चुनावी नाराको भुलभुलैयामा बन्धक बोटे समुदाय, पुर्ख्यौली थातथलोमै सुकुम्बासी हुनुको पीडा

उनीहरूलाई लाग्छ, यो सानो बोटे बस्तीलाई राज्यले केवल 'भोट बैंक' को रुपमा मात्र हेरिरहेको छ । 'जसलाई भोट दिए पनि जितेर गएपछि उनीहरूको बोली फेरिन्छ,' सुक्राम बोटे भन्छन्, 'भोट त हाल्न जानै पर्‍यो, तर यसपालि कसलाई हाल्ने भन्नेमा हामी निकै अन्योलमा छौँ ।'

फाल्गुन १८, २०८२

रमेशकुमार पौडेल, दया दुदराज

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

What you should know

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सिमाना । राप्ती नदीको सरसराहट र घना जंगलको आडैमा एउटा यस्तो बस्ती छ, जहाँ पुग्दा लाग्छ समय दशकौँअघि रोकिएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १३ मा पर्ने गंगानगर चौकी डाँडामा पुग्दा सुकिला र आधुनिक घरहरू होइन, परम्परागत खरका छाना भएका होचा झुपडीहरूले स्वागत गर्छन् । माटोले लिपेका भित्ता र कच्ची संरचनाले यो आदिवासी बोटे समुदायको आर्थिक र सामाजिक अवस्थाको करुण चित्र देखाउँछन् ।

भरतपुरको मुख्य बजारबाट करिब १७ किलोमिटरको दूरीमा रहेको यो बस्तीमा ४० घरधुरी बोटेहरूको बसोबास छ । बाहिर महानगरको 'स्मार्ट सिटी' र विकासको ठूलो हल्ला चलिरहँदा यहाँका बोटेहरू भने अझै पनि आधारभूत कुराहरु मानव अधिकार, सुरक्षित गाँस र आफ्नै भूमिको लागि लडाइँ लडिरहेका छन् ।

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

पहिले यो समुदाय राप्ती नदीपारि 'बासबारी खुटुवा' भन्ने ठाउँमा बस्थ्यो, तर राष्ट्रिय निकुञ्ज स्थापना भएपछि उनीहरूलाई त्यहाँबाट विस्थापित गरिएको स्थानीय अगुवा सुक्रम बोटेले बताए । 'पारि निकुञ्ज भएपछि उताबाट लखेटे, अनि यहीँ बसोबास सुरु भयो,' सुक्राम सम्झिन्छन्, तर विडम्बना के छ भने- ६ दशकदेखि यही माटोमा पसिना बगाएका उनीहरूसँग अझै पनि आफू बसेको जमिनको लालपुर्जा छैन । 'चुनाव आउँदा हरेक पार्टीका नेताहरू आउँछन् र भन्छन्, 'यसपालि जिताउनुस्, हामी पक्का लालपुर्जा दिन्छौँ,' सुक्रमले दुखेसो पोखे, 'तर जितेर गएपछि उनीहरू फेरि कहिल्यै यो बाटो आउँदैनन् । हामीले आश्वासन मात्र पायौँ, अधिकार पाएनौँ ।'

लालपुर्जा नहुँदा उनीहरूलाई सधैँ 'सुकुम्बासी' भइने र कुनै पनि बेला राज्यले उठाउने हो कि भन्ने डरले पिरोल्छ । जमिनको स्वामित्व नहुँदा न त उनीहरूले पक्की घर बनाउन बैंकबाट ऋण पाउँछन्, न त छोराछोरीलाई उच्च शिक्षा पढाउन नै धितो राख्न सक्छन् ।

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

बस्तीमा बिजुली त पुगेको छ, तर सडकका पोलहरूमा बत्ती छैन । रातिको समयमा हिँड्दा अन्धकार हुने र जंगली जनावरको त्रास हुने हुँदा स्थानीयहरू घर बाहिर निस्कन डराउँछन् । अझ बिजुलीको अर्को समस्या पनि छ । खेतीपातीका लागि मोटर चलाउन थ्री-फेज लाइन चाहिन्छ, तर यहाँ टु-फेज मात्र उपलब्ध छ । सन्तोष बोटेका अनुसार यसका लागि विद्युत् प्राधिकरणमा निवेदन दिएको ३ वर्ष बितिसक्दा पनि कुनै सुनुवाइ भएको छैन ।

शिक्षाको अवस्था पनि दयनीय छ । आर्थिक अभाव र लालपुर्जाको अभावमा यहाँका युवाहरूले जेनतेन १० कक्षासम्म मात्र अध्ययन गर्छन् । 'हाम्रो पनि इच्छा छ छोराछोरीले धेरै पढुन् र सरकारी जागिर खाउन्, तर न हामीसँग पैसा छ, न त धितो राख्न लालपुर्जा नै,' सन्तोष बोटेले भने । सरकारले शिक्षामा सुलभ व्यवस्था नगरिदिँदा बोटे समुदायको आवाज माथिल्लो निकायसम्म पुग्नै नसकेको उनीहरूको बुझाइ छ ।

जंगली जनावरको त्रास 

निकुञ्जको आडैमा हुनुको पीडा यो बस्तीले निकै भोगेको छ । विगत दुई वर्षदेखि जंगली हात्तीले यहाँका बासिन्दालाई बेस्सरी सताइरहेको छ । हात्तीले घरहरू भत्काइदिने र अन्नबाली खाइदिने समस्या सामान्य बनेको छ । 'हात्ती आउँछ, घर भत्काउँछ, खान्छ र जान्छ,' ५६ वर्षीया दिलकुमारी बोटेले भनिन्, 'बस्तीको तल्लो भेगबाट बाघ, चित्तल र चितुवा पनि सिधै घरआँगनमा आइपुग्छन् । चितुवा आएर धेरैको बाख्रा खाइदिएको छ ।'

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

तर, राज्य र मध्यवर्ती क्षेत्रको राहत वितरण प्रणालीमा पनि विभेद भएको उनीहरूको गुनासो छ । 'जुन गाउँमा क्षति पुगेको छ, त्यहाँ मध्यवर्तीले जाली र टिन दिँदैन, जहाँ क्षति भएको छैन त्यहाँ मात्र दिन्छन्,' स्थानीय सुक्रमको आक्रोश छ । उनीहरूलाई लाग्छ, यो सानो बोटे बस्तीलाई राज्यले केवल 'भोट बैंक' को रुपमा मात्र हेरिरहेको छ ।

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

जंगली जनावरलाई बस्ती छिर्न नदिन बनाइने पर्खाल (वाल) अहिले यहाँको मुख्य विवादको विषय बनेको छ । स्थानीय बासिन्दाहरू वाल अलि तल (नदीतिर) बाट लगाउनुपर्ने माग गरिरहेका छन्, ताकि उनीहरूको सानो घडेरी जोगियोस् र बर्खाको पहिरो पनि रोकियोस् । 'हामीसँग जम्मा एक धुर घडेरी छ,' स्थानीय दीपक बोटे सोध्छन्, 'त्यसमा पनि माथिबाट वाल ल्याए हाम्रो शौचालय र घर नै काटिन्छ, हामी कहाँ बस्ने ?' तर, वडा अध्यक्ष र निकुञ्ज प्रशासनले माथिबाटै पर्खाल लगाउन जिद्दी गरिरहेका छन् । स्थानीयको तर्क छ कि माथिबाट डोजर चलाएर वाल लगाए त्यो बर्खामा फेरि भत्किन्छ, बरु तलबाट लगाए माथिबाट खसेको माटो पनि रोकिन्थ्यो । यो विवादका कारण हाल पर्खाल निर्माणको काम नै अलपत्र परेको छ र बस्ती थप असुरक्षित बनेको छ ।

पुर्खाको त्यो निर्णय र आजको सास्ती

बोटे समुदायको पुर्ख्यौली पेसा नै नदीमा माछा मार्ने र डुंगा चलाउने हो । 'महेन्द्र सरकारको पालामा 'जमिन रोज्ने कि खोला' भन्दा हाम्रा पुर्खाहरूले खोला रोजेका थिए, किनकि हाम्रो जीवन नै माछा र पानीसँग जोडिएको थियो,' स्थानीय अगुवा सन्तोष बोटे भन्छन्, तर अहिले निकुञ्जको कडा नियमका कारण उनीहरूको यो मौलिक पेसा संकटमा परेको छ ।

अहिले माछा मार्न लाइसेन्स अनिवार्य गरिएको छ, तर लाइसेन्स भएकाहरूले पनि चैत मसान्तसम्म मात्र माछा मार्न पाउँछन् । बाँकी ३ महिना उनीहरूका लागि जीवन धान्नै मुस्किल हुन्छ । 'माछा मार्न नपाएपछि गाउँमा मजदुरी खोज्छौँ, काम नपाए साग, सिस्नु टिपेर खानुपर्ने अवस्था आउँछ,' सुक्राम बोटेले आफ्नो बाध्यता सुनाए ।

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

निकुञ्ज प्रशासन र समुदायबीचको द्वन्द्व पनि उत्तिकै छ । दाउरा खोज्न वा साग टिप्न निकुञ्जको छेउछाउ जाँदा पनि निकुञ्जका कर्मचारीले समात्ने र यातना दिने गरेको उनीहरूको आरोप छ । सन्तोष बोटेले गत वर्षको घटना सुनाए, 'दाउरा ल्याएका महिलाहरूलाई निकुञ्जले ३/४ घण्टासम्म पिसाब फेर्नसमेत नदिई रोकेर राख्यो । मैले त्यसको प्रतिकार गर्दा मलाई समेत पक्रेर गाडीमा हाल्न खोजिएको थियो ।'

चुनाव शंका मात्रै

फेरि अर्को चुनाव नजिकिँदै गर्दा बस्तीमा राजनीतिक दलका प्रतिनिधिहरूको दौडधुप सुरु भएको छ । नयाँ-पुराना दलहरू सबैले आश्वासनको पोको बोकेर यहाँ आइपुग्छन् । चुनावका बेला नेताहरूका लागि यो बस्ती आश्वासनको केन्द्र बन्छ । भरतपुरकी पूर्वमेयर रेणु दाहालले अघिल्लो कार्यकालमा बस्तीमा आएर 'तपाईंहरूका यी झुपडी हटाएर पक्की घर बनाइदिन्छु' भनेर बाचा गरेकी थिइन् । तर, स्थानीयका अनुसार उनी जितेपछि फर्किएर आइनन् । अब संसदीय राजनीतिमा जान लाग्दा उनी त्यहाँ भोट माग्न आएको स्थानीय बताउँछन् ।

'रेणु दाहाल आउने बेला हामीले बोल्नै पाएनौँ, रातिको ८ बजे बाइक र गाडीको हुतुतु आवाज निकाल्दै आउनुभयो,' स्थानीय सन्तोष बोटेले सुनाए, 'त्यसरी आउनु त यो सानो गाउँलाई हेप्न आएको जस्तो मात्र भयो, जनताका कुरा सुन्दै सुन्नुभएन ।' 

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

रेणुकै प्रतिस्पर्धीका रुपमा रास्वपाका उम्मेदवार सोबिता गौतम पनि बाटो पारेर मात्रै हिँडेको स्थानीय युवा सन्तोष बताउँछन् । 'सोबिता गौतम पनि त्यसैगरी आउनुभयो । हामी सबै काममा थियौँ । घर घरमा झण्डा राखेर गएछन्,' सन्तोषले भने, 'कसलाई के सुनाए थाहा छैन । आए । गए ।'

मेयरले बाचा गरेको घर र बाटो अझै बनेको छैन । १३ नम्बर वडा अध्यक्षले पनि बाटो पिच गरिदिने आश्वासन दिए पनि बाटो अझै कच्ची र धुलाम्य छ । हुलाकी मार्गबाट ३ किलोमिटर भित्र छिर्नुपर्ने यो बाटोमा पानी पर्दा हिँड्नै नसकिने स्थानीय गुनासो छ । 

The Bote community, trapped in the maze of election slogans, suffers from being squatters in their ancestral lands

तर, यसपटक बोटे समुदाय अलि बढी सचेत र शंकालु देखिन्छन् । उनीहरू नेताहरूलाई स्पष्ट सोध्छन्, 'तपाईंहरू भोट माग्न मात्र आउनुभएको हो कि हाम्रा समस्या समाधान गर्न ?' 

'जसलाई भोट दिए पनि जितेर गएपछि उनीहरूको बोली फेरिन्छ,' सुक्राम बोटे भन्छन्, 'भोट त हाल्न जानै पर्‍यो, तर यसपालि कसलाई हाल्ने भन्नेमा हामी निकै अन्योलमा छौँ ।'

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully