अविनाशविक्रम शाहद्वारा निर्देशित लघु फिल्म 'लोरी'ले यसअघि लघु फिल्मतर्फ कान्समै स्पेसल मेन्सन अवार्ड पाएको थियो ।
What you should know
काठमाडौँ — नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग (तिनीहरू) विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवअन्तर्गतको 'अन सर्टेन रिगार्ड'मा छनोट भएको छ । मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने यो विधामा नेपालबाट पहिलो पटक अविनाश विक्रम शाह निर्देशित फिल्म छनोट भएको हो ।
युवा निर्देशक र फरक कथावाचकहरूलाई समेट्ने यो विधामा छनोट भई फिल्मले उत्कृष्ट फिल्मका लागि 'अन सर्टेन रिगार्ड प्राइज', उत्कृष्ट निर्देशक र स्पेसल जुरी प्राइजका लागि प्रतिस्पर्धा गर्नेछ ।
यसअघि सन् २०२२ को कान्समा लघु फिल्म 'लोरी' छनोट हुँदै निर्देशक शाहले फिचर लिएर त्यहाँ फर्कने सपना देखेका थिए । त्यही सपना पूरा हुँदा अहिले उनी दंग देखिन्छन् । 'संसारको यस्तो ठूलो महोत्सवमा छनोट हुन पाउनु नै कस्तो ठूलो कुरा भइसक्यो । कान्समा सर्ट फिल्म छनोट हुँदा आफैंलाई प्रमिस गरेको थिएँ- अर्कोपालि फिचर लिएर आउँछु भनेर । पहिलो फिचर फिल्म नै छनोट हुँदा खुसी लाग्दो रहेछ,' निर्देशक शाहले भने । शाहका अनुसार 'एलिफेन्ट इन द फग' बन्न करिब पाँच वर्ष लाग्यो । 'फिल्मको कथा लेख्दै एक्लै भएर लेखेँ । प्रोडक्सनमा जाने बित्तिकै भीडम भीड । पोस्ट प्रोडक्सनमा फेरि एक्लै । सुटिङको त्यो अनुभव, एक किसिमको रोलकोस्टर अनुभव भयो,' शाहले भने ।
कान्समा मेन्टरसिप पाएको यो फिल्ममा हात्तीको आक्रमणबाट आक्रान्त बस्तीमा बस्दै आएको एक परिवारको कथा समेट्छ, जहाँ आमा र छोरीको सम्बन्ध देखाइएको छ । यो परिवारले यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्त्व गर्छ । फिल्ममा अल्पसंख्यक समुदायकै कलाकारहरू मुख्य भूमिकामा देखिएका छन् । उनीहरूसँगै पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय फिल्ममा छ ।
फिल्मका निर्माता अनुप पौडेल आफूले त्यो ठाउँसम्म यो फिल्म पुर्याएकोमा खुसी छन् । 'छनोट भएको खबर इमेलमार्फत पाउँदा म एउटा फिचर पिचको कक्षा लिँदै थिएँ । इमेल पाउनेबित्तिकै केही नभनेर त्यो अनलाइन कक्षा बन्द गरिहालेँ । अनि एकछिन सोचेँ– के यो वास्तविक हो ? अनि कक्षा चाँडो-चाँडो बन्द गरेर एक्लै सेलिब्रेट गरेँ,'निर्माता पौडेलले भने,'सायद यही सोचेर यो प्रोजेक्ट गरेको थिएँ ।’
यो फिल्मलाई दुई नेपाली कम्पनी अन्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्ससँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको लगानी छ । नेपालतर्फका अर्का निर्माता प्रचण्डमान श्रेष्ठले आफूले निर्माण गरेको फिल्म पहिलो पटक कान्समा छनोट हुँदा गौरवान्वित भएको बताए । 'नेपाली फिल्म क्षेत्रको इतिहासमा पहिलो पटक कान्स जस्तो फेस्टिभलमा आफ्नो फिल्म छनोट हुँदा गर्व लाग्दो रहेछ । नेपाली फिल्म विश्वव्यापी रूपमा फैलिँदै गएको अवस्थामा यो उपलब्धि हाम्रोतर्फको सानो योगदान नै हो,'श्रेष्ठले भने,'कथा पढ्नेबित्तिकै मनपरेको थियो । साथीको फिल्म भएकाले पनि निर्माणमा साथ दिएको हुँ ।'
यसअघि अविनाशकै लघु फिल्म 'लोरी'ले कान्सको ७५औँ संस्करणमा 'स्पेशल मेन्सन' अवार्ड पाएको थियो । यो फिल्मले पनि पहिलो पटक नेपालबाट कान्सको लघु फिल्मतर्फ छनोट हुँदै स्पेशल मेन्सन पाउने इतिहास रचेको थियो । १४ मिनेट लामो यो फिल्ममा बालविवाहको विषय समेटिएको छ । अविनाशले यसअघि लेखेको 'कालो पोथी', 'हाइवे', 'तटिनी' विभिन्न अन्तर्राष्ट्रिय महोत्सव पुगेको थियो । अविनाश शाम्बाला र सिंहदरबार सिरिजका पटकथाकार समेत हुन् ।
यो वर्ष चलचित्र विकास बोर्डले पनि पर्यटन बोर्डसँगको सहकार्यमा कान्समा 'स्टल' बुक गरेको छ ।
सम्बन्धित समाचार:
'नेपालमा नपाएको माया कान्समा पाएँ' [भिडियो]
