महामन्त्री थापासहितका नेताहरुले सामाजिक सञ्जाललाई कानुन बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा अप्ठ्यारो परेको बताएका थिए ।
What you should know
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सामाजिक सञ्जालका ‘प्लाटफर्म’ बन्द गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीको औपचारिक धारणा बनाउने निष्कर्ष निकालेको छ ।
मनाङको प्रदेश निर्वाचन क्षेत्र (२) मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने प्रक्रियाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सामाजिक सञ्जाल बन्दबारे छलफल भएको थियो ।
सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्नेबारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीले औपचारिक धारणा बनाउनुपर्ने निष्कर्ष निकालिएको हो ।
बैठकमा सभापति देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभएर दर्ता प्रक्रियाका लागि मात्रै सरकारले निर्णय गरेको कुरा आफूलाई जानकारीमा रहेको बताएका थिए ।
कांग्रेस महामन्त्री गगन थापासहित अधिकांश नेताहरुले सामाजिक सञ्जाललाई कानुन बनाएर मात्रै नियमन गर्नुपर्नेमा निर्देशिकामा टेकेर काम गर्न खोज्दा अप्ठ्यारो परेको बताएका थिए ।
देउवाले यसबारेमा सरकारसँग छलफल गरेर मात्रै पार्टीले धारणा बनाउनुपर्ने बताएका थिए । ‘गृहमन्त्री रमेश लेखक बैठकमा हुनुभएको भए धेरै कुरा प्रस्ट हुन्थ्यो, पार्टीको एउटा धारणा पनि आउन सक्थ्यो, तर उहाँ राजधानीबाहिर रहेकाले सरकार किन र कसरी यस्तो निर्णयमा पुग्यो भन्नेबारेमा प्रस्टता हुन सकेन,’ परियारले भने, ‘त्यसैले पनि सरकारसँग एकपटक प्रत्यक्ष छलफल पार्टीले स्पष्ट धारणा बनाउने कुराकानी भएका हुन् ।’
महामन्त्री थापाले सहजै यो विषय टुंगिने अवस्थामा नभएकाले पार्टीले यसबारेमा प्रस्ट लाइन लिनुपर्ने मत राखेका थिए । उनले कानुन बनाउन छाडेर निर्देशिकामार्फत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय उल्टो भएको भन्दै कानुन बनाएर मात्रै सबै सामाजिक सञ्जाललाई नियमन गर्न सकिने बताएका थिए ।
बैठकमा कतिपय सदस्यहरुले पूर्वतयारी र गठबन्धन दलसँग पर्याप्त छलफल नगरी आकस्मिक रुपमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि राखेका थिए ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले उक्त बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई लिएर गम्भीर छलफल भएको बताए । उनले आफुले लाखौं युवाको रोजगारीदेखि अस्पतालमा भर्ना भएका विरामीको रगत माग्ने माध्यम बनेका सामाजिक सञ्जाललाई लहडमा भरमा बन्द गराउनु गम्भिर भएको र यसबारे पार्टीले प्रष्ट धारणा बनाउनुपर्ने माग गरेको बताए ।
‘धेरै मुलुकमा दर्ता भएको छ । सामाजिक सञ्जाललाई दर्ता गराउने प्रकृयामा लैजाने सरकारको स्वभाविक काम हो । तर, सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश भनेको कानून बनाएर व्यवस्थित गर भन्न हो । कानूनलाई एकातिर पन्छाएर निर्देशिका र नियमावलीका आधारमा बन्द गरिनु आपत्तिजनक छ’ केसीले भने,‘सामाजिक सञ्जाल हरेक मानिसका लागि जीवन पद्दतिको रुपमा विकास भएको छ । आज यसको प्रयोगकर्ता सत्तरी प्रतिशत भन्दा बढी छ । अस्पतालमा रगतको हाहाकार हुँदा गुहार माग्ने प्लेटफर्म बन्द हुनु दुरभाग्यपुर्ण छ र यसको विरोधमा कांग्रेस कडा रुपमा प्रस्तुत हुनुपर्छ धारणा आएको छ ।’
बैठकमा कतिपय सदस्यहरुले पूर्व तयारी र गठबन्धन दलसंग प्रयाप्त छलफल नगरी आकस्मिक रुपमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भन्दै असन्तुष्ट राखेका थिए ।
