फेसनलाई भाषा बनाउँदै कृति : पुतलीका लुगादेखि ग्लोबल रनवेसम्म

ब्रान्ड 'कृति' मार्फत, मैनालीले परम्परागत हस्तकला र समकालीन डिजाइनलाई समिश्रण गर्छिन् ।

वैशाख ५, २०८३

स्कन्द स्वाँर

Making fashion a language: From doll clothes to global runways

What you should know

काठमाडौँ — फेसनबारे कुरा गर्दा फेसन डिजाइनर कृति मैनालीमा एक प्रकारको आत्मविश्वास झल्किरहने गर्छ । आफ्नो पेसा र कलालाई नजिकबाट बुझेकी कृतिको मान्यता छ, ‘म लुगा मात्र डिजाइन गर्दिनँ । बरु यस्ता पहिरनहरू बनाउँछु, जसमा अर्थ, भावना र पहिचान लुकेको हुन्छ ।’

लक्जरी फेसन लेबल 'कृति'की संस्थापक हुन् उनी । उसो त कृतिलाई कहिल्यै पनि फेसन सजावट मात्र रहेन । उनका निम्ति त यो एउटा भाषा थियो । यही विश्वासले उनलाई काठमाडौंबाट टाइम्स स्क्वायरको 'सोनी हल' हुँदै पेरिस फेसन वीकको ऐतिहासिक मञ्चसम्म पुर्‍यायो । विश्वव्यापी फेसन परिदृश्यमा दक्षिण एसियाली आवाज र आप्रवासी कथाहरूका लागि ठाउँ बिस्तारै बन्दै गइरहेको बेला मैनाली कसैले निम्तो देला र ठाउँ पाउँला भनेर पर्खिरहेकी छैनन् । उनी आफैँ आफ्नो सिर्जनामार्फत त्यो मञ्चमा सशक्त उपस्थित जनाइरहेकी छन् ।

नेपालमा हुर्किएकी मैनालीको बाल्यकाल दक्षिण एसियाली कपडा, रेशमको कोमलता, कढाई (एम्ब्रोइडरी) को बुट्टा र एउटै दुपट्टाले पूरै पहिरनको आकर्षण बदल्न सक्ने जादुमयी वातावरणमा बित्यो । डिजाइनसँगको उनको सामीप्य घरका सानातिना सरसामानबाटै सुरु भएको थियो । बाल्यकालमा उनी पुराना कुर्थाका टुक्राहरू जोडेर आफ्ना खेलौना पुतलीहरूका लागि राम्रा लुगा सिउँथिन् ।

अमेरिका पलायन भएपछि मैनालीको जीवन दुई सांस्कृतिक संसारको बीचमा अघि बढ्यो । अन्य पहिलो पुस्ताका आप्रवासीहरू जस्तै उनले पनि सुरुमा स्थिरताका लागि कर्पोरेट बाटो रोजिन् र त्यहीँ आफ्नो महत्त्वाकांक्षालाई अघि बढाइन् । तर, उनीभित्रको रचनात्मक भोक कहिल्यै मेटिएन । विभिन्न देशको भ्रमणले उनको सोचलाई तिखार्दै लग्यो । उनले भ्रमण गरेका हरेक देश, देखेका स्मारक र अनुभव गरेका लोककलाहरू उनको डिजाइनको भाषा बन्दै गए । जुन उनको कर्पोरेट जीवनसँगै शान्त रूपमा विकसित भइरहेको थियो । मनैदेखि उनी अझै पनि आफूलाई यात्रा, इतिहास र संस्कृतिप्रति आकर्षित त्यही सानी केटीका रूपमा देख्छिन् ।

Making fashion a language: From doll clothes to global runways

उनको कलेक्सन नेपाली प्रतीक र शिल्पमा आधारित छ । यसमा पूर्वी नेपालका पहाडहरूमा हाते तानमा बुनिएका ढाका कपडा र हिमालयबाट प्रेरित कढाईका कामहरू छन् । मिथिला कलाका मिहिन रेखाहरू र पौराणिक कथाहरूलाई उनले आधुनिक फेसनमा ढालेकी छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँस मोती र क्रिस्टलका बुट्टाहरूसँगै चोलीहरूमा फुलेका देखिन्छन् । बौद्धनाथ स्तूप र बुद्धका आँखाहरूलाई काठको प्यानलमा हातले कोरेर पहिरनमा उतारिएको छ । उनको डिजाइनमा रहेका हरेक संकेतका आफ्नै गहिरा अर्थ छन्, जसलाई मैनालीले विश्वव्यापी रूपमा बुझ्न सकिने गरी प्रस्तुत गर्छिन् ।

ती प्रतीकहरू केवल सजावटका लागि मात्र होइनन् । भन्छिन्, ‘म ती प्रतीकहरूलाई आधुनिक र विलासी डिजाइनको भाषामा यसरी ढाल्छु कि जुनसुकै पृष्ठभूमिबाट आएका मानिसले पनि त्यसलाई आत्मसात् गर्न सकुन्।’ मैनालीको कलाको विशेषता नै हो-  कुनै विशेष कुरालाई विश्वव्यापी रूपमा प्रिय बनाउनु । 

'कृति' कलेक्सनका हरेक पिसहरू नेपाल र भारतका दक्ष कालीगढहरूले तयार पार्छन्, जसमा धेरैजसो महिलाहरू छन् जो यही शिल्पमार्फत आफ्नो परिवार धानिरहेका छन् । मोती, सितारा, क्रिस्टल र हातले बुनिएका बुट्टाहरूमा ती मानिसहरूको धैर्य झल्किन्छ, जसले गुणस्तर समयसँगै आउँछ भन्ने बुझेका छन् ।

हरेक डिजाइनरको जीवनमा यस्तो एउटा मोड आउँछ, जसले सबै थोक बदलिदिन्छ । मैनालीका लागि त्यो मोड दुबई थियो । 'इमिरेट्स फेसन वीक' मा उनले प्रस्तुत गरेको कलेक्सन उनको करियरको ठूलो सफलता बन्यो । 'पाम आइल्याण्ड' बाट प्रेरित र आनी फेसन एलएलसी सँगको सहकार्यमा तयार पारिएको त्यो कलेक्सनले दुबईका चर्चित भवनहरूको वास्तुकलालाई झल्काउँथ्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट उनले तत्कालै प्रतिक्रिया पाइन् ।

त्यो अवसरलाई मैनालीले गुम्न दिइनन् । दुबईको कलेक्सनले के प्रमाणित गर्‍यो भने, कुनै पनि स्थान र कथालाई पहिरनमा ढाल्ने उनको क्षमता नेपाली परिवेशमा मात्र सीमित छै । यो सफलता संयोग मात्र थिएन । यो त वर्षौंदेखिको मिहिनेत, आफ्ना देशका कालीगढहरूसँगको निरन्तर समन्वय र एक्लै सबै व्यवस्थापन सम्हाल्दै सिकेको अनुभवको परिणाम थियो । ‘हरेक कुराका लागि धैर्य र समन्वयको खाँचो पर्ने रहेछ, मैले यसैबाट सिक्दै र हुर्किँदै आएँ ,’ उनी सम्झिन्छन् ।

सन् २०२६ को सुरुवातमै मैनालीले न्युयोर्क फेसन वीकको 'रनवे ७' मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरिन् । टाइम्स स्क्वायरको सोनी हलमा १६ देशका ८५ डिजाइनरहरूका बीच उनले 'हेरिटेज अफ नेपाल' शीर्षकको १० वटा पहिरन प्रदर्शन गरिन् । स्वयम्भूका आँखाहरू, हिमालयका दृश्यहरू र पृष्ठभूमिमा गुञ्जिरहेको परम्परागत नेपाली संगीतसँगै सगरमाथाको डिजिटल दृश्यले दर्शकलाई एउटा छुट्टै संसारमा पुर्‍याएको थियो । त्यो केवल लुगाको प्रदर्शनी थिएन, बरु एउटा सांस्कृतिक सन्देश थियो ।

मैनालीका लागि त्यो क्षण व्यक्तिगत उपलब्धि मात्र थिएन । यस्तो ठूलो मञ्चमा पुग्ने थोरै नेपाली डिजाइनरमध्ये एक हुनुको अर्थ आफ्नो पहिचान र उपस्थितिको बलियो प्रमाण दिनु पनि थियो । ‘जब म त्यो स्तरमा पुगेँ, म मेरो आफ्नै कथाबाट सुरुवात गर्न चाहन्थेँ,’ उनी भन्छिन् ।

Making fashion a language: From doll clothes to global runways

न्युयोर्कको सफलतापछि उनलाई पेरिसको 'इन्फिनिटी फेसन शो २०२६’ मा निम्तो गरियो, जसले विश्व फेसन बजारमा उनको स्थान अझ सुरक्षित बनायो । न्युयोर्कदेखि पेरिससम्मको यो यात्रा एउटा करियर मात्र होइन, यो त ऐतिहासिक रूपमा उपेक्षित आप्रवासी समुदायले आफ्नो आवाज बुलन्द गरेको कथा हो ।

यसबाहेक, 'मिस नेपाल नर्थ अमेरिका' २०२३ र २०२४ मा उनको मुख्य सृजनात्मक भूमिकाले नेपाली सौन्दर्य र शिल्पलाई नयाँ पुस्ता र अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन ठूलो मद्दत गरेको छ ।

मैनालीको कामको सुरुवात यात्रा, इतिहास वा मनमा गढेको कुनै एउटा बिम्बबाट हुन्छ । त्यसपछि कपडाको छनोट, कढाईको विधि र कालीगढहरूको चयन सुरु हुन्छ । उनी चाहन्छिन् कि मानिसले लुगाको ट्याग पढ्नुअघि नै त्यसले बोकेको कथा बुझुन् ।

‘म चाहन्छु कि मानिसहरूले डिजाइन हेरेरै त्यसको कथा बुझुन्,’ उनी स्पष्ट पार्छिन्, ‘बिना कुनै व्याख्या, उनीहरूले केही न केही महसुस गरुन्- चाहे त्यो कौतूहल होस्, भावना होस् वा प्रशंसा। यो मौन संवाद मेरो लागि धेरै महत्त्वपूर्ण छ ।’

यही कारण परम्परा र नवीनताबीच सन्तुलन मिलाउनु उनका लागि चुनौती होइन, बरु एउटा सिर्जनात्मक अवसर हो । उनी आफूले प्रयोग गर्ने परम्पराप्रति सचेत र सम्मानित छिन्, तर त्यसलाई नयाँ उचाइमा पुर्‍याउन डराउँदिनन् । 'कृति' ले सिजनसँगै फेरिने ट्रेन्डभन्दा पनि कहिल्यै पुरानो नहुने कथा सिर्जना गरिरहेको छ । नेपालका कालीगढ, भूदृश्य र प्रतीकहरू नै यसका कालजयी आधार हुन् ।

भविष्यलाई कल्पँदै उनी भन्छिन्, ‘म मेरा डिजाइनहरू केवल दृश्यका रूपमा होइन, भावनात्मक रूपमा पनि उत्कृष्ट बनुन् भन्ने चाहन्छु । फेसन कति शक्तिशाली र अभिव्यक्तिपूर्ण हुन सक्छ भन्ने म देखाउन चाहन्छु।’

स्कन्द स्वाँर काठमाडौं पोस्टकी संवाददाता हुन् ।

Link copied successfully