समुद्री सतहदेखि करिब साढे ३ हजार मिटर उचाइमा अवस्थित चाररातेमा हरेक नेपाली नयाँ वर्षमा चौंरी महोत्सव आयोजना हुँदै आएको छ ।
पाँचथर —
छिनमै घाम, छिनमै कुहिरो । मानवबस्तीबाट निकै टाढाको लेक, जहाँ सयौं चौंरी चरिरहेका छन् । अनि चौंरीका घाँटीमा झुन्ड्याइएको घोड्केको टाङटाङ र टुङटुङ ध्वनि । पाँचथरको फालेलुङ–४ चाररातेको यही भूमिमा नयाँ वर्ष मनाउन भन्दै घाम, हुस्सु, कुहिरो र वर्षासँग पैंठेजोरी खेलेर सोमबार सयौं पर्यटक पुगे ।
हिमाली भूभागमा आयोजित चौंरी पर्यटन महोत्सवमा यस वर्ष प्रतिकूल मौसमकै बीच पनि अपेक्षाभन्दा बढी भीड लाग्यो । दमक झापाका निमेष वैद्य र सुनसरी धरानका सुधन राई देशका विभिन्न स्थानबाट आएका ६५ बुलेट राइडर्सका साथ नयाँ वर्ष मनाउन त्यही महोत्सवमा पुगे । उनीहरूको उद्देश्य महोत्सवमा सहभागी भएर रंगविरंगी चौंरीसँगै यहाँको हरियो चौर र उत्तरमा देखिने सुन्दर हिमाल अवलोकन गर्नु थियो ।
नेपाली बुलेट राइडर्स आबद्ध ‘बुलेट ग्याङ’मा आबद्ध सुधन र निमेषको समूहमा पोखरा, हेटौंडा, सिन्धुली, धरान र बुटवलसम्मका युवा छन्, जो चौंरी हेर्न आइपुगेका हुन् । भारतको सिक्किमस्थित गान्तोकका अनिश चाम्लिङ पनि ४० वटा बुलेट बाइकको समूहमा यहाँ आइपुगे । ३० चैतमा फालेलुङ आइपुगेका नेपाल र भारतका राइडर्स १ वैशाखमा फालौट र चारराते क्षेत्र घुम्दै भोलिपल्ट फर्किए ।
भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको चारराते पुग्नु साहसिक यात्रा हो । हिउँ परेर भर्खर पग्लँदै गरेको चिप्लो बाटोमा लड्दै पड्दै पुग्न साँच्चिकै साहस बटुल्न पर्छ । ‘पहाडी र हिमाली बाटो पार गर्न चानचुने रहेनछ । कति ठाउँमा हिउँ नै बाँकी थियो, कतै हिलै थियो । कति पटक जानै सकिन्न कि भन्ने पनि भयो । तर हामी हिम्मत जुटाएर आयौं,’ वैद्यले भने ।
समुद्री सतहदेखि करिब ३ हजार ४ सय ५० मिटर उचाइमा अवस्थित यो भूभागमा नेपाली नयाँ वर्षको छेको पारेर आयोजना गरिने चौंरी महोत्सवले हजारौं पर्यटक तान्ने गरेको छ । यो वर्ष ३० चैतदेखि २ वैशाखसम्म महोत्सव आयोजना गरिएको थियो । यो नवौं महोत्सव हो । ‘हुस्सु, कुहिरो र वर्षासँग पैंठेजोरी खेल्दै उच्च पहाडमा आइपुग्नु आफैंमा एउटा साहसिक यात्रा थियो । बाटो साँघुरो कच्ची सडक पार गर्दै यहाँ पुग्दा स्वर्ग टेकेझैं अनुभूति भयो,’ बुलेट ग्याङका अर्का राइडर सुधन राईले भने ।
मौसमको प्रतिकूलताले घुमन्तेहरूको उत्साह रोकिएको देखिदैनथ्यो । चिसो हावा र हुस्सुबीच पर्यटकहरू चौंरीसँग नजिकिएर तस्बिर खिच्न, याक चढेर रमाउन र महोत्सवस्थलमा राखिएका चौंरीजन्य उत्पादनका स्टल घुम्न व्यस्त भएको पोखराका निस्कल क्षेत्रीले सुनाए । ‘यो ठाउँमा यो वर्ष चैत अन्तिम सातासम्म हिउँ पर्यो, हिमाली क्षेत्रसम्म पुग्ने सडक अप्ठेरो थियो भने मौसम राम्ररी नखुल्दा नयाँ वर्षको बिहानसम्म चौंरी हेर्न कति मान्छे आउलान् भन्ने अन्योल थियो । यत्तिका प्रतिकूल अवस्थासँग जुध्दै गत वर्षभन्दा झन्डै दोब्बर पर्यटक आइपुगे,’ चौंरीपालक चन्द्रलाल नेपालले भने ।
चारराते पुग्न पाँचथर सदरमुकाम फिदिमदेखि झन्डै ६० किलोमिटर यात्रा गर्नुपर्छ । फिदिमदेखि बरभन्ज्याङ नजिकसम्म कालोपत्र गरिए पनि बाँकी सडक कच्ची छ । साँघुरा मोड, उकालो–ओरालो र दुईतर्फी सवारी पास हुन नसक्ने गरीको साँघुरो सडकको यात्रा आफैंमा जोखिमपूर्ण पनि छ । तथापि यो वर्ष विगतका तुलनामा दोब्बर बढी आन्तरिक र बाह्य पर्यटक यहाँ आइपुगेको चौंरी महोत्सवको प्रवर्द्धक संस्था फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए ।
उनका अनुसार चौंरी र चौंरीपालक किसान घटेपछि २०७४ देखि यहाँ चौंरी पर्यटन महोत्सव आयोजना गर्न थालिएको हो । महोत्सव थालिएपछि चौंरी र चौंरीपालक किसानको संख्या बढ्नुका साथै चौंरीजन्य वस्तुको प्रवर्द्धनमा समेत टेवा पुगेको छ । फालेलुङका अगुवा चौंरीपालक रामचन्द्र गुरुङका अनुसार महोत्सव आयोजना सुरु हुनुअघि यहाँ १८ वटा मात्रै चौंरीगोठ थिए । अहिले ३१ पुगेको छ । त्यतिबेला २ सय हाराहारीमा रहेका चौंरीको संख्या ६ सय नाघेको छ भने यहाँ उत्पादन भएको घिउ र छुर्पीको निर्यात बढेको छ ।
‘पहिले चौंरीको दूधबाट घिउ र छुर्पी मात्रै बनाउँथ्यौं, अहिले चीज पनि उत्पादन हुन थालेको छ । महोत्सव आयोजना गर्न थालिएपछि प्रदेश र संघीय सरकारका अनुदान गोठसम्म आइपुग्न थाले । चौंरीपालकलाई भारत र भुटानका विभिन्न स्थानमा अवलोकन भ्रमण गर्ने अवसर प्राप्त भयो । नश्ल सुधारका लागि भुटान सरकारले दुईवटा याक उपहार दिएको छ । बर्सेनि आयोजना हुने महोत्सवमा हजारौं मानिस आइपुग्छन् । नेपाल र भारतसहित विभिन्न मुलुकबाट विश्वविद्यालयका अनुसन्धानकर्ता चौंरीको अध्ययन गर्न यहाँ आइपुग्न थालेका छन् । यो हाम्रा लागि गर्वको विषय हो,’ गुरुङ भन्छन् । फालेलुङ गाउँपालिका मुख्य प्रवर्द्धक रहेको यो महोत्सव स्थानीय चौंरीपालकहरूले नै आयोजना गर्दै आएका छन् ।
