मतदानस्थलमा मोबाइल र विद्युतीय उपकरण लैजान नपाइने,मतदानअघि, मतदानका दिन र मतदानपछि गरी तीन तहको सुरक्षा रणनीति
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब साढे ३ लाख सुरक्षाकर्मी र २ लाखभन्दा बढी कर्मचारी खटिने भएका छन् । २१ फागुनको बिहान ७ देखि बेलुकी ५ बजेसम्मलाई मतदान समय तोकिएकामा निर्वाचन आयोगले व्यवस्थापनमा मुख्य निर्वाचन अधिकृतदेखि सहयोगीसम्म गरेर २ लाख १५ हजार कर्मचारी खटाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीबाट करिब ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिनेछन् ।
सरकारले निर्वाचनलाई लक्षित गरी मतदानअघि, मतदानका दिन र मतदानपछि गरी तीन तहको सुरक्षा रणनीति बनाएको छ । केन्द्रीय सुरक्षा समिति बैठकबाट स्वीकृत सुरक्षा कार्ययोजनाअनुसार तीन तहको सुरक्षा रणनीति बनाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीलाई ‘फिल्ड’ मा खटाइसकिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान व्यवस्थापन र सुरक्षा व्यवस्थापनसहित समग्र जनशक्ति ‘फिल्ड’ मा पुगिसकेको र तोकिएको समयभित्र सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन आयोग केन्द्रित रहेको बताए । त्यसका लागि निर्वाचन आयोगदेखि मतदानस्थलसम्मका सम्बद्ध संयन्त्रले तहगत रूपमा समन्वयमा काम भइरहेको भट्टराईको भनाइ छ ।
आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमार्फत सरकारका संयन्त्रसँगको समन्वयमा काम गरिरहेको छ । यस्तै गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति, गृह सचिवको नेतृत्वमा केन्द्रीय निर्वाचन कमान्ड सेन्टर, सातवटै प्रदेशमा प्रमुख सचिवको नेतृत्वमा प्रदेश निर्वाचन कमान्ड सेन्टर, प्रदेशकै गृहमन्त्रीको नेतृत्वमा प्रदेश सुरक्षा समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिमार्फत निर्वाचन सुरक्षा र समन्वयका लागि तहगत संयन्त्र क्रियाशील गराइएको छ ।
२१ फागुनमा समानुपातिकतर्फ १ सय १० र प्रत्यक्षतर्फका १ सय ६५ सिटमा मतदान हुँदै छ । मतदानमा समानुपातिकतर्फ ६३ राजनीतिक दलका ३ हजार १ सय ३५ जना उम्मेदवार र प्रत्यक्षतर्फ ६५ दलका ३४ सय ४ जना उम्मेदवार निर्वाचन प्रक्रियामा सामेल छन् । निर्वाचन आयोगका अनुसार मतदाता सूचीमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जनाको नाम समेटिएकामा पुरुष मतदाता ९६ लाख ६३ हजार ३ सय ५८, महिला मतदाता ९२ लाख ४० हजार १ सय ३१ र अन्य मतदाता संख्या २ सय जना छन् ।
११ हजार १ सय १० मतदानस्थलका २३ हजार १ सय १२ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो समय अद्यावधिक विवरणअनुसार स्थायी मतदानस्थल १० हजार ९ सय ६७ र अस्थायी मतदानस्थल १ सय ४३ वटा तोकिएमा ४ हजार ४ सय १४ अति संवेदनशील, ४ हजार ४ सय ४२ संवेदनशील र २ हजार २ सय ५४ मतदानस्थललाई सुरक्षा जोखिमका हिसाबले सामान्य सूचीमा समेटिएको छ ।
सुरक्षा जोखिमको सूचीमा समेटिएका मतदानस्थललाई जोखिम आकलन गरी पछिल्लो पटक अद्यावधिक गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसरी मतदाता, मतदानस्थल, भौगोलिक अवस्था, उम्मेदवार संख्या, दलहरूबीच देखिएका प्रतिस्पर्धाको अवस्था, विगतका निर्वाचनमा देखिएका सुरक्षा स्थिति र चुनौतीलगायत परिस्थितिलाई आकलन गरेर सुरक्षा तैनाथी गरिएको हो ।
स्रोतबाट प्राप्त विवरणअनुसार सेना र सशस्त्रले प्रत्येक निर्वाचन क्षेत्रलाई बेस बनाएर त्यसमार्फत चार तहमा इलाका र मतदानस्थललाई घेरेर सुरक्षा परिचालन गरेका छन् । जसमा दोस्रो सुरक्षा घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना खटिएको छ । अनुसन्धान विभागले पनि तहगत रूपमा सोहीअनुसार आफ्नो संयन्त्रलाई खटाएको छ । निर्वाचन सुरक्षामा पहिलो र भित्री घेराका रूपमा रहेको मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा नेपाल प्रहरी खटिनेछन् । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य सुरक्षा चुनौतीका रूपमा वर्गीकरण गरिएकामा त्यहीअनुसार प्रहरी कर्मचारी भित्री सुरक्षा घेरामा खटिएका छन् भने मतदानस्थलमा सहयोगी भूमिकामा निर्वाचन प्रहरी खटिएका छन् ।
यसरी निर्वाचन सुरक्षामा खटिएको नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनमा कुनै व्यवधान खडा भए, मतदानलाई अवरुद्ध पार्न खोजिएमा र अन्य अप्रिय घटना हुन सक्ने देखेमा दोस्रो र तेस्रो सुरक्षा घेरामा रहेका सशस्त्र र सेनाको सहयोग लिने गरी ‘फिल्ड’को सुरक्षा खाका बनाइएको छ । मतदानस्थलमा अप्रिय घटना घटेमा १० मिनेटभित्र सशस्त्र र २० मिनेटभित्र नेपाली सेना पुग्ने गरी फौज परिचालन गरिएको निर्वाचन आयोग स्रोतको भनाइ छ । मतदानपछि मतपेटिका गणनास्थलसम्म पुर्याउने सुरक्षा जिम्मा तीन घेराको अवधारणाअनुसार प्रहरी, सशस्त्र र सेनालाई जिम्मेवारी दिइएको छ ।
नेपाली सेनाले सैनिक मुख्यालयस्थित युद्धकार्य महानिर्देशनालयमार्फत निर्वाचन सुरक्षा केन्द्रीय कमान्ड लिएर फौज परिचालन गरेको छ । जसअनुसार युद्धकार्य महानिर्देशनालयको प्रत्यक्ष कमान्ड/कन्ट्रोल र समन्वयमा सात प्रदेशका सात पृतना र काठमाडौं उपत्यकास्थित नारायणहिटी दरबार परिसरमा रहेको उपत्यका पृतना मुख्यालयबाट सुरक्षा व्यवस्थापन गरेको छ । आठवटै पृतनाबाट आ–आफ्ना प्रदेशका निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थापन जिल्लास्थित गण/गुल्म र निर्वाचन क्षेत्रका लागि छुट्टै अस्थायी बेसमार्फत व्यवस्थापन गरिएको छ ।
सुरक्षा स्रोतबाट प्राप्त विवरणअनुसार सेनाले हरेक जिल्लामा रहेका गण/गुल्मको कमान्डमा रहने गरी तत्–तत् निर्वाचन क्षेत्रका लागि अस्थायी बेसमार्फत फौज खटाएको छ । जसमा हरेक निर्वाचन क्षेत्रका लागि सेनाले सेनानी (मेजर) को कमान्डमा अस्थायी सेल्टरका रूपमा कम्पनी अपरेटिङ बेस (सीओबी) स्थापना गरी जिल्लाको सुरक्षा चुनौती, जोखिम र आवश्यकता निर्धारण गरी जनशक्ति ‘फिल्ड’मा उतारेको छ ।
एउटा निर्वाचन क्षेत्रमा आवश्यकताअनुसार १ देखि ६ वटासम्म अस्थायी बेस बनाएर मतदानस्थल सुरक्षामा फौज तैनाथ छ । निर्वाचन क्षेत्रका लागि जति सीओबी स्थापना गरिएकामा त्यसमार्फत नै इलाकालाई सुरक्षा घेरा साँघुरो बनाएर त्यसको तेब्बर संख्यामा ‘प्लाटुन अपरेटिङ बेस’ (पीओबी) र ‘प्लाटुन’ तहको युनिट जति संख्यामा खडा गरिएको छ, त्यसको तेब्बर संख्यामा ‘सेक्सन अपरेटिङ बेस’ (एसओबी) स्थापना गरी सेनाले मतदानस्थलको बाहिरी सुरक्षामा तैनाथ गरेको हो । कम्पनी, ‘प्लाटुन’ र ‘सेक्सन’ तहमा रहने संख्या त्यस क्षेत्रको सुरक्षा चुनौतीअनुसार व्यवस्थापन गरिएको छ । यी तीन तहकै संयन्त्रले सवारी गस्ती, पैदल गस्ती, ‘स्ट्राइकिङ’ र रिजर्भ फौज गरी विभिन्न स्वरूपमा परिचालन गरेको हो ।
यो संयन्त्रलाई मतदानस्थल वा निर्वाचन क्षेत्रका कुनै पनि स्थानमा अप्रिय घटना घटेमा २० मिनेटभित्र पुगिसक्ने गरी तैनाथ गरिएको हो । यसरी १ सय ६५ निर्वाचन क्षेत्रका मतदानस्थल र मतदान केन्द्रको बाहिरी सुरक्षा घेरामा सेना तैनाथ भएको हो । निर्वाचनमा सेनाका करिब ८० हजार संख्याको फौज ‘फिल्ड’मा तैनाथ छ । यसरी ‘फिल्ड’ मा खटिएको फौजलाई मतदानअघि, मतदानका दिन र मतदानपछि गरी तीन चरणको सुरक्षा गर्ने गरी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीले हल्चोकस्थित मुख्यालयमा कार्यविभागका एआईजीको कमान्डमा निर्वाचन सुरक्षा परिचालन तथा व्यवस्थापन र समन्वयको प्रबन्ध गरेको छ । यही संयन्त्रमार्फत सात प्रदेशका सात र उपत्यका गरी आठवटा बाहिनीबाट आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्र र मतदानस्थलको सुरक्षा व्यवस्थापनमा दोस्रो घेरामा रहेर खटिएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा करिब ३५ हजार जनशक्ति खटाएको छ । जसमा प्रदेश मातहतका क्षेत्रमा प्रदेशको कमान्ड र समन्वय तथा जिल्लाको हकमा जिल्लास्थित गण/गुल्ममा जिल्ला निर्वाचन सेलमार्फत जनशक्ति परिचालन गरेको छ ।
सशस्त्रले जिल्लाका स्थायी युनिटका अलावा १६५ निर्वाचन क्षेत्रमा हरेक क्षेत्रका लागि डीएसपीको कमान्डमा निर्वाचन सुरक्षा बेस स्थापना गरेर जनशक्ति ‘फिल्ड’ मा उतारेको छ । अस्थायी बेसमातहत निरीक्षकको कमान्डमा आवश्यकताअनुसार ‘स्ट्राइकिङ र स्ट्राइकिङ’ मातहत सई वा असईको कमान्डमा आवश्यकताअनुसार मोबाइल टोली बनाएर खटाइएको छ । बेस, ‘स्ट्राइकिङ’ र मोबाइल टोलीले तोकिएका मतदानस्थलमा निरन्तर दोस्रो घेराको तहमा रहेर सुरक्षा प्रदान गर्नेछ । यसबाहेक बेसमातहत ‘रिजर्भ फौज’ र ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) लाई पनि तयारी हालतमा राखेर परिचालन गरिएको छ ।
सशस्त्रलाई सेनाभन्दा भित्री र प्रहरीभन्दा बाहिरी घेरामा रहेर सुरक्षा व्यवस्थापन जिम्मा दिइएको छ । मतदानस्थल वा मातहत इलाकामा कुनै घटना घटेमा १० मिनेटभित्र घटनास्थल पुगेर परिस्थिति काबुमा लिने गरी जिम्मेवारी तोकिएको छ । जिल्लाको संयन्त्रलाई सघाउन सशस्त्र प्रहरीले केन्द्रबाट एसएसपी नेतृत्वका छुट्टाछुट्टै २३ वटा संयन्त्रलाई पनि ‘फिल्ड’ मा उतारेको छ । एउटा युनिटले ३ देखि ४ वटा जिल्लासम्मको समन्वय गर्ने गरी खटाइएको छ ।
