प्रतिष्ठित फिल्म महोत्सव 'कान्स'मा नेपाली फिल्मको यात्रा

विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिचर फिल्म कसरी छनोटमा पर्‍यो भनेर बुझ्नुअघि यो फिल्मका निर्माता र निर्देशकको संघर्षको लामो यात्रा र निर्माण कथा बुझ्नुपर्छ ।

चैत्र २७, २०८२

रीना मोक्तान

Nepali film's journey to the prestigious film festival 'Cannes'

What you should know

काठमाडौँ — 'हाम्रो फिल्म युसीआरमा सेलेक्ट भयो नि,' फ्रान्सका निर्माताले यस्तो मेसेज लेख्दा निर्देशक अविनाश विक्रम शाह अक्क न बक्क भए । फिल्म 'एलिफेन्ट्स इन द फग'मा साउन्डको काम बाँकी थियो । उनी त्यसमै व्यस्त थिए । ब्राजिल र फ्रान्सका निर्मातासहित साउन्ड डिजाइनरसँग अनलाइनमा छलफल गरिरहेकै बेला फ्रान्सका निर्माताले त्यस्तो मेसेज समूहमा पठाए । युसीआर ? एक छिनपछि मात्र थाहा पाए युसीआर अर्थात- अन सर्टेन रिगार्ड । 

विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्सको 'अन सर्टेन रिगार्ड' विधातर्फ आफ्नो डेब्यु फिचर फिल्म छनोट हुँदा अविनाविक्रश शाह खुसीले गद्‌गद् छन् । सन् २०२२ मै उनले यो सपना देखेका थिए । सर्ट फिल्म 'लोरी'ले कान्समा स्पेसल मेन्सन पाउँदा अविनाले आफैँसँग प्रण गरेका थिए - 'अर्को पालि फिचर फिल्म लिएर आउँछु ।' संसारको सबैभन्दा ठूलो महोत्सवमा छनोट हुन पाउनु नै कस्तो ठूलो कुरा भइसक्यो । पहिलो फिचर फिल्म नै छनोट हुँदा खुसी लाग्दो रहेछ,' अविनाशले सुनाए ।

अविनाशका अनुसार 'एलिफेन्ट्स इन द फग' बन्न पाँच वर्ष लाग्यो । फिल्म निर्माणको यो यात्राका हरेक चरण अविनाशका लागि खास थियो । 'फिल्मको कथा लेख्दै एक्लै भएर लेखेँ । प्रोडक्सनमा जानेबित्तिकै भीडम भीड । पोस्ट प्रोडक्सनमा फेरि एक्लै । सुटिङको त्यो अनुभव, एक किसिमको रोलरकोस्टर अनुभव भयो,' शाह सुनाउँछन् । सन् २०२२ मा 'लोरी'बाट स्पेसल मेन्सन पाए पनि फिचर फिल्म कान्सले छनोट गर्ला/नगर्ला भन्ने डर थियो । कान्सकै क्रिटिक्स विकले फिल्म माग्यो, त्यहाँ पनि फिल्म पठाइदिए । अफिसियल छनोट होला/नहोला, खुलदुली थियो । फिल्म पठाएको केही सातामै नतिजा इमेलमा आइपुग्यो । निर्माता अनुप पौडेलले पनि अनलाइनमा 'पिचिङ'को कक्षा लिइरहेकै बेला कान्सको खबर पाएका रहेछन् । इमेल पाउनेबित्तिकै केही नभनेर अनलाइन कक्षा बन्द गरिदिए । अनि एकछिन सोचे – के यो वास्तविक हो ? अनि कक्षा चाँडो-चाँडो बन्द गरेर एक्लै 'सेलिब्रेट' गरेको निर्माता पौडेल सुनाउँछन् । 'सायद यही सोचेर यो प्रोजेक्ट गरेको थिएँ । प्रड्युसरका रूपमा फिल्मलाई यहाँसम्म पुर्‍याएँ भन्ने कुराले खुसी मिलेको छ,' पौडेल सुनाउँछन् । 

कथा -तिनीहरूको 

हेटौंडामा मृत फेला परेकी पारलैङ्गिक महिलाको खबर, कतै पढेका थिए अविनाशले । त्यो बीभत्स हत्याले उनमा एउटा प्रश्न जन्मियो, 'किन यस्तो हिंसा ?' त्यसैमाथि सर्ट फिल्म बनाउने सोचे । अनुसन्धान गर्दा ती समुदायकहाँ पुगे । त्यसपछि झल्याँस्स भए- यो कन्सेप्ट त सर्ट फिल्ममा अट्दै अट्दैन । त्यसपछि नै हो, अविनाशले फिचर फिल्म बनाउने सोचेको ।

'एलिफेन्ट्स इन द फग'मा एउटा यस्तो परिवारको कथा छ, जहाँ आमा र छोरीको सम्बन्ध देखाइएको छ । अविनाशका अनुसार यो परिवारमा एउटा यस्तो लिडर छन्, जसलाई सबैले आमा सम्बोधन गर्छन् । त्यही आमाका चार छोरी छन् । एक दिन एउटी छोरी हराउँछिन् । फिल्मको कथा त्यही छोरी खोज्ने आमाको कथा हो ।

'उनीहरू सबै आ-आफ्नो घर र समाजबाट निकालिएकाहरू थिए । फरक ठाउँ, वर्गबाट आए पनि एउटा छुट्टै परिवार बनेर बसेका । त्यो त कति सुन्दर कुरा हो । यो फिल्म त्यही परिवारको आमाको कथा हो,' अविनाशले भने । 

Nepali film's journey to the prestigious film festival 'Cannes'

अविनाशले यसअघि पनि 'शाम्बाला'मा आमाकै कथा भनेका थिए । टेलिश्रृंखला 'सिंहदरबार'मै पनि देशको प्रधानमन्त्री महिला हुनुपर्छ भन्ने कथा लेखे । तर, यो पटकको आमाको कथा अलि फरक छ । परिवार फरक देखिन्छ, तर भाव एउटै । परिवारमा हुने कलह उस्तै । त्यसो भए तिनीहरू र मूलधारे समाजको परिवारमा केही भिन्नता नै छैन ।त्यसैले तिनीहरू पनि यही समाजका महत्त्वपूर्ण हिस्सा हुन् भनेर देखाउनु थियो अविनाशलाई ।

'मेनस्ट्रिम सोसाइटीकै वुमनहरुमा जे भाव छ, त्यही फिलिङ उनीहरूमा छ भन्ने कुरा सुन्दर लागेको थियो,' उनले भने । फिल्मको यो कथालाई अविनाशले तराई पुर्‍याएका छन् । हात्तीको आतंकले आक्रान्त बस्तीमा बस्ने परिवार अनि उनीहरूको कथा देखाएका छन् । कस्तो संयोग !  यौनिक तथा अल्पसंख्यक समुदायका मानिसलाई समाजले 'तिनीहरू' भन्छन् । त्यो समुदायले मूलधारे समाजलाई 'तिनीहरू' देख्छन् । अनि हात्तीलाई पनि 'तिनीहरू' भनिन्छ । यहीँबाट अविनाशको टिमले फिल्मको नेपाली शीर्षक टिपे- 'तिनीहरू' । हात्तीले दु:ख दिने त्यही वास्तविक ठाउँमै फिल्म खिचिएको हो ।

Nepali film's journey to the prestigious film festival 'Cannes'

अल्पसंख्यक समुदायको कथा भनिरहँदा, त्यो विषयमाथि 'विकासे प्रोजेक्ट'जस्तो फिल्म निर्माण गर्नु थिएन उनीहरूलाई । त्यसैले सुरुदेखि नै सचेत बने, अहिले फिल्म आफूले चाहेजस्तै बनेको अविनाश सुनाउँछन् । 'बाहिरबाट हेर्दा परिवारमा एकता, मेलमिलाप, प्रेम देखिन्छ । तर, त्योसँगै एउटा परिवारभित्र झैझगडा हुन्छ । त्यो समुदायको परिवारमा पनि त्यही हुन्छ, मूलधारे परिवारजस्तो,' अविनाशले भने, 'मैले फिल्मबाट भन्न खोज्ने कुरा नै यही हो । हामीभन्दा फरक होइन उनीहरू । हामी जे चाहन्छौँ, जे अनुभव गर्छौँ, जुन कुरा आवश्यक लाग्छ त्यही कुरा उनीहरूले पनि चाहने हो । केही रीति र संस्कारले फिल्मको कथा यो समुदायको हो भन्ने लागिरहे पनि फिल्म हेर्दा त्यो विषयभन्दा पनि आमा र छोरीको कथामा दर्शक भिज्नहुन्छ ।' 

कास्टिङ कथा 

पारलैङ्गिक समुदायको कथा भनिरहँदा समावेशीलाई आफूहरूले सुरुदेखि नै संवेदनशील भएर पक्रेको निर्माता पौडेल सुनाउँछन् । पारलैङ्गिक समुदायको कथा सुनाउन खोजिरहँदा, जहाँ पनि अविनाश र अनुपले देखेको एउटै कुरा हो । फरक वर्ग, भाषा, समुदायमा मानिस एउटै परिवारमा । भावनाले एक अर्कासँग जोडिएका, अनि एक अर्कालाई सजिलै बुझ्ने । त्यही मौलिकता समाउन उनीहरूले फरक वर्ग-समुदायका पारलैङ्गिक महिला खोजे ।

कास्टिङका लागि रंगकर्मी सुदाम सिकेबाट सहयोग लिए । मुख्य पात्र 'पिरती' खोज्न धेरै समय लाग्यो । 'खासमा पिरती पहिल्यै खोजिसकेका थियौँ । उहाँलाई देख्नेबित्तिकै मलाई पिरती जस्तो लागिसकेको थियो । तर, उहाँ त्यो रोलमा छिर्नु भएकै थिएन । त्यति बेला उहाँ होइन कि क्या हो भन्ने लाग्थ्यो,' अविनाश सम्झन्छन् । 

नील हीरा समाजसँग सहयोग माग्दै कलाकार खोज्ने काम भयो । यो फिल्ममा केही पात्र काठमाडौँबाट छन् । मुख्य कलाकारहरू कोही नवलपरासी, कोही वीरगन्जबाट । 'हामी कहाँदेखि कहाँसम्म गएनौँ होला । पूर्वदेखि पश्चिमसम्म गयौँ,' निर्माता पौडेलले भने । निर्माताको कुरा सक्न नपाउँदै निर्देशक शाहले थपे,'एकचोटि त, पहिला नेपालगन्जबाट सुर्खेत । फेरि चितवन हुँदै हेटौंडा । अनि हेडौंटाबाट वीरगन्ज अनि झापासम्म पुग्यौँ । रमाइलो भयो, घुम्न पाउने, मान्छेहरू भेट्न पाइने ।' 

वीरगन्जमा अर्की मुख्य पात्र भेट्दाको क्षण, निर्माता पौडेलले बिर्सेका छैनन् । उनीहरू नील हीरा समाजसँग सम्पर्क गरेर वीरगन्ज पुगे । त्यहाँ भएको समाजको अफिसका जम्मा भएका मानिसहरू भेटे । अफिसभन्दा बाहिरको पात्र पनि त्यहाँ आइपुगिन् । उनीहरूले उनैलाई कलाकारका रूपमा रोजे । समाजको अफिससम्म पहुँच नपुगेकै वर्गका पात्र समेटिएकोमा अनुप दंग छन् । 'हामीले सक्दो ट्रान्सवुमन भित्र पनि सबै वर्गका मानिसलाई समेट्यौँ । त्यसमाथि सीमान्तकृत र अल्पसंख्यकका कथा भएपछि समान सहभागिता नै खोज्यौँ । यो विकासे कुरा होइन, हाम्रो कास्टिङको प्रोसेस नै यस्तो थियो । फरक वर्ग र समुदायका प्रतिभा मिलेर फिल्ममा एकदम सुन्दर काम भएको छ,' अनुपले भने ।

यो फिल्मको मुख्य पात्रहरू कोही तामाङ छन्, कोही विश्वकर्मा। यादव अनि मुस्लिमलाई मुख्य पात्रका रूपमा छनोट गरिएको छ । फिल्ममा अविनाशले यही 'नन-एक्टर'लाई अभिनय गराएका छन् । यसका दुई कारण छन् । एउटा - अविनाश पहिल्यैदेखि 'नन-एक्टर'सँग काम गरे । अर्को त यी महिलालाई समावेश गर्दा त्यो समाजको मौलिकता आउने । 'एउटै समुदायको मानिस लिएँ भने त्यो अथेन्टिसिटी बोकी राख्ने जिम्मेवारी आफूले लिनु पर्दैन । ए यो मिल्दैन है, भनेर उनीहरूले भनिहाल्छन्,' अविनाशले भने, 'मेरो मेन एक्टर, पिरतीको नाम पुष्पा हो । उहाँले फिल्ममा राम्रो एक्टिङ गर्नुभएको छ ।' तर, 'नन-एक्टर'बाट कथा निकाल्न, वर्कशपले मात्रै पुग्दैन । अविनाशले पुष्पासँग २ वर्ष बिताए । उनी नवलपरासी गइरहन्थे । बिस्तारै पुष्पालाई पिरतीमा ढल्किन थालिन् । छायांकन सम्ममा त पुष्पा पिरती देखिन थालेकी थिइन् । 

फिल्मलाई 'ओरिजिनालिटी'को नजिक पुर्‍याउन पात्रहरूमा काम गर्ने मात्रै होइन । यही समुदायलाई फिल्ममा संलग्न गरिएको छ । फिल्मको एक सम्पादक ट्रान्स हुन् । यही समुदायका मानिसलाई सल्लाहकारका रूपमा लिए । 'हामीले यो समुदायको वर्षौँदेखिको संघर्षलाई नजिकबाट बुझ्न नसकौँला । तर, हाम्रो ठाउँबाट गर्न सकिने कुरा त उनीहरूको कथा भनिदिनु पनि होला,' निर्माता पौडेलले भने, 'यो फिल्म मेनस्ट्रिम नहोला, तर मेनस्ट्रिम भनेको के हो त ? जबसम्म माइनोरिटी आवाज आउँदैन फिल्ममा अथवा कुनै ठाउँमा तबसम्म देश बन्दैन । हामीले फिल्ममा मानवको कथा समेटेका छौँ ।' 

लेखनमै लामो समय, अनुदान पाउन 'को-प्रोडक्सन'

अविनाशले यो फिल्मको कथा लेखनमा ४ वर्षभन्दा लामो समय बिताए । ट्रिटमेन्ट लेख्नेबित्तिकै बुसानको 'एसियन प्रोजेक्ट मार्केट'मा पठाए । कोरोनाका कारण, अनलाइनबाट कथा 'पिच' गरे । त्यहीँ अवार्ड जिते । त्यसपछि स्लोभियाकिया 'राइटिङ रेसिडेन्सी' पप-अप पुग्यो । यसरी लेखनको आवासीय तालिम सुरु भयो ।  ग्लोबल मेडिया मेकर्स(जीएमएम) पुगे । ग्रीसको अक्सबेली ल्याबमा फिल्म छनोट भयो । सन्डान्सको डिरेक्सन ल्याबमा पुग्यो ।

'यो सबैले एउटा राम्रो सेप-अप गरायो । एउटा लोकल विषयलाई युनिभर्सल कसरी हुन्छ, युनिभर्सल अडियन्सले यसलाई कसरी लिन्छ भन्ने कुरा मुख्य सिकाइ बन्यो,' अविनाश सुनाउँछन् । अविनाशले विभिन्न ल्याबहरुमा पुगेर फिल्म लेखिरहँदा निर्माता पौडेल भने अन्य अन्तर्राष्ट्रिय निर्माता खोज्दै थिए । घरेलु निर्माताले मात्रै सम्भव नहुने भएपछि फ्रान्स, नर्वे, जर्मनी, ब्राजिलका निर्मातासामू पुगे । 'एउटा त ग्रान्टका लागि पुग्यौँ । अर्को त प्रोजेक्टको भिजिबिलिटी र मेन्टरसिपका लागि पुग्यौँ । फिल्म कत्तिको युनिभर्सल छ भन्ने थाहा पाउन, हामी फरक रेजिडेन्सी- ल्याबमा गयौं । हाम्रो स्टोरी युनिभर्सल होस् र हाम्रो मौलिकता नमरोस् भन्ने हाम्रो चाह थियो,' पौडेलले सुनाए । नेपालबाट प्रचण्डमान श्रेष्ठ, कुमिदिनी गुरुङ, प्रवेश गुरुङहरु जोडिए । 'हामीलाई विश्वास थियो हाम्रो प्रोजेक्टप्रति । तर, अरूलाई विश्वास गर्न अलि गाह्रो भयो । को-प्रोडक्सन चाँडै हुन्छ भन्ने प्रोजेक्ट मलाई थाहा छैन । दुई तीन वर्ष त लाग्छ नै । हाम्रोलाई चार/पाँच वर्ष लाग्यो ।' 

को-प्रोडक्सन सोचेजस्तो सहज हुँदैन । निश्चित रकम कुनै देशबाट लिएपछि त्यहीँका प्रतिभा केही प्रतिशत खर्चनुपर्छ । त्यसैले गर्दा यो फिल्ममा अवार्ड विजेता सिनिमेटोग्राफर, साउन्ड मिक्सर र सम्पादक जोडिए । फरक देशका फरक प्रतिभालाई एकै ठाउँ ल्याएर काम गराउने सास्ती भने अनुपले धेरै खेपेछन् । 'उनीहरूको खाने र बस्ने नै फरक । सुटिङमा सबैलाई मिलाएर राख्न चुनौती थियो,' अनुपले भने ।

उता अविनाशलाई अर्को चुनौती भयो । अब विदेश फिल्मकर्मीलाई फिल्ममा आबद्ध गराएपछि कथा-त्यहाँभित्रको समाज र चरित्रको गहिराइ बुझाउनु पर्‍यो । 'विदेशबाट आएका क्रुलाई यहाँको कल्चर बुझाउनमा समय गयो । फिल्म गर्नुभन्दा अगाडि उनीहरूले पहिला यहाँको ट्रान्सवुमनबारे थाहा पाउनु पर्‍यो,' अविनाशले सुनाए । उनी 'पिचिङ'मा सुनाए जसरी फिल्मभित्र देखाइएको समाज र पात्रहरूबारे उनीहरूलाई सुनाइदिन्थे ।

हाम्रो समाजले केही निश्चित नियम बनाएको छ । त्यसमा नअटाउनेहरू समाजबाट बहिष्कृत हुन्छन् । क्लासमा नपढ्ने विद्यार्थीलाईझैँ व्यवहार गरिन्छ । समाजको त्यही नियम र परिभाषामा नअटाइएकाहरुले मिलेर फेरि अर्को समाज बनाएको छ । जहाँ आफ्नै रीति र संस्कार उनीहरूले बनाएका छन् । त्यही समाजको कथा आफूहरूले भनिरहेको भन्दै अविनाशले विदेशीलाई कथाको गहिराइ पुर्‍याए ।

'उनीहरू अलि लाउड हुनु त म पनि छु है भनेर देखाइरहेको होला ? मेकअपले, त्यो सबै पहिरनले,' अविनाश सुनाउँछन्, 'उनीहरूको कथा भनिरहँदा म फिल्मकर्मीका हिसाबले होइन मानव भएरै पनि हुर्केको अनुभव भएको छ ।'

अविनाशलाई 'एलिफेन्ट्स इन द फग' हेरिसकेपछि अल्पसंख्यक समुदायको पात्रप्रति दर्शक 'विनम्र' भएको देख्न चाहन्छन् । 'फिल्मका क्यारेक्टरलाई अलिकति इम्पथाइज गरेर हेरोस् । उनीहरू पनि हामी जस्तै हो है भनेर बुझिदिउन् । धेरै केही चेन्ज पनि हुनु पर्दैन के, खालि त्यो एउटा सानो थट मात्र लिएर गए पनि म सफल हुनेछु,' अविनाशले भने ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully