर्किइन् ।
संविधानसभामा जाने उनको निर्णयमाथि त्यतिबेला व्यापक बहस भएको थियो, उनी जोडिएका न्यायिक निर्णयमा अहिले पनि त्यस्तो बहस भइरहन्छ । उनका न्यायिक निर्णय कानुनअनुसार हुन् कि उनी संविधानसभा सदस्य बन्दाको राजनीतिक पृष्ठभूमिको कुनै सम्बन्ध छ भन्ने प्रश्न उठिरहन्छ । कायममुकायम प्रधानन्यायाधीश बनेपछि पनि त्यस्तो प्रश्न उठेको छ ।
यी सबैबारे जानकार रहेकी सपनाले कान्तिपुरसँग भनिन्, ‘राजनीति मेरो पेसा वा चाहना होइन भन्ने लाग्यो । पहिलो संविधानसभामा विज्ञका रूपमा गर्न सकेको काम पर्याप्त लाग्यो । त्यसपछि म फेरि कानुनमै फर्किएँ ।’
असोज २०७२ मा संविधान जारी हुँदा उनी लड्दै आएका धेरै विषय त्यसमा समावेश थिए । जस्तो– समावेशिता, महिला अधिकार, राज्य संरचनामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व आदि । ‘त्यसले मलाई धेरै खुसी बनायो,’ उनले भनिन् ।
संविधान जारी हुनु केही अघिको समय थियो, एक मित्रले सपनालाई हार्वर्ड विश्वविद्यालयमा आवेदन दिन सुझाए । अंग्रेजीमा आफ्नो दखल पर्याप्त छैन होला कि भन्ने चिन्ता उनमा थियो । तर आवेदन दिइन् । हार्वर्डले पूर्ण अन्तर्राष्ट्रिय छात्रवृत्ति दियो र सन् २०१४ मा ५० वर्षको उमेरमा उनले मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेसनमा भर्ना लिइन् । यसबारे उनी भन्छिन्, ‘सिकाइका लागि उमेरको सीमा हुँदैन ।’
हार्वर्डले सपनालाई दुई कुरा सिकायो– सम्पर्क सञ्जाल कसरी बनाउने र फरक–फरक स्वार्थ भएका व्यक्तिहरूलाई कसरी संवादमार्फत सहमत गराउने । उनले नेपाल फर्केर काम जारी राखिन् । सन् २०१४ देखि २०१६ सम्म संयुक्त राष्ट्रसंघीय यातनाविरुद्धको समितिमा सदस्य निर्वाचित भइन् । पद अवैतनिक थियो तर महत्त्वहीन थिएन ।
‘यातनाविरुद्धको समितिमा सदस्य भएपछिको सिकाइ अत्यन्त महत्त्वपूर्ण रह्यो, त्यसले न्यायाधीश बनेपछि धेरै सहयोग गर्यो,’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यहाँ सिकेका धेरै कुरा मैले फैसलामा प्रयोग गर्न सकेकी छु । विकासोन्मुख मात्र होइन, विकसित देशमा पनि अपराध कसरी विकाससँगै अघि बढ्छ र त्यसलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने ज्ञान पाएँ ।’
सपनाले फागुन २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि पाएकी थिइन् । फागुन २०७३ मा सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि सिफारिस भएका ११ जनामा उनको नाम थियो । तत्काल संसदीय सुनुवाइ हुन नसकेकाले उनको नियुक्ति ६ महिना ढिलो भयो । अन्ततः १७ साउन २०७३ मा शपथ खाइन् र वर्षौंदेखि बहस गर्दै आएको इजलासमै आसन ग्रहण गरिन् ।
प्रधानन्यायाधीश बन्नुअघिको संसदीय सुनुवाइमा सुशीला कार्कीले समेत सपनालाई सिफारिस गरेकामा आलोचना खेप्नुपर्यो । उनलाई एमालेकी पूर्वसमानुपातिक सांसदलाई न्यायाधीश बनाउनु न्यायालयमा राजनीति भित्र्याउनु हो कि भन्ने प्रश्न गरिएको थियो । ‘सपना सक्षम महिला हुनुहुन्छ,’ कार्कीले सुनुवाइमा भनेकी थिइन्, ‘उहाँलाई न्यायाधीशमा नियुक्ति गर्दा जे श्रेय वा दोष आउँछ, म लिन तयार छु ।’
त्यसयता सपनाले न्यायाधीशका रूपमा विविध विषयमा विधिशास्त्र निर्माणमा भूमिका खेलेको उनका सहकर्मीहरू बताउँछन् । उनलाई केवल लैंगिक मुद्दामा केन्द्रित न्यायाधीश ठानेकाहरूलाई यो अचम्म लाग्छ । सपनालाई वकालतकालदेखि चिनेका र हाल सँगै इजलास सेयर गर्ने न्यायाधीश अब्दुल अजिज मुसलमान उनमा कुनै एक मात्र मुद्दामुखी दृष्टिकोण नभएको बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय कानुन, वातावरण कानुन र मानवअधिकारमा सपनाको ज्ञान गहिरो छ । फैसला आफैं लेख्ने, सधैं अन्तर्राष्ट्रिय सन्दर्भ खोज्ने, उत्तर दिन सकिने प्रश्न अनुत्तरित नछाड्ने बानी प्रेरणादायी रहेको पनि उनी बताउँछन् । ‘सँगै इजलासमा बस्दा उहाँको कामका धेरै पक्षले मलाई प्रभावित गरेका छन्,’ मुसलमानले भने, ‘मुद्दा बुझ्ने क्षमता, दुवै पक्षलाई तर्कमा विश्वस्त पार्ने तयारी, आफैं फैसला लेख्ने बानी, सबै प्रेरक छन् ।’
न्यायाधीश श्रीकान्त पौडेल सपनालाई छिट्टै मुद्दा बुझ्ने न्यायाधीशका रूपमा लिन्छन् । ‘मैले उहाँलाई स्पष्टतासाथ मुद्दा हेर्ने, सबै पक्ष सुनेर निर्णयमा पुग्ने, पूर्ण सुनुवाइपछि मात्र न्याय हुनुपर्छ भन्ने विश्वास राख्ने न्यायाधीशका रूपमा पाएँ,’ उनले भने ।
फेवाताल संरक्षण गर्न दिएको आदेश, विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार दिने निर्णय र प्रतिनिधिसभा विघटन बदर गर्नेजस्ता फैसला सपनाका उल्लेखनीय फैसलामध्ये पर्छन् ।
मदिरा सेवन गरी चलाएको गाडीले ठक्कर दिएर फुटपाथमा हिँडिरहेकी लीला देवकोटाको मृत्यु गराएको अभियोग लागेका पृथ्वी मल्ल (जोसँग न्यायाधीश सपनाको कुनै नाता पर्दैन) लाई धरौटीमा छाड्ने आदेश उनी र न्यायाधीश मनोजकुमार शर्माको इजलासले २०७६ मा दिएको थियो । मानसिक स्वास्थ्य र कोभिड–१९ को जोखिमलाई आधार मानी पृथ्वीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने उक्त आदेशको तीव्र आलोचना भएको थियो । पृथ्वी थुनामुक्त भएपछि अमेरिका गएका थिए ।
‘पीडित पक्ष र अभियुक्तबीच क्षतिपूर्तिसम्बन्धी सम्झौता भइसकेको थियो,’ सपनाले कान्तिपुरसँग उक्त निर्णयबारे भनिन्, ‘त्यतिबेला कोभिडका कारण बन्दी छाड्ने व्यापक निर्णयहरू भइरहेका थिए । यो त्यस्तै एक आदेश थियो । यसलाई गलत ढंगले प्रस्तुत गरियो । त्यो अन्तिम फैसला थिएन, अन्तरिम प्रक्रियागत आदेश मात्र थियो ।’
प्रतिनिधिसभा विघटन भएका बेला केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेपछि संसदीय सुनुवाइसमेत छलेर विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्ति गरिएको थियो । त्यसविरुद्ध दायर रिटमा संवैधानिक इजलासले फैसला गर्दा सपनाले छुट्टै राय लेखे पनि ती नियुक्तिलाई सदर गर्ने न्यायाधीशहरूसँगै आफूलाई उभ्याइन् । आलोचकहरूले यसलाई कार्यपालिकाप्रतिको झुकाव भनेका थिए ।
‘संसदीय सुनुवाइ छलेर गरिएको नियुक्ति र अध्यादेशको दुरुपयोग रोक्ने अवसर अदालतलाई थियो,’ सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश बलराम केसी भन्छन्, ‘सर्वोच्चले त्यस्तो अवसर गुमायो ।’
सपना भने यस्तो व्याख्यालाई अस्वीकार गर्छिन् । ‘मैले कानुनअनुसार देखेको तर्क प्रस्तुत गरेकी हुँ,’ उनले भनिन्, ‘इजलासका प्रत्येक न्यायाधीशले आफ्नो मत स्वतन्त्र रूपमा राख्न सक्छन्, मैले त्यही गरेकी हुँ ।’
नाबालिग बलात्कार अभियोग खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको विदेश जान नपाउनेलगायतका सर्त हटाइदिने आदेश फागुन २०७९ मा उनीसहितको इजलासले गर्दा पनि व्यापक विरोध भएको थियो । पछि लामिछानेलाई उच्च अदालतले सफाइ दियो ।
आफ्नो विश्वास र आफूअगाडि आएका मुद्दाबीचको सन्तुलन न्यायाधीशले कसरी गर्छन् भनेर सोधिएको प्रश्नमा सपना भन्छिन्, ‘कुनै पनि मुद्दामा दुई पक्ष हुन्छन् । दुवै जित्न सक्दैनन् । हार्ने पक्ष असन्तुष्ट हुन्छ, आलोचना आउँछ । मैले त्यसै रूपमा लिने गरेकी छु ।’
मुद्दा, अभियान र आलोचनाभन्दा पर उनको जीवनमा अर्को शान्त लय पनि छ ।
सर्वोच्च अदालतस्थित उनको कार्यकक्ष फूल र साना बिरुवाका गमलाले भरिएको छ । उनी गल्फ खेल्छिन् । जिम जान्छिन् । समय मिल्दा घरमा पकाउँछिन् । दसैंतिहारमा गाउँ फर्किन्छिन्, परिवार र आफन्तसँग बस्छिन् । सहकर्मीहरू उनको साडीको विशेष प्रशंसा गर्छन् । उनी स्वयं भन्छिन्, ‘साडीले फरक आत्मविश्वास दिन्छ ।’
न्यायाधीश भए पनि आफू यही समाजकी सदस्य रहेको उनको भनाइ छ । ‘कसैकी श्रीमती, कसैकी छोरी, कसैकी बुहारी । ती भूमिका पनि सफलतापूर्वक निभाउने प्रयास गर्छु,’ उनी भन्छिन् ।
उनको नाम त्यस्तो सपनाका रूपमा राखिएको थियो, जुन वास्तवमा अरू कसैको निराशा थियो । उनले आफ्नो जीवन त्यही भेदलाई अप्रासंगिक बनाउँदै बिताइन् । अहिले उनी नेपाली संवैधानिक कानुनको औपचारिक भाषामा कायममुकायम प्रधानन्यायाधीश हुन् । कायममुकायम शब्दले अस्थायी भन्ने अर्थ दिन्छ । तर सपनालाई थाहा छ, उनले बोकिरहेको जिम्मेवारी भने त्यस्तो होइन ।







