वर्ल्ड म्याराथन मेजर्सका पारखीहरू

टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिन जस्ता विश्वका प्रिमियम म्याराथनमा दौडिने नेपालीको संख्या बाक्लिँदो छ, त्यसको तयारीमा दौडिँदा रिङरोडको २७ किलोमिटर दूरी पनि उनीहरूलाई छोटो लाग्दछ ।

चैत्र २७, २०८२

विनोद पाण्डे

Connoisseurs of the World Marathon Majors

What you should know

काठमाडौँ — कार्गो व्यापारी सञ्जीव अर्याल एकाबिहानै काठमाडौंको पानीपोखरीबाट महाराजगन्जतिरै आफ्नै वेगमा दौडिँदै थिए । तीव्र गतिमा दौडिँदै आएका रामकृष्ण महर्जन ठोक्किन पुगे । यी दुईबीचको दौडने उद्देश्य भने बिलकुलै फरक थियो । सञ्जीव तौल घटाउन दौडिन्थे भने रामकृष्णले आफ्नो ५ दशकयताको दौडलाई निरन्तरता दिइरहेका थिए ।

नौ वर्षअघिको त्यो भेटयता उनीहरूको महाराजगन्ज हुँदै चाबहिल दौडिएर जाने रुट अहिले पनि कायमै छ । अहिले दुवैको दौड लय पनि एउटै छ । भलै त्यसमा समयको अन्तर मात्र फरक होला । पहिला तौल घटाउन दौडिने सञ्जीवलाई अहिले म्याराथनको समय घटाउन हतारो हुन्छ । ‘हिजोका दिनमा मलाई कटअफ टाइममा दौड पूरा गर्न सक्दिनँ कि भन्ने भय हुन्थ्यो, अहिले हरेक म्याराथनमा आफ्नो टाइमिङ सुधार आइरहेको छ,’ सञ्जीवले भने । उमेरले ७० वर्ष लागिसकेका रामकृष्ण भने उस्तै लयमा दौडिन्छन् । उनले आफूलाई बुढ्यौलीले छोएको कुनै छनक दिँदैनन् ।

सञ्जीव र रामकृष्णसहित शम्भुप्रसाद दाहाल, सुशीलकुमार श्रेष्ठ, धर्म महर्जनको यो समूह, विश्वका प्रमुख म्याराथनहरूमा दौडन पुग्छ । जापानको टोकियो, इंग्ल्यान्डको लन्डन, अमेरिकाको बोस्टन, सिकागो, न्युयोर्क, जर्मनीको बर्लिन म्याराथन विश्वका प्रमुख म्याराथनमा पर्छ । यसलाई ‘वर्ल्ड म्याराथन मेजर्स’ भनिन्छ । गत वर्षदेखि यो इलिट सूचीमा सिड्नी म्याराथन पनि थपिएको छ । यही वर्ष हुने केपटाउन आठौं प्रमुख म्याराथनमा पर्नेछ भने अर्को वर्ष यो सूचीमा सांघाई म्याराथन पनि थपिनेछ ।

सिड्नी, केपटाउन, सांघाई थपिए पनि टोकियो, लन्डन, बोस्टन, सिकागो, न्युयोर्क र बर्लिनलाई ‘गोल्डेन सिक्स’ म्याराथन पनि भनिन्छ । एक हिसाबले टेनिसको ‘ग्रान्ड स्लाम’ जस्तै । रामकृष्ण र सिप्रदीका पूर्वप्रमुख कार्यकारी अधिकृत शम्भुले ‘गोल्डेन सिक्स’ म्याराथन दौडिसकेका छन् भने सञ्जीवले ५ तथा सुशील र धर्मले विश्वका चार प्रमुख म्याराथनको दौड पूरा गरिसकेका छन् । उनीहरू पनि ‘गोल्डेन सिक्स’ मा दौडिएर म्याराथन तीर्थयात्रा पूरा गर्ने दाउमा छन् । विदेशमा बस्दै आएका नेपालीहरू अशोककुमार चापागाईं, प्रतीक गौचन, खोपबहादुर गुरुङ, स्वरूपा खड्का, पाण्डव महतो, पुनम राई, सन्तोष राई र राजेश श्रेष्ठले ‘गोल्डेन सिक्स’ म्याराथन पूरा गरिसकेका छन् भने इन्दिरा चापागाईं, युवराज खनाल, काजीमान लिम्बू र डेबिड मेन्डिस ५ वटा म्याराथनमा सहभागी भइसकेका छन् ।

बोस्टन म्याराथनमा ‘इन्ट्री’ नपाउँदा उनीहरूको ‘गोल्डेन सिक्स’ म्याराथन दौड पूरा हुन सकेको छैन । सबै एउटा तथ्यसँग अवगत छन्, ‘बोस्टन म्याराथनमा दौडिने स्वीकृति पाउन सजिलो छैन,’ बोस्टनमा छनोट हुन नसकिने भएपछि सञ्जीवले त्यसका लागि अरू तरिका अपनाइरहेका छन् । धर्मले बोस्टनमा आफ्नो पाइला लम्काइसके पनि सिकागो र न्युयोर्क म्याराथन दौडिन पाएका छैनन् । यसको कथा अर्कै छ । सामान्य मान्छेले विश्वको प्रमुख म्याराथनमा दौडिन ‘बालोट’ मा आफ्नो दर्ता गराउँछन् । यो भनेको चिट्ठाजस्तै हो, परेन भने वर्ल्ड म्याराथन मेजर्स टुर प्याकेज किन्नुपर्छ, त्यो पनि नपरे च्यारिटीमा चन्दा दिएर दौडन पाइन्छ । सञ्जीवले टोकियो म्याराथन च्यारिटीमै दौडिएका थिए । ‘लन्डन म्याराथनका लागि आवेदन दिने संख्या १४–१५ लाख हुन्छ, बालोटबाट १९–२० हजार जतिको नाम निस्किएपछि ५० हजार जति दौडिन्छन् । बालोटमा नपर्नेहरू १०–१२ वर्षदेखि निरन्तर यही प्रक्रियामा रहेको मैले भेटेको छु,’ सञ्जीव भन्छन्, ‘एउटा म्याराथनको दर्ता शुल्क नै २ सय ५० डलरसम्म तिर्नुपर्छ ।’

सञ्जीव र रामकृष्णसहित शम्भु, सुशील, धर्म यही मे तेस्रो साता हुने केपटाउन म्याराथनको तयारीमा छन् । उनीहरूको तयारी जोडतोडमा चलिरहेछ । ४२.१९५ किलोमिटर म्याराथन दौडिने बानी परेकाले उनीहरूलाई अभ्यासका लागि २७ किलोमिटरको काठमाडौं रिङरोडको दूरी छोटो लाग्छ । त्यसपछि उनीहरू बागमती अनि धोबीखोला करिडोरतिर लाग्छन् । उनीहरूको ट्रेनिङ तालिकाअनुसार सातामा दुई दिन ३० किमिभन्दा बढी दौडिनुपर्छ । दौडबाटै विश्व परिक्रमा लगाएजस्तै गरिरहँदा उनीहरूमा सौख, इच्छा, अठोट, लगाव प्रस्ट झल्कन्छ । स्रोत पनि आफैंले जुटाउनुपर्छ । एउटा विश्व म्याराथन दौडिँदा ५ लाख हाराहारी खर्च हुन्छ ।

यीमध्ये अधिकांशको एउटै सपना छ, नेपालमा पनि एउटा ‘प्रिमियर’ म्याराथन होस् । तर नेपालको दौडहरूमा आममान्छेको चासो देख्दैनन् रामकृष्ण । सञ्जीव नेपालको म्याराथनमा ट्राफिक व्यवस्थापन नै नमिलेको जनाउँछन् । विदेशमा दौडिँदा जहाँ म्याराथन हुन्छ, त्यहाँका दर्शकले आफ्नो सहरमा हुने म्याराथनको अपनत्व लिने शम्भुको बुझाइ छ । जापान म्याराथन अलिक साँघुरोखाले छ तर त्यहाँका मान्छेको नरमपन र नियमप्रतिको प्रतिबद्धताले उनी प्रभावित छन् । उनको आफ्नो ‘सिक्स स्टार्स’ पनि टोकियो म्याराथन नै थियो । ‘रोड रेस भनेपछि आयोजना हुने दिन सवारीसाधन पूर्ण रूपमा बन्द गर्नुपर्छ, नेपालको म्याराथनमा दौडिँदा हामीले त्यो अनुभव गर्न पाएका छैनौं,’ शम्भु मान्छन्, ‘हामीलाई प्रिमियम म्याराथन आयोजना गर्दा आर्थिक पाटो ठूलो चुनौती हुन्छ तर खाली सडकमा खेलाडी दौडाउन सक्नु अहिलेको चुनौती हो ।’

विश्वका चर्चित म्याराथन प्रतियोगिता र नेपालमा हुने दौडमा सुशील ठूलो भिन्नता देख्छन् । ‘शनिबार इभेन्ट आयोजना हुँदा पनि यहाँ मान्छे होइन, गाडीहरू दौडिएको हुन्छ, कतिखेर गाडीले हान्देला भन्ने डर हुन्छ । शीर्ष ३ मा पर्नेलाई स्कटिङ हुन्छ, त्यसपछि अरूलाई खासै मतलब गरेको पाइँदैन । तर बाहिर ७–८ घण्टा कटअफ टाइम तोकिएको अवधिमा कुनै गाडी गुड्दैनन्, बाटो सबै बन्द गरेर खेलाडीलाई दौडाएको हुन्छ,’ सुशील सुनाउँछन्, ‘पूरा सहरभर महोत्सव जस्तो माहोल हुन्छ, उभिने ठाउँ हुँदैन । जुनै खेलाडीलाई पनि दर्शकले हौस्याइरहेका हुन्छन् । नेपालमा चाहिँ पोखरा म्याराथनमा मात्र खेलाडीलाई अलिक हौस्याउने गरेको देख्छु ।’

समाजलाई चुनौती दिँदै रामकृष्ण

रामकृष्ण महर्जनले आफ्नै आँखा अगाडि दौडमा ठूलो परिवर्तन देखेका छन् । जतिखेर उनी एउटा खेलाडीका रूपमा थिए, ‘आर्मीको गोटीवाला हरियो जुत्ता’ लगाएर दौडिन्थे । अहिले बिहान दौडिँदा उनी देख्छन्, मान्छेहरू २–३ सय डलर पर्ने महँगा ब्रान्डेड जुत्ता र गगल्समा दौडिरहेका । धेरैले यसलाई समयसँगैको परिवर्तन भनेका छन् तर रामकृष्ण यसलाई दौडसँगको प्रेम ठान्छन् । सञ्जीव पनि मान्छन्, कोभिड–१९ यता दौडिनेको संख्या धेरै बढेको छ । रामकृष्णले अभ्यास टुटाएका छैनन्, त्यसैले अहिले पनि दौडिँदा उनमा केही समस्या देखिएको छैन । समय र स्वास्थ्यले साथ दिएसम्म दौडिरहने उनी सुनाउँछन् ।

Connoisseurs of the World Marathon Majors

सन् २००२ मा मलेसियन ओपन मास्टर्स च्याम्पियनसिप खेलेयता रामकृष्ण विश्वका म्याराथनहरूमा खोजी–खोजी पुग्छन् । त्यसयता उनले विदेशमै २५ म्याराथन दौडिसकेका छन् । बैंकक, फ्रान्सको लियो, अस्ट्रेलियाको गोल्डकोस्ट, न्युजिल्यान्ड, क्यानडादेखि भेनिसका म्याराथन उनले दौडिसके । ‘गोल्डेन सिक्स’ मा दौडिसकेकाले उनी फेरि त्यता फर्किन चाहँदैनन् । दौडिनका लागि उनले विदेशमा नयाँ गन्तव्य खोजिरहेका छन् । २००८ मा बोस्टनबाट उनले ‘गोल्डेन सिक्स’ म्याराथनको सुरुआत गरेका थिए । २०२३ मा लन्डन म्याराथन दौडिएपछि उनको यो चक्र पूरा भएको थियो ।

काठमाडौंको सोह्रखुट्टेमा परम्परागत नेवारी रेस्टुरेन्ट ‘हारती’ चलाइरहेका उनी हत्तपत्त बाहिरको खाना खाँदैनन् । यो उमेरमा पनि एउट लयमा दौडिन सक्नुको कारण सोध्दा उनी यही उदाहरण दिन्छन् । खानेकुरामा धेरै मिसावट भएकाले दिनको एक घण्टा अभ्यास गरेर दौडिनु उचित हुने उनको सुझाव छ । ४० वर्ष लागेपछि ‘यो त बूढो भयो भन्ने’ नेपाली समाजमा रहेको थेगोलाई चुनौती दिन उनी दौडिरहेका छन् । तर यसमा केही समस्या देखिएको जनाउँदै उनी भन्छन्, ‘४० वर्ष लागेपछि थप स्वस्थ हुन जरुरी छ, त्यसका लागि दौडिनु आवश्यक छ । तर यहाँ ओपन प्रतियोगिता मात्र हुन्छ, ४० वर्षमाथिका लागि खासै प्रतियोगिता नै छैन, भेट्रान इभेन्टहरू समावेश गर्‍यो भने त्यसले त्यो दौडको रौनक बढाउँछ ।’

उनी विगततर्फ फर्किन्छन्, ‘हामी जतिखेर दौडिन्थ्यौं, त्यतिखेर यसलाई लिएर नकारात्मक टिप्पणी धेरै सुनिन्थ्यो । समस्याहरू पनि उस्तै थियो । दौडिए पनि राम्रो नजरले हेर्दैनथे । ५० वर्ष पहिलाको त्यो जमानामा खेलेरै केही गर्नुपर्छ भन्ने अठोट लिएर म दौडिरहें ।’ २०२४ मा उनका मामा कृषि कार्यक्रमका लागि रुस गएका थिए । उनलाई पनि रुस जाने इच्छा जाग्नु स्वाभाविक थियो । त्यसपछि उनमा विश्व घुम्नुपर्छ भन्ने रहर जाग्यो । खेलकुदबाटै यो सम्भव हुन्छ भन्ने उनले बुझे । संयोगले उनी पहिलो पटक खेलाडीका रूपमा दौडिन रुस नै पुगे । त्यो प्रतियोगिता थियो, सन् १९८१ को इन्टरनेसनल युथ ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप । नेपाली टोलीमा उनीसँगै ५ जना थिए । १५ सय मिटर दौड उनले ४ मिनेट १९ सेकेन्डमा पूरा गरे । मध्यम दूरीबाट म्याराथनमा उक्लन उनलाई धेरै समय लागेन । उनीसँग २०३५ मा झापाको भद्रपुरमा राष्ट्रिय एथलेटिक्स प्रतियोगिता खेलेको समेत अनुभव छ । त्यसपछि दार्जिलिङ ओपन खेले, यसले उनलाई हौसला बढायो । त्यसपछि भने उनी बाहिर गएर दौडिन हौसिए । उनी दौड प्रतियोगिताहरूमा शीर्ष तीनभित्र परिरहन्थे र पुरस्कार पाइरहन्थे ।

‘फन रनर’ सञ्जीव

४५ वर्षे सञ्जीव अर्याल ‘फन रनर’ का रूपमा आफूलाई चिनाउँछन् । दौडप्रतिको लगावसँगै देश–विदेश पनि घुम्न पाइने भएकाले उनमा धावक बन्ने धुन सवार भयो । ‘मेरो शारीरिक तौल बढिरहेको थियो, स्वास्थ्यका हिसाबले दौडिन सुरु गर्दा बाटोमा रामकृष्णलाई भेटें, त्यसपछि मेरो दौड निरन्तर छ,’ सञ्जीवले भने । फन रनर भएकाले आफूलाई नतिजामुखी प्रदर्शनमा दबाब नरहेको बताउँछन् । सातामा ८० घण्टासम्म दौडिएर उनी म्याराथनका लागि तयार हुन्छन् । त्यसमा दुई दिन गति बढाउन दशरथ रंगशालामा गएर दौडिन्छन् ।

Connoisseurs of the World Marathon Majors

विश्वका प्रमुख म्याराथनमा दौडिन नेपालीका लागि धेरै चुनौती रहेको उनको भोगाइ छ । यसमा भिसाको समस्या प्रमुख हो । जतिखेर म्याराथन हुन्छ, त्यतिखेर त्यहाँका होटलहरू महँगा हुन्छन् । आफन्त, नेपालीहरू खोज्दै उनीहरूकहाँ बसेर खर्च घटाउने गरेको सञ्जीव सुनाउँछन् । उनी आफूले सुरु गर्दा दौडिने मान्छे खासै भेट्दैनथे । तर अहिले नेपालमा दौडमा नयाँ मान्छेहरू देखिएका छन्, त्यसमा धेरै युवा छन् । रनिङ क्लबहरू खुलेका छन् । धेरै चासो बढेको छ । यसले आफूलाई झन् दौडिन प्रेरित गरेको छ । उनले सन् २०१७ मा दौडिन सुरु गरेका थिए, ज्यान घटाउन । उनी रामकृष्णलाई दाइ भन्छन् । उनीसँगै दौडिन पाएकामा सञ्जीव आफूलाई भाग्यमानी ठान्छन् । भन्छन्, ‘हामी जस्तो मान्छेलाई सँगै लिएर दौडिनुहुन्छ, स्किल खासै मिलेको हुँदैन । त्यही पनि पानी पिलाउँदै हाम्लाई दौडाइरहनुहुन्छ । बाटोमा भेटेको २–३ महिनामा दाइले हामीलाई रिङरोड नै कुदाइदिनुभयो ।’

कोभिडपछि दौडिएका सुशील

सिभिल इन्जिनियर ४६ वर्षे सुशीलकुमार श्रेष्ठले पुर्खाले चलाउँदै आएको निर्माण व्यवसायमा संलग्न छन् । ‘ए’ श्रेणीको कम्पनीबाट उनी सडक, पुल, भवन, हाइड्रो निर्माणमा सक्रिय छन् । महाकालीको ४ लेनका पुल उनकै कम्पनीले बनाएको हो । स्कुल, कलेज जीवनमा उनलाई खेलकुदप्रति ठूलो लगाव थियो । उनी बास्केटबल, फुटबल, जिम्न्यास्टिक खेल्थे । धनगढी प्रिमियर लिगमा उनले महेन्द्रनगर युनाइटेडको फ्रेन्चाइज स्वामित्व लिएका थिए । ‘दौडिनचाहिँ मैले कोभिड–१९ पछि सुरु गरें । कोभिड महामारीले सम्भवतः स्वास्थ्यबारे सबैलाई सचेत गराएको थियो । स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने हिसाबले दौडिनेको संख्या बढेको छ,’ सुशीलले भने, ‘कोभिडमा फुर्सद पनि धेरै भएकाले विकल्प हेर्दै जाँदा दौड अगाडि आयो । त्यसरी सुरु भएको दौड अहिले नशाजस्तै भएको छ । म्याराथनको नशाले धेरैलाई छोपेको देखेको थिएँ, त्यो नशाले मलाई पनि छाडेन । वर्षाका कारण कुनै दिन दौडिन पाएन भने पूरा दिन नै खल्लो लाग्छ ।’ बिहान ५ बजे उठेपछि ‘दौड नै जीवन हो,’ भन्दै उनको दौड दैनिकी सुरु हुन्छ । सामान्य वर्षाले उनलाई रोक्न सक्दैन, ठूलै वर्षा भएमा घरभित्रै ‘ट्रेड मिल’ को सहारा लिन्छन् ।

Connoisseurs of the World Marathon Majors

खेलकुदको रस पहिलादेखि नै लागेको हुनाले उनलाई सुरुमा दौडिन खासै गाह्रो भएन । सुरुमा उनी रिङरोडमा दौडिरहन्थे, एक जना दाइले उनलाई कान्तिपुर हाफ म्याराथनमा दौडिन सुझाए । दौडिन सुरु गरेपछि उनले २०२१ यता लगातार ५ वर्ष कान्तिपुर हाफ म्याराथन दौडिसकेका छन् । यसपालि बोस्टन जानुपर्ने हुनाले उनी कान्तिपुरमा हुने छैनन् । आफ्नो पहिलो दौड कान्तिपुर भएकाले उनलाई यसमा छुट्टै लगाव छ । गत वर्षको पोखरा म्याराथन उनको पहिलो थियो, रहरको हिसाबमा दौडिए । पोखरामा ३ घण्टा ८ मिनेटको समय निकालेका थिए । पहिलो म्याराथन र आफ्नो उमेर समूहमा यो समय राम्रो भएको ‘टाइमिङ’ हेरेपछि मात्र उनले थाहा पाए ।

साथीभाइसँग दौडिन लागेपछि उनले ‘वर्ल्ड म्याराथन मेजर्स’ हुन्छ भन्ने थाहा पाए । गत वर्ष उनले लन्डन, बर्लिन र न्युयोर्क म्याराथन दौडिए । आठ मेजर्स म्याराथन दौडिने रहर छ उनमा । पहिलो वर्षमै उनले ४५–५० उमेर समूहमा राम्रो समय निकालिरहेका छन् । बर्लिनमा उनले २ घण्टा ४८ मिनेटको समय निकालेका थिए । ‘लन्डन म्याराथन ३ घण्टा ६ मिनेटमा पूरा गरे । त्यसपछि राम्रो टाइमिङका कारण बोस्टन र सिकागोका लागि छनोट भएँ,’ उनले भने, ‘बर्लिनकै नतिजाले केपटाउनमा आफ्नो उमेर समूहको विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मौका पाएको छु ।’ यस वर्ष उनले चार मेजर्स म्याराथनमा आफ्नो नाम दर्ता गरिसकेका छन् । त्यसो भएपछि उनको ८ मध्ये ७ पूरा हुन्छ । मार्च २०२७ मा टोकियो म्याराथन दौडिने योजना बुनिरहेका छन् । त्यसका लागि अगस्टमा खुल्ने दर्ता प्रक्रिया पर्खेर बसेका छन् । अर्को वर्ष सांघाई खुलेपछि त्यसमा पनि दौडिएर सबै ९ प्रमुख दौड पूरा गर्ने उनले अठोट पनि सुनाए । ‘त्यसपछि फेरि त्यही दौडिनुपर्छ भन्ने अनिवार्यता भएन, २–४ वर्षमा यसो फुर्सद मिलाएर जाने विचार छ, वर्षमा कम्तीमा एउटा म्याराथनचाहिँ दौडिन्छु होला,’ सुशील भन्छन् ।

यो वर्ष पोखरामा उनी ४५ वर्षमाथिको इभेन्टमा दोस्रो भएका थिए, २ घण्टा ५८ मिनेटका साथमा । बोस्टनको तयारीको हिसाबमा दौडिएका उनी सोचेभन्दा राम्रो नतिजा आएपछि झनै उत्साही भए । आर्मीका पूर्वखेलाडी रेवत दाहाल २ घण्टा ५७ मिनेटसहित पहिलो भए । काठमाडौं म्याराथनसमेत जितेका रेवतसँगको रस्साकसी दौडपछि डेढ वर्षअघि मात्र म्याराथनमा आएर दोस्रो हुन पाउँदा सुशील हौसिनु स्वाभाविक थियो ।

‘यो उमेरमा दौड सुरु गरेकाले चोटको जोखिम पनि निकै हुन्छ । जसले जे भने पनि जति नै जोस देखाए पनि हड्डीहरू बूढो भइसकेका छन् । केहीले ४–५ घण्टामा म्याराथन पूरा गर्ने गरे पनि उनी ३ घण्टाभित्र पूरा गर्ने गरी दौडिने मजस्ता धावकलाई उच्च चोटको जोखिम हुन्छ ।’ एंकल र घुँडा दुख्ने भइरहन्छ तर उनी दौडिन छाड्दैनन् । कहिलेकाहीँ त्यो रिकभर हुन १–२ महिना नै लाग्छ । तर उनले दौड छाडेका छैनन् । म्याराथन नभए पनि जिन्दगीभर दौडिरहने उनको अठोट छ ।

टाईदेखि हरियो टिसर्टसम्म

शम्भु दाहाल सिप्रदी ग्रुपमा सन् १९९२ देखि अहिलेसम्म आबद्ध छन् । २०१६ मा प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएपछि अहिले निर्देशकका रूपमा कार्यरत छन् । संखुवासभाबाट २०३४ मा एसएलएसी पूरा गरेपछि उनी कलेज पढ्न काठमाडौं आए । ‘तर काठमाडौंको खानेकुरा पच्दै पचेन, जहिले पेट दुख्ने भइरह्यो । एक आफन्तले दौडिन सुझाव दिए । स्कुल पढ्दा पनि म खेतको आलीआली दौडिन्थें,’ शम्भुले भने, ‘तर दौडिनका लागि मैले कुनै प्रतियोगिता नै भेटिनँ । दौडिँदै मीनभवन क्याम्पस पुग्थें, दौडिँदै फर्किन्थें । कलेजका सरहरू मलाई धावक भन्थे ।’ २०३७ मा भारत पढ्न गएपछि उनले दौड चटक्कै छाडे ।

Connoisseurs of the World Marathon Majors

अवकाशको दुई वर्षपछि २०१८ यता उनी फेरि दौडिन लागे । योगा गरिरहे पनि कर्पोरेटको थकाइपूर्ण कामपछि उनले फेरि दौड सम्झिए । भारतको टाटा समूहका प्रमुख नटराजन चन्द्रशेखरन म्याराथन दौडिरहने खबर मिडियाबाट पाए । त्यसले ४० वर्ष पहिला आफूले पनि दौडिने गरेको याद आयो । त्यसपछि जसरी पनि दौडिनुपर्छ भन्ने अडान आत्माभित्र छिरेजस्तो भयो । शम्भु सुरुदेखि नै केही फरक काम गरौं भन्ने स्वभावका थिए । त्यसो भए मात्र अरूले नोटिस गर्छन् भन्ने उनलाई लाग्यो । जसले केही गर्न पनि सकिने र इज्जत पनि हुने उनको बुझाइ थियो ।

तर ४० वर्षपछि खुट्टा तन्काउँदा उनलाई छोटो दूरीमै दौडिन गाह्रो भयो । ‘मलाई म्याराथन नै दौडिनु थियो किनभने कर्पोरेट क्षेत्रबाट टाटाका प्रमुख चन्द्रशेखरनले दौडिएर उदाहरण प्रस्तुत गरेका थिए । चन्द्रशेखरन अझै पनि बिहान ४ बजे उठेर दौडिरहेको खबर पढिरहेको छु,’ शम्भुले भने, ‘कर्पोरेट लाइफ सुरु गर्नुअघि १५ किलोमिटरसम्म दौडिएको थिएँ । तर चन्द्रशेखरनले म्याराथन दौडिएको खबर पाएदेखि मलाई मध्यम दूरी त दौड नै हो जस्तो लागेन ।’

२०१८ मा उनले पहिलो पटक काठमाडौं हाफ म्याराथन दौडिए । उनलाई निकै गाह्रो भयो । धन्न २ घण्टा १२ मिनेट जतिमा पूरा गरे । यो दुई वर्षसम्म चलिरह्यो । उनी जता दौडिए पनि मोटरसाइकलमा पानी र केरा लिएर आउने उनको एउटा साथी थियो । एथलेटिक्सका किताबहरू पढेर, पडकास्ट सुनेर उनले आफ्नो दौडको लय मिलाउने प्रयास गरिरहेका थिए । ‘२०२२ मा एभरेस्ट म्याराथनमा ९ घण्टा बढी समय लगाएँ, विभिन्न कठिनाइहरू छन्, त्यही भएर त्यो एभरेस्ट म्याराथन हो,’ शम्भुले एभरेस्ट म्याराथनमा दौडिँदाको रोमाञ्चक अनुभव सुनाए, ‘एभरेस्ट म्याराथनमा हाफ म्याराथन गर्ने २० प्रतिशत पनि हुँदैनन्, सबैको ध्यान फुल म्याराथनमै छ । किनभने त्यो चुनौतीले फुल म्याराथनमा आकर्षित गर्छ । बेसक्याम्पबाट लुक्लासम्म जाँदा मैले यो गरें भनेर जुन अनुभव बटुलिन्छ, त्यसले पूर्ण सन्तुष्टि दिन्छ ।’

उनले ४९ किलोमिटरको जुम्ला–रारा अल्ट्रा म्याराथन १२ घण्टा ५० मिनेट समय लगाएर दौडिए । बिहान ७ बजे सुरु भएको दौड बेलुका ८ बजे टुंगिएको थियो । जुम्लाको दौडमा बाटोमा दौडिँदा रोटी, उसिनेको आलु भेटिन्थ्यो, त्यही खाँदै दौडिए । काठमाडौं म्याराथन, पोखरा म्याराथन पनि दौडिए । पोखरामा ४ घण्टा ५२ मिनेटको समय लगाए ।

त्यसपछि उनलाई मुम्बई म्याराथन दौडिन मन लाग्यो । तर उनले त्यहाँ दौडिन नपाउने भए । त्यसमा भाग लिन यसअघि दौडिएको म्याराथनको समय मागेपछि उनले पोखराको टाइमिङ हाले । उनले भने, ‘नेपालका म्याराथनहरूलाई अन्तर्राष्ट्रिय मान्यता नहुने रहेछ भनेर मैले त्यतिखेर थाहा पाएँ ।’ कर्पोरेट लिंकसहित अनेक भनसुन गरेर उनले च्यारिटीमार्फत मुम्बई म्याराथनको १० किलोमिटरमा दौडिए । तर म्याराथन विधामा नपाएकाले दौडिने तलतल मेटिएन ।’ शम्भुले २०२३ मा लन्डन म्याराथनमा नाम लेखाए । नेपाल रन यूकेमा आबद्ध भएकाले उनलाई लन्डन म्याराथनमा च्यारिटीबाट नाम लेखाउन केही सहज भयो । ५ घण्टा ११ मिनेटमा दौड पूरा गरे ।

मुम्बईको ‘कटअफ टाइम’ ६ घण्टाको थियो, अब त देला नि दौडिन भन्नेमा उनी थिए । तर यही क्रममा उनको कानमा ‘सिक्स स्टार्स’ को खबर आइपुग्यो । साथीहरूले उनलाई बर्लिन म्याराथनमा सहभागी गराउन सहयोगी भूमिका खेलिदिए । ३२ किलोमिटरपछि उनको खुट्टा दुखेर निकै गाह्रो भयो । उनलाई दौड पूरा गर्न ५ घण्टा २३ मिनेट लाग्यो । ‘टाइमिङलाई लिएर मैले टाउकामा हात राखें । मैले त्यसपछि रनिङको प्रशिक्षण शैली परिवर्तन गरें,’ आफूले दौडेको म्याराथनमा टाइमिङको सुधार आउनुको कारण दिँदै उनले भने, ‘अमेरिकन प्रशिक्षक फ्लोरिस गिइरमनको पुस्तक पढ्न लागें । ४ सय डलर तिरेर उनको पडकास्टको आजीवन सदस्यता लिएर अनलाइन प्रशिक्षणबाट सोहीअनुरूप आफूलाई परिमार्जित गरें ।’ यसको प्रभाव न्युयोर्क म्याराथनमा देखियो, उनले ४ घण्टा ४४ मिनेटको समय निकाले । सिकागोको समय ४ घण्टा ३३ मिनेटमा झर्‍यो । दिमागको पावरले काम गरेको जस्तो भयो उनलाई । म्याराथन भनेको आफ्नो ‘सीमा’ परीक्षण गर्ने हो भन्ने पत्ता लगाए । ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने उद्देश्यसहित उनी सिकागोमा सहभागी थिए । दौड पूरा गर्नु अलिकति अगाडि मात्र उनले घडी हेरेका थिए, त्यसमा ४ घण्टा २९ मिनेट देखाइएको थियो । ‘जति घडी हेर्‍यो, उति दबाब हुन्छ भनेर मैले हेर्दै हेरिनँ । पेस हेरें, हार्ट रेट मात्र हेरेर दौडिएको थिएँ,’ उनले सुनाए, ‘घडी हेरेपछि मलाई अचम्मै लाग्यो, मोटिभेसनल स्पिकरले भनेको सुनेको थिएँ, दिमागको पावर हुन्छ भनेर त्यो साक्षात्कार गर्ने अवसर पाएँ, मेरो जीवन पनि यसरी नै चलिरहेको छ ।’

जनवरीमा मुम्बई उनी ‘सिक्स स्टार्स’ लिएर नभई ७ स्टार लिएर गएका थिए र ४ घण्टा ६ मिनेटमा दौड पूरा गरे । केपटाउन शम्भुको आठौं मेजर्स म्याराथन हुनेछ । अफ्रिका जाने कुनै रुट नै पर्दैनथ्यो होला । उनी मान्छन्, दौडले उनलाई त्यहाँ पुर्‍याउँदै छ । कान्तिपुर हाफ म्याराथन उनी गत वर्ष दौडिएका थिए, यो वर्ष पनि दौडँदै छन् । ‘फुल म्याराथन गर्नेलाई हाफ म्याराथन केही जस्तो लाग्दैन, हामी ३२ किलोमिटरसम्म वार्मअपका रूपमा लिन्छौं, वास्तविक दौड अन्तिम १० किलोमिटर हो, त्यही भएर हामीलाई २१ किलोमिटर वार्मअप नै भयो,’ शम्भु भन्छन्, ‘भूतप्रेत जे जसले हान्छ, अन्तिम १० किलोमिटरमै हान्ने हो, त्यसैले म्याराथनको मजा बेग्लै छ ।’

‘कर्पोरेट टाई’ ले कस्सिएको उनको घाँटी अहिले हरियो टिसर्टले खुकुलो भएको छ । दौडका कारण ६० वर्ष लागेपछि उनलाई आफ्नो जीवन अर्कैतिर मोडिएको अनुभवसमेत भएको छ । दौड भनेको श्वासमा ध्यान गरेर दौडिँदा उडेजस्तो अनुभूति हुने र त्यसको मज्जा अरूसँग तुलना नहुने शम्भु बताउँछन् । बिहान एकछाक मात्र खाना खान्छन् उनी, त्यसमा भात कमै पर्छ । ६४ वर्षको उमेरमा उनी प्रशिक्षणका क्रममा ‘हेक्स लिफ्ट बार’ बाट ८६ केजी भार उठाउँछन् । एक समय पेटले सताइएका उनी अहिले म्याराथनका कारण रुघा पनि नलाग्ने भएको जनाउँछन् ।

काठमाडौंमा एउटा प्रिमियम म्याराथन गर्ने उनको पनि चाहना थियो, जहाँ उनी आफैं आबद्ध हुन चाहन्थे । तर त्यो कल्पना मात्र भयो । ‘नेपालमा दौडको गज्जब माहोल बनेको छ, आयोजकहरूलाई स्रोतको कमी छ । मैले पनि एउटा मान्यता प्राप्त स्टान्डर्डको अन्तर्राष्ट्रिय दौड आयोजना गर्न प्रारम्भिक खाका तयार पारेको थिएँ तर त्यो निरन्तर हुन्छ कि हुँदैन भन्ने अन्योल रहेपछि छाडिदिएँ,’ उनले भने, ‘४ करोड जति खर्च लाग्न सक्छ, आयोजनाकै पाटो महाभारत जस्तै रहेछ । प्रायोजनकै पाटोमा ठूलो चुनौती छ, सरकारको सहयोग कुनै दौडमा देखिँदैन जबकि टोकियो म्याराथन सफल बनाउन प्रधानमन्त्री लागिरहेका हुन्छन्, हाम्रोमा त्यो माहोल अझै आउन बाँकी छ । काठमाडौंमा म्याराथन आयोजना गर्न चुनौती पक्कै छ तर यो अन्य म्याराथन हेरी सबैभन्दा सस्तो हुन्छ । यसले खेल पर्यटनमार्फत देशलाई ठूलो टेवा दिन्छ ।’

‘सिक्स स्टार्स’ को पर्खाइमा धर्म

सन् २०१५ देखि अन्तर्राष्ट्रिय म्याराथन दौडिन लागेका हुन् ५३ वर्षे धर्म महर्जन । उनको ध्यान मेजर्स म्याराथनमा बढी छ । उनी २०१९ मा बोस्टनमा दौडिए । त्यसपछि बर्लिन र लन्डन म्याराथनको अनुभव बटुले । चौथो मेजर्स उनको टोकियो म्याराथन रह्यो । अहिले केपटाउन म्याराथनमा ५० माथिको उमेर समूहमा दौडिने तयारी गरिरहेका छन् । सिकागो र न्युयोर्क दौडिन नपाउँदा उनको ‘सिक्स स्टार्स’ पूरा हुन सकेको छैन ।

Connoisseurs of the World Marathon Majors

सिकागोको एउटा बडेमान भवनमा ठूलो डिजिटल पोस्टर रहेछ । त्यो देखेर धर्मका साथीले रुँदै उनलाई फोन गरेछन् । सिकागो म्याराथन दौडिन आउँदै छ भनेर स्टार खेलाडीको फोटोसहितको पोस्टरमा धर्म पनि रहेछन् । उनका साथीले भावुक हुँदै फोन गरेपछि नेपालमा रहेका धर्मले यसबारे थाहा पाए । २०२२ मा लन्डन म्याराथनबाट सिकागो जाने र त्यहाँबाट न्युयोर्क म्याराथन दौडिने तालिका थियो । यसपछि उनको मेजर्स म्याराथन पूरा हुन्थ्यो । ‘तर मलाई अध्यागमनले सिकागो एयरपोर्टमै रोकिदियो । बोस्टन म्याराथन दौडिएपछि म ४–५ महिना थप साथीकहाँ बसेर त्यहीं बसेर प्रशिक्षण गरेको थिएँ । यही कारण होला, मलाई पुनः अमेरिका छिर्न दिइएन,’ धर्मले भने, ‘एक महिनाको अन्तरमा मेरो सिकागो र न्युयोर्क म्याराथन दौडिने तालिका थियो, मसँग २५ सय अमेरिकी डलर थियो । अध्यागमनले त्यति रकमले एक महिना खान र बस्न नपुग्ने भन्दै मलाई रोकिदियो ।’

‘इन्ट्री लिएर, खेलेर, फर्किएर नआउन्जेल नेपालीलाई धेरै गाह्रो छ । हामीले यो समस्या भोग्दै आएका छौं । नेपालीलाई चुनौती नै चुनौती छ, म यही चुनौतीलाई दौडेरै जितिरहेको छु,’ धर्म सुनाउँछन्, ‘अर्काको देखासिकी नगरी आफ्नै लयमा दौडिरहेको छु । मेजर्स म्याराथनमा गएर देशलाई चिनाउन सकिन्छ कि भनेर दौडिरहन मन लाग्छ । जीवन नटुंगिएसम्म दौड जारी राख्नेछु ।’

भारतमा उनी सबैखाले दौडमा सहभागिता जनाउँछन्, ५ किमि दौडदेखि म्याराथनसम्म । ५० माथिको उमेर समूहमा उनी मुम्बई म्याराथन दुई पटक विजेता बनेका छन् । उनको ‘टाइमिङ’ २ घण्टा ५० मिनेटमुनि छ । उनले टाटा स्लाममा तेस्रो स्थान हात पारेका छन् । टीसीएस वर्ल्ड १० किलोमिटर बेंगलुरु, मेदान्ता हाफ म्याराथन दिल्ली, टाटा स्टिल वर्ल्ड २५ किमि कोलकाता र मुम्बई म्याराथन यस स्लामभित्र पर्दछ । एकै वर्षमा यो सबै चार दौड पूरा गर्नेलाई स्लाम भनिन्छ, जहाँ सबै मिनेट जोडेर विजेता घोषणा गरिन्छ । उनी यो स्लाम पूरा गर्ने नेपालको पहिलो भएको दाबी गर्छन् । पछिल्लो दुई वर्षदेखि भारतमा दौडिरहेका उनी त्यहाँको पुरस्कार रकमले पुगिरहेको सुनाउँछन् । भारतमा दौडँदाको एक क्षण स्मरण गर्दै उनले भने, ‘मैले धेरै जित्ने हुनाले नेपालबाट धर्म आएको छ, दौडका लागि बाटो छाडिदेऊ भन्छन् ।’

नेपालमा पनि आफ्नो समूहको अधिकांशमा विजेता बन्ने गरेकाले उनी आफूलाई ‘भेट्रानको हिरो हुँ’ भन्दै परिचय दिन्छन् । एभरेस्ट म्याराथनदेखि जुम्ला, काठमाडौं, लुम्बिनी, पोखरा, नेपालगन्ज म्याराथन सबै दौडिएका छन् । तर धेरैमा भेट्रान नसमेटिएकामा उनी गुनासो गर्छन् । जबकि विदेशमा खेल्दाको अनुभव उनले भेट्रान भन्ने नै सुनेका छैनन् । ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७०, ७०–७५ वर्ष उमेर समूहमा खेलाडीहरू खेल्ने उनले पाएका छन् ।

सानैदेखि घरको जिम्मेवारी लिएको हुनाले दौड अलिक ढिला सुरु गरेको उनी सुनाउँछन् । दौड सुरु गर्दा उनी ४० वर्षका थिए । जितबहादुर केसी, वैकुण्ठ मानन्धरका बारेमा उनले सानैदेखि सुनेका थिए तर घरको जिम्मेवारीले उनलाई दौडमा खुल्न दिएको थिएन । कीर्तिपुरको बाघभैरव मन्दिरमा भदौ १ मा जात्रा हुने गर्छ । त्यो दिन मन्दिरलाई १ सय ८ फन्का लगाउनुपर्छ । मन्दिरको क्षेत्रफल सानो भए पनि उनी दौडिएर फन्को लगाउँथे । यसैले उनलाई दौडन सिकाएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully