वीरगन्ज भन्सार कार्यालयले बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म ३६ घण्टाका लागि भन्सार सेवा समेत पूर्ण रूपमा ठप्प रहने जनाएको छ ।
पर्सा — भारतबाट नेपाल प्रवेशद्वार वीरगञ्ज नाका आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातिदेखि ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका पूर्ण रूपमा बन्द रहनेछ ।
यसैगरी, वीरगन्ज भन्सार कार्यालयले बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म ३६ घण्टाका लागि भन्सार सेवा समेत पूर्ण रूपमा ठप्प रहने जनाएको छ । भन्सार प्रवक्ता उदयसिंह विष्टले दुई दिन सम्पूर्ण भन्सार कार्य रोकिँदा करिब १२० करोड (दैनिक औसत ६० करोड रुपैयाँ राजस्व संकलन) राजस्व संकलन प्रभावित हुने बताए ।
वीरगन्ज भन्सार कार्यालय पर्सीले जारी गरेको अत्यन्त जरुरी सूचनामा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त अवधिभर नेपाल–भारत आवागमन रोक लगाएको जनाइएको छ ।
सूचनाअनुसार इन्धन, औषधि, अस्पतालजन्य सामग्री, हरियो तरकारी तथा फलफूलजस्ता अत्यावश्यक वस्तुबाहेक अन्य सबै सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाइनेछ । त्यस्तै, नेपालबाट भारततर्फ जाने खाली मालवाहक सवारी साधनलाई मात्र सीमित सहजीकरण गरिने उल्लेख छ ।
सीमा बन्दको अवधिमा पुरानो वीरगन्ज भन्सार कार्यालयस्थित यात्रु शाखा गेट, आईसीपी तथा सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन महाशाखाअन्तर्गतका नेपाल–भारत सीमा नाकाबाट आवत–जावत पूर्ण रूपमा बन्द रहने भन्सार कार्यालयले स्पष्ट पारेको छ ।
