कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा काठमाडौंका सभामा व्यस्त, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल डिजिटल अभियानमा, रास्वपा सभापति रवि लामिछाने चितवन र वरिष्ठ नेता बालेन्द्र शाह झापामा 'रोड शो' मा केन्द्रित
What you should know
काठमाडौँ — मौन अवधि सुरु हुन एक दिन मात्रै बाँकी रहँदा मुख्य दलहरू कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार सोमबारदेखि मौन अवधि लाग्दै छ ।
प्रचारप्रसारको अन्तिम दिन आइतबार मुख्य दलहरूले औपचारिक चुनावी अभियानलाई तीव्र पारेका हुन् । कांग्रेसले काठमाडौं, नुवाकोट, काभ्रेका आधा दर्जन क्षेत्रमा चुनावी सभा गरेको छ भने एमालेले दाङ र सुर्खेतमा सडक प्रदर्शन गरेको छ । त्यस्तै, शनिबार रोल्पामा सडक प्रदर्शन गरेको नेकपा आइतबार चितवनकेन्द्रित भयो ।
कांग्रेस सभापति गगनकुमार थापाले आइतबार दिनभर काठमाडौंका कीर्तिपुर, सामाखुसी र बालाजु तथा नुवाकोटको चुनावी सभालाई सम्बोधन गर्न भ्याए । उपसभापति विश्वप्रकाश शर्माले काठमाडौंको पेप्सीकोला, झक्तपुर र काभ्रेका सभालाई सम्बोधन गरे । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले भिडियो सन्देशमार्फत निर्वाचन अभियानलाई निरन्तरता दिएका छन् । त्यसैगरी, शनिबार काठमाडौं उपत्यकामा ‘रोड शो’ गरेको रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार झापाको ‘रोड शो’ मा सरिक भए ।
ओली झापा–५ को आफ्नो निर्वाचन क्षेत्रमा आइतबार बेलुकासम्मै घरदैलोमा व्यस्त भए । एमाले महासचिव शंकर पोखरेलले दाङ–२ मा सडक प्रदर्शनसहित बृहत् सभा गरे । त्यस्तै, एमालेले सुर्खेतको वीरेन्द्रनगरमा पनि चुनावी प्रदर्शन गरेको छ । आइतबार कीर्तिपुरको सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले आफ्नो पार्टी पाँचवर्षे योजनाका साथ मुलुकलाई आर्थिकलगायत क्षेत्रका योजना लिएर आएको बताए । विगतमा दलहरू सत्ताको खेलमा लागेका कारण आम जनतामा आक्रोश र प्रश्न उठेको उल्लेख गर्दै थापाले यसकै आधारमा केही दलले उत्तेजना र घृणाको राजनीति अघि बढाएको बताए ।
भावी प्रधानमन्त्रीका रूपमा आफूले सुझबुझका साथ मुलुकलाई चलाउने योजना लिएर आएको भन्दै मतदातालाई आश्वस्त पार्न खोजे । ‘अरू सबै पार्टी झुर, हाम्रो पार्टी मात्रै खतरा भन्ने छ । यो उत्तेजना, घृणाको राजनीतिले कहीं पुगिँदैन,’ सभापति थापाले भने, ‘देशलाई सम्हाल्न घृणा र उत्तेजनाको भाषाले हुँदैन । पाँच वर्षमा देशलाई अघि बढाउन मलाई टिम चाहिन्छ । कांग्रेसले पाँच वर्षको समय खेर फाल्दैन । मुलुकलाई कानुनी शासनको आधारमा टुंगोमा पुर्याउन सकिन्छ ।’
कांग्रेस सरकार बनाउने र भत्काउने मनस्थितिमा नभएको उल्लेख गर्दै थापाले पाँच वर्षमा ठोस परिणाम दिने गरी आफू आएको बताए । ‘एक जनाले चलाएर मात्र देश चल्दैन । रातारात जादु गरेर समस्याको समाधान होइन, मलाई संसद्, प्रदेशसभा र पालिकाको विश्वास चाहिन्छ ।’ उनले सरकार बनाउने र भत्काउने खेलमा कांग्रेस नलाग्ने भन्दै उनले आफ्नो पक्षमा परिणाम आएमा प्रत्येक क्षण देशको सुशासन र विकासमा खर्च गर्ने संकल्प र योजनासहित आएको बताए ।
‘विगतमा हामी सरकार बनाउने खिचातानीमा बढी लाग्यौं । यसमा कोही पनि चोखो छैनौं । सबै दल सरकार बनाउने र टिकाउने धन्दामा लागेकै हो,’ उनले थपे, ‘३२ सिटे माओवादीलाई प्रधानमन्त्री चाहियो, रास्वपालाई गृहमन्त्री चाहियो । कांग्रेस र एमालेले सरकार बनाउनैपर्यो ।’ उनले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध जेन–जीहरूले २३ भदौमा गरेको प्रदर्शनको ‘म्यान्डेट’ अनुसार पहिलो नम्बरमा शेरबहादुर देउवा, दोस्रोमा गगन थापा, केपी ओली वा प्रचण्डको सम्पत्ति छानबिन गर्ने नैतिक बल आफूसँग भएको बताए । उनले कांग्रेसले आगामी दिनमा युवालाई गोलीबाट मर्न नदिने, मुकुन्डो लगाएर सिंहदरबार जलाउन नपाउने अवस्था चाहेको बताए ।
कीर्तिपुरको डाँडामा बसेर आईटीको काम गरेर दुई लाख कमाउन सक्ने आफूले भनेपछि त्यो यथार्थमा बदलिँदै गएको बताए ।‘नेताको काम सपना देख्नु हो । कीर्तिपुरको डाँडाको कुरा गरेपछि युवा साथीहरू आए, तपाईंले भनेभन्दा धेरै कमाइरहेको बताए,’ थापाले भने, ‘त्यसपछि हामीले आईटीको क्षेत्रमा गर्न सकिने कानुनको मस्यौदा बनायौं ।’ उनले कांग्रेसको प्रतिज्ञापत्रमा पाँच वर्षभित्रमा सूचना प्रविधिको क्षेत्रलाई महत्त्वपूर्ण उद्योग बनाउने, कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत पुर्याउने वाचा गरेको बताए । सामाखुसी चोकको सभालाई सम्बोधन गर्दै थापाले भावी प्रधानमन्त्रीहरूबीच बहसका लागि पनि आफू तयार भएको बताए । ‘प्रस्तावित प्रधानमन्त्रीका बीचमा आगामी पाँच वर्ष के गर्ने भनेर जमेर बहस होला भन्ने अपेक्षा थियो । हामी बहस गर्न चाहन्थ्यौं,’ उनले भने ।
भावी प्रधानमन्त्रीका रूपमा कांग्रेसले अघि सारेका थापा, एमालेका अध्यक्ष ओली र रास्वपा वरिष्ठ नेता शाहबीच बहस गर्नुपर्ने चर्चा जनमानसबाट चलेको थियो । बहसका लागि थापा र ओली तयार भए पनि शाहले भने अस्वीकार गरेका थिए । काठमाडौं, भक्तपुरका सभालाई उपसभापति शर्माले कांग्रेस आर्थिक वृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यका योजनाका साथ आएको बताए । कांग्रेसले जनकपुर, सुर्खेत, पोखरा, धनगढीलगायत क्षेत्रमा सभा सकेपछि राजधानीकेन्द्रित भएको हो । ती सभामा सभापति थापा र उपसभापति शर्माले सम्बोधन गरेका थिए ।
रास्वपाले झापा, इटहरी, जनकपुर, भरतपुर, धनगढी, बुटवल र सुर्खेतमा चुनावी सभा गरेको थियो । ती सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले सम्बोधन गरेका थिए । ०७० को आम निर्वाचनमा ४० वटा सभालाई सम्बोधन गरेका ओलीले यस पटक उनी आफ्नो निर्वाचन क्षेत्रमै बढी सीमित भए । ०७० कै आम निर्वाचनमा ३० जिल्लामा चुनावी सम्बोधन गरेका दाहालले पनि यस पटक एउटै मात्र ठूलो सभालाई सम्बोधन गर्न सके । उनले शनिबार रोल्पाको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ का विभिन्न चुनावी सभाहरूलाई सम्बोधन गरे भने काठमाडौंका केही क्षेत्रमा पनि मोटरसाइकल र्याली र कोणसभा गरिएको थियो । जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीका विभिन्न गाउँहरूमा र्याली, घरदैलो र सभाहरूलाई सम्बोधन गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्षले कुलमान घिसिङले काठमाडौं–३ का विभिन्न चुनावी कार्यक्रममा सहभागी भए ।
ओलीको भिडियो सन्देश
निर्वाचन संघारमा आइपुग्दा एमाले अध्यक्ष ओलीले मतदातालाई भिडियोमार्फत सम्बोधन गर्दै देश पहिले भन्ने भावनाका साथ पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । २४ भदौमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी चौकी जल्दा सपना पनि जलेको भन्दै उनले जीवनका उत्तरार्धमा चुनावी प्रतिस्पर्धा गरिरहेको, देश र संविधानको रक्षाका लागि एमालेलाई मत दिन आग्रह गरेका छन् ।
‘मैले राष्ट्रको पक्षमा निर्णय गरें भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् । यसै पनि मेरा त बाँच्ने दिन, बाँचिसकेका दिनभन्दा कम छन् । तर म बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लड्दै छु,’ ओलीले भिडियो सन्देशमा भनेका छन्, ‘त्यसैले मैले देश पहिले भन्दै आएको छु । अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र, देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । संविधान बचे मात्र तपाईंको अधिकार बच्छ ।’
यस निर्वाचनबाट संविधानको रक्षा गर्ने ग्यारेन्टी चाहिएको भनाइ राख्दै ओलीले भने, ‘आज हामीलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ । त्यस ग्यारेन्टीका लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’ उनले सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय सबै जनताको कर र भरोसाले बनेको जिकिर गर्दै थपे, ‘यी संरचना जल्दा तपाईंको भरोसा मात्र होइन, तपाईंको सपना पनि जल्छ, जलेको छ । आज हामीलाई अब यी कहिल्यै नजल्ने गरी ग्यारेन्टी चाहिएको छ ।’
ओलीले देश पहिले भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमान पहिले भनेको उल्लेख गर्दै ‘आफ्नो माटो, सीमा, पहिचान सबैमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल’ भएको बताए । ‘त्यसैले आज हामीलाई आफ्नो स्वाभिमान नचुक्ने ग्यारेन्टी चाहिएको छ,’ उनको भनाइ छ, ‘त्यस ग्यारेन्टीका लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।’
जिन्दगीको अन्तिम मोडमा उभिएर आफूले राष्ट्रको पक्षमा बोल्नु कर्तव्य भएको ओलीको भनाइ छ । ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसका लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैंले आफैंलाई कहिल्यै माफ गर्नुहुने छैन । इतिहासले धिक्कारेको कुरा आफैंले त कसैले देख्दैन,’ उनले थपे, ‘तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैन थियो भनेर आफैंलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् ।’
दुई अतिवादविरुद्ध नेकपालाई मत : दाहाल
नेकपाका संयोजक दाहालले २१ फागुनमा हुने आम निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् । उनले पनि आइतबार भिडियो सन्देशमार्फत जेन–जी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि अडान लिएको उल्लेख गरे । ‘देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘सरकारको नेतृत्वमा रहँदा सुशासन सुरु गरिएको, विधिको शासन स्थापित गर्ने प्रयास गरियो ।’
दाहालले आफ्नो दल प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै यो निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्यांकन गर्दै नेकपालाई मत दिन आग्रह गरे । ‘निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व हो,’ उनले भने ।
दाहालले मुलुक दुई अतिवादको खतरासँग जुधिरहेको बताए । ‘आज देश दुई ठूला अतिवादी खतरासँग लड्दै छ, एउटा अतिवाद जनताको आक्रोश र निराशालाई भड्काएर देशलाई अराजकतातर्फ धकेल्दै छ र राष्ट्रिय स्वाधीनतामै संकट ल्याउँदै छ,’ उनले भने, ‘अर्को अतिवाद यथास्थितिवाद हो, जसले दलाल र बिचौलियाको स्वार्थबाहेक केही सोच्नै सक्दैन । यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने र समृद्धिको यात्रा गर्न सक्ने शक्ति वामपन्थी आन्दोलन नै हो ।’
उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै मत दिन आग्रह गरे । ‘राजनीतिक संकटमा कुनै शक्तिकेन्द्रतर्फ ढल्किने होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वाभिमानी र सन्तुलित सम्बन्ध विस्तार गर्ने पनि हामी नै हो,’ उनले थपे, ‘हिजो जे गरेको छु त्यसलाई अझ सशक्त र परिणाममुखी बनाउन मत माग्न आएको छु ।’ उनले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न नेकपा चुनावी मैदानमा आएको बताए ।
