मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने विज्ञापन बोर्डको चेतावनी

बोर्डले आज मध्यरातिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दल वा उम्मेदवारका विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Advertisement board warns of legal action if election code of conduct is violated during silence period

काठमाडौँ — विज्ञापन बोर्डले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन प्रचार-प्रसारसम्बन्धी प्रावधान कडाइका साथ पालना गर्न आग्रह गरेको छ । 

बोर्डले सोमबार सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ दफा १७ अनुसार तोकिएको समयसीमाभित्र मात्र प्रचार–प्रसार गर्न पाइने स्पष्ट पारेको हो । सूचना अनुसार फागुन १८ गते राति १२ बजेदेखि प्रचार–प्रसार गर्न नपाइने व्यवस्था छ । 

मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुँदासम्म राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले कुनै पनि प्रकारका सभा, अन्तरक्रिया, गोष्ठी, कार्यशाला जस्ता कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा तथा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष-विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर, प्रतिक्रिया वा प्रसारण गर्नसमेत निषेध गरिएको बोर्डले जनाएको छ । 

मतदान हुने दिन मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था पनि स्मरण गराइएको छ । त्यस्तै, निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले स्वीकृत गरेका बाहेक अन्य विज्ञापनहरू फागुन १८ गते राति १२ बजेदेखि हटाउनुपर्ने सूचनामा उल्लेख छ । 

आज मध्यरातिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दल वा उम्मेदवारका विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डले आग्रह गरेको छ । 

निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।

कान्तिपुर

Link copied successfully