८४ वर्षीयाको ४ वर्षपछि दृष्टि फर्कियो

थाहा नगरपालिकामा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा भएको आँखा शिविरमा ९२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो।

वैशाख १३, २०८३

प्रताप विष्ट

84-year-old man regains sight after 4 years

हेटौंडा — चार वर्षदेखि मोतियाबिन्दुले ढाकेपछि नातिनीको सहारामा भित्रबाहिर गर्दै आएकी कैलाश गाउँपालिका-५ की ८४ वर्षीया धनमाया वाईवा आँखा देख्न सक्ने भएकी छिन् । दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेपछि ६९ वर्षीया राममाया गुरुङले पनि दृष्टि फर्किएको छ ।

दुई वर्षदेखि मोतियाबिन्दुको कारण ४९ वर्षीय नरबहादुर भोलनलाई घरको भित्रबाहिर गर्न पनि समस्या थियो । दुवै आँखाको मोतियाबिन्दुका शल्यक्रियापश्चात शनिबार आँखाको पट्टी हटाएपछि उनले हास्दै भने,‘आँखै नदेखेर समस्या थियो । अब सजिलै काम गर्न सकिन्छ ।’ 

थाहा नगरपालिकास्थित ओखरबजारमा आयोजित आँखा शिविरमा उनीहरुको आँखाको शल्यक्रिया गरिएको थियो । थाहा नगरपालिकामा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा भएको बृहत आँखा शिविरमा ९२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।  

केन्द्रका नेत्र सहायक विवेक राजथलाका अनुसार शल्यत्रिया गरिएका बिरामीमध्ये ४६ जनाको फेको प्रविधिबाट र ४२ जनाको एसआईसीएस विधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । उक्त शिविरमा ४ जनाको आँखामा मासु पलाउने समस्या सम्बन्धी शल्यक्रिया समेत गरिएको हेटौंडा सामुदायिक आँखा अस्पताल वरिष्ठ प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए ।

शिविरमा ६ सय ८५ जनाको आँखा परीक्षण र ९२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । शिविरमा तीन जनाको दुवै आँखाको मोतियाबिन्दुको शल्यत्रिया गरिएको थियो । वैसाख ७ देखि १० सम्म भिजन हिमालयन फाउन्डेसन, थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाको सहकार्यमा थाहा नगरपालिकाका विभिन्न वडा तथा कैलाश गाउँपालिकाको गोगने क्षेत्रमा आँखा परीक्षण शिविर गरिएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully