नेपाली फिल्ममा एआई : अवसर कि सिर्जनशीलताको संकट ?

नेपाली फिल्महरूमा आजकल कन्सेप्टदेखि, पटकथा, प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनमात्र नभई पोस्टर डिजाइनिङ र मार्केटिङमा पनि एआई टुलको प्रयोग हुने गरेको छ ।

चैत्र २३, २०८२

समर्पण श्री

AI in Nepali Film: Opportunity or Crisis of Creativity?

What you should know

काठमाडौँ — पछिल्लो समय फिल्म क्षेत्रमा पनि एआईको प्रयोग बारे छलफल र बहसको विषय बनिरहेको छ । सिनेमाको सुरुवातदेखि रिलिजसम्मै एआईको सहयोग विश्वभर स्वाभाविक बनिरहेको छ । 

हलिउडमा त एआईको प्रयोग झन् नौलो कुरा रहेन । यसले असम्भव काम पनि पर्दामा सम्भव बनाइदिइरहेको छ । एउटा निकै चर्चित उदाहरण हो- फिल्म 'इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी' । फिल्ममा ८० वर्ष पुगिसकेका अभिनेता ह्‍यारिसन फोर्डलाई एआई प्रविधिको सहयोगले ४० वर्ष जतिको जवान देखाइएको छ । 

त्यस्तै, फिल्म 'टप गन: माभेरिक'मा घाँटीको क्यान्सरका कारण आवाज गुमाएका अभिनेता भ्याल किल्मरको पुरानै आवाज एआईमार्फत पुनः सिर्जना गरिएको थियो । हलिउडमा त यस्ता थुप्रै उदाहरण भए पनि नेपालमा चाहिँ यो स्तरको प्रयोग भइरहेको छैन । यद्यपि, नेपाली फिल्मकर्मीहरू पनि बिस्तारै एआईको सहयोगमा आश्रित हुन थालेका छन् । 

'अवतार' का निर्देशक जेम्स क्यामरुनले केही महिनाअघि मात्र 'एआई'लाई 'डरलाग्दो' बताएका थिए । 'स्टाबिलिटी एआई' कम्पनीका निर्देशकसमेत रहेका क्यामरुनले एआईबाट सीमित सिर्जनात्मक लाभ लिन नसकिने बताएका थिए । सीबीएस न्युजसँगको अन्तर्वार्तामा कम्प्युटरले कलाकार नै विस्थापित गरिरहेको उल्लेख गर्दै उनले भनेका थिए, 'म यो चाहन्नँ कि कम्प्युटरले त्यो काम गरोस्, जुन मैले कलाकारहरूसँग काम गर्दा गर्व गर्छु । म कलाकारहरू बदल्न चाहन्न । मलाई उनीहरूसँगै काम गर्न मन पर्छ ।'

गत वर्ष रिलिज भएको फिल्म 'छक्का पञ्जा ५' को एउटा दृश्यमा दीपकराज गिरीलाई तस्बिरमा तन्नेरी र आकर्षक देखाउनुपर्ने भयो । निर्देशक दीपाश्री निरौलाले यसका लागि मेकअपको साटो 'आर्टिफिसियल इन्टेलिजेन्स'(एआई)को सहारा लिइन् । तस्बिरमा गिरीलाई जवान देखाउन गरिएको त्यो प्रयत्नलाई निरौला नेपाली सिनेमामा प्रविधिको एउटा सानो तर अर्थपूर्ण कदम भएको बताउँछिन् ।

AI in Nepali Film: Opportunity or Crisis of Creativity?

नेपाली फिल्महरूमा आजकल कन्सेप्टदेखि, पटकथा, प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनमात्र नभई पोस्टर डिजाइनिङ र मार्केटिङमा पनि एआई टुलको प्रयोग हुन थालेको छ । छायांकनकै क्रममा रहेको वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’को प्रि-प्रोडक्सनमा पनि एआई टुलको प्रयोग भएको थियो । निर्देशक निरौलाले स्टोरी बोर्ड बनाउँदा एउटा जटिल सिन कस्तो देखिएला भनेर कल्पना गर्न एआईको सहयोग लिएका थिए ।

काल्पनिक दृश्यहरू, जस्तै : स्वर्गको चित्रण गर्न एआईले एउटा स्पष्ट खाका दिएको उनी बताउँछन् । ‘स्वर्ग कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन, सबैले अन्दाज गर्ने मात्र हो । तर, एआईसँग काम गर्दा उसले एउटा सीमाभित्र रहेर हामीलाई चित्तबुझ्ने खालको रिफरेन्स दियो । यसले गर्दा भीएफएक्सको टिमलाई बुझाउन धेरै सजिलो भयो,’ उनी भन्छन् । भीएफएक्समा पनि एआई प्रभावकारी भएको उनको अनुभव छ । ‘हामीले भनेको सर्ट र एआईले बुझ्ने भाषामा कहिलेकाहिँ तालमेल नमिल्न सक्छ तर रिफरेन्सका लागि भने यो निकै सहज छ,’ उनी भन्छन् ।

अहिले एआई अवसर मात्र हो कि सिर्जनशीलतासँगै रोजगारी गुम्ने चुनौती ? फिल्मकर्मीहरूमाँझ यो चासो र चिन्ताको विषय छ । निर्देशक नवीन सुब्बा विश्वव्यापी रूपमा एआईको प्रयोग व्यापक भइरहेको उदाहरण पेस गर्दै सुनाउँछन्, ‘हालै चीनमा एउटा सिरिजको काम गर्दागर्दै कलाकारले छोडेपछि एआईमार्फत् अर्को कलाकारको अनुहार 'स्वाइप' गरेर काम पूरा गरिएको थियो । अमेरिकामा भने अहिले यसको नैतिक उपयोग र सिर्जनशीलताका बारेमा ठूलो बहस भइरहेको छ ।’

सुब्बा आफैंले पनि पछिल्लो समय स्क्रिप्ट लेखनको क्रममा 'स्टिमुलेसन' का लागि एआई प्रयोग गरे । कुनै दृश्यलाई विभिन्न कोणबाट हेर्न खोज्दा एआईले दिने विकल्पहरूले नयाँ सोच फुर्न मद्दत गर्ने उनको अनुभव छ । ‘यद्यपि, ती विकल्पमध्ये कुन सही हो र कुन होइन भन्ने निर्णय गर्ने क्षमता चाहिँ स्वयं निर्देशकमा हुनुपर्छ,’ उनी भन्छन् ।

लेखक तथा निर्देशक विकास सुवेदी एआईलाई एउटा 'आइडिया जेनरेटर' वा कथाको 'प्रारम्भ बिन्दु' मान्छन् ।फिल्म निर्माता विनोद पौडेलले भने मेकिङभन्दा बढी 'मार्केटिङ' मा एआईको अधिकतम उपयोग गरिरहेका छन् । उनको आगामी फिल्म 'रोल नम्बर वान'को मार्केटिङ योजना नै एआईमार्फत तयार पारिएको छ । पौडेलका अनुसार जसमा कुन क्षेत्रमा फोकस गर्ने र कुन समयमा पोस्टर सार्वजनिक गर्ने भन्ने कार्यतालिकासमेत छ । त्यस्तै, 'सिंक साउन्ड' मा आउने अनावश्यक ध्वनिलाई हटाएर आवाज स्पष्ट पार्न पनि एआईको प्रयोग भइरहेको उनको अनुभव छ । 

लेखक तथा निर्देशक विकास सुवेदी एआईलाई एउटा 'आइडिया जेनरेटर' वा कथाको 'प्रारम्भ बिन्दु' मान्छन् । उनले यसलाई एउटा यस्तो साथीका रूपमा लिएका छन्, जसले नयाँ लेखकका अन्योल हटाउन र आइडियालाई अझ राम्रो बनाउन सहयोग गर्छ ।

फिल्म लेखक सामिप्यराज तिमल्सेना ‘थ्योरिटिकल अन्डरस्ट्यान्डिङ’ प्राप्त गर्न, कथा वा सिनलाई कुन बाटो लैजाने भन्ने ‘रोड म्याप’ र सुझाव लिन एआई प्रयोग गर्छन् । यद्यपि, एआइले दिने सुझावहरू आर्टिफिसियल हुने र तिनमा ओरिजिनालिटी वा अर्गानिक नहुने उनको अनुभव छ । ‘प्राविधिक कामहरू जस्तै : भीएफएक्स र एनिमेसनमा प्रयोग देखिए पनि लेखनमा भने यसले खासै ठूलो योगदान गर्दैन, ‘उनी भन्छन्, ‘किनकि सिर्जनालाई अर्गानिक बनाउन त लेखक आफ्नै मौलिक प्रक्रियामा फर्किनुपर्छ ।’

निर्देशक गणेशदेव पाण्डेको अनुभव भने केही फरक छ । उनी आफ्ना फिल्मका कथाहरू आफैं लेख्न रुचाउँछन् र पात्रहरूसँग कल्पनामा डुबेर खेल्नुलाई नै फिल्म निर्माणको सबैभन्दा सुन्दर पक्ष मान्छन् । मौलिक रचनाका लागि एआई प्रयोग नगर्ने बताउँछन् उनी । ‘बरु रचना गरिसकेपछि शब्द चयन गर्न, भाषा शुद्ध पार्न वा कसैलाई कथा 'पिच' गर्न मात्र यसको सहयोग लिन्छु,’ उनी भन्छन् ।

निर्देशक उपेन्द्र सुब्बा भने एआई कसरी चलाउने भन्नेबारे आफूलाई ज्ञान नभएको बताउँछन् । ‘मैले त अहिलेसम्म चलाएको पनि छैन । त्यसकारण यसको अनुभव छैन । अहिलेसम्म आवश्यक परेको छैन । परेको दिन चलाउँला,’ उनी भन्छन् ।

अहिले नेपालमा एआई टुल कसरी प्रयोग गर्ने भन्ने छलफल पनि बेलाबेला चल्छ । एआईप्रति चासो बढे पनि कुन सफ्टवेयर र सिस्टम कसरी प्रयोग गर्ने भन्नेमा अझै अन्योल भएको महसुस गर्दै ‘निफ’का अध्यक्ष केपी पाठकले यसपटक फिल्मको प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट-प्रोडक्सनमा एआईको प्रयोगबारे बुझाउन ५ दिने बृहत् कार्यशाला नै आयोजना गरे ।  पाठक आफैंले पनि स्क्रिप्ट ब्रेकिङ, ट्रिटमेन्ट र द्वन्द्वका तत्वहरू खोज्न एआईको फाइदा लिइरहेको बताउछँन् । 

एआई : अब आवश्यकता

एआईले फिल्म निर्माणका जटिल प्रक्रियालाई सहज बनाइदिएको छ । निर्देशक नवीन सुब्बाका अनुसार फिल्मका सहायकहरूले गर्ने 'स्क्रिप्ट ब्रेकडाउन' एआईले केही सेकेन्डमै गरिदिन्छ । यसले गर्दा निर्देशकको दिमागमा भएको दृश्य कस्तो देखिन्छ भनेर स्केच गर्न नजान्दा एआईले क्यारेक्टर, लोकेसन र कस्ट्युमको 'भिजुअल रेफरेन्स' तयार पारिदिन्छ  । डीओपी र डिजाइनरहरूसँग आफ्नो सोच स्पष्ट रूपमा राख्न सजिलो बनाउँछ । निर्देशक केपी पाठकका अनुसार एआईले  समय पनि जोगाइदिएको छ । ‘इन्टरनेटमा डेटा खोज्न लाग्ने दिनौँको समय अहिले केही सेकेन्डमै प्राप्त हुन्छ, जसलाई पछि आफूले परिमार्जन गर्न सकिन्छ,’ उनी भन्छन् । 

नेपाली सिनेमाको प्राविधिक यात्रालाई हेर्दा एआई एउटा स्वाभाविक विकासक्रम जस्तो देखिन्छ । हिजो हातले स्क्रिप्ट लेख्ने र पछि माइक्रोसफ्ट वर्डमा सारेको जस्तै यो एउटा नयाँ खुड्किलो भएको लेखक विकास सुवेदी बताउँछन् । ‘आज हामी यस्तो मोडमा छौँ जहाँ एआईले पोस्ट-प्रोडक्सनमा सम्पादन र भिजुअल इफेक्टका कामहरूलाई समेत सरल बनाइदिएको छ,’ उनी भन्छन् । निर्माता विनोद पौडेलका अनुसार हिजो एउटा मान्छेले ५ मिनेटमा गर्ने काम अब एआईको कमान्डले १ मिनेटमै सकिन्छ, जसले बाँकी समय अरू सिर्जनात्मक काममा खर्च गर्न अनुमति दिन्छ ।

पोस्टर डिजाइनर रोयल भीमसेन भने आफ्नो डिजिटल पेन्टिङको पृष्ठभूमि भएकाले पूर्ण रूपमा एआईमा निर्भर नभई एउटा सहयोगी माध्यमका रूपमा मात्र प्रयोग गर्ने बताउँछन् । 

एआईको सहयोगबाट कामलाई निखार्न वा सन्दर्भहरू हेर्न सकिने भए पनि पूर्ण रूपमा एआईबाट बनाइएका पोस्टरहरूमा मौलिकता र दीर्घकालीन महत्त्व नहुने बताउँछन् रोयल । ‘किनभने त्यस्ता कामहरू जोसुकैले पनि सजिलै पहिचान गर्न सक्छन् । त्यसैले, प्रविधिमाथि पूरै आश्रित हुनुको सट्टा कलाकारले एआइलाई आफ्नो नियन्त्रणमा राखेर, कमान्ड दिएर र एउटा सहयोगीका रूपमा प्रयोग गर्नुपर्छ,’ उनी भन्छन् । 

मौलिकताको संकट

कतिपय फिल्ममेकर एकाईको प्रयोगले मौलिकता गुम्ने चिन्ता मान्छन् । फिल्ममेकर सुब्बा यसलाई अलग दृष्टिकोणबाट व्याख्या गर्छन् । उनका अनुसार एआईको सबैभन्दा ठूलो समस्या यसको स्रोतमा छ । सुब्बाले आफ्नो नयाँ फिल्मका लागि एआईमार्फत रिसर्च गरेका थिए । तर, उनलाई दिइएको जानकारीको रिफ्रेन्स उनकै फिल्म ‘नुमाफुङ’को थियो । ‘एआईले लिने जति पनि सन्दर्भहरू छन्, ती प्रायः पश्चिमा वा हलिउड केन्द्रित छन् । नेपालीपन भएको सिनेमा वा एसियाली सिनेमाका सांस्कृतिक सूक्ष्मताहरूका बारेमा एआईसँग पर्याप्त जानकारी छैन,’ उनी भन्छन्, ‘ स्क्रिप्ट लेख्दा यसले पश्चिमा दृष्टिकोणलाई नै प्राथमिकता दिने हुँदा‌ यसमा सोच्नुपर्ने देखिन्छ ।’

यद्यपि, दीपाश्री निरौलाका अनुसार दर्शकहरू अहिले प्रविधिबारे धेरै जान्ने भइसकेका छन् र कुनै दृश्य देख्नेबित्तिकै ‘यो त एआई हो’ भनेर ठम्याउन थालेका छन् । धेरै 'फेक' कुराहरू देखाउँदा दर्शकको विश्वसनीयता गुम्ने खतरा रहने उनको ठम्याइ छ । 

त्यस्तै, गणेशदेव पाण्डे एआईबाट सिर्जना गरिएका कुराहरूको भविष्यमा स्वामित्व र रचनाको अधिकार कसको हुन्छ भन्ने अन्योल रहेको बताउँछन् । 

विस्थापनको डर

‘एआईले मान्छेलाई विस्थापित गर्छ ?’ यो प्रश्न अहिले फिल्मकर्मीहरूमा छ । हलिउड र विश्व बजारमा त एआईको प्रयोगसँगै यसले निम्त्याएका चुनौती र नैतिक संकटबारे गम्भीर बहस भइरहेको छ । सन् २०२३ मा भएको 'हलिउड हड्ताल' मा लेखक र कलाकारहरूले एआईले आफ्नो मौलिकता, पहिचान र रोजगारी खोस्न सक्ने भन्दै कडा नियमनको माग गरेका थिए । 

कलाकारहरूको मुख्य चिन्ता उनीहरूको अनुमतिविना अनुहार र आवाजलाई डिजिटल रूपमा प्रयोग गरेर 'एआई डिजिटल ट्विन' बनाइने र भविष्यमा वास्तविक मान्छेको आवश्यकता नै नपर्ने हो कि भन्नेमा केन्द्रित थियो । यसले बौद्धिक सम्पत्तिको अधिकार र कसैको 'डिजिटल अस्तित्व'माथि कसको नियन्त्रण हुने भन्ने कानुनी जटिलता थपिदिएको छ । 

एआईलाई तालिम दिन संसारभरका फिल्म र स्क्रिप्टहरू उनीहरूको अनुमतिविना प्रयोग गरिनुलाई 'सिर्जनात्मक चोरी' को रूपमा हेरिएको छ । हलिउडका नयाँ सम्झौताहरूले अब एआईले लेखेको कुरालाई 'सोर्स मटेरियल' मान्न नपाइने र सिर्जनाको पूर्ण श्रेय र पारिश्रमिक मान्छेले नै पाउनुपर्ने सुनिश्चित गरेका छन् । अहिले बहस ‘एआईले काम खोस्ने’मा मात्र सीमित छैन, बरु प्रविधिलाई मानवीय नियन्त्रणमा राखेर कसरी सिनेमाको ‘साँस्कृतिक र नैतिक मूल्य’ जोगाउने भन्नेतिर मोडिएको छ । यसले गर्दा अहिले ठूला स्टुडियोहरूमा 'एआई एथिक्स अफिसर' जस्ता नयाँ भूमिकाहरू समेत सिर्जना हुन थालेका छन् ।

नेपालमा भने त्यो किसिमको संकट नआइसकेकाले बहस पनि त्यो तहमा छैन । अहिले सांगीतिक क्षेत्रमा यसको प्रभाव नेपालमा देखिन थालेको छ । निर्देशक केपी पाठकका अनुसार भविष्यमा लेखक, अनुवादक र प्राविधिकहरूको रोजगारी गुम्ने खतरा भने छ । ‘एआईको सजिलो उपलब्धताले मानिसलाई 'अल्छी' बनाउन सक्छ र जोसँग वास्तविक क्षमता छैन, उसले पनि एआईको भरमा सजिलै लेख्न सक्ने भएको छ,’ उनी भन्छन् ।

नवीन सुब्बा एआईले प्रि-प्रोडक्सनमा केही मान्छेको रोजगारी गुम्ने खतरा भएको कुरा सदर गर्छन् । लेखक सामिप्यराज पनि एआईको प्रयोगले संगीत क्षेत्रमा गायक र संगीतकारहरूको ‘रोजगारी गुम्ने खतरा’ बढिसकेको र नेपालमा पनि ढिलोचाँडो यसले प्राविधिक क्षेत्रमा ठूलो असर पार्ने आकलन गर्छन् । ‘तर, लेखनमा मानवीय संवेदना र मौलिकता चाहिने भएकाले लेखकहरूलाई भने अरू विधालाई जस्तो धेरै असर गर्दैन,’ उनको मत छ ।

तर, विकास सुवेदी यसमा फरक मत राख्छन् । ‘औद्योगिक क्रान्तिको समयमा पनि यस्तै डर थियो, तर जब एआई वा रोबोटले सामान्य कामहरू गरिदिन्छन्, तब मानिसहरू 'उन्नत प्रकारको चेतना' को खोजीमा लाग्छन् र नयाँ इनोभेसन गर्छन्,’ उनी भन्छन् । विनोद पौडेल पनि एआईले कसैको काम खोस्ने भन्दा पनि काममा सहजीकरण गरिदिने र मान्छेलाई अझ आत्मनिर्भर बनाउने कुरामा विश्वास गर्छन् ।

निर्देशक निरौला भने एआईका कारण मानव सिर्जनशीलता हराउने भन्दा पनि यसलाई एक प्रविधिका रूपमा मात्र लिन सकिने जिकिर गर्छन् । उनी एआईलाई क्याल्कुलेटरसँग तुलना गर्दै भन्छन्, ‘हामीले पहिले कपीमा हिसाब गर्थ्यौँ, पछि क्याल्कुलेटर प्रयोग गर्न थाल्यौँ । एआई पनि त्यस्तै एउटा प्रविधि हो, जसलाई हामीले फलो गर्नैपर्छ । क्याल्कुलेटर थिच्दैमा हाम्रो सिर्जनशीलता परिवर्तन नभए जस्तै एआईले पनि हाम्रो क्रिएसनलाई घटाउँदैन, बरु झन् बिल्ड-अप गर्दै लैजान्छ । त्यसकारण रोजगारी गुम्ने डर पनि हुन्न ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully