मुसहर बस्तीमा चुनावको रौनकभन्दा छाक टार्ने चिन्ता

विगतका वाचा अधुरै छन्, नयाँ-नयाँ वाचा लिएर आउने नेतासँग आक्रोशित छन् स्थानीय बासिन्दा ।

फाल्गुन १८, २०८२

शिव पुरी

Concerns about the election overshadow the excitement in Musahar settlement

What you should know

जुगौलिया, रौतहट — गुजरा-९ जुगौलियास्थित मुसहर बस्तीमा यतिबेला चुनावी गतिविधिले छोएको छ । विभिन्न पार्टीका उम्मेदवारहरू पालैपालो भोट माग्न आइरहेका छन् । बस्तीमा चुनावको रौनकभन्दा छाक टार्ने चिन्ताले सताएको देखिन्छ ।

उनीहरूको अनुहारमा चुनावी उत्साहभन्दा भोक र उपेक्षाको चपेटा बढी छ । प्रत्येक चुनावमा उनीहरूले उम्मेदवारसित माग्ने भनेको एउटै चिज हो, स्थायी बसोबास । उनीहरू अहिले ऐलानी जग्गामा बसिरहेका छन् ।

जुगौलियास्थित मुसहर बस्तीमा झुपडी मात्र जीर्ण छैनन्, उनीहरूका आशा र भरोसा पनि दिनप्रतिदिन टुटिरहेका छन् । ७० वर्षीया चन्दरियादेवी माझी शनिबार टाउकोमा हात राखेर टोलाइरहेकी थिइन् । कुनै शब्द मुखबाट निकाल्न खोज्दा उनी भावुक हुन्थिन् ।

Concerns about the election overshadow the excitement in Musahar settlement

उमेरले नेटो काटेपछि शरीरले पहिले जस्तो काम गर्न साथ दिँदैन । न त हातमा कुनै सीप छ, न पेट भर्नका लागि अन्नको भण्डार । यस्तै माहोलमा उम्मेदवारहरू भोट माग्न आउँदा उनलाई रिस उठ्छ । 'हामी गरिबसँग त भोट माग्ने मात्र हो । उनीहरूलाई के थाहा हाम्रा दु:ख । छोरा काम गर्न भारत गएको छ,' उनले भनिन् ।  चन्दरियाका ३० वर्षीय छोरा कृषन माझी (मुसहर) रोजगारीका लागि ५ महिनाअघि पञ्जाब गएका छन् । अहिले घरमा बुहारी र तीन नातानातिनीसित उनी बस्छिन् ।

यस बस्तीमा ५० घरधुरी छ । जनता आवासले धेरैजसोको घर बनाइदिएको छ । तर ती सबै बर्खाको बेला चुहिएर भित्र पानीको आहाल बन्छ । झट्ट हेर्दा पक्की जस्तो लागे पनि भित्र पस्दा जीर्ण देखिन्छ । चुनावमा मत माग्न आउनेलाई प्रत्येक उम्मेदवारलाई मतदाताले चुहिने घर देखाइदिन्छन् । बस्तीका अधिकांश स्थानीय बासिन्दाले ज्याला मजदुरीले जीविका चलाइरहेका छन् । उनीहरू कसैको नम्बरी जग्गा छैन । ती सबै ऐलानी हुन् । दिनभरि अर्काको खेतमा मजदुरी नगरेसम्म साँझ कसैको घरमा चुल्हो बल्दैन ।

Concerns about the election overshadow the excitement in Musahar settlement

७२ वर्षीय लक्ष्मी माझीको जन्म यही मुसहर बस्तीमा भयो । तीन पुस्तादेखि यहीँ बसोबास छ । २०४८ सालदेखि हरेक चुनावमा भोट आल्दै आएका लक्ष्मीलाई उम्मेदवार देख्यो कि रिस मात्र उठ्छ । ‘हामी त नेताहरूका लागि माथि पुग्ने सिँढीका रूपमा प्रयोग हुन थाल्यौँ । यो देशमा व्यवस्था फेरियो, नेता फेरिए तर हामीलाई सपना मात्र बाँडियो,’ उनले भने । 

मुसहर समुदायका लागि राजनीतिक दर्शन र दलका घोषणापत्रभन्दा पनि आधारभूत आवश्यका ठूला छन् । उनीहरूले स्थायी आवास, सुरक्षित घर र जग्गाको स्वामित्व, रोजगारीको ग्यारेन्टी र दैनिक ज्याला मजदुरीमा मात्र निर्भर रहनुपर्ने बाध्यताको अन्त्य खोजेका छन् । यी सब माग पूरा गर्न अहिलेसम्म कुनै पार्टी सक्षम नदेखिएको मुसहर अगुवा अनुप माझीले बताए । ‘मुसहर समुदायका सरोकारमा दलको बेवास्ताले हाम्रो लोकतन्त्र र राजनीतिक नेतृत्वमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ,’उनले भने,‘जबसम्म विपन्न र सीमान्तकृत समुदायको जीवनमा वास्तविक परिवर्तन आउँदैन, तबसम्म निर्वाचनको उत्सवले पूर्णता पाउन सक्दैन ।’  भोट माग्न आउने उम्मेदवारसित लिखित कागज नै गराउनुपर्ने अनुपको भनाइ छ । 

बस्तीका बालबालिकाको अवस्था उस्तै छ । झन्डै २ सय बालबालिका छन् । धेरैले विद्यालयमा भर्ना भएर पनि जाँदैनन् । गाउँमा पुरुष अर्काकोमा ज्याला मजदुरी गर्न जान्छन् । बस्तीका स्थानीयको अवस्था जर्जर छ । गुजराको जुगौलिया, लक्ष्मीपुरमा मुसहर समुदायको बसोबास छ । स्थानीय तहले कुनै पनि सहयोग नगरेको उनीहरूको गुनासो छ । मेयर सन्तलाल चौधरीले नगरपालिकाभित्रका मुसहर समुदायको जीवनस्तर उकास्न बजेट छुट्याइएको दाबी गर्छन् । 

Concerns about the election overshadow the excitement in Musahar settlement

जितेर गए पछि नेताहरू फर्केर नआउने भन्दै गुजरास्थित नयाँबस्तीका गोपी माझीले गुनासो पोखे । ‘चुनाव त आयो तर अब कसलाई विश्वास गर्ने ? कुन पार्टीलाई विश्वास गर्ने,’ उनी भन्छन्,‘सबै एउटै हुन् । जित्छन् । जान्छन् । फर्केर आउँदैनन् । यिनीहरूले चाकडी गर्ने भनेकै चुनावका बेला त हो नि । हामी सुकम्बासीको सुकुम्बासी नै रह्यौँ ।’ बस्तीमा २० घरधुरी छन् । उनीहरू सबै सुकुम्बासी हुन् ।  बस्तीमा खानेपानीको ठूलो समस्या छ । यहाँ जम्मा ४ वटा धारा छन् । उनीहरू पालैपालो पानी थाप्छन् । 

चन्द्रपुर-९ मुसहर बस्तीमा पनि चुनावी चहलपहल बढेको छ । विगतका वाचा अधुरै छन्, नयाँ-नयाँ वाचा लिएर आउने नेतासँग आक्रोशित छन् स्थानीय बासिन्दा । डुमरियास्थित मुसहर बस्तीमा नाला बनाउन माग अघि सारेको वर्षौं भइसकेको छ ।

'गाउँ-गाउँमा सिंहदरबार' भन्नेहरू उनीहरूलाई थाहै छैन ।  स्थानीय तहले बेवास्ता गरेकोले जनप्रतिनिधिप्रति विश्वास गुमेको छ । बस्तीमा विद्युत् खानेपानी,शिक्षा स्वास्थ्य सेवाबाट उनीहरू वञ्चित छन् ।

रौतहटमा ६० मुसहर बस्ती छन् । २ हजार ५० वटा घर छन् । १५ हजार ३ सय जनसंख्या रहेको अनुपले जानकारी दिए । मुसहर बस्तीका अधिकांशको घरमा शौचालय छैन । तर कागजमा रौतहट खुल्ला दिसामुक्त घोषणा भइसकेको छ । 

पछिल्लो जनगणनाअनुसार मधेशको औसत परिवारको संख्या ५.२७ छ । रौतहटमा औसत परिवार संख्या ६.४४ छ । जबकि मधेशका दलितमा परिवारको आकार योभन्दा ठूलो देखिन्छ । मधेशका दलितमाथि निरन्तर अध्ययन र अनुसन्धानमा संलग्न भोला पासवानले मुसहरहरूको जन्मदर औसतभन्दा उच्च रहेको सुनाए । देशभर करिब चार लाखको हाराहारीमा रहेको मुसहर समुदायमा मुस्किलले सय जना जतिले मात्रै एसईई उत्तीर्ण गरेको भोलाले बताए । 

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जित्दै आएको क्षेत्र हो यो ।  यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न पाचौं पटक उनी चुनावी मैदानमा छन् । गरिब दलितका हितमा काम गर्दै आएको प्रभुको दाबी छ । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि प्रभु यस क्षेत्रमा लगातार जित्दै आएका छन् । ०४८ मा कांग्रेसका गोविन्द चौधरीले बागी उठेर चुनाव जितेका थिए । ०५१ मा तिनै हरिहरले चौधरीलाई पराजित गरेका थिए । ०५६ मा भने नेकपा एमालेका डा. वंशिधर मिश्रले बाजी मारे । त्यसपछि ०६४, ०७०, ०७४ र ०७९ को निर्वाचनसम्म प्रभुको प्रभुत्व कायम रह्यो । रौतहटमा यस पटक ३९ उम्मेदवार रहेका छन् । 

पूर्वप्राध्यापक योन्द्रप्रसाद यादवले दलहरूका लागि दलित बस्ती भोट बैंकका रूपमा प्रयोग हुँदै आएको बताए । ‘दलितहरू पनि यस पटक त सचेत भएका छन्,’उनले भने,‘चुनाव आउनासाथ उम्मेदवारहरू झुटो आश्वासन बाँड्न पुग्छन् । जितेपछि टाप दिन्छन् ।’ 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully