पाँच वर्षदेखि बाख्राको खोरमा बाँधिएर राखिएकी समितालाई उद्धार गर्न ताकेश्वर–७ फुटुङस्थित नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल समेतको समूह गत शनिबार पुगेको थियो । उद्धारपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
What you should know
काठमाडौँ — काठमाडौं थापाथलीस्थित नर्भिक अस्पताल । अस्पतालको दोस्रो तलाको कोठा नम्बर २२२ । यहाँ अन्य कोठामा भन्दा भिन्नै दृश्य देखिन्छ । एउटा बेडको छेवैमा दुईजना नर्स कुरीरहेका छन् । उनीहरू अगाडिको बेडमा एक बालिका निकै अप्ठयारो तरीकाले घोप्टो परेरे सुतेकी छन् । उनलाई ‘बक्सिङ हेल्मेट’ लगाइएको छ । कपाल मुडुलो पारेर काटिएको छ । बालिकाको मुख र कानको वरिपरि पनि घाउ र दाग देखिन्छ ।
उनी हुन् १० वर्षीया समितामाया तामाङ । उनलाई प्रतिनिधिसभाकी सांसद आषिका तामाङ नेतृत्वको टोलीले धादिङ गजुरी–४ स्थित एक घरबाट उद्धार गरेको थियो । पाँच वर्षदेखि बाख्राको खोरमा बाँधिएर राखिएकी समितालाई उद्धार गर्न ताकेश्वर–७ फुटुङस्थित नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल समेतको समूह गत शनिबार पुगेको थियो । उद्धारपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालकी प्रबन्धक निर्देशक मेघा चौधरीको सहयोगमा समिताको निःशुल्क उपचार जारी छ ।
छिमेकीका अनुसार, समिताका दुई दाई र एक दिदी छन् । एक दिदी र एक दाई स्वस्थ्य छन् भए पनि एक दाई भने मानसिक रुपमा अस्वस्थ छन् । उनलाई पनि शनिबारै मानवसेवा आश्रमले उद्धार गरेको थियो ।
आमा बिनुमाया तामाङले उद्धार टाेलीलाई बताएअनुसार समिता जन्मदा रुँदै रोइनन् । उनले भनेकी थिइन्, ‘छोरी किन रोइन भन्ने त लागेको थियो । ठूलो हुँदै जाँदा पनि नबोल्ने, भागेर विभिन्न स्थानमा जाने, झ्यालबाट खस्न खोज्ने हुन थाल्यो ।’ लडेर चोट लाग्ला भनेर बाख्राको खोरमा सलले बाँधेर राख्न थालेको उनले सुनाएको उद्धार टोलीले बताएको छ ।
समितालाई दिउँसो बाख्रा चराउन बाहिर छाड्ने र बेलुका बाख्राको खोर छेउमै राख्ने गरिन्थ्यो । त्यसैको प्रभावले घोप्टो परेर सुत्ने गरेको हुनसक्ने चिकित्सकहरूको अनुमान छ ।
छिमेकी पूर्णकुमारी रिजालका अनुसार विपन्न तामाङ परिवारलाई गाउँहरूले रासन दिने गरेका छन् । ‘उनीहरूको खास घर गहाखोला हो । उता त अलि–अलि जग्गा जमिन हुँदो होला । तर, २२ वर्षदेखि हाम्रै अर्को घरमा बस्न दिएका छौं,’ उनले भनिन् । समिताकी आमा पनि बिरामी छिन् । ख्याल गर्ने कोही नभएकाले समिताको यो हालत भएको हुन सक्ने रिजालले उद्धार टोलीलाई बताएकी थिइन् । रिजालका अनुसार समिताका अर्का एक दाई कक्षा ९ मा पढ्दैछन् भने, दिदी ८ कक्षामा पढ्दैछिन् ।
उद्धार टोलीले किन समितालाई बाँधेर राखिएको ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘त्यो नानी भागेर कता कता पुग्ने, हेरचाह गर्ने पनि कोही नभएकोले त्यसो गरेका होलान् ।’
पूर्णकुमारीका अनुसार, गाउँलेहरू मिलेर समिता र उनका दाइलाई 'भत्ता'को व्यवस्था पनि गरेका छन् । त्यहि पैसाबाट कहिलेकाही रासन ल्याएर खाने गर्थे ।
समिताले माटो खाने, मान्छेसँग आँखा नजुधाउने, नबोल्ने तर भित्रभित्र आवाज निकाल्ने गर्छिन् । आफूले आफैंलाई पिट्ने कोतर्ने (सेल्फ हार्म) गर्छिन् । पछिल्लो ३ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत समितालाई अटिजम (बहुअपांगता) भएको डा. निभा राजभण्डारी श्रेष्ठले बताइन् । ‘बच्चा नन–भर्बल अटिस्टिक हो । उनी बोल्न र भाव व्यक्त गर्न सक्दिनन् । ‘अटिजम स्पेक्ट्रम डिसअर्डर’ रोग होइन, न्युरो डेभलपमेन्ट डिसर्डर हो,’ उनले भनिन् ।
समिताको परिवारले भने मानसिक रुपमा अस्वस्थ ठानेर पाँच वर्षदेखि खोरमा बाँधेर राखेको उद्धार टोलीलाई जनाएकाे थियो । ‘अटिजममा धेरै प्रकारका लक्षण हुन्छन् । हामीले उसका हरेक व्यवहारलाई अनुसन्धान गरिरहेका छौं,’ डा. निभाले भनिन्, ‘तर, घोप्टो परेर हरेक समय बस्नु चाही अटिजम होइन् । निकै लामो समयसम्म खोरमा बसेको कारण हामीले उठाउन जति प्रयास गर्दा पनि उनी घोप्टो परेर बस्ने गर्छिन् ।’ बिस्कुट, केरा समेत कोट्याएर(क्रयापिङ) खाने गर्छिन् ।
उनको व्यवहार पनि निकै फरक रहेको डा. निभाले बताइन् । उनी भन्छिन्, ‘अटिजमका साथै लामो समयसम्म अध्यारो स्थानमा राखिएकाले यस्तो भएको हुन सक्छ । हिँड्न नसक्ने, अरूको साहारा लिएर हिडाउन खोज्दा बांगो हिँडेको देखिन्छ,’ उनले भनिन्, ‘बच्चा मानिसको भिड देख्दा डराउने, वातावरणमा घुलमिल हुन नसकेको देखिन्छ ।’
चिकित्सकका अनुसार समितामा कन्स्टिपेसन (कब्जियत), कानको बाहिरी भागमा इन्फेक्सन, शरीरमा निलो दागहरू (सफ्ट टिसु इन्फेक्सन) को समस्या छ । त्यसको उपचार भइरहेको छ । यो आफुले आफैलाई ‘सेल्फ हार्म’ गरेको कारण भएको डा. निभाले जनाइन् । आफैलाई पुर्याउने चोट नियन्त्रणको लागि ‘एण्टिसाइकोटिक मेडिकेसन’ साथै बक्सिङ हेल्मेट लगाइएको छ । आइभी एन्टिबायोटिक पनि दिइरहेको उनले बताइन् ।
हेरचाह गर्नुपर्ने उमेरमा खोरमा थुनेर राख्नाले अवस्था जटिल बनेको उनले जनाइन् । अब पनि उचित हेरचाह गर्ने व्यक्ति वा संस्थाको खाँचो रहेको डा. निभाको भनाइ छ ।
उद्धार गरी खोरबाहिर ल्याउँदा उनकाे अवस्था निकै नाजुक रहेको दुर्गानाथ दाहालले जनाए । उनले भने, ‘निकै नाजुक अवस्थामा उद्धार गरेका थियौं ,’ उनले भने, ‘सलले खुट्टामा बाँधेर राखिएको थियो । कपडा पनि निकै फोहोर र दुर्गन्धित थिए ।’
समिता धादिङबाट काठमाडौं आइन्जेलसम्म पनि घोप्टो परेरै आएको उनले बताए ।
‘जति प्रयास गर्दा पनि हामी जसरी बस्न सक्दिनन् । हामीलाई उनका बाआमाले मानसिक अवस्था ठिक नभएको जनाएका थिए तर अहिले डाक्टरले अटिजम भएको बताउनु भयो,’ उनले भने, ‘उपचारपछि राख्ने उद्धार केन्द्र खोजिरहेका छौं ।’ पहिलाभन्दा अहिले समिताको स्वास्थ्य अवस्था निकै सुधार भएको दाहालले बताए ।
