जनमत अध्यक्ष राउतविरुद्ध पार्टीका पूर्वप्रवक्ता शरदसिंह यादव र मधेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह प्रतिस्पर्धामा छन्
What you should know
राजविराज — मतदानको दिन आउनै लाग्दा पनि सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी ६८ जलेश्वरी मरिक (डोम) लाई चुनावी माहोलले खासै तानेको छैन । गत निर्वाचनमा भोट दिएर जिताएकाले समस्या नसुन्दा उनी दुःखी छिन् । ‘भरोसायोग्य ठानेर मधेशका बेटा सीके राउतलाई भोट हालियो तर जितेर जाँदा कहिल्यै समस्या सुन्न फर्किनुभएन,’ उनले भनिन्, ‘फेरि उहाँलाई नै मत दिनुपर्ने कुनै कारण छैन ।’
राजविराज–तिलाठी सडक खण्डअन्तर्गत सडक छेउका ऐलानी जग्गामा बनाएका झुप्रोमा बसोबास गरिरहेका त्यस बस्तीका अन्य पनि जनमत पार्टीका अध्यक्ष राउतको नामै सुन्न चाहँदैनन् । बाँसको चोयाले ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनिया बनाएर आसपासका गाउँ र बजारमा बेच्दै जीविकोपार्जन गर्दै आएका उनीहरूलाई शौचालयसहितको पक्की घरको अपेक्षा छ ।
राजगढ गाउँपालिका–५ मलेकपुरका ४८ वर्षीय हरिनारायण यादवले यस पटक जनमत पार्टीलाई मत नदिने निर्णय नै गरिसकेका छन् । मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्नका लागि निर्माण सुरु गरेको पक्की घर पूरा नहुँदा र भ्रष्टाचार नरोकिँदा उनी आक्रोशित छन् । ‘प्रदेशमा जनमतको सरकार हुँदा पनि विपन्नका लागि बनिरहेको घर अलपत्र छ,’ उनले भने, ‘प्रदेशमा अझ लुट मच्चाइएको छ । फेरि जनमतलाई मत हाल्दिनँ ।’
सोही ठाउँकी ३० वर्षीया प्रमिलाकुमारी मुखियाले गत निर्वाचनमा जनमतलाई मत दिएकी थिइन् । तर, जनमतले केही नगरेको उनको आरोप छ । ‘टोलमा सल्लाह गरेरै जनमतलाई भोट दियौं तर मधेश सरकारमा जाँदा पनि गाउँमा विकास भएन,’ उनले भनिन्, ‘त्यस्ता ठग्नेलाई अब मत दिँदैनौं ।’
कठौना–पातो–फत्तेपुर–कटैया सडक कालोपत्रे नहुँदा डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढाका ४५ वर्षीय जयनारायण महतोले चिन्ता व्यक्त गरे । ‘पुरानालाई त पहिल्यै बुझिसकेका थियौं, गत निर्वाचनमा नयाँलाई राम्रो ठानेर भोट हाल्यौं तर कुनै उपलब्धि भएन,’ उनले भने, ‘यहाँ सडक, बाटो, खानेपानीलगायत क्षेत्रमा समस्यै–समस्या छ ।’ यस पटक विचार पुर्याएर भोट हाल्ने उनको भनाइ छ । सप्तरी–२ मा पर्ने राजविराज, तिलाठी कोइलाडी र छिन्नमस्ताका स्थानीयसँगको कुराकानीमा धेरैजसोले गत निर्वाचनमा जनमतलाई भोट दिएको बताए । तर, राजनीतिक र आर्थिक विवादले पार्टीका नेताहरू छिन्नभिन्न हुँदा र जनअपेक्षाअनुसार काम गर्न नसक्दा उनीहरू जनमतप्रति आक्रोशित देखिन्थे ।
जनमत अध्यक्ष राउत मूलधारको राजनीतिमा प्रवेश गर्दा ‘परिवर्तन’ चाहिरहेका सर्वसाधारण आशावादी थिए । २४ फागुन ०७५ मा राजनीतिक मूलधारमा आएका उनी जनमत पार्टी खोलेर ०७९ मा पहिलो पटक निर्वाचनमा होमिए । गाउँ–टोलमा जनमतको लहर थियो । त्यतिबेला सप्तरी–२ मा चुनाव लडेका अध्यक्ष राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले हराएका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ७९ मत मात्रै पाएका थिए ।
जनमतले त्यो बेला तत्कालीन लोसपालाई उछिन्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एउटा र समानुपातिक पाँच गरी ६ सिट जित्यो । मधेशका परम्परागत दलहरूको विकल्पका रूपमा हेर्न थालिएको जनमतले मधेश प्रदेशमा पनि प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिट जितेको थियो । तर, चुनाव जितेको तीन वर्षमै पार्टी छिन्नभिन्न भएर खुम्चिएको छ भने राउतलाई मत हालेका सर्वसाधारण पनि सन्तुष्ट छैनन् ।
पार्टीमा आन्तरिक किचलोले संस्थापक नेताहरू दीपकुमार साह, सुरेन्द्र नारायण यादव, डा.रवीन्द्र यादव, जासर यादव, कैलाश महतो, अब्दुल खानलगायत हाल जनमतमा छैनन् । पार्टीका तत्कालीन प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहलगायतले पनि पार्टी छाडिसकेका छन् । तीमध्ये डा.शरदसिंह यादवले आफ्नै जनअधिकार पार्टी खोलेर तथा पूर्वमुख्यमन्त्री सिंह आफ्ना भाइ सत्यवान सिंह अध्यक्ष रहेको स्वाभिमान पार्टीबाट जनमतका अध्यक्ष राउत लडेको सप्तरी–२ बाट चुनावी दौडमा छन् ।
राउतको एकल निर्णय लिने प्रवृत्तिका कारण पार्टी खुम्चिएको जनमतका पूर्वकोषाध्यक्षसमेत रहेका सुरेन्द्रको आरोप छ । ‘कसैलाई कुनै पद दिँदा या उहाँको दाइ (जयकान्त राउत) लाई नै पद दिँदा पनि कसैसँग सरसल्लाह गर्नुभएन । यहाँसम्म कि अब्दुल या अनिता देवीलाई मन्त्री बनाउँदा पनि उहाँको एकल निर्णय थियो,’ उनले भने, ‘उहाँ आफू र आफन्तभन्दा माथि उठ्नै सक्नुभएको छैन । निर्वाचनले त्यसैको परिणाम देखाउला ।’
यस पटक जनमतबाट ६२ सिटमा उम्मेदवारी छ । पार्टी अध्यक्ष राउत फेरि सप्तरी–२ बाटै उम्मेदवार छन् । त्यस क्षेत्रमा आफ्नै पार्टीबाट अलग्गिएका शरदसिंह र सतीश नै उम्मेदवार रहँदा राउतलाई चुनौती छ । त्यसमाथि ‘परिवर्तन’ चाहिरहेका मतदातामाझ रास्वपाको ‘लहर’ र जसपा नेपालको पनि नतिजा आफ्नो पक्षमा पार्ने दाउले राउतलाई चुनौती छ ।
जनमतका अध्यक्ष राउतले गत निर्वाचनभन्दा यस पटक पार्टीको अवस्था राम्रो रहेको बताए । ‘लहर त कम बढी हुनु स्वाभाविक पनि हो, तर गत निर्वाचनभन्दा यस पटक हाम्रो राम्रो छ,’ उनले भने, ‘गत निर्वाचनमा ५२ ठाउँमा उम्मेदवारी दिएका थियौं, यस पटक ६२ उम्मेदवार छन् । उम्मेदवारहरूको मनोबल पनि उच्च छ ।’
