लमजुङमा एमाले, कांग्रेस र रास्वपाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन

आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आचारसंहिता अनुगमन समितिले एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ र रास्वपाका उम्मेदवार धर्मराज केसीसहित उनीहरुका पार्टीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

फाल्गुन १८, २०८२

आश गुरुङ

UML, Congress and RSVP violate election code of conduct in Lamjung

काठमाडौँ — लमजुङमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आचारसंहिता अनुगमन समितिले ती राजनीतिक दल र तिनका उम्मेदवारलाई स्पष्टिकरण सोधेको छ । समितिले एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ र रास्वपाका उम्मेदवार धर्मराज केसीसहित उनीहरुका पार्टीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

रास्वपाले आइतबारमात्रै बेंसीसहरमा चारपांग्रे सवारी र मोटरसाइकल र्‍यालीसहित चर्को आवाज बजाएर चुनावी प्रचार गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेस र एमालेले राइनास नगरपालिकाका विभिन्न क्षेत्रमा मोटरसाइकल र्‍याली निकालेको निर्वाचन अनुगमन समितिले जनाएको छ ।

निर्वाचन अनुगमन समितिका सदस्य सचिव एवम् जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यका अनुसार आचारसंहिता उल्लंघन गरेको पाइएपछि राजनीतिक दल र उम्मेदवारलाई स्पष्टिकरण सोधिएको हो । ‘हामीले तीनवटै राजनीतिक दललाई पत्र काटेर स्पष्टीकरण सोधेका छौं, चित्तबुझ्दो जवाफ नपाइए कानुनी कारबाही अघि बढ्छ ।’

निर्वाचन अनुगमन समितिले स्पष्टीकरण सोधेसँगै सोमबार रास्वपाले सुन्दरबजार र मध्यनेपाल क्षेत्रको मोटरसाइकल र्‍याली र युवा संघले आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली स्थगित भएको छ ।

निर्वाचन अनुगमन समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले यसअघि मौखिम रुपमा उजुरीहरु आएकोमा मौखिक रुपमै उम्मेदवार र नेताहरुलाई सम्झाइबुझाइ गरिएको थियो । पछिल्लो समय बढी मात्रामा गुनासो आएपछि स्पष्टीकरण सोधिएको उनले बताए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully