लागूऔषध कारोबारीलाई समात्न सिधै गोली, तर कारोबार बढेको बढ्यै

प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी/प्रयोगकर्तालाई नियन्त्रणमा लिने गरे पनि पछिल्ला तीन वर्षयता पक्राउ पर्ने र मुद्दा चल्ने क्रममा कुनै कमी आएको देखिन्न, बरु ग्राफ हरेक वर्ष बढ्दो छ ।

वैशाख १, २०८३

गौरव पोखरेल

Direct shooting to catch drug dealers, but the business has increased significantly

What you should know

काठमाडौँ — २४ चैतको मध्यरात, काठमाडौंको पिंगलास्थान । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतीय नागरिक अनिलकुमार पासवानलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली चलायो । घुँडामुनि गोली लागेका पासवानलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिन्छ । करिब पाँच घण्टाअघि रूपन्देहीको रोहिणी–४ कोटहवामा यस्तै अर्को एउटा घटना भएको थियो— त्यहाँ रोहिणी गाउँपालिका–२, खुरुहुरियाका विशाल यादवलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उनको बायाँ खुट्टाको पिँडुलामा प्रहरीको गोली लाग्यो ।

यो संयोग होइन । पछिल्ला तीन वर्षमा ब्युरोको टोलीले लागूऔषध कारोबारीलाई समात्ने क्रममा मात्रै १७ ठाउँमा गोली चलाएको छ– आर्थिक वर्ष ०८०/८१ मा ६ ठाउँ, ०८१/८२ मा दुई ठाउँ र ०८२/८३ मा अहिलेसम्म ७ ठाउँ । घाइते र पक्राउ परेकामध्ये ११ जना भारतीय नागरिक छन् । प्रहरीका अनुसार, तीमध्ये सबै मुद्दामा लागूऔषध कारोबार ऐन, ०३३ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको छ । पासवान र यादवको हकमा अनुसन्धान बल्ल सुरु भएको छ ।

प्रहरीको आधिकारिक जवाफ हरेक घटनामा उस्तै छः सन्दिग्धले पहिले आक्रमण गरे, आत्मरक्षामा गोली चलाइयो । पिंगलास्थानमा भएको घटनाबारे ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले भने, ‘पासवानले प्रहरीलाई नै धक्कामुक्का गरेपछि गोली चलाउनुपरेको थियो ।’

रूपन्देहीमा डीएसपी कृष्णकुमार चन्दले मोटरसाइकल सवारहरूले ढुंगा प्रहार गरेपछि पहिले हवाई फायर गरिएको र त्यसपछि पनि भाग्न खोजेपछि मात्र थप गोली चलाइएको दाबी गरे । ‘लागूऔषधका एक जना कारोबारी पक्राउ परेपछि उनीमार्फत मुख्य व्यक्ति खोज्दै थियौं,’ एसएसपी कोइराला भने, ‘त्यही क्रममा पिंगलास्थानमा प्रहरी टोली पुगेका बेला उनले उल्टै प्रहरीलाई आक्रमण गर्न खोजे । त्यसपछि गोली चल्ने स्थिति बनेको थियो ।’

घटनाहरू हेर्दा स्वाभाविक लाग्दैनन् । अहिले जुन किसिमले समाज अराजकतातिर गइरहेको छ, त्यसले यो स्थिति निम्त्याएको हो कि प्रहरीले तर्साउन खोजेको हो भन्ने अध्ययन गर्नुपर्ने विषय हो: पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी तर ब्युरोका पूर्वप्रमुख डीआईजी हेमन्त मल्ल ठकुरी यी घटनालाई प्रहरीले बताएजस्तै गरी हेर्न तयार छैनन् । ‘घटनाहरू हेर्दा स्वाभाविक लाग्दैन । अहिले जुन किसिमले समाज अराजकतातिर गइरहेको छ, त्यसले यो स्थिति निम्त्याएको हो कि प्रहरीले तर्साउन खोजेको हो भन्ने अध्ययन गर्नुपर्ने विषय हो,’ उनले भने ।

प्रहरीको यो अभ्यासको जरा ०७४ सम्म पुग्छ । २३ साउन ०७४ मा ललितपुरको कुसुन्तीमा लागूऔषध कारोबारमा संलग्न भएको आरोप लागेका प्रवीण खत्री प्रहरी मुठभेडमा मारिए । प्रहरी उनको घरमा पुग्दा उनी छतबाट हाम फालेर भाग्न खोजेका थिए । त्यसक्रममा गोली लागेर उनी ढले, अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरे । पछि प्रहरीले उनी आफैं लागूऔषध प्रयोगकर्ता भएको र सुधार केन्द्रमा राखिएको समेत खुलायो ।

खत्रीको हकमा त्यसबेला समात्न सक्ने अवस्था हुँदाहुँदै गोली प्रहार भएको देखिएको आयोगकी तत्कालीन सदस्य मोहना अन्सारी बताउँछिन् । ‘त्यसबेला अनुसन्धान भएर कारबाही सिफारिस भएको जस्तो लाग्छ, अहिले म आयोगबाट बाहिरिएको पनि धेरै वर्ष भइसक्यो,’ उनी भन्छिन्, ‘तर, कारबाही सिफारिस भएका विषय कार्यान्वयनको कुरा सरकारसँग भर पर्छ ।’

‘विगतमा यस्ता घटनामा छुट्टै समिति बनेर अनुसन्धान पनि भएको छ, कतिपयमा कारबाही सिफारिससमेत गरिएका छन्, कुमार पौडेल मारिएका बेला त्यो हत्या हो भनेर स्पष्ट भनेका थियौं, अरू विषय पनि क्रमशः सार्वजनिक हुँदै जान्छन्: मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल पछिल्लो समय भएका घटनामा उजुरी परेको जानकारी आफूलाई नभएको बताउँछन् । ‘विगतमा यो विषयमा छुट्टै समिति बनेर अनुसन्धान पनि भएको छ, कतिपयमा कारबाही सिफारिससमेत गरिएका छन्,’ उनले भने, ‘कुमार पौडेल मारिएका बेला त्यो हत्या हो भनेर स्पष्ट भनेका थियौं, अरू विषय पनि क्रमशः सार्वजनिक हुँदै जान्छन् ।’

त्यसबेला प्रहरीले गुन्डागर्दी नियन्त्रणमा पनि यस्तै आक्रामक नीति अपनाएको थियो– दिनेश अधिकारी ‘चरी’, कुमार श्रेष्ठ ‘घैंटे’, मनोज पुनलगायत गुन्डा नाइके मुठभेडमा मारिए, कतिपय जोगिए । ‘ती कारबाहीले उपत्यकामा गुन्डागर्दी स्वाट्टै घटाएको थियो,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘अहिले लागूऔषधको कारोबार त्यसबेलाको गुन्डागर्दीकै हदमा पुगेको छ । र, प्रहरी निर्मम बन्छ भन्ने सन्देश कारोबारीहरूमा गएको छ ।’

त्यसबेलाको नीतिले काम गर्‍यो भन्ने यो मान्यता नै अहिलेको अभ्यासको आधार हो । त्यही आधारमा उभिएका घटनाहरूको सूची लामो छ ।

२७ जेठ ०८२, काठमाडौंको टोखा–३ । ग्रान्डी अस्पताल पछाडि प्रहरीले ४ राउन्ड हवाई र ३ राउन्ड गोली चलायो । ३८ वर्षीय सादिक आलम र २२ वर्षीय मोहम्मद मञ्जर आलम दुवैको बायाँ खुट्टामा गोली लाग्यो । प्रहरीका अनुसार, सादिकलाई यसअघि ५ असोज ०८० मा पनि लागूऔषधसहित पक्राउ गरिएको थियो– ८ महिना नक्खु कारागार बसेर निस्किएपछि फेरि कारोबारमा फर्किएको थियो । उनको समूहका अर्का सदस्य हेमन्त भगतलाई अदालतले पहिल्यै १० वर्ष कैद तोकेको थियो । उनी २४ भदौको आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका थिए । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले २४ भदौमा फरार रहेका सबैको खोजी भइरहेको बताउँछन् । ‘प्रहरीले निरन्तर फरार अभियुक्तहरूको खोजी गरिरहेकै हुन्छ, त्यसमाथि २४ भदौमा भाग्नेहरूको नियन्त्रणलाई थप प्राथमिकता दिइएको छ,’ उनले भने ।

२२ माघ ०८१, झापाको तुलसीबारी । ब्युरोको टोलीले ६ राउन्ड गोली चलायो, एक राउन्ड भारतीय नागरिक अञ्जार आलमलाई लाग्यो । उनको साथबाट ३० ग्राम खैरो हेरोइन बरामद भयो । उनीसँगै उनका भाइ युसुफ पनि पक्राउ परे ।

३० साउन ०८१, बाँकेको नेपालगन्ज । भारतको उत्तरप्रदेशबाट आएका एक व्यक्ति लागूऔषध पुर्‍याउन होटल पुगेकै बेला प्रहरी आइपुग्यो । प्रहरीका अनुसार, पक्राउ गर्न खोज्दा उनले चक्कु र फलामको नकलले आक्रमण गर्न खोजे । त्यसक्रममा गोली चलाउँदा दाहिने खुट्टामा लाग्यो । उनीसँगै पक्राउ परेका अर्का आरोपी १४ वर्ष ६ महिनाका मात्र थिए ।

१० साउन ०८२, झापाको भद्रपुर । ३६ वर्षीय मोहम्मद इस्लाम शंकास्पद अवस्थामा भेटिए, प्रहरीलाई आक्रमण गरेर भाग्न खोजेपछि घुँडामुनि गोली लाग्यो ।

Direct shooting to catch drug dealers, but the business has increased significantly

ब्युरोका अनुसन्धान अधिकृतहरूका अनुसार, नेपालबाट अफिम र गाँजा भारततर्फ तस्करी हुने गरेका छन् भने औषधिजन्य लागूऔषधसहितका नेपाल–भारत खुला सीमाको दुरुपयोग गरेर नेपाल छिर्ने गरेका छन् । नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, भारतीय पक्षलाई लागूऔषध नियन्त्रणका लागि सहयोग गर्न नेपालले सधैं अनुरोध गर्ने गरेको छ ।

तर, भारतीय पक्षबाट पर्याप्त सहयोग नपाउँदा यो निरन्तर चलिरहेको उनीहरू बताउँछन् । ‘भारतका लागि यो नेपालतर्फ भइरहेको एउटा व्यवसाय जस्तै हो, माथिल्लो दर्जाका प्रहरी कर्मचारी सहयोग गर्न तत्पर भए पनि फिल्ड तहबाट आवश्यक सहयोग प्राप्त भएको छैन,’ उनी भन्छन्, ‘यो विषयलाई पटकपटक उठान गरिरहेकै छौं ।’

प्रहरी अधिकृतहरूका अनुसार, कतिपय अवस्थामा नेपाली कारोबारीले भारतसम्मै पुगेर विभिन्न शैलीमा लागूऔषध भित्र्याउने गरेका छन् भने भारतीय नागरिक आफैंले लिएर आउने प्रवृत्तिसमेत छ । ब्युरोले विगतमा गरेको अनुसन्धानले कहिले स्पिकरभित्र लुकाएर त कहिले बाइकको ट्यांकीमा लुकाएर समेत लागूऔषध तस्करी हुने गरेको देखाउँछ । गाँजा तस्करीमा त एम्बुलेन्स प्रयोग भएको पृष्ठभूमिसमेत छ ।

तर, लागूऔषध नियन्त्रणमा यो गोली चलाउने नीतिले काम गर्छ/गर्दैन भन्नेबारे प्रहरीभित्रैबाट पनि प्रश्न उठेको छ ।

ब्युरोका पूर्वप्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले एकै दिन दुई ठाउँमा उस्तै प्रकृतिका घटना हुनुलाई अध्ययनयोग्य विषय मान्छन् । उनी यस्ता घटना संयोग हो वा नीतिगत निर्देशन भन्ने प्रश्न गर्छन् । तर नार्कोनन नेपालका सञ्चालक, पूर्वएसएसपी वसन्त कुँवर यस्ता घटनाको प्रवृत्तिको सोझो प्रश्न उठाउँछन् । ‘सरकारी तथ्यांकले नै अहिले देशमा १ लाख ३४ हजार लागूऔषध प्रयोगकर्ता छन् भन्छ,’ उनले भने, ‘वास्तविक संख्या कम्तीमा १० लाख छ । एक जना कारोबारीले १० जनालाई बेच्छन् भने एक हजारभन्दा बढी बिक्रेता हुन्छन्– त्यस्तोमा कतिलाई गोली चलाउने ?’

कुँवरले भनेजस्तै प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी/प्रयोगकर्ताहरूलाई नियन्त्रणमा लिन खोजे पनि पछिल्ला तीन वर्षयता हरेक वर्ष लागूऔषध प्रयोगकर्ताहरू पक्राउ पर्ने र मुद्दा चल्ने क्रममा कुनै कमी आएको देखिन्न । बरु यस्तो प्रवृत्तिको ग्राफ हरेक वर्ष बढ्दो देखिन्छ ।

आर्थिक वर्ष ०७९/८० मा प्रहरीले लागूऔषधसम्बन्धी कसुरमा ४१ सय मुद्दा चलाएको थियो । ती घटनामा नेपाली, भारतीय र अन्य मुलुकका नागरिक गरी ६ हजार १८६ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट सबैभन्दा बढी गाँजा २० हजार ६७१ किलो, चरेस ६३० किलो, हेरोइन १५ किलो १८० ग्राम, अफिम ३७ किलो ७६० ग्राम र कोकिन १४ किलो ५७१ ग्राम बरामद भएको थियो । बाँकी औषधिजन्य लागूऔषध बरामद भएका थिए ।

लागूऔषधसम्बन्धी कसुरमा २०७९/८० मा ४१ सय मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८०/८१ मा ४४२४ र आर्थिक वर्ष २०८१/८२ मा ५११० मुद्दा दायर भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा मुद्दा दर्ता पक्राउ संख्या झन् बढ्यो । देशभरका प्रहरी युनिटबाट ४ हजार ४२४ मुद्दा दर्ता हुँदा ६ हजार ७४२ जना पक्राउ परे । यो वर्ष प्रहरीले लागूऔषध गाँजा मात्र ३२ हजार ५२२ किलो, चरेस ५०८, हेरोइन २४ किलो ६७६ ग्राम, अफिम ६४ किलो र कोकिन १३ किलो ८७७ ग्राम बरामद गर्‍यो ।

आर्थिक वर्ष ०८१/८२ मा मुद्दा दर्ता र पक्राउ पर्नेको संख्या झनै उकालो लाग्यो । यो वर्ष ५१ सय १० मुद्दा दर्ता हुँदा ७ हजार ९४३ जना पक्राउ परे । यो वर्ष गाँजाको बरामदीले नयाँ रेकर्ड राख्यो । प्रहरीले देशभरबाट ५१ हजार ४३९ किलो ८४ ग्राम गाँजा बरामद गर्‍यो । चरेस ८२९ किलो, हेरोइन ४८ किलो ४६५ ग्राम, अफिम १८५ किलो ५८ ग्राम र कोकिन २० हजार ९२८ ग्राम बरामद गर्‍यो ।

Direct shooting to catch drug dealers, but the business has increased significantly

तीन वर्षको यो तथ्यांकले प्रहरीले चालेको कदमले लागूऔषध कारोबारमा कुनै कमी नआएको बरु हरेक वर्ष कारोबारीको संख्या उकालो लागिरहेको देखिन्छ । पूर्वएसएसपी कुँवर लागूऔषध कारोबार नियन्त्रणका लागि गोलीभन्दा पहिले प्रयोगकर्ता पहिचान, उपचार र पुनःस्थापनाको ठोस योजना चाहिने बताउँछन् । प्रहरी प्रवक्ता काफ्ले चाहिँ प्रहरीले सीमाबाट लागूऔषध भित्र्याउने गिरोहलाई रोक्ने र स्थानीय तहसम्म जनचेतना फैलाउने दुवै काम गरिरहेको बताउँछन् ।

जबर्जस्ती करणी, आर्थिक कारोबारदेखि हत्याका घटनामा जोडिएका मानिसहरूले समेत लागूऔषध सेवन गरेको पाइएको छ, त्यसैले गर्दा समग्र अपराध नियन्त्रणका लागि समेत लागूऔषध कारोबार नियन्त्रणलाई प्राथमिकता दिइएको हो: नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले उनको भनाइमा, अहिले समाजमा हुने जति पनि गम्भीर प्रकृतिका अपराध छन्, तीमध्ये अधिकांशमा लागूऔषध जोडिएका छन् । ‘जबर्जस्ती करणी, आर्थिक कारोबारदेखि हत्याका घटनामा जोडिएका मानिसहरूले समेत लागूऔषध सेवन गरेको पाइएको छ, त्यसैले गर्दा समग्र अपराध नियन्त्रणका लागि समेत यसलाई प्राथमिकता दिइएको हो,’ काफ्लेले थपे, ‘लागूऔषध कारोबार नियन्त्रणकै सिलसिलामा प्रहरीले गाँजा र अफिम फडानीलगायतका अभियानसमेत चलाइरहेको छ ।’

आरोपीलाई समात्ने क्रममा गोली चलेका घटनाका सन्दर्भमा चाहिँ उनी लागूऔषध कारोबार नियन्त्रणको सन्दर्भमा फेरिएको नीतिका रूपमा हेर्न नमिल्ने बताउँछन् । ‘हरेक अपराधमा लागूऔषध जोडिएकाले संगठन प्रमुखज्यूबाट समेत प्रोएक्टिभ रूपमा खटिने भनेर ध्यान दिएर अघि बढेको अवस्था छ,’ उनले भने, ‘काठमाडौं र रूपन्देहीमा भएका दुवै घटनामा पनि भारतीय कारोबारी संलग्न थिए । यो समग्रमा अपराध नियन्त्रणका लागि पनि हो ।’

अरू प्रहरी अधिकृतहरू पनि गोली चलेका घटनाहरू विशुद्ध संयोग मात्र भएको बताउँछन् । ‘प्रहरीलाई आक्रमण भएपछि मात्र गोली चलेको छ,’ एसएसपी कोइराला भन्छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully